साहित्यपोस्ट डट कम

‘जीवन रहरमै’ गीत लोकार्पित, सर्जक जीवन शर्मा सम्मानित

‘जीवन रहरमै’ गीत लोकार्पित, सर्जक जीवन शर्मा सम्मानित

काठमाडौँ । सिक्किम, भारतका सर्जक जीवन शर्माको संगीत रहेको नयाँ गीत ‘जीवन रहरमै’ काठमाडौँमा लोकार्पण गरिएको छ । सिक्किमकै स्रष्टा विमल काफ्लेको शब्द रहेको गीतमा चर्चित गायिका अञ्जु पन्तको स्वर रहेको छ । साहित्यिक पत्रकार संघ र मिलाप मासिकको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा सर्जक शर्मालाई सामूहिक सम्मान समेत गरिएको थियो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मिलापका प्रधान सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्नुभयो । गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष गीतकार चूडामणि देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्यिक पत्रकार संघ र मिलापले संयुक्त रूपमा सर्जक शर्मालाई सम्मान गर्नुभएकाे थियाे । यसका साथै तारेकेश्वर कला प्रतिष्ठान, डीआर म्युजिक क्रिएशन र युथ क्रिएशनले पनि उहाँलाई सम्मान गरेकाे थियाे ।

प्रमुख अतिथि देवकोटा, सभापति लेकाली, मिलापका अध्यक्ष भुसाल, काव्यकार खेमनाथ दाहाल, संगीतकार राजु सिंह, कलाकार उत्तम केसी, निर्देशक रामशरण कोइरालालगायतले फूल, माला, दोसल्ला र ताम्रपत्रद्वारा सर्जक शर्मालाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य तथा निर्देशक–गीतकार गणेश सुवेदीले सहजीकरण गर्नुभएको थियो । सो अवसरमा कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, प्रा. डा. गोविन्दमानसिंह कार्की, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, समालोचक प्रमोद प्रधान, काव्यकार खेमनाथ दाहाल, कलाकार उत्तम केसीलगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

सभापति लेकालीले नेपाल र सिक्किमबीचको साहित्यिक सम्बन्धको चर्चा गर्दै सर्जक शर्माको साहित्यिक योगदानबारे प्रकाश पार्नुभयो र नेपालमा उहाँलाई सम्मान गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो ।

चालीसभन्दा बढी गीत सार्वजनिक गरिसक्नुभएका शर्माका चार उपन्याससहित कविता र अन्य साहित्यिक कृतिहरू पनि प्रकाशित छन् ।

कार्यक्रममा विभिन्न क्षेत्रका साहित्यकार, कलाकार, पत्रकार तथा संगीतकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । समारोहमा सर्जक शर्माले बाल्यकालदेखि नै संगीतप्रति आफ्नो लगाव रहेको उल्लेख गर्दै नेपालमा प्राप्त सम्मानले थप जिम्मेवारी महसुस गराएको बताउनुभयो । उहाँलाई यसअघि काठमाडौँमै सगरमाथा म्युजिक अवार्डबाट समेत सम्मान गरिएको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.