साहित्यपोस्ट डट कम

जीवनको सजीव र यथार्थ चित्रण

जीवनको सजीव र यथार्थ चित्रण

आमा र सन्तानबीचको नि:स्वार्थ प्रेम, अपाङ्ग सन्तान हुर्काउँदाका सङ्घर्ष र वेदनायुक्त अनुभूतिसँगै यस कृतिले ०४० को दशकको नेपाली ग्रामीण समाजको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवेशलाई पनि चित्रण गरेको छ ।

===

‘क्षितिज आमा र धरती’ सरस्वती ज्ञवालीको संस्मरणात्मक कृति हो । कृतिकारको तेस्रो कृतिका रूपमा आएको यस कृतिले व्यक्तिगत जीवन अनुभवलाई साहित्यिक रूप दिँदै आमाको वात्सल्य, त्याग र सङ्घर्षलाई अत्यन्त मार्मिक ढङ्गले उद्घाटित गरेको छ ।

व्यक्तिगत घटना वा विषयका स्मृतिलाई आधार बनाई लेखिएको साहित्यिक विवरणलाई संस्मरण भनिन्छ । अतीतका अनुभूति, व्यक्तिगत भोगाइ र अनगिन्ती संवेदनाहरू कलात्मक रूपमा प्रस्तुत हुनु संस्मरणको प्रमुख विशेषता हो । अतीतको स्मृति नै संस्मरणको प्राथमिक तत्त्व हो, जुन जीवनवृत्तको वरिपरि घुमेको हुन्छ ।

अधिकांश संस्मरणहरूमा व्यक्तिका निजी सङ्घर्ष, देशको राजनीति, विदेश यात्राका अनुभव तथा जीवनदर्शनजस्ता विषयहरू समेटिएका हुन्छन्। नेपालमा वि. सं. २००७ सालको राजनीतिक परिवर्तनपछि स्वतन्त्र लेखनको वातावरण सिर्जना भएसँगै संस्मरण लेखनले गति लिएको देखिन्छ । वर्तमान समयमा संस्मरण नेपाली साहित्यको अत्यन्त लोकप्रिय विधा बनेको छ । साना आकारमा पनि गहिरा अनुभूति र जीवनभोगाइलाई रोचक ढङ्गले प्रस्तुत गर्न सकिने भएकाले संस्मरण लेखनको क्रम तीव्र रूपमा बढेको हो ।

क्षितिज आमा र धरती एक संस्मरणात्मक कृति हो, जसमा एउटी आमाको हृदय शब्द–शब्द भएर पोखिएको छ । मातृत्व, वात्सल्य र करुणा यस कृतिमा छताछुल्ल भएर पोखिएका छन् । साङ्ग्रिला मिडिया प्रा.लि., काठमाडौँबाट २०८२ सालमा प्रकाशित यस कृतिमा १६६ पृष्ठ छन् र तिनमा २५ वटा शीर्षकअन्तर्गत विभिन्न घटनाक्रमहरू प्रस्तुत गरिएका छन् जसले पाठकलाई पुस्तकको प्रवाह बुझ्न सहज बनाएको छ ।

संसारमा हरेक जीवित प्राणीका लागि आमा महान् हुन्छिन् । सन्तानलाई जन्म दिने मात्र होइन, सदा–सर्वदा छत्रछाया बनेर उभिने पनि आमा नै हुन् । क्षितिज आमा र धरतीमा यस्तै आमाको जीवन प्रस्तुत छ, जसले आफ्नो युवावस्थादेखि प्रौढ अवस्थासम्म सम्पूर्ण जीवन छोरी क्षितिजकै लागि समर्पण गरेकी छन् । छोरी हाँस्दा उनी हाँस्छिन् , छोरी रुँदा उनी स्वयं रुन्छिन् । पुस्तक पढ्दै जाँदा यस्तो अनुभूति हुन्छ कि उनले छोरीलाई जन्म दिएर एकपटक मात्र होइन, पटक–पटक जीवन दिएकी छन् ।

मस्तिष्क पक्षघातबाट ग्रस्त छोरीसँग बिताएका ३७ वर्षका अनुभूति यस संस्मरणमा प्रस्तुत छन् । कृतिकारले अपाङ्गता भएका सन्तानका बाबुआमाले भोग्नुपरेका पीडादायी अवस्थाको सशक्त चित्रण गरेकी छन् । यस्ता पीडाहरू शारीरिक हेरचाहमा मात्र सीमित हुँदैनन्; ती भावनात्मक, सामाजिक, आर्थिक र मनोवैज्ञानिक रूपमा पनि अत्यन्त गहिरा हुन्छन् भन्ने कुरा कृतिको अध्ययनबाट प्रष्ट हुन्छ ।

मस्तिष्क पक्षघातजस्तो गम्भीर अपाङ्गतासँग जुधिरहेकी छोरी, राजनीतिमा संलग्न श्रीमान् र परिवारको सम्पूर्ण जिम्मेवारी एक्लै वहन गर्नुपर्ने बाध्यताले आमाको जीवन कति कठिन बन्छ भन्ने कुरा मानवीय संवेदनाको दृष्टिले प्रस्तुत गरिएको छ । ठाउँ–ठाउँमा कृतिकारले समाजसँग समानुभूति र संवेदनशीलताको आग्रह गरेकी छन् ।

परिवारका कुनै सदस्य केही दिन मात्र बिरामी हुँदा समेत सबै सदस्य तनावमा पर्छन् भने, सधैँ हेरचाह आवश्यक पर्ने बिरामी सन्तान घरमै हुँदा आमाको मन कति द्रविभूत हुन्छ भन्ने चित्रण अत्यन्त मार्मिक छ । छोरीलाई सकुशल देख्ने रहर, समाजबाट प्राप्त हुने हेलना, अपमान र पीडालाई मनभित्र दबाएर छोरीका इच्छा–आकाङ्क्षा बुझ्न र सम्मानपूर्वक जीवन दिन गरिएको निरन्तर प्रयास यस कृतिको केन्द्रीय भाव हो ।

सारा सपना, चाहना र करिअरलाई तिलाञ्जली दिएर सन्तानको खुसीमा समर्पित आमाको भोगाइ यस कृतिमा सजीव बनेको छ । छोरी आजीवन पूर्ण रूपमा निको हुन नसक्ने यथार्थ बुझेकी आमाले छोरीका वेदना, व्यथा शब्दमा प्रकट हुन नसके पनि अनुहारको भावभङ्गीमा र व्यवहारबाट कसरी बझ्न सक्छिन् भन्ने यथार्थ यहाँ प्रस्तुत छ । समाजको दृष्टिकोण, उपचार पद्धति र अस्पतालमा सेवाग्राहीप्रति गरिने व्यवहारसमेत कृतिमा यथार्थपरक ढङ्गले प्रस्तुत गरिएको छ ।

कृतिकार सरस्वती ज्ञवालीले व्यक्तिगत भोगाइमार्फत सामाजिक यथार्थलाई उजागर गरेकी छन् । साहित्य समाजको दर्पण हो र राम्रो कृतिले त्यो समाजको यथार्थ चित्रण गर्न सक्छ । हाम्रो देशमा कुल जनसङ्ख्याको २.२ प्रतिशत अर्थात् करीब ७ लाख जना नागरिकमा विभिन्न प्रकारका अपाङ्गता भएको जनगणनाको तथ्याङ्क छ । अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा सम्मानपूर्वक व्यवहार, हक अधिकारको सुनिश्चितता तथा सेवा र सुविधामा पहुँच नहुँदा; राज्य त्यसप्रति संवेदनशील नबन्दा र आम मानिसहरूमा पनि खासै सजगता नहुँदा अझैपनि अपाङ्गतालाई पाप, बोझ र अपराध ठान्ने प्रवृत्ति व्याप्त छ । हाम्रो समाजमा अपाङ्गता भएका व्यक्तिलाई परिवार ,समाज, छिमेकी र राज्यबाट गर्नुपर्ने दायित्व र व्यवहारका बारेमा हामी आ–आफ्नो पक्ष र क्षेत्रबाट कति गरिरहेका छौँ; त्यस सम्बन्धमा चिन्तन गर्न समेत कृतिले झक्झक्याएको छ ।

आमा र सन्तानबीचको नि:स्वार्थ प्रेम, अपाङ्ग सन्तान हुर्काउँदाका सङ्घर्ष र वेदनायुक्त अनुभूतिसँगै यस कृतिले ०४० को दशकको नेपाली ग्रामीण समाजको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवेशलाई पनि चित्रण गरेको छ ।

गुल्मी, बुटवल, पाल्पा, अर्घाखाँची र काठमाडौँजस्ता स्थानगत परिवेशमार्फत ग्रामीण जीवन, बुहारीको भूमिका, राजनीतिक व्यक्तिको पारिवारिक सङ्घर्ष, स्वास्थ्य उपचारको कठिनाइ ,बाटोघाटोको अवस्था लगायत जनजीविकाका महत्त्वपूर्ण पक्षहरू किताबमा आउने घटनाक्रमहरूसँगै स्पष्ट भएका छन् । सन्तान गर्भमा आएदेखि नै मातापिताको त्यसप्रति कस्तो प्रेम हुन्छ भन्ने विषयलाई कृतिले गहिराइका साथ प्रस्तुत गरेको छ । आमा र सन्तान जन्मपछि मात्र होइन, गर्भावस्थादेखि नै एकाकार हुन्छन्, त्यसैले त आमाहरू पेटमै गुमाएका सन्तान सम्झेर पनि आजीवन रुन्छन् ।

२५ वटा विभिन्न शीर्षकमा आमा सरस्वती यस पुस्तकमार्फत् प्रस्तुत भएकी छिन् । यहाँ प्रस्तुत गर्न नसकिएका, नगरिएका अझै कति सन्दर्भ र प्रसङ्ग होलान् । कतिपय अनभूति, व्यथा शब्दमा प्रकट गर्न नसकिने खालका पनि त हन्छन् नि !

यो संस्मरण मातृत्व, सहनशीलता, त्याग र समर्पणको एउटा सशक्त दस्तावेज बनेको छ । मातृवात्सल्य जसले एउटा महिलालाई पूर्ण बनाउँछ, सन्तानका खातिर आमा जतिसुकै पीडा सहन र दुःखका हिमाल आरोहण गर्न पनि तयार हुन्छिन् । त्यसैले त महिला सौम्य देवी पनि हुन् र आवश्यकता पर्दा उग्र रणचण्डी पनि !

मातृवात्सल्य नभए यो सृष्टि रहँदैन । जसरी धरतीले आफ्ना सन्तान (सम्पूर्ण प्राणी) का जस्तासुकै गतिविधिमा पनि क्षमाशील भएर आश्रय दिइरहन्छिन् त्यसरी नै आमा पनि हरेक सन्ततिका लागि धरतीसरह सहनशील हुन्छिन् ।

यस कृतिमा आमा र धरती एउटै बिम्बका रूपमा प्रस्तुत भएकाले भावनात्मक गहिराइ अझ प्रबल बनेको छ । मार्मिक र यथार्थ अनुभूतिका कारण कृतिका विषय र सन्दर्भहरू जीवन्त देखिन्छन् । सरल, आत्मीय भाषाशैली प्रयोग गरी लेखिएको यस कृतिले समाज, राजनीति र युगजीवनको सजीव र यथार्थ चित्रण गरेको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.