सप्तरी । बुढ्यौली साहित्य समाज, सप्तरी शाखाको आयोजनामा वैशाख ४ गते कञ्चरूपमा आयोजित एक समारोहबीच स्रष्टा मेघराज पौड्यालद्वारा रचित शोक लघुकाव्य ‘जीवनका उकाली ओरालीहरू’ को लोकार्पण गरिएको छ । मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को अवसर पारेर सम्पन्न उक्त कार्यक्रममा साहित्य र संस्कारको अर्थपूर्ण संगम देखिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा कोशी मुक्तक प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेलले कृतिको लोकार्पण गर्दै यसलाई नेपाली शोक काव्यको क्षेत्रमा महत्वपूर्ण योगदानका रूपमा व्याख्या गर्नुभयाे । उहाँले स्रष्टाले समाजको यथार्थलाई निर्भीक रूपमा प्रस्तुत गर्दा मात्रै कालजयी कृति जन्मिने धारणा व्यक्त गर्नुभयाे ।
सोही अवसरमा ८० वर्ष नाघेका ११ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरूमा चन्द्रकुमारी कटुवाल, नन्दराज पोखरेल, विश्वनाथ न्यौपानेलगायत रहनुभएकाे थियाे ।
कार्यक्रममा वक्ताहरू दिवाकर देवकोटा, उद्धवप्रसाद पौडेल र तीर्थराज पोखरेलले कृतिले पारिवारिक संवेदना, पितृ-वात्सल्य तथा मानवीय मूल्यहरूको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयाे । सह–सचिव वेनुप्रसाद पौडेलले उक्त कृतिलाई आगामी पुस्ताका लागि सांस्कृतिक सेतुका रूपमा व्याख्या गर्नुभयाे ।
सभापतिको आसनबाट बोल्दै कृतिकार मेघराज पौड्यालले आफ्नो कृति दिवङ्गत मातापिताप्रति समर्पित ‘अक्षर–पुष्प’ भएको बताउनुभयाे । कार्यक्रममा गिरिराज पौडेल र कृतिकार स्वयंले कृतिका केही मार्मिक अंश वाचन गर्दा वातावरण भावुक बनेको थियो ।
समग्रमा, उक्त समारोहले पुर्खाप्रतिको सम्मान र साहित्यको सामाजिक दायित्वलाई सशक्त रूपमा उजागर गरेको आयोजकले जनाएको छ ।

