साहित्यपोस्ट डट कम

जोडीका कविता – एक नयाँ प्रयोग, एक पठनानुभूति

जोडीका कविता – एक नयाँ प्रयोग, एक पठनानुभूति

हैन, कसको उटपट्याङ्ग काम हो यो, कविज्यू ? कविज्यूले मुसुमुसु हाँसेरै जवाफ दिए — मेरै हो । मानेँ मैले उनको त्यो सिर्जनशीलतालाई !

===

केही समयअगाडि म पुस्तक विमोचनको कार्यक्रममा नयाँ बानेश्वरको एउटा हलमा थिएँ । हातमा एउटा पुस्तक थियो । अरू बेलामा झैं पहिले पुस्तकको कभर पेजमा आँखा गयो । शीर्षक थियो ‘जोडीका कविता’। तल लेखक जोडीको नाम हेरेँ—माथिल्लो हरफमा तारक धिताल र मुन्तिर दिना सुवेदी ।

फ्रन्ट पेजमात्र हेरेर कहाँ भयो र ! पुस्तक पल्टाएर ब्याक कभरमा हेरेँ, के रहेछ भनेर — ए गाँठे, फ्रन्ट कभर नै पो छापिएको छ त, तर उल्टो गरी ! मेरो मात्र उल्टो पऱ्यो कि भनेर सँगै बसेकी आफ्नी बुढीको हातको पुस्तक पनि पल्टाएर हेरेँ—त्यस्तै रहेछ । अनि त… हेरेँ, सबैका हातमा त्यस्तै । नियालेर हेरेँ, दुवैतिर उस्तै देखिए पनि नामको क्रम भने फरक रहेछ । पछि मैले किताबका सर्जक कविज्यूलाई सोधेँ — हैन, कसको उटपट्याङ्ग काम हो यो, कविज्यू ? कविज्यूले मुसुमुसु हाँसेरै जवाफ दिए — मेरै हो । मानेँ मैले उनको त्यो सिर्जनशीलतालाई ! क्या गज्जब, पहिलो गाँसमै लड्डु पऱ्यो । त्यसपछिका परिकारहरू त भन्नै परेन ।

एकातिरबाट पढ्दा एक जनाको तीस वटा कविताहरू पढ्न पाइने र अर्कोतिरबाट पढ्दा अर्कोको तीस वटा, जसको नाम माथि छ उसैका कविता । जम्मा साठी वटा कविताको एउटा अद्भूत संग्रह — जोडीका कविता !

अनि, तीस-तीस वटा नै किन त ? यो संग्रह उनीहरूको तीसौँ वर्षगाँठको उपलक्ष्यमा निकालिएको रे क्या !

पहिलो पाना पल्टाउनेबित्तिकै पुस्तक कसका लागि भन्ने मुटुमा कुतकुति लगाउने खालको एउटा वाक्य पढेँ : ‘आफ्ना कुरा निर्धक्क भन्न सक्नेहरू र अरूका कुरा सुन्न सक्नेहरूका लागि । ’

यति पढेपछि मैले आफूलाई सुन्न सक्नेहरूको पङ्क्तिमा राख्न करै लागेको मानेँ ।

पहिले कवि तारक धितालका कविताहरू पढ्न शुरु गरेँ । सबै राम्रा । सबै उम्दा । धुइँधुइँति खोज्दा पनि छिऽ मान्नुपर्ने एउटै फेलापार्न नसकिने खालका !

अहिलेलाई म उनकै हिस्साबाट आफ्नो गन्थन शुरु गर्न गइरहेको छु:

शुरुमै दोस्रो कविता छ ‘ऐना’, जसले हामीले बोक्ने गरेको द्वेध चरित्रको धज्जी उडाएको छ:

“ऐना अगाडि

भरखरै उभिनु अघिसम्मका

आफ्ना कर्म-कुकर्मलाई निर्धक्क छोपेर

सम्भ्रान्त जीवन बाँचेको भनी

कथित गर्विलो मुस्कानमा

मख्ख पर्न लालायित हुन्छौं हामी

तर हाम्रा सोच र अनुहारमा

लेपिएका आडम्बर र घमण्डका

लेपहरू एक पटक पन्छाई हेरौं त

के त्यो प्रतिबिम्ब

हाम्रो सम्भ्रान्तताको द्योतक बन्न सक्छ ?” (ऐना\पृष्ठ ३-४)

‘जुवाडेहरू’ कविताले राजनीतिका खेलाडीहरूप्रति तीखो व्यङ्ग कसेको छ—

“कथित वैधताको

झिनो घेराभित्र

अवैध जुवाको खाल चलिरहेको छ

च्याँखे थाप्नेहरू हौसिएका छन्

दङ्ग परेका छन् जुवाडे

के थाहा कुन च्याँखे

कतिखेर कुन दाउतिर सर्छ

तैपनि जुवाडेहरू

लगातार खेलिरहेका छन्

थाप्नेले च्याँखे थापिरहेका छन्

दर्शक थपडी बजाइरहेका छन्

सबै केही न केही पाउने आशामा

तर देश भने निरन्तर हारिरहेको छ

हारिरहेको छ ।” (जुवाडेहरू\५)

‘हाम्रो नेपालमा’ राजनीति भनेको जुवाको खेल हो । हरेक जुवाडेले सिद्धान्तको एउटा दाउमा कौडा हान्छ; कि जित्छ कि हार्छ । तर जुवाको खेलमा च्याँखे थाप्नु भनेको कुनै पनि सिद्धान्त नहुनु र जुन दाउको जित्ने सम्भावना देखिन्छ, त्यसकै दाउमा पैसा राख्नु हो । च्याखेँ थाप्नुबाट च्याखे-जुवाडीले केही न केही त हात पारिहाल्छ । ऊ मोटाउँछ र देश चाहिँ दुब्लाउँदै जान्छ ।

यो सब देखेर कविको मन कहाँ शान्त हुन्छ र ! त्यसैले त—

“भैगो अब

निदाउन खोज्छु

परेला जोडिनै मान्दैन

मनलाई सुमसुम्याउँदै

प्रेम जगाउन खोज्छु

घृणा ठिङ्ग उभिदिन्छ

सद्भाव फैलाउन खोज्छु

तिरस्कारले छेकिदिन्छ” (अचेल\६-७)

फ्रस्टेसन त अब शुरु हुन्छ-

“हत्तेरिका !

ध्यान गर्न खोज्छु

मन एकाग्र हुनै मान्दैन

रमाइलो गर्न खोज्छु

उत्साह नै जाग्दैन

चिन्तन गर्न खोज्छु

सोच नै हराइदिन्छ” (अचेल\७)

विसादको अवस्थाले सबैलाई दिने कोसेली भनेको सर्वत्र निराशा र भ्रमित मनस्थिति नै हो र सबभन्दा घातक कुरो मनबाट सकारात्मकता नै हराउन पुग्नु हो—

“राम्रो के छ केलाउन खोज्छु

खराबको लस्कर नै लाग्छ

सज्जन होलान् भन्ने ठान्छु

‘चोर’ कै बिगबिगी देखिन्छ

धन्यवाद दिऊँ भन्छु

‘धिक्कार’ पो फुत्किन्छ” (अचेल\७)

हिन्दीमा एउटा प्रचलित भनाई छ—जहाँ न पहुँचे रवि, वहाँ पहुँचे कवि । त्यसैले, कवि भनेका हामीलाई दिशा देखाउने ऱ्याडार हुन् । कति सटीक रूपमा कविका आँखाले समाजको वास्तविक दृश्य देखेका हुन्छन्—

“अरूको सरलतालाई कमजोरी ठान्नेहरू पनि देखियो

नपाएको पगरी गुथ्दै महान् देखिन खोज्नेहरू पनि भेटियो

किच्चो गरी मागेर सम्मानित भएँ भन्नेहरू पनि देखियो

दिउँसो गाली गरेकैलाई राति चाकरी गर्नेहरू पनि देखियो

जिउँदाका मलामीहरूसँग संगत त धेरै नै भयो” (जिउँदाका मलामीहरू\९)

अनि त, मान्छे के हुन्छ अब ?–

“अचेल त म होचो भैसकेछु

मलाई नियाल्ने

आवश्यकता नै पनि गुमाइसकेछु

कोलाहलमा मेरो आवाज सुन्नै छाडिएछ

चारैतिर घेरिएर, छेलिएर

ओझेलमा म उभिइरहेको छु

सबैलाई समय दिने म

मलाई समय दिने कोही कुरिरहेको छु ।” (कुरिरहेको छु\१२)

कविको काम नै हो उपमा र बिम्बबाटै यथार्थलाई भित्तो पुऱ्याउने र पाठकको मनमा गहिरो छाप छाड्ने—

“खाटा बस्न लागेको घाउ

कोट्याइ-कोट्याइ बल्झाइरहने

उपचार नपाएको दोष अरूलाई नै दिने

कोही कोट्याइ दिने, कोही कोट्याइ माग्ने” (कोट्याउने बानी\१४)

अर्को एउटा सशक्त कविता छ । यो कविता पढ्दा मैले कताकता भूपिको कुनै कालजयी कविता पढिरेहेको त छुइनँ भन्ने आभास पाउँछु—

“गिदीको भाँडो त्यति थोत्रिइसकेको त थिएन

तर

चुहावटको निरन्तरता

कायम भैदिएछ

शायद, पीँधमा

खियाले दुलो पारिसकेको छ क्यार

त्यसैले होला

हरेक रातको

अस्पष्ट निद्रापछि ब्यूँझदा

हिजोभन्दा अझ बढी

मूर्खताको आभास हुने गर्छ

अचेल हाम्रो नेपालमा” (हाम्रो नेपालमा\१७)

अनि—

“विज्ञापनको यो दुनियाँमा

खोज्ने मानवीय संवेदना

मेरैमात्र हो कि यो मूर्खता (?)” (विज्ञापनको दुनियाँ\१९)

एउटा रमाइलो कुरो, कविको नजरमा राजनीति जे रहेछ मेरो नजरमा पनि ठ्याम्मै त्यही हो । तपाईंको नजरमा पनि यदि त्यही नै हो भने मान्नुस् राजनीति भनेकै यस्तै हो—

“सुन्दै आएको

राजनीति फोहोरी खेल हो

देखेको

राजनीति जालझेल पनि हो

भोगेको

राजनीति सत्तास्वार्थको मेल हो

जानेको

राजनीति चुनावी भेल हो

अनुभव गरेको

राजनीति शक्ति, सम्पत्ति र सम्बन्धको ठेलमठेल हो

चलनचल्तिको

राजनीति विचार हैन स्वार्थमा पाक्ने सेल हो

आश गरेको

राजनीति परिवर्तन र प्रगतिको रेल हो

नतिजा पाएको

राजनीति नारामा ‘पास’ काममा ‘फेल’ हो

नैतिकतामा तौलेको

भित्र बाहिरका ‘प्रभु’ लाई घस्ने तेल हो

चुनाव जिताएको

जनताका लागि ‘कौवालाई पाकेको बेल’ भो

चाहेको होस् कि नचाहेको

राजनीति नफुक्लिने नेल हो” (राजनीति\२३)

एउटा सक्षम र इमान्दार राजनेताको चाहना आज सबै इमान्दार भुईंमान्छेहरूको उत्कट चाहना हो। यही चाहनालाई कवि यसरी बोल्छन्—

“जहाँतहीँ खोक्नु नै हो रे बौद्धिकता

खोजौँ कहाँ अब नैतिकता

हराए सब भुइँमान्छेका आवश्यकता

फटाहामध्येकै फटाहा छान्नु पर्ने बाध्यता

खै कहाँ कहिले भेटिएलान् र राजनेता (?)” (सतर्कता\२७)

लाग्छ, मनमा अनगिन्ती प्रश्न र हृदयमा मनग्य असन्तुष्टिहरू हुँदाहुँदै पनि गणतन्त्रको विकल्प गणतन्त्रै हो भन्न बाध्य छौँ हामी, दुई वटा कारणले : पहिलो, हामीले अगणतान्त्रिक व्यवस्थालाई विगतमा भोगेका छौँ र दोस्रो, सकारात्मक सोचलाई अक्षुण्ण राख्नकै लागि पनि । किनभने, सकारात्मक सोचले औषधिको काम गर्छ र नकारात्मक सोचले विषको—

”नयाँ हुन् या पुराना

अराजकताको छैन सिमाना

आयो यो कस्तो जमाना ?

फेरि पनि गणतन्त्र त प्यारै छ

गणतन्त्रको विकल्प गणतन्त्र नै हो

सकारात्मकता बढाइरहनु त आफ्नै दायित्व भो” (गणतन्त्र\३५)

यो कविताले पनि राजनीतिक चरित्रलाई नै नङ्ग्याए झैँ लाग्छ—

“च्यातेर आफ्नै लुगा

जाडो कसरी पो कट्ला ?

लागे नै पनि गर्मी

लाज खै केले पो छोप्ला ?

उध्रिएको हो कि

मक्किएको नखुट्याई

च्यातिएर सिएको लुगा

कतिन्जेल पो टिक्ला ?

चल्मलाउँदा तिरिक्कै फाटे

लाज फेरि कसरी छोप्ला ?” (लुगा\४०)

अन्तिममा राजधानीको घण्टाघर कविको शब्दमा देश बनेर बोल्छ—

“वर्षौं वर्षदेखि झरी, बादल, हावाहुरी

सहँदै छु तातो घाम भुंग्रोसरि

तैपनि

खाएको छैन अझै हरेस

पर्खदैछु

कोही त भेटिएला

एक दिन बनाउने यो देश ।

घण्टाघर त अहिले मर्मत हुँदैछ

मर्मत गर्नुपर्ने ‘सोचघर’ भने धेरै छन ।” (म घन्टाघर\४४)

धेरै कम कविताका पुस्तकहरूले मलाई यसरी छोड्नै मन नलाग्ने गरी लट्टू बनाएका छन् । यसले चाहिँ बनायो । एक त कविता भनेको दिमागले पढ्ने कुरै होइन। हृदयले पढ्नुपर्छ । कविताले हृदयलाई छोयो भने त्यो पास भयो नत्र फेल । संग्रहमा भएका सबका सब कविताले हृदय छोए भने त्यसलाई पास मात्रै भनेर पुग्दैन ‘ए+’ ग्रेड ल्याएर पास भएको मान्नुपर्छ । मेरो हृदयमा यसले ‘ए+’ ग्रेड ल्याएको छ । कविलाई साधुवाद !

यो भयो किताबको एउटा पाटो, अर्को पाटोमा अर्की कविका कविताहरूको अब केही चर्चा:

भन्थे भन्नेले, तर साँच्चै हो रहेछ — कविता दिमागले लेखिन्न, हृदयले लेखिन्छ ।

साहित्यको गहन जानकार होइन म, तर पनि कतिपय कविताहरू पढ्दा कविता जस्तै लाग्दैन, कुनै वर्णनात्मक गद्य-साहित्य पढेको जस्तो भान हुन्छ: ‘गाई चार खुट्टे घर पालुवा जनावर हो’ भन्ने पाराको । तर त्यही गाईको पवित्रता, सोझोपन, मायालुपन देखेर मन भावुक भएर कसैको जब हृदयको भित्री तहबाट भावना रसाएर कागजमा शब्द बनेर पोखिन्छ, त्यो कविता बन्छ, चाहे त्यो गद्य नै किन नहोस् ।

कविता भावना-प्रधान हुने भएकोले त्यसलाई हृदयले नै पढ्नुपर्छ, मस्तिष्कले होइन । अर्को कुरो, हृदयद्वारा पढिने भएकाले मस्तिष्कद्वारा पढिएकोजस्तो बल लगाएर बुझ्ने कोसिस गरिरहन पनि जरुरी छैन । त्यसको रसास्वादन गरे पुग्यो ! त्यसैले मलाई कविताको समीक्षा गर्नु पनि एक किसिमले बौद्धिक अभ्यास मात्रै हो जस्तो लाग्छ । माफ पाऊँ !

‘जोडीका कविता’ का कवि दिना सुवेदीद्वारा लेखिएका तीस वटा कविता पढी सिध्याएँ भरखरै । मनमा गुम्सेको भाव नपोखी भएन भनेर ल्यापटपको की-बोर्डमा टाइप गर्दैछु । यो यस कविता-संग्रहको न समीक्षा हो, न त त्यसको चिरफार । यो मेरो पठनानुभूति मात्रै हो ।

‘दिना-तारक’ कवि-जोडीले ‘हाम्रा कुरा’ मा आफ्ना कुरा स्पष्टसँग राखेका छन्, – ‘भावनामा जे तरंगित भए, यहाँहरू सामु कुनै नक्कल-झक्कल नगरी प्रस्तुत गरेका छौँ—जोडी बाँधिएको तीस वर्षको सम्झनामा तीस-तीस वटा कविता । ’ हो, नक्कल-झक्कल त दिमागले सोचेर गर्ने कुरा हो, भावनाले बगाएर ल्याएका कुराहरू सबै जे-जस्ता छन् त्यही हुन्छन् र ती मोतीसरह हुन्छन् ।

कवि दिना सुवेदीका कविताहरू पढेपछि पहिलो कविता ‘म खै ?’ ले नै मुग्ध बनायो—

“म नै गणेश, म नै सरस्वती

म नै शिव, काली नि म नै

भगवती नि मै, लक्ष्मी नि मै

सबै मभित्र हुँदाहुँदै म नै खै ?” (म खै ?\पृष्ठ १)

सर्सर्ति हेर्दा यो अभिव्यक्ति एकदमै सामान्य र केही नभएजस्तो प्रतीत हुन्छ । तर अलिक गहिरिएर सोच्ने हो भने अभिव्यक्ति गम्भीर छ: मान्छेले आफूभित्र नपसी, आफूलाई फेला नपारी बाहिर खोजेर केही पनि पाउँदैन, झन ईश्वरलाई त कसरी पाओस् ?

कविता पढ्दा कतै-कतै रुमीको ‘सुफियाना खयाल’ पो पढिरहेको छु कि झैं लाग्छ, जहाँ प्रेम र मदिराको नशालाई बिम्ब बनाएर उनी ईश्वर-प्रेमको कुरा गर्छन्—

“आउने छ पक्कै त्यो एक दिन

पलाउने छ मनमा समभाव

अनि बल्ल होला बिसर्जित

उनीभित्र मेरो म को प्यास।” (म खै ?\पृष्ठ १)

शरीरमा बल हुँदा मान्छेले काम भ्याइ-नभ्याई ओगट्छ । काम यति धेरै हुन्छ कि समयको सँधै अभाव नै खट्किन्छ उसलाई । जब शरीरमा बल हुँदैन र शक्ति क्षीण हुँदै जान्छ, काम गर्न सक्दैन उसले । अब उसलाई समय नै छेलो-खेलो भइदिन्छ । पहिले उसले समयलाई लखेट्थ्यो, अब समयले उसलाई लखेट्छ—

“बल हुँदा समय त्यसै चिप्ली जान्छ

बल नहुँदा घडीको सुई नै ढीलो लाग्छ

समय आउला भन्दाभन्दै जीवन बिती जान्छ” (रङ्गविहीन तस्वीर\पृष्ठ २)

हामी चाहे जतिसुकै दोषी भए पनि दोषजति अरूको टाउकामा खन्याइदिन्छौं र आफू पानीमाथिको ओभानो भएर पन्छेर बस्छौं । त्यसैले कविको गुनासो छ —

“दोष खाली अरूलाई पन्छाउँदैमा

कठै ! निर्दोष आफू कहाँ भइन्छ र ?” (भ्रम र बोध\३)

‘म भित्रै तिमी’ कवितामा कविले आफ्ना दिवङ्गत पिताप्रति (?) गहिरो संवेदनायुक्त श्रद्धाञ्जली अर्पण गरेकी छिन्—

“अरूको निम्ति मात्र भित्ताको तस्वीर होलाऊ

मेरो निम्ति मुटुको धड्कन बनिसक्यौ

त्यागेर त्यो भौतिक शरीर तिमी

म भित्र समाहित भई एकाकार भइसक्यौ

मेरो बोलाइमा तिम्रो लवज पाउँछु

मेरो पदचापमा तिम्रो चाल भेट्छु” (म भित्रै तिमी\४)

हो, छोराछोरी भनेको बाउआमाकै अंश हुन् र बाउआमाले चालेको कदममा उनीहरूले पाइला थप्दै जान्छन्, प्रगति गर्दै जान्छन् ।

‘बाँच्न बिर्सेकाहरू’ मा एउटा गज्जबको भाव अभिव्यक्त छ । हामी बाँच्न चाहन्छौं तर बाँच्ने नाममा आफ्ना इच्छा-आकाङ्क्षाहरूलाई मारेर, आफनो स्वतन्त्रताको घाँटी निमोठेर हामी मूर्दा-जीवन बाँचिरहेका हुन्छौं—

“मरिएला कि भनेर बाँच्न बिर्सेकाहरू

खुला हावामा सास लिएर त हेर

मनले मागेका चाहनालाई भोगेर त हेर

मर्नुभन्दा पहिला बाँचेर त हेर” (बाँच्न बिर्सेकाहरू\७)

अर्को एउटा गहन भाव छ । हामी ‘भरी’ को महत्त्व बुझ्छौँ, ‘रित्तो’ को बुझ्दैनौँ । रित्तो छ, र पो त्यहाँ केही भर्न सकिन्छ—

“हो, नीलो आकाश रित्तो छ

रित्तो छ र त

त्यसलाई आफ्नो

क्यानभास बनाउन सक्छौं” (रित्तो आकाश\१३)

अनि,

“खुला छ र त

जति पनि पखेटा फिँजाई

उड्न सक्छौं

त्यसैले

कहिलेकाहीँ आफूलाई रित्याउन सक्नु पर्छ

आफैंलाई समेट्न पनि

“म” लाई बिर्सनु पर्छ

नयाँ अध्याय शुरु गर्न पनि ।” (रित्तो आकाश\१३)

‘म’ लाई नै बिर्सनु पर्छ भन्ने बोध एउटा दार्शनिक बोध मात्रै होइन, यो एउटा उच्च आध्यात्मिक बोध हो । ‘म’ लाई बिर्सेपछि मात्र हामी अरूलाई सम्झिन्छौँ, संसारलाई आफ्नो बनाउछौँ ।

के सत्य हो भने मर्यादाको नाममा धर्म, संस्कृति र समाजले हामी सबैलाई कुनै न कुनै रूपले बन्द-कोठामा कैद गरेर राखेको छ; त्यसमाथि नारीहरूलाई विशेष रूपले । यहाँ कविमा त्यो उकुसमुकुस राम्ररी देखिन्छ—

“त्यसैले बिन्ती छ सबैमा मेरो

मर्यादाको अध्याँरो कोठामा कैद नगर मलाई

मलाई म नै बन्न देऊ” (भगवान् नबनाऊ मलाई\१५)

अनि,

“जा संसार तेरै हो भन्छन्

तर नदेखिने पर्खाल चारैतिर ठड्याइयो” (रहर\२३)

‘द्रष्टा’ कविता बढो मार्मिक छ र छ आध्यात्मिक भावले भरिपूर्ण—

“मायाको जालो जान्दाजान्दै

त्यसमा नै फसी हाल्छु

उत्रनलाई लौरो खोज्दा

झनझनै भासिन पुग्छु

द्रष्टा बन्न साह्रै गाह्रो

इन्द्रियले दबाइदिँदा

प्रेम मौलाउन साह्रै गाह्रो

मायाको बन्धनले गर्दा ।” (द्रष्टा\१६)

हो नि, द्रष्टा बन्न कहाँ सजिलो छ र ! मायालाई यो माया पो रहेछ भनेर प्रत्यक्ष नदेखेसम्म द्रष्टा बन्न सकिन्न । बुझेर मात्र हुँदैन ।

प्रेमीका लागि एउटै जुनी काफी छ । किन चाहियो सात जुनी ?—

“भन्दिनँ म सात जुनी

साथै हुनुपर्छ भनी

एकै जुनी रमाउन

खै कुन्नि कहाँ छ र कमी ?” (सम्बन्ध कागजको\१६)

उमेरसँगै खुल्दै जाने ज्ञान हो यो—

“रहेछ सबैथोक खुसी नै

सन्तुष्ट भई बाँच्न सके

सोचाइका दायरा पनि

फरक भए उमेर सँगसँगै ।” (उमेर सँगसँगै\१९)

अरूलाई उतार्ने काममा त हामी निकै लाग्छौँ, अनि आफैंलाई उतार्ने काममा नि ? आफूलाई उतार्न नसकेको मान्छेले अरूलाई कसरी उतार्ला ?-

“खै कसरी उतार्नु त्यो पोखरीमा डुबेकालाई

बाँकी नै छ, उतार्न आफूले आफैंलाई” (आफैंलाई बुझ्न\१६)

कविले चाहेको त्यो हो जुन हामी सबैले चाहन्छौँ—

“विकासभित्रको विनाश हैन

समृद्धिको निकास चाहियो

मरुभूमिको बालुवामुनि पनि

कञ्चन पानीको मुहान चाहियो

लाखौं पाहुनाहरू हैन

एउटा सच्चा मित्र चाहियो ।” (चाहियो\२५)

कविमा देश हाँक्नेहरूप्रति असन्तुष्टी छ र त्यसैले विद्रोह छ—

“सूट र बूट लगाएर

भीख माग्नेले

बिगारेको मेरो देश

ज्ञानगुनका कुरा फलाकेर

पढेलेखेकाले बिगारेको मेरो देश

सामन्तको विरोध गरेर

आफैं सामन्ती बनेकाले

बिगारेको मेरो देश

सुशासनको नारा दिएर

कुशासन गर्नेले नै बिगारेको मेरो देश” (मेरो देश\२६)

जीवनप्रतिको एउटा गज्जबको सकारात्मक भाव—

“जीवन नै के हो र ?

शून्यबाट शून्यमै बिलाउनु छ

त्यही शून्यदेखि शून्यतामाझ

सुन्दर जीवन जिउने मन छ।“ (मन छ\२७)

पहिचान नपाएर बाँचेको मान्छेमा कुन हदसम्मको छटपटी र पीडा हुँदोरहेछ ?—

“पहिचानको अन्तर्संघर्षमा

आफ्नो परिचय खोज्ने कहिले मैले ?

अरूको लागि बाँच्दाबाँच्दै

आफ्नो लागि बाँच्ने कहिले मैले ?” (पहिचान\३१)

हाम्रोमा अवलम्बन गरिएको विकासको अवधारणाले कतिपय महत्त्वपूर्ण क्षेत्रमा ठ्याक्कै विनाश निम्त्याएको छ, हाम्रै आँखाअगाडि । र, यसको दुष्परिणामस्वरूप अहिले नै हामी झन्डै सास फेर्न नसक्ने कहाली लाग्दो अवस्थामा पुगिसकेका छौं । यसले कविको कोमल हृदयलाई स्पर्श नगर्ने कुरै भएन—

“सुन्दर सानो यो शहरमा

छन् पसेका जताततै सडक, गल्लीहरू

रेशारेशामा टुक्रिएका खेतीयोग्य भूभागहरू

त्यहीं माथि उम्रिएका कंक्रिटका घरहरू

चिच्याएर धुवाँ फाल्दै दौडिरहेका गाडीहरू

पत्रमाथि पत्र थोपरिएका कालोपत्रे सडकहरू

चाहिएन अब मलाई

थोपरिएका विकासका संरचना” (विकास\३२)

कविका तीस वटै कविताहरू जीवन्त छन्, उम्दा छन् । भन्ने हो भने कुनै पनि छोड्न मन लाग्ने खालका छैनन् तर थोरैको मात्रै यहाँ चर्चा गरियो । बाध्यताले गर्दा !

दुई शब्द यस पुस्तकको प्राविधिक पक्षबारे पनि भनिहालौं—जोडी अर्थात् श्री मान\मती दुवैका तीस-तीस वटा कविता छन्। गजबको कुरो के भने यहाँ कसको अगाडि र कसको पछाडि भनेर छुट्याउन सकिन्न । एकातिरबाट पढ्दा तीस वटा लहरै श्रीमतीका कविताहरू र अर्कोतिरबाट पढ्दा तीसै वटा श्रीमानका । पुस्तकका साजसज्जा र भूमिका-मन्त्व्यमा पनि ‘जेन्डर बायस’ (लिङ्गीय असन्तुलन) कतै देखिन्न । खोट लगाउने मौकै दिइएको छैन ।

यो पुस्तक बजारमा सजिलै प्राप्य होस् भन्ने मेरो कामना हो, ताकि धेरैभन्दा धेरै पाठकहरूले यसको रसास्वादन गर्न पाउन् ।

कवि-जोडीलाई साधुवाद !

ट्याग: जीवन ओझा
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.