साहित्यपोस्ट डट कम

‘जुनेली’ कथासङ्ग्रहमाथि परिचर्चा सम्पन्न

‘जुनेली’ कथासङ्ग्रहमाथि परिचर्चा सम्पन्न

काठमाडौं । इच्छुक सांस्कृतिक प्रतिष्ठानले ‘सिर्जना र संवाद’को १६औँ शृङ्खलाअन्तर्गत साहित्यकार मनु विकद्वारा लिखित कथासङ्ग्रह ‘जुनेली’माथि परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ ।

असार २० गते आयोजित कार्यक्रममा प्रतिष्ठानका सदस्य तथा ‘सिर्जना र संवाद’ शृङ्खलाकी संयोजक गौरी देवकोटाले सञ्चालन गर्नुभएको थियो भने प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा मित्रलाल पंगेनी, वन्दना ढकाल र डा. चतुर्भुज केवरतले कथासङ्ग्रहमाथि समीक्षात्मक मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रा.डा. जगदीशचन्द्र भण्डारी, कथाकार इस्माली, डा. नन्दी अधिकारी, प्रा. लोकबहादुर थापा, धनेश्वर पोखरेल, आविष्कार कला, गिनिज बुढालगायत साहित्यकार तथा साहित्यअनुरागीको उपस्थिति रहेको थियो ।

समीक्षक वन्दना ढकालले कथासङ्ग्रहमा २०७० देखि २०८३ सालसम्मको नेपाली समाजको परिवेश समेटिएको बताउनुभयो । उहाँले सङ्ग्रहमा समाजका पिँधमा रहेका मानिसका भोगाइ, श्रमजीवी वर्गका सङ्घर्ष तथा वर्ग र वर्णव्यवस्थासँग जोडिएका विभेदलाई मार्मिक रूपमा प्रस्तुत गरिएको धारणा राख्नुभयो ।

२१ वटा कथासमेटिएको उक्त सङ्ग्रहले पितृसत्ताले स्थापित गरेका विभिन्न प्रथाप्रति सचेत आवाज उठाएको उहाँको भनाइ थियो । उहाँले जैविक समस्या तथा लैङ्गिक विभेदका विषयलाई सरल र संवेदनशील ढङ्गले प्रस्तुत गरिएको उल्लेख गर्नुभयो ।

डा. चतुर्भुज केवरतले कवितामा परिचित मनु विकसँग आख्यान विधामा पहिलो भेट भएको बताउँदै कथासङ्ग्रहमा श्रमजीवी वर्गका पात्रको चयन र चरित्र निर्माण सशक्त रहेको धारणा राख्नुभयो । उहाँले बाह्य उत्पीडनसँगै आन्तरिक उत्पीडनका पक्षलाई पनि सूक्ष्म रूपमा केलाउनुपर्ने सुझाव दिनुभयो ।

कथामा यथास्थितिविरुद्ध प्रतिरोधको चेतना रहेको उल्लेख गर्दै उहाँले पुरुषवादी चिन्तनका संरचनालाई अझ स्पष्ट र गहिराइका साथ प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

समीक्षक मित्रलाल पंगेनीले ग्रामीण जीवनका सामाजिक कथा–व्यथाको सजीव चित्रण गरिएको बताउनुभयो । पात्र, चरित्र र कथानकबीच थप खदिलो तारतम्य मिलाउन सके कृति अझ प्रभावकारी बन्ने उहाँको सुझाव थियो ।

लेखिका तथा कथाकार मनु विकले समीक्षकहरूबाट प्राप्त सुझाव र औँल्याइएका कमी–कमजोरीलाई आत्मसात् गर्दै आगामी सिर्जनामा थप मिहिनेत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समीक्षकका गहकिला विचारले आफूलाई नयाँ सिर्जनाका लागि प्रेरणा मिलेको उहाँले बताउनुभयो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.