मानिसहरू आफ्ना भोगाइलाई कथा बनाउँछन्, गीतमा उनेर सुनाउँछन् । मैले लेखेका शब्द कसैको कल्पनासँग मिल्न सक्ला, कसैको भोगाइसित । तर केही लेखाइ यस्ता हुन्छन्, जसलाई पढेर होइन—अनुभूति गरेर मात्र मर्मसम्म पुग्न सकिन्छ ।
अनुभूतिले मात्र मन बाँध्छ, राख्छ तिमीलाई मसँग यो रातको सुनसान प्रहरमा, बाँधेर मेरो छेउ । यस्तो बेला बिना संवाद मैले धेरै कुरा तिमीलाई भनिरहेकी हुन्छु र तिमीले पनि प्रतिवाद नगरी मलाई चुपचाप सुनिरहेका हुन्छौ । अनुभूतिविनाको पढाइ सुख्खा अक्षरहरूको पहाड हुन्छ । आँखा शब्दमा हुन्छन्—मन भने शब्दभन्दा धेरै टाढा हुन्छ । जब शब्दमा डुबेर तिमी भावना आत्मसात् गर्न सक्छौ, ती तिम्रा अस्तित्व बन्छन् र तिमी आफैँ त्यसको कुनै एक पात्र । त्यसपछि तिमीलाई त्यो साँच्चै नै जीवन्त लाग्छ ।
राति जब निद्राले आँखामा डेरा सारिसकेको हुँदैन, हेरेर नभ्याइने आकाशको विशाल फाँटमा एउटा छुट्टै आकर्षण मैले पनि पाल्न थालेकी छु । पर… भूगोलको कुनै कुनामा, कुनै क्षितिजीय दूरीबाट उठेका तिम्रा दृष्टि पनि हर रात ताराहरूको भीड छिचोल्दै जूनलाई नै खोजिरहेका हुन्छन्— तिमीले कुनै दिन यही भनेका थियौ मलाई ।
आकाशमाथि हामीले हेर्ने तिम्रो र मेरो जून उही हो, एउटै साझा । साँच्चै, यति टाढाबाट हामीले जून खोज्छौँ कि एकअर्कालाई ? मैले आजसम्म तिमीलाई यो सोधेकी छैन तर जुन दिनदेखि थाहा पाएँ—तिमी जूनका प्रशंसक हौ—जूनलाई हेर्ने आकाङ्क्षा र त्योसँग रमाउने इच्छा मभित्र पनि गाढा हुन थालेको छ ।
हरेक रातको विशाल कालो पर्दाभरि सिताराले जडिएका झैँ चम्किएका लाखौँ ताराहरूबीच म प्रायः विज्ञानमा पढिएका अनेकौँ आकृतिहरू खोजिरहन्छु । र बनाइरहन्छु भिन्नै अनुहार पनि । ती कहिले देखिन्छन्, कहिले हराउँछन् । यस्तै लुकामारीबीच समय पनि उमेरलाई डोर्याउँदै अघि बढिरहन्छ ।
ताराहरूसँग उदाउँदै हरेक पन्ध्र दिनमा फेरिँदै जाने आकाशमाथिको त्यो मनमोहक जून जब आफ्नो पूर्ण यौवनमा हुन्छ, नियालेर कहिल्यै अघाउँदिनँ म । शान्त, स्निग्ध र शीतल रश्मि—यति कोमल कि मानौँ सेता फूलका पत्रहरू सुस्तरी बर्सिएका छन् । मलाई भान हुन्छ त्यो स्पर्शको, काउकुतीको, मिठो रोमाञ्चको ।
पूर्णिमाको मादक जुनेली सम्मोहनबाट को पो अछुतो रहन सकेको होला र? आकाशमाथि जब टहटह जून देखिन्छ, धरतीभरि पोखिएको सेतो जादुई प्रकाशमा मलाई लेख्न मन लाग्छ—तिम्रो नाम । अनायासै सङ्कोचले भरिएको एउटा प्रश्न मनमा उठ्छ—के तिमीलाई पनि…?
जब बाटुलो आकार घटेर यो झिनो रेखामा सीमित हुँदै हराउँछ, औँसीको अथाह कालो आकाशमा म निसास्सिँदै जूनलाई नै खोजिरहेकी हुन्छु— अनि जूनसँग तिमीलाई । कल्पना गर्छु, तिमी पनि रातको पर्दा पछाडि उभिएर यस्तै सोच्छौ होला ।
हिजो पानी परेर निख्रिएको शुभ्र आकाशभरि टिलपिलाएका तारा अनि बादलको टापुमाथि सुस्ताएको जून—कुनै कलाकृति जस्तो… तिमीले पनि पक्कै हेरेका थियौ । किन गुमाउँथ्यौ त्यो मौका— असीम सौन्दर्य रसपानको! म पनि त्यही जूनलाई हेर्दै थिएँ । हामीले एउटै समयमा हेरेका थियौँ— जूनलाई… र सायद जूनभित्रबाट एकअर्कालाई ।
कहिलेकाहीँ सोध्न मन लाग्छ— तिमी जूनको किन यति औधी प्रशंसक ? किन माया गर्छौ दाग लागेको जूनलाई ? किन नजिक सम्झन्छौ ? मेरो नगरिएको प्रश्नको जवाफ— कहाँ भेटिनु ?
जून उदाइसकेको छैन तर म आज त्यही दिशामा जून खोजिरहेकी छु जहाँ तिमीले “त्यो बेला जून त्यहीँ देखिन्छ” भन्ने गर्थ्यौ । अनुपस्थितिको खल्लोपना ! कतै मैले समय अगावै खोजी त गरिनँ? मौसम, ऋतु र परिक्रमासँगै ऊ फेरिन्छ । हामी फेरिन्छौँ । नित्य परिवर्तनभित्र पनि एउटा कुरा भने स्थिर रहेको छ— हाम्रो प्रतीक्षा ।
भर्खरै बादलसँग लुकामारी खेल्दै गरेको जून ओझेल भयो । अनायासै मन दुख्यो । लाग्यो, शायद रिसायौ तिमी मेरो कुनै व्यवहारबाट । जूनमा तिम्रो प्रतिविम्ब देख्ने म— जून नहुँदा तिमी पनि हराएझैँ लाग्छ ।
म पर्खिरहन्छु । सेतो र शान्त जून ममाथि पोखिन्छ । जुनेलीमा भिजेकी म उसलाई अस्तित्वभरि समेट्न खोज्छु । अहँ, उज्यालो समातिँदैन । जूनलाई बाँध्न सकिने भए, सायद ऊ जून नै रहने थिएन । हेर्दाहेर्दै ऊ टाढिन्छ—म भने केवल हेरिरहन्छु ।
जूनसँग हाम्रो सम्बन्ध यति गहिरो यसैले पनि होला—किनकि ऊ कहिल्यै पूर्ण रूपमा हाम्रो हुँदैन । नपाउनुको तृष्णा कहिल्यै मेटिँदैन, आसको प्यास लागिरहन्छ ।
हिजोआज अँध्यारो बाक्लिन नपाउँदै आँखा अनायासै आकाशतिर उठ्छन् जूनलाई खोज्न । कहिलेकाहीँ बादलले ढाकेर ऊ देखिँदैन । त्यतिबेला लाग्छ—ऊ मेरो धैर्यको परीक्षा लिइरहेको छ, कि कतै तिमीले?
आकाशमा तारा झरेको देख्दा म मनमनै केही कामना गर्छु । तिमीले पनि त्यस्तै केही माग्यौ होला । तिम्रा ओठमा कुनै अव्यक्त नाम थरथराएको मैले देखेकी छु । के बताऊँ कि त्यो नाम कसको हो…
निदाइसकेकी छैन । टहल्दै जून झ्यालमाथिको आकाशमा आइपुगेको छ । ठीक त्यहीँ, जहाँ बिछ्यौनाबाट पल्टेरै उसलाई हेर्न सक्छु । हल्का बादलबीच डुब्दै–उत्रँदै गरेको त्यो मोहक जून कति मादक छ! अनि उसको यो मौन वार्तालाप—प्रेमगीत जस्तो ।
कहिलेकाहीँ सोच्छु, जूनलाई लिएर यो भावुकता किन? किन हर रात परिवर्तन भइरहने उसको स्वभावमा मलाई आपत्ति हुँदैन? सायद माया र समर्पणमा कुनै सीमा हुँदैन—उपस्थितिको आभास मात्र पनि पर्याप्त हुन्छ ।
कोही भन्छन्—जूनप्रतिको आसक्तिले मानिसलाई भावुक बनाउँछ । भनाइ सत्य हो भने, तिमी पनि भावुक छौ—जून खोज्ने, रोज्ने र नियाल्ने, म जस्तै । संवेदनशील हृदयहरू जूनजस्तै कोमल हुन्छन् । ती आँखाले मात्र होइन, भावले पढ्छन्, अनुभूतिले बुझ्छन् ।
विज्ञान भन्छ— जूनमा खाल्डाखुल्डीबाहेक केही छैन । म त्यहाँ प्रेम देख्छु, प्रतीक्षा, विश्वास र व्याकुलता पनि । मलाई सधैँ लाग्छ, जून मलाई अव्यक्त भाषामा केही भनिरहन्छ— अनि त्यही जूनको आडमा तिमी ।
जब–जब तिम्रो यादले मन अस्थिर बनाउँछ, म जूनलाई हेर्न पुग्छु… अनि जूनबाट तिमीलाई ।
तिमीलाई राम्रोसँग थाहा छ—तिम्रो र मेरो आकाशमा दोस्रो अर्को जून छैन । विश्वको जुनसुकै ठाउँबाट तिमीले हेरे पनि, त्यो निश्चित समयमा मैले पनि त्यही जून हेरिरहेकी हुन्छु । जून—तिमीलाई नियाल्ने एउटा आँखीझ्याल हो मेरो ।
भूगोलको परिभाषामा तिमी धेरै टाढा छौ । तर रात पर्नासाथ जून भएर उदाउँछौ । घरको कौसी, बरन्डा र मेरो मनभरि पोखिएको जुनेलीमा तिम्रो उपस्थितिको सधैँ अनुभूति हुन्छ । हामीबीच एउटा अदृश्य समीकरण बनेको छ—जून, तिमी र म ।
रातको शान्तिमा पक्कै तिमी पनि त्यो टहटह जून हेर्दै छौ । म जस्तै, त्यसभित्र कसैलाई खोज्दै… ।
मेरो जून, म पनि तिमीलाई हेरिरहेकी छु ।
आज यो रातको जमेको निस्तब्धमा — सिर्फ जून छ… अनि तिमी र म, एकअर्कालाई हेर्दै ।

