साहित्यपोस्ट डट कम

‘झोला हराएको मान्छे’ नाटक मञ्चन

‘झोला हराएको मान्छे’ नाटक मञ्चन

काठमाडौं । सेन्ट जेभियर्स कलेज ले नयाँ नाट्य प्रस्तुति ‘झोला हराएको मान्छे’ को मञ्चन गरेको छ। कलेजको लोयोला हलमा आयोजित उक्त नाटक अंग्रेजी संकायअन्तर्गत मेजर आर्ट्स विभागका चौथो वर्षका विद्यार्थीहरूले प्रस्तुत गरेका हुन्। उद्घाटन दिनका दुवै शो ‘सोल्ड–आउट’ भएको आयोजकले जनाएको छ।

कलेजका प्रिन्सिपल डा. अगस्टिन थोमस, एस.जे.ले नाटकको विषयवस्तुले साधारण शीर्षकभित्र असाधारण गहिराइ समेटेको बताउँदै यसले आम मानिसका अनकथित कथा प्रस्तुत गरेको धारणा व्यक्त गर्नुभयाे । उहाँका अनुसार नाटकले गुमाइएका सपना, सम्बन्ध र पहिचानका अनुभूति संवेदनशील ढङ्गले अभिव्यक्त गरेको छ।

नाटकको कथा काठमाडौंको व्यस्त शहरी जीवनबाट सुरु हुन्छ। पाँचथरका युवा रुद्रप्रसाद ‘रुद्रे’ पोखरेल वैदेशिक रोजगारीका लागि काठमाडौं आइपुग्दा पहिलो दिनमै पासपोर्टसहितको ब्याग हराउँछ। हराएको झोला खोज्ने क्रममा उनले विभिन्न पात्रहरूसँग भेट गर्छन्, जसले शहरी जीवनका विविध यथार्थ र मानवीय संवेदनालाई उजागर गर्छ।

कथामा मुना नामकी संघर्षशील महिलासँगको भेटपछि कथा नयाँ मोडमा प्रवेश गर्छ। व्यक्तिगत सपना, पहिचान र अस्तित्वको खोजीलाई केन्द्रमा राख्दै नाटकले समकालीन समाजका प्रश्नहरू उठाएको छ। हराएको ब्यागलाई एक पीढीगत खोज र पहिचानको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ।

विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने थिएटर कलाकार रुपेश लामाले नाटक अभ्यासले आत्मअभिव्यक्ति, मानसिक स्वास्थ्य र सृजनात्मक सोच विकासमा सहयोग पुग्ने बताउनुभयाे ।

नाटकको थप प्रदर्शन फागुन २ गते बिहान ९ः४५ बजे र दिउँसो १२ः४५ बजे हुने आयोजकले जनाएको छ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.