वि.सं. २०४१ सालतिरको सन्दर्भ हो । म र मेरो भाइ दुवैजनालाई टाउकामाथि नै आकाश खसे जस्तो महसुस भयो । त्यतिबेला म एघार वर्षको थिएँ अनि भाइ आश्विन दाहाल जम्मा नौ वर्षका थिए । बुवा–आमाबाट अलिकति पनि टाढा नभएका हामी दुईजनालाई बुवाको जागिरको सिलसिलामा सरुवा भएको खबरले स्तब्ध पारेको थियो । सरुवा पनि त्यसबेलाको समयमा जुम्लामा भएको भन्ने हामीले थाहा पाएका थियौं । जुम्ला कति टाढा हो, कति दुर्गम हो भन्ने हेक्का त हामीलाई थिएन तर के चैं थाहा पाएका थियौं भने–जुम्लामा फोन गर्न सम्भव छैन अनि चिठ्ठी पठाउँदा पनि दुई-अढाई महिनापछि मात्र हात लाग्छ । धेरै पर हिमालको वरपर छ जुम्ला भन्ने कुरा हामीले थाहा पाएका थियौं । आकाश खसे जस्तो त त्यसबेला भयो जब बुवा–आमा र सानी बैनी कञ्चन (एक वर्षकी) मात्र जुम्ला जाने रे भन्ने सुनियो । म कक्षा आठमा र भाइ कक्षा पाँचमा पढ्ने भएकोले हामीलाई मोरङ जिल्लाकै सलकपुर भन्ने गाउँमा मामा–माइजूको घरमा छोड्ने अरे भन्ने कुराले हामी दुई दाजुभाइको मन भक्कानिएको थियो । हामीले अलि अलि आनाकानी त गर्यौं तर सरुवा भएको ठाउँमा नजाने हो भने बुवाको जागिर नै जान्छ भन्ने कुरा बुझेपछि मुटुमाथि ढुंगा राख्यौं ।
त्यसबेला हाम्रो बुवा दुर्गाप्रसाद दाहालको उत्तरपानी प्राविधिक शिक्षालय, धनकुटाबाट कर्णाली प्राविधिक शिक्षालय, जुम्लामा सरुवा भएको थियो । पहिलो पटक त बुवा मात्र त्यहाँ जानुभयो । बुवा जुम्ला गएको बेला हामी विराटनगर, मुनालपथको आफ्नै घरमा आमासँग बसेका थियौं । त्यसबेला आमाले टेलिग्रामबाट बुवाको हालखबर थाहा पाउनुहुन्थ्यो । कत्ति दिनमा बुवाको टेलिग्राम आउँथ्यो – कागजको सानो टुक्रामा आफू सन्चै रहेको र घरमा सबैलाई सम्झिएको छु भन्ने खालको । अति छोटो वाक्य मात्र हुन्थ्यो टेलिग्राममा । त्यो बाहेक आमाले रेडियो नेपालको सूचना सुनेर जुम्लाको हालखबर बुझ्नुहुन्थ्यो । राती नौ-दश बजेतिर हो क्यार ! त्यसबेलाको शाही नेपाल वायुसेवा निगमको हवाइ उडान सम्बन्धी सूचना रेडियो नेपालबाट आउँथ्यो । आमा र म त्यो सूचना नसुनी सुत्दै सुत्दैनथ्यौं । “शानेवनीको फ्लाइट नम्बर…… काठमाण्डौ–जुम्ला–काठमाण्डौ बिहान ….बजे” भनेको सुन्दा आमा खुसी हुनुहुन्थ्यो किनभने त्यहाँको मौसम ठीक रहेछ भनेर बुझिन्थ्यो । फ्लाइट रद्ध भनेको सुन्दा मन चिसो हुन्थ्यो । जुम्लाको हालखबर बुझ्ने माध्यम नै यति थियो हामीसँग ।
केही महिना अघि मात्र म र भिम दाजु (मेरो बडाबुवाको छोरा) घुम्न भनेर मामाघर सलकपुर पुगेका थियौं । आमा, भाइ र बैनी विराटनगरमै थिए । सलकपुर पुगेको केही घण्टा नहुँदै म त आमा, बैनी र भाइलाई सम्झेर यति रोएको थिएँ कि भोलिपल्ट पनि दिनभरी रोइरहें । सबैले मलाई रुन्चे बाबु भनेर जिस्क्याएका थिए । माइजूले त रुन्चे भान्जा भनेर धेरै पछिसम्म मलाई जिस्क्याइरहनु हुन्थ्यो । चार-पाँच दिन बस्न भनेर हिंडेकोमा मेरो रुन्चे व्यवहारले गर्दा, पुगेको भोलिपल्ट बेलुका नै फर्कनु परेको थियो । घर छोड्दा आफूलाई त्यस्तो गाह्रो भएकोमा अब त भाइ र म मात्र सलकपुर बस्नुपर्ने अनि अरु सबै कहाँ हो कहाँ जाने भन्ने कुराले नै हृदय बटारिन्थ्यो ।
औंला भाँच्दा भाँच्दै सलकपुर बस्नुपर्ने दिन पनि आइ पो हाल्यो । हामीलाई लिएर बुवा–आमा नै मामाघर आउनुभयो । धेरै पछि जन्मिएकी बैनी भएकीले हामी दाजुभाइ नै बैनीलाई माया गर्न, बोक्न, घुमाउन खुब मन पराउँथ्यौं । भोलिपल्ट नै जुम्ला जाने भएकोले त्यो दिनभरी र भोलिपल्टसम्म पनि बैनी कञ्चनलाई काखमा बोकेको बोक्यै गरेको थिएँ । मन भारी थियो तथापि मनलाई बहल्याउन थालेको थिएँ । बुवा मात्र जुम्लामा रहँदा त आमा कत्ति आत्तिनु हुन्थ्यो भने अहिले त बुवा, आमा, बैनीलाई नै जुम्ला पठाउँदा हाम्रो मन कति आत्तिन्छ होला भनेर कम्तीमा आमाले सोचेको भए पनि त हुन्थ्यो भन्ने पनि कता कता मनमा लागेको थियो तर भन्न चैं सकेको थिइनँ ।
भोलिपल्ट बेलुकीको रात्रीबसबाट बुवा–आमाको काठमाडौँ जाने टिकट भएको थियो । जाने दिन बिहानदेखि नै म कहिले बुवाको खुट्टा सुम्सुम्याउन जान्थेँ भने कहिले आमाको साडीको सप्कोलाई आफ्नो अनुहारमा बेरेर माया बटुल्ने कोसिस गर्थें । बुवाको एउटा खुट्टाको बुढी औंला छड्के परेर बाङ्गिएको छ । सानामा बडाबा तुलसीप्रसाद दाहालसँग जिस्कँदा जिस्कँदै खन्तिले लागेर बुवाको खुट्टाको बुढी औंला नै चुँडिएकोले पछि हजुरबुवाले अस्पताल लगेर जोडेर ल्याउनु भएको अरे । मैले बुवाको त्यही बाङ्गिएको बुढी औंला घरिघरि समाइरहें । अझै पनि बुवालाई माया गरेर सुम्सुम्याउनु पर्दा मेरा हात त्यही बाङ्गिएको बुढी औंलातिर नै जान्छन् । कुनै दिन बुवा संसारबाट बिदा हुनुभयो भने पनि मेरो हातले जीवनभर बुवाको त्यो बाङ्गिएको बुढी औंलाको अभाव झेल्छ होला । मामाघर सलकपुरबाट इटहरी आउनुपर्थ्यो काठमाडौँ जाने रात्रीबस चढ्न । हिंड्ने बेलामा बुवाले मसँग एक गिलास पानी माग्नुभयो । मैले ल्याएर दिएँ । बुवाले पानी पिएपछि थोरै पानी गिलासमा नै छोड्नुभयो । बुवा–आमा घरको काठे लिस्नुबाट ओर्लेर आँगनमा पुगेको बेला मैले त्यो गिलासमा उब्रेको पानी थोरै हातमा लिएर आफ्नो जिउमा दलें – बुवाले छोडेको जुठो पानी आफ्नो शरीरमा नै विलीन होस् भन्ने लागेको होला । त्यो गिलासलाई मैले हप्ता दिनसम्म भण्डार कोठामा धानको भकारी पछाडि लुकाएर राखेको थिएँ अनि हरेक दिन बुवालाई सम्झँदै गिलासको पानी जिउमा दल्ने गर्थें । यो कुरा सँगै रहेको भाइलाई पनि थाहा भएन । किन किन बुवाप्रति मेरो छुट्टै भावनात्मक लगाव रहेको छ ।
मामा, म र भाइ आश्विन नै बुवा–आमालाई बिदा गर्न इटहरी पुगेका थियौं । बैनीलाई बोकेर आमा शुरु मै बसमा चढिसक्नुभएको थियो । बस हिंड्यो, बुवाले हामी दाजुभाइको टाउकाको कपालमा हातले दुख्ने गरी सुम्सुम्याउनुभयो अनि बिस्तारै हिंडेको बसको ढोकाको ह्याण्डिल समातेर हुत्तिंदै भित्र छिर्नुभयो । बुवा बसभित्र छिरेको देख्नासाथ मेरो आँखाबाट बरर्र आँसु झरिहाले । अलि पर छेलिएर आँसु पुछें । रुन्चे भान्जाको उपनाम पहिले नै पाइसकेको हुँदा अब त सम्हालिनु नै पर्ने थियो । भाइको अघिल्तिर रोएर उनलाई झन विक्षिप्त पार्नु पनि त हुन्नथ्यो । सलकपुर पुगेपछि पूर्वतिरको साँघुरो अँध्यारो अँध्यारो कोठामा गएर भाइले मलाई र मैले भाइलाई हेरेर कत्तिबेर रोइरह्यौं ।
ग्रामिण परिवेशको पहिलो अनुभव
हाम्रो मामा भक्तलाल कट्टेल, त्यसबेला मोरङ जिल्लाको हरैंचामा जनता माध्यमिक विद्यालयको शिक्षक हुनुहुन्थ्यो । मुख्य विषय त भूगोल हो क्यार ! तर घरमा अंग्रेजी विषयको ट्युसन पढ्ने विद्यार्थीहरूको सँधै जमघट हुने गर्थ्यो । बिहानको ट्यूसन भ्याएर मामा साइकलमा हरैंचा जानुहुन्थ्यो । शिक्षकको जागिरले जमिन किनेर घर बनाउनु निकै कठिन कुरा हो । पश्चिमतिर फराकिलो आँगन, उत्तरतिर किम्मुको बोटसँगै चापाकल, पूर्वपट्टि धान, गहुँ समेत रोप्न सकिने बारी, दक्षिणतिर चापागाईं बाको घर । मामाघर पश्चिम फर्केको, नसम्याएका सिमलकाठको फल्याकले बारेको टाँडे घर थियो । हामीलाई बस्न असहज त भएन । मोरङकै भलुवा (मंगलबारे) मा बडा बा, काका, फुपूहरूको टाँडे घरमा बसेर बानी परिसकेका थियौं हामी दाजुभाइ । गाउँको पाइखानामा बस्ने बानी नभएका हामीलाई अलि गाह्रो त पर्यो नै । घरभन्दा पूर्वतिर झण्डै डेढ सय मिटर जतिमा पाइखाना थियो । साँझ परेपछि मैले भाइलाई र भाइले मलाई पालो नदिइ पाइखाना जानै डर लाग्थ्यो । पाइखाना वरपर काठले बारेको भएपनि प्रशस्तै छिद्रा देखिन्थे, पाइखाना छिरेपछि एउटा काठको फल्याकले छिरेको ठाउँ छेल्नुपर्थ्यो अनि मलमुत्रमा गुजुङ्गगुजुङ्ग गरिरहेका किराहरूको दर्शनसँगै मलमुत्र विसर्जन गर्नुपर्थ्यो । ग्रामिण परिवेश बुझ्ने पहिलो अवसर नै भयो यो । अहिले त सलकपुरको मुहार पूरै फेरिएको छ र मामाघर पनि दुबईको आलिशान भवन जस्तो छ । समयले गाउँलाई शहरतर्फ फेर्न खोजिरहेको यथार्थ यहाँ झल्किन्छ ।
विद्यालय र सिकेको गम्भीर शिक्षा
मामाघरमा रहँदा हामी गोठगाउँको पञ्चायत माध्यमिक विद्यालयमा पढ्न थाल्यौं । विद्यालय जान त्यति उत्साह लागेन । त्यहाँको प्रधानाध्यापक त्यतिबेला पीतकुमार श्रेष्ठ भन्ने थिए । उनलाई त पहिलेदेखि नै मैले चिनेको थिएँ । मेरो बुवा नेपाल राष्ट्रिय शिक्षक संगठनको मोरङ्ग जिल्ला सचिव भएको बेला पीतकुमार सर हाम्रो घरमा आउने गर्नुभएकाले मेरो मनोविज्ञानमा सकारात्मक हलचल भयो अनि त्यो विद्यालय पढ्न जाँगर चल्यो । कहिले हिंडेर त कहिले बसको हुडतिर चढ्ने भर्याङ्ग जस्तोमा झुण्डिएर विद्यालय गइन्थ्यो । बसमा चढ्दा एकपटक आफूमात्र पछाडिको भर्याङ्ग समात्न पुगेछु, अरु साथी त चढ्न नसकेर हिंड्दै आएको देखें । हत्तपत्त हामफाल्न खोजेको त निकै गतिमा बस त कुदिसकेको रहेछ । नराम्रोसँग कालोपत्रे सडकमा बज्रिएँ । घिस्रिएर हातमा बोकेको किताबको पहिलो गातादेखि झण्डै अन्तिम पानासम्म प्वाल परेछ । धन्न बाँचे ! हातमा सामान्य दर्फर्याएको मात्र रहेछ । त्यो दिनदेखि कुनै पनि सवारी साधन चढ्दा हतार नगर्ने दृढ निधो गरें । विद्यालय जाँदा आउँदा सिकेको व्यवहारिक गम्भीर शिक्षा थियो त्यो ।
चारकोसे झाडी र गोठाले काम
मामाघरको दक्षिणपट्टि चापागाईं बाको घर थियो । उहाँको छोरा मोहन चापागाईंसँग हाम्रो निकै राम्रो मित्रता भयो । छुट्टीको बेला उनी गाइगोरु चराउन जान्थे अनि उनीसँगै म र आश्विन भाइ पनि दिनभरी त्यतै हराउँथ्यौं । हाम्रो यो व्यवहार देखेर बेलाबेलामा माइजूले त्यसो नगर्न, बरु दिनभरी पढ्न भन्नुहुन्थ्यो । माइजूको कुराको हाम्रो कानमा बतास पनि नलाग्ने !
एकदिन माइजू उर्मिला ओझा कट्टेलले हार खाएर होला, मोहनसँगै जाने हो भने घरको गाईलाई पनि लिएर जान भन्नुभयो । हामी त झन् मख्ख ! त्यसपछि हरेक छुट्टीमा त्यो रातो रातो रङ्गको एउटा सिङ् खिएर टाउको मै टाँसिन लागेको गाई लिएर दुई दाजुभाइ हिंड्न थाल्यौं । कहिले रिजालको कारखाना छेउतिर, कहिले भुल्के खोलामा । गाई चराउन्जेल म र मोहन चैं आश्विन भाइको काल्पनिक कथामा मग्न हुन्थ्यौं । भाइले हामी तीन जना भविष्यमा धेरै धनी हुने अनि ठूलो बंगला बनाएर गाडी, बग्गीमा घुमेको कथा सुनाउँथे । हामीसँग दुईवटा चिम्पु र लिम्पु नाम गरेका बाँदर पनि हुनेछन् र ती बाँदरहरूले हामीलाई सिनेमामा जस्तै गरी धेरै अफ्ठ्यारो अवस्थामा सहयोग गर्ने छन् भन्ने कथामय कल्पनाका क्रमबद्ध पंक्तिहरूले मन्त्रमुग्ध पार्थ्यो हामीलाई । भावी समृद्धता उनिएको आशाको त्यान्द्रोमा झुण्डिन हामीलाई भाइका कथाहरूले घच्घच्याएको थियो भन्ने लाग्छ अहिले मलाई ।
पछि पछि त हामी चारकोसे झाडीमा गाई लिएर जान थाल्यौं । माइजूले थाहा पाएर त्यसो नगर्नु भन्दै सम्झाएतापनि हाम्रो हठ किन मान्थ्यो र ! गाईगोरुलाई जङ्गलभित्र छिराएर हामी वारि आउँथ्यौं अनि कहिले ढोल बगैंचा, कहिले आसपास र कहिले छुई छुई खेल्ने गर्थ्यौं । घाम अस्ताउन लागेपछि भुँडी डम्म पारेर सबै गाईगोरु वारि आइपुग्थे । जङ्गलमा भित्रसम्म गएर जामुन टिप्न, कुसुम चाख्न खुब मजा आउँथ्यो । तिर्खा लाग्दा एउटा खास किसिमको लहरा काटेर त्यसबाट निस्कने पानी खाने गर्थ्यौं । ग्रामिण जीवनको सुन्दर पक्ष भोग्ने अवसर मावलले दिएकै हो ।
एकपटक साथीभाइहरूको लहैलहैमा लागेर साथी मोहन चापागाईंको गोरुलाई अरिङ्गाल भएको झाडितिर घुसाइदियौं । मोहनलाई तेरो गोरु त्यहाँ झाडीमा अड्किएको छ भनेर त्यतातिर पठायौं । एकैछिनमा गोरु दौडँदै उफ्रँदै बाहिर निस्कियो अनि मोहन पनि लगाएको कमिज खोल्दै चिच्याउँदै निस्किए । अरिङ्गालले नराम्रोसँग टोकेछ । दुई रातसम्म हन्हनी ज्वरो आयो । यस घटनाले साथीभाइहरूलाई रमाइलोका लागि दुःख दिनु हुन्न भन्ने चेत पाएँ र त्यो दिनदेखि कसैसँग खेलाँची त परै जावस् तिखो वचन समेत बोल्न छाडेको छु । जीवनमा मेरा लागि यही आत्मस्वीकृति नै गहना बनेको छ ।
मामाघरमै हुँदा हामीले धान रोप्न सिक्यौं, मकै गोड्न सिक्यौं । भाइ आश्विन चैं यसोउसो गरेर आँखा छलिहाल्थे तर म चैं एकोहोरो काममा लाग्थें । आज मलाई कुनै पनि काम गर्न संकोच नलाग्ने र काम गर्नुपर्दा अघि सरिहाल्ने बानी बस्नुमा मामा–माइजूले सुझबुझपूर्ण ढंगले सिकाएको कुराले नै हो भन्ने लाग्छ । गोठालो जाँदा साथीभाइले सुनाएका भुतप्रेतका कथाले हामी दुवैजनाको मनोविज्ञान बिगारेको थियो । एकदिन राति घरको मुन्तिर काठको तख्ता सारेको आवाज आयो, हेर्न जाँदा केही थिएन । माइजूले घर अघिल्तिरका मर्न घिटिक घिटिक परेका एकजना बुढा बाको हंश आए जस्तो छ भन्नुभयो । हाम्रो त सातोपुत्लो नै गयो । घरको पछाडिको केराबारीमा डाइनी नाचिरहेको रहेछ भनेर एकजना धामीले भनेपछि दिउँसो पनि भँडारकोठामा जान जिउ सिरिङ्ग हुन्थ्यो । सँधै रातमा धामीझाँक्रीको ढ्याङ्ग्रो सुनिने हुँदा हामी दाजुभाइ एउटै सिरकलाई हावा समेत नछिर्ने गरी चेपेर सुत्थ्यौं । एक रात सुतेको बेला डरले सिरक तानातान गर्दै गर्दा दुईवटा बिरालो झगडा गर्न थाले । आत्तिएर हामी दुवैजना यसरी चिच्याएछौं कि वल्लोपल्लो घरबाट आँगनमा मानिसहरू भेला हुन आइपुगे । साह्रै लाज लाग्यो । वास्तवमा भुतप्रेत, डाइनी, पिशाच, धामी जस्ता कुरा ग्रामिण अज्ञानतामा पो फैलँदो रहेछ । जति समाज शिक्षित र आधुनिक भयो, उति त्यस्ता भावनात्मक भय हट्दै जाँदो रहेछ ।
हाटबजार अनि बजार ज्ञान
सलकपुरको दक्षिणतिरको बाटोमा एकसय मिटर परतिर हप्तामा एकपटक हाटबजार लाग्ने गर्थ्यो । विराटनगरमा हामी त्यसलाई हटिया भन्थ्यौं तर त्यहाँ हाटबजार भनिँदो रहेछ । एकदिन माइजूले हामीलाई “बारीका हरिया मकै र फर्सीको मुन्टा बेच्न लान्छौ ?” भनेर सोध्नुभयो । जीवनमा कहिल्यै नगरेको काम गर्न अलिकति असहज लाग्यो । साँच्चै भन्ने हो भने हामी दाजुभाइले पसलमा पैसा तिरेर सामान खरिद गर्न समेत सिकेका थिएनौं । धनकुटाको उत्तरपानीमा हुँदा हिले बजारसम्म हिंडेर गई बैनीको नाम लिएर आफ्नै रहर पूरा गर्न दस रुपैयाँको खेलौना हेलिकप्टर किनेको बाहेक हामीसँग किनमेलको अनुभव नै थिएन भन्दा पनि हुन्थ्यो ।
हामी दश मुठा जति फर्सीको मुन्टा र पच्चीस वटा जति मकैको घोगा लिएर हाटबजार गयौं । अफ्ठ्यारो लागेर मोहन चापागाईंलाई पनि लिएरै गयौं । हाटबजार भर्खर शुरु हुँदै थियो, केही मानिसहरू किन्न आए । माइजूले बेच्ने दाम पनि हामीलाई भन्नुभएको थियो । हामीसँग क्रेताहरूले मोलमलाई गरे, हामीले तोकिएको दामभन्दा कममा नदिने भनेर बेचेनौं । केही समयमा फर्सीको मुन्टा भनेकै दाममा बिक्री भयो तर मकै चैं किनेनन् कसैले । निकै बेरपछि एकजनाले तोकिएको दाममा एकवटा घोगा थप गरेर दिए सबै किन्ने भनेर हामीलाई कुरा राखे । हामीले पनि हुन्न भनेर अड्डि लियौं । धेरैबेर पछि मोहनले आँखाको इसाराले बेचे हुन्छ भने । हामीले दियौं र दौडँदै घर आयौं । घर आएपछि माइजूले “के के गर्यौ ?” भनेर सोध्नुभयो । हामीले बेलिविस्तार लगायौं । त्यसपछि उहाँले, “तिमीहरूलाई बजारसँग कसरी परिचित हुने ? भनेर सिकाउन मैले यो काम लगाएकी हुँ । राम्रो गर्यौ, मोलमलाई गर्न पनि सिकेछौ ” भन्नुभयो । पहिलो पटक बजार बुझ्ने र बजारसँग व्यवहार गर्ने तरिका सिक्न पाइयो ।
लेख्ने रहर र साथीको सहयोग
विद्यालय पढ्दा कक्षा आठका साथीहरूले वि.सं. २०४२ सालको नयाँ वर्षका अवसरमा सानो पुस्तक निकाल्ने भन्ने योजना बनाएका थिए । त्यतिबेला विजय रेग्मी, तुलसी ढकाल, अच्युत रिजाल (अहिले मेरो भिनाजु) को पहलमा कथा, कविता बटुल्ने तयारी भएछ । अहिले कीर्तिशेष भएका साथी विजय रेग्मीले मलाई पनि केही सानो विषयमा लेख वा कविता लेख्न आग्रह गरे । त्यतिबेलासम्म मलाई यस्ता कुरा लेख्न नै आउँदैनथ्यो । सोच्दा सोच्दा गरें । सत्यनारायण माध्यमिक विद्यालय, विराटनगरमा कक्षा ६ मा पढ्दा बुवाको सहयोगमा ‘चुरोट महात्म्य’ भन्ने कविता वाचन गरेको थिएँ । सबैले तारिफ गरे तर ६ कक्षाको बच्चाले यति गहन कविता लेख्न नै सक्दैन भनेर पुरस्कृत नै गरेनछन् । त्यही कविता कोर्नुपर्यो भनेर घोत्लएँ तर कत्ति गर्दा पनि याद आएन । “चुरोटायः नमो नमः” भन्ने वाक्य बाहेक केही आएन दिमागमा । त्यसपछि खेमनाथ खतिवडा दाजुले एकताका लेखेको ‘भान्छे बाजे’ भन्ने कवितालाई सम्झे जति जेनतेन कोरें । विजय रेग्मीले मन पराएनन् । उनले मेरा लागि कविता लेखिदिए – ‘नयाँ वर्षको शुभागमन तिमीलाई’ । मलाई लज्जा अनुभूत भयो । त्यही अनुभूतिले मलाई लेख्नतर्फ प्रेरित गर्यो र आज लेखकका रुपमा परिचित गराउन सक्ने धरातलमा पुर्यायो । लेखन क्षेत्रमा अघि बढ्ने हौसला मावलीघरको परिवेशबाट प्राप्त भयो, जसलाई म जीवनको सर्वाधिक उपलब्धि ठान्दछु ।
मेरा मामा भक्तलाल कट्टेलसँग म अंग्रजी व्याकरण सिक्ने गर्थें । मामा अरुबेला रमाइलो अनि हँसीमजाक गर्ने स्वभावको भए पनि पढाउँदा चैं साह्रै सख्त ! एकपटक सिकाउँदा बुझेन भने मामाको हात चलिहाल्ने । भाइ आश्विन त मामाको अघिल्तिर जानै चाहँदैनथे । म चैं सोधी सोधी सिक्ने भएकाले अंग्रजी व्याकरणमा निकै जान्ने भएँ । मामासँग सिकेकै कारणले मैले प्रविणता प्रमाणपत्र तहमा अंग्रेजी ऐच्छिक विषय लिन आँट गरें र त्यसकै उपादेयता स्वरुप जागिरे जीवनमा सीटीईभीटी अन्तर्गत अंग्रजी भाषा प्रशिक्षणमा स्थायी समेत हुने अवसर पाएँ ।
राजनैतिक विषयवस्तु बुझ्ने अवसर
मेरो मामा–माइजूलाई राजनीतिमा चासो नै थिएन । बुवा दुर्गाप्रसाद दाहालको शिक्षक आन्दोलनका गतिविधि र बामपन्थी राजनैतिक सोचका कारण मैले थोरै राजनीति बुझ्थें । राजनीति बुझ्थें भन्नुको अर्थ तत्कालीन पञ्चायती शासनका विरुद्ध चेतना अङ्कुराउन थालेको थियो । रेडियो नेपालबाट त्यसबेला प्रशारण हुने गीत “चौतारीमा राजा भेटियो, चौतारीमा रानी भेटिइन्” भन्ने गीतलाई हामी सानै हुँदा विकृत पारेर “गु–घारीमा राजा भेटियो, मल–घारीमा रानी भेटिई” भन्दै चिच्याउने गर्थ्यौं अनि बुवाले हामीलाई “बाहिर सडकमा पुगेर यसरी गायौ भने बुवालाई पुलिसले पक्डेर लैजान्छ” भनेर डर देखाउँनुहुन्थ्यो ।
सलकपुर बस्दा वि.सं. २०४२ सालमा राष्ट्रिय पञ्चायतको चुनाव आएको थियो । चुनावमा त्यतिबेला बद्रीप्रसाद मण्डल, मातृकाप्रसाद कोइराला, उमेशजङ्ग थापा, बमबहादुर खड्का अलि बढी चर्चामा थिए । त्यसबेलाको चुनाव चिह्नहरूलाई लिएर म, विजय रेग्मी, तुलसी ढकाल र भाइ माधव रेग्मीहरू चैं कविता जस्तो भट्याउने गर्थ्यौं,
उमेशजङ्गको बाङ्गे हलो, बमबहादुरको दियो ।
बद्री मण्डलको दाह्रे हात्ती, जङ्गल फाँड्दै थियो ।।
यही क्रममा एकदिन विद्यालय गोठगाउँबाट सलकपुरतिर हिंड्दै फर्कँदा मैले बाटोको एउटा रुखमा मातृकाप्रसाद कोइरालाको पोष्टर टाँसेको देखें । हौसिएर त्यो पोष्टरलाई च्यातिदिएँ तर एक जना कक्षा दशमा पढ्ने अग्ले बलियो केटाले दौडँदै आएर मेरो गर्धन पक्डियो अनि जोडसँग भुइँमा हुत्यायो । म रन्थनिएँ । रिस पनि उठ्यो । चित्त बुझेन भन्दैमा दायाँ–बायाँ नहेरी प्रतिक्रिया जनाउनु हुने रहेनछ भन्ने शिक्षा पनि पाएँ ।
त्यसबेलाको चुनावी रौनक उमेशजङ्ग थापाको थियो । उनी खुब उट्पट्याङ्ग गर्थे । त्यसबेलाका अञ्चलाधीश सूर्यबहादुर सेन ओलीलाई संकेत गर्दै “ओलीको गोलीले केही लछार्दैन ।” भन्ने खालका वाक्य पर्चाको माथिल्लो भागमा लेखेर वितरण गर्थे । कहिले हलो नै बोकाएर जुलुस लगाउँथे, कहिले पुलिससँग लुकाछुपी गरेको देखाउँथे । “नेपालमा उनका पर्चा र पोष्टर छाप्न निषेध गरेकाले भारतमा छापेर लुकाएर यहाँ बाडिन्छ रे !” भनिन्थ्यो । उनी भाषण गर्दा अत्तालिँदै आउँथे, गाडीको बुनटमा उभिएर भाषण गर्थे अनि पुलिसले पक्डन पछि लागेको बाहना गरेर भागिहाल्थे । पञ्चायतको घोर विरोधी देखिएका थिए । एकपटक त हातमा हतकडी नै झुण्डाएर सलकपुर चोकमा भाषण गर्न आए । उनले पुलिसले म्याद थप गर्न लगेको बेला भागेको भन्दै थोरै भाषण गरेर पर्चा फ्याँकेर हिंडिहाले । उनको पर्चा समाउनेलाई प्रहरीले थर्काउने समेत गर्थ्यो । बाम झुकावका अभिभावक भएका साथीहरू चैं “बमबहादुर खड्कालाई हराउन पञ्चेहरूले गरेको खेल हो – उमेशजङ्गको चुरीफुरी” भन्थे । वास्तवमा त्यही नै रहेछ । चुनावमा बद्रीप्रसाद मण्डल पहिलो र उमेशजङ्ग थापा दोस्रो भएर विजयी भए । राजनीतिको झनझनाकारले त्यही बेलादेखि मलाई उत्तेजित पारेको थियो । अझ भनौं पञ्चायत विरोधी भावना झन् तीव्र भएको थियो । तर नबुझेर उमेशजङ्ग थापाको प्रचारमा पो कुदिएछ । राजनीतिमा यस्तो तिकडम खुब खेलिँदो रहेछ भन्ने कुरा पनि मावलघरकै परिवेशमा बुझ्ने अवसर पाएँ । पछि हेर्दा के बुझियो भने पञ्चायतको घोर विरोधी भनिएका उमेशजङ्ग पन्चायतकै कलो खाने देखिए अनि पञ्चायती अञ्चलाधीस सूर्यबहादुर सेन ओलीचैं माओवादीका सभासद बन्न पुगे । राजनीति अवसर कै खेल त रहेछ !
अन्तमा
मामाघर सबैलाई प्यारो लाग्छ तथापि मामाघरबाट मैले चैं जीवन सिक्न पाएँ । कर्मशील बन्ने अवसर त्यहींबाट पाएको हुँ मैले । अब त सलकपुर हिजोको जस्तो ग्रामिण बस्ती रहेको छैन, न त मामाघर नै पुरानो अवस्थाको । मामाघर शहरी भव्य भवनमा परिणत भएको छ तर पनि मामाघरबाट जे सिकें त्यो त्यही ग्रामिण परिवेशकै कारणबाट सिक्न पाएँ ।

