साहित्यपोस्ट डट कम

कविता : आमाबुबाको सङ्घर्ष

कविता : आमाबुबाको सङ्घर्ष

सपना उनीहरूका आफ्ना थिएनन्

तर मेरा लागि आकाश नै किन्ने

अठोट राखे ।

आफ्नो रहरको घाम ढाकेर

मेरो भविष्यलाई उज्यालो बनाए ।

बुबाका हातमा चिरा–चिरा

परेका ती डामहरू

सिर्फ घाउ मात्र होइनन्, इतिहास हुन् ।

घामले पोल्दा पनि नझुकेका

आँधीले हान्दा पनि नटुटेका।

उनको पसिना नै आज मेरो पहिचान बन्यो

उहाँको मौनता नै मेरो साहस बन्यो ।

बुबाको एउटै आवाज छ “बाबु ! तँले

कहिल्यै हार मान्नु हुँदैन ।”

आमाका आँचलभित्र लुकेका थिए

असंख्य अधुरा सपना ।

आफू रोएर पनि मलाई हँसाइन्

आफू भोकै बसेर मेरो पेट भरिन्।

उनको थकान कहिल्यै ओठमा आएन

र हिम्मत सधैँ आँखामा चम्किरह्यो।

हाम्रो घर सानो थियो

तर त्यहाँको आत्मबल

पहाडभन्दा पनि ठुलो थियो ।

चुल्होको धुवाँसँगै उड्थे दुःखहरू

तर आशा कहिल्यै निभेन ।

उनीहरू आफैँ काँडामाथि हिँडे

मलाई फूलमाथि टेकाउनका लागि

आफ्नो जिन्दगीको रङ फिक्का पारेर

मेरो सपना रङ्गीन बनाए ।

आज म जहाँ उभिएको छु

त्यो कुनै संयोग होइन

यो उनीहरूको पसिनाको ब्याज हो

त्यो उनीहरूको बलिदानको परिणाम हो ।

म कहिल्यै हार्न पाउँदिनँ

किनकि मेरो पछाडि

दुई अदृश्य योद्धा उभिएका छन्

जसले कहिल्यै आफ्नो पीडा गनेनन्

तर मेरो सफलता गन्ने सपना मात्र देखे ।

मेरा आमाबुबाको सङ्घर्ष

मेरो रगतमा बग्ने क्रान्ति हो

मेरो जीवनको सबैभन्दा ठुलो शक्ति हो ।

ट्याग: सुमन धमला
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.