सधैँ गतिमै हराउने यो मेरो गोडा
आज भने थकित भई एक ठाउँ रोकियो
रोकिएरै नियाल्न थाल्यो यो चल्तीको संसारलाई
कोही समयको दास बनेर दौडिरहेछन्
कोही कर्मको चक्रव्यूहमा पसिना बगाइरहेछन्
कसैलाई कतै पुग्नु छ र गति तीव्र पारिरहेछन्
कोही भने आफ्नै पैतालाको धुनमा रमाइरहेछन्
यहाँ जीवन बेच्ने र तृष्णा किन्नेहरूको मेला छ
कसैको हातमा फल छ
त कसैको फैलाएको हत्केला छ
कोही समाजको नजरबाट मुख लुकाई हिँडिरहेछन्
त कोही अहम् र पहिचानको भोकमा
सबैले हेरिदियोस् भनिरहेछन्
कोही सपनाहरू किनमेल गर्न व्यस्त थिए
कोही भुइँमा झरेका टुक्रामै जीवनको स्वाद खोजिरहेका थिए
सुख र दुःखका अनेकौँ रङहरू छन् यहाँ
तर ती रङहरू एकापसमा कहिल्यै मिसिँदैनन्
अनौठो छ यो भीड कसैले मलाई आफ्नो रोदन सुनाएको छैन
न त कसैले खुसीको एक टुक्रा नै बाँडेको छ
सबै आ-आफ्नै अस्तित्वको सानो परिधिभित्र बन्द छन्
सबै आ-आफ्नै ग्रहमा घुमिरहेका छन्
आ-आफ्नै ब्रह्माण्डका सूर्य बनेर
सायद संसार यस्तै रहेछ रङहरूको विशाल इन्द्रेणी
जहाँ हरेक आँखाको मनपर्ने रङ्ग फरक हुन्छ
त्यसरी नै यहाँका भोगाइहरू फरक छन् तर
यो विविधताभित्र एउटा अचम्मको समानता भेटेँ मैले
यहाँ जो कोही पनि व्यस्त छ
हिँड्नेहरू यात्रामा व्यस्त छन्
बस्नेहरू पर्खाइमा व्यस्त छन्
अनि टोलाउनेहरू आफ्नै आफ्नै विचारको भूलभुलैयामा व्यस्त छन्
र म ?
म केही नगरेर पनि, यो दृश्यको साक्षी बन्नमै व्यस्त छु
यी फरक आँखाहरूले मलाई एउटा गहिरो सत्य सिकाएका छन्
कसैको लागि एक पल रोकिने र सहानुभूति राख्ने मानवीय युगको अन्त्य भइसकेको छ
र सोचिरहेँ
जङ्गली युग छोडी आधुनिक युगमा प्रवेश गरेका मानिसहरू साँच्चै धेरै टाढा पुगेका हुन्
वा
एक अर्काबाट मात्र टाढिएका हुन् ?

