साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : आफैँसँगको महा-विवाद

कविता : आफैँसँगको महा-विवाद

मभित्र मेरै अस्तित्वको एउटा महा-विवाद चल्दै छ

चेतनाको विशाल नदीमा सोचको आँधी बग्दै छ ।

डुब्ने पनि मै हुँ यहाँ, किनारा खोज्ने पनि मै

आफ्नै विरुद्ध आफ्नै, एउटा मौन युद्ध चल्दै छ ।

कहिले म न्यायाधीश बन्छु, कहिले आफैँलाई दोषी देख्छु

कहिले मन पत्थर बन्छ, कहिले आफैँभित्र कोसी देख्छु ।

हिसाब गर्दा आफैँसँग, सधैँ रित्तो हात हुन्छु

आफैँले बुनेका भ्रमका जालीमा, अचेल म मात हुन्छु ।

कसरी लुकाउनूँ ती कुरा, जो ऐनाझैँ छर्लङ्ग छन्

मेरा सबै आशाहरू, आफ्नै गल्तीमा नग्न छन् ।

मभित्रको मलाई नै यहाँ, पीडाको रापले सेक्नुपर्दछ

मेरै गल्तीको सजाय पनि, मेरै भागमा लेख्नुपर्दछ ।

हो, आज फेरि मभित्र मैसँग भीषण विवाद चल्दै छ ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.