जो पढ्न चाहन्छ, त्यसलाई कि त परिवारले कि त समाजले कि त स्कुलले बर्बाद गरिरहेको छ । जो पढ्न चाहँदैन, उसका लागि खर्च हुँदै छ । जो पढ्न चाहन्छ, उसले मौका पाउँदैन । (पृष्ठसङ्ख्या २४८)
आख्यानकार हरिहर तिमिल्सिनाद्वारा रचित क ख रा उपन्यास नेपाली साहित्यको एक बहुमूल्य आभूषण हो । यस किताब सिकाइ समूहबाट प्रकाशित किताब हो । पुस्तकको डिजाइन विपेन्द्र घिमिरेले गर्नुभएको हो भने आवरणको भूमिका विश्व शाक्यले निर्वाह गर्नुभएको हो । यस पुस्तकको प्रथम संस्करण २०७८ सालमा निस्किएको थियो भने क्रमशः २०७९ र २०८० मा दोस्रो र तेस्रो संस्मरण प्रकाशित भएको थियो । हाल मसित चौथो संस्मरण २०८२ हातमा छ । मूलतः यस पुस्तक सुशिक्षाको गवेषणमा उद्यत किशोरकिशोरीहरूमा समर्पित छ यद्यपि यस पुस्तक सम्पूर्ण उमेरसमूहका मानिसहरूले पढ्नै पर्ने पुस्तक हो । यस पुस्तक आवरणले जत्ति रोचक र ज्योतिको बिम्ब दिने किसिमको छ, त्यत्ति नै कथावस्तु, भाषाशैली एवम् सरलताको विशेषताले भरिपूर्ण छ । पुस्तकले विशेष गरी अन्धकूपको अज्ञानतालाई चिरेर चैतन्यको चमकमा प्रवेश गर्न अनुप्राणित गर्ने विशेषता बहन गरेको छ ।
उपन्यासको प्रमुख सार नै शिक्षा हो । शिक्षाको परिभाषा के हो र कसरी अर्थापकर्ष भई मानिसमा दिग्भ्रान्तको रूपमा फैलिएको छ भनेर यस उपन्यासले वर्णन गरेको छ । के शिक्षा परीक्षामा अङ्क ल्याउनु मात्र हो ? के शिक्षा लक्षित विषयमा विद्यार्थीको क्षमताको मापन गर्ने परिमाणबोधक साधन मात्र हो ? के शिक्षा विद्यार्थीलाई जीवन सिकाउनु हैन? के शिक्षाको सीमा परीक्षामा मात्र सीमित छ ? यस्तै अनगिन्ती शिक्षासँग सम्बन्धित प्रश्नको चर्चापरिचर्चा यस पुस्तकमा समाविष्ट छन् ।
वास्तवमा शिक्षा भनेको मानिसको अन्तर्दृष्टि हो । मानिसको चैतन्य र जीवनबोध गराउने एक अक्षि हो । एक शिशु आफैँमा अपूर्ण छ । शिशु पूर्ण हुन अनवरत वात्सल्य, शिक्षा एवम् नैतिक ज्ञानको किरण छर्न आवश्यक छ । मानव पनि फगत आफैँमा एक अपूर्ण प्राणी हो । उसले पूर्णता प्राप्त गर्न सामाजिक, शैक्षिक, व्यावहारिक, प्रायोगिक सङ्घर्ष गर्नुपर्छ । मानव पूर्ण र परिपक्व हुन सहयोग गर्ने ब्रह्मास्त्र भनेको शिक्षा हो । यस शास्त्रमा निःशस्त्रीकरणको सिद्धान्त अपवादमा सीमित हुन्छ । मानिसको ज्ञानचक्षु, चर्मचक्षु र अन्तश्चक्षु सुषुप्तावस्थादेखि जागृत अवस्थामा रूपान्तरण गर्न शिक्षाले नै भूमिका खेल्छ । एक परिधिभित्र मात्र बाँधिएको कूपमण्डूक मानिसले जब शिक्षा प्राप्त गर्छ, तब ऊ एक चेतनशील प्राणी बन्छ । तसर्थ शिक्षाको महिमा अपरम्पार छ ।
जन्मदेखि मृत्युसम्म एक मानिसले भोग्ने जे जति कुरा हुन्, ती सबै शिक्षाअन्तर्गत पर्छन् तर विडम्बना हाम्रो शिक्षा पद्धति यति कच्चा र सङ्कीर्ण सोचको छ जसले शिक्षा, क्षमता र सिपलाई त्रिवेणीको दृष्टिले हेरिन्छ, शिक्षा र परीक्षा पर्यायवाची शब्द ठानिन्छ र जीवनको बोध र शिक्षालाई विपरीत नजरद्वारा दृष्टिगोचर गरिन्छ । वास्तवमा जीवनबोध नै त शिक्षा हो तर हाम्रो देशमा किन यसलाई विपरीत किसिमले हेरिन्छ? यही विषयको चर्चा यस पुस्तकमा गरिएको छ ।
वास्तवमा अज्ञानता नै यसको मुख्य कारण हो । कथाको परिप्रेक्ष्यबाट हेर्ने हो भने मुख्य पात्र सफलका बाआमा पनि अज्ञानको भुमरीमा परेर नै आफ्ना सन्तानको कुभलो अज्ञात रूपमा चिताइरहेका छन् । यसलाई प्रत्यक्ष कृत्रिम वात्सल्य भन्न मिल्दैन तर भ्रान्तिपूर्ण अथवा अन्धकूप वात्सल्यभन्दा अतिशयोक्ति हुँदैन । सफल जब पाठ्यक्रम बाहिरका पुस्तकहरू पढ्छन्, तब उनका बाआमाले सोच्छन् कि ती पुस्तकहरू परीक्षामा आउने विषय हैन र त्यस्ता पुस्तकमा समय व्यतीत गर्नु भनेको अनावश्यक काम हो तर अज्ञानताको विपरीत कुरा भनेको ज्ञान हो जुन फगत पाठ्यक्रमको किताबले दिने सामर्थ्य राख्दैन । पाठ्यक्रमको पुस्तकले ऊ परीक्षामा राम्रो गर्न सक्ला वा परीक्षामा धेरै अङ्क ल्याएर जगत्को भ्रममा ऊ एक तेजस्वी व्यक्ति ठहरिएला तर जीवनमा ऊ आफैँसित पराजित हुनुपर्छ । भनिन्छ नि- “विद्या धनम् सर्व धनम् प्रधानम् ।” यदि सफलका बाआमा कूपमण्डूक संसारबाट बाहिर निस्केर सत्यको संसारमा सुरुमा नै आएका थिए भने सफलको ज्ञानको क्षितिज पनि सानै उमेरमा नै फराकिलो हुने थियो ।
शिक्षाको अर्थापकर्ष हुनुको मुख्य अर्को कारण भनेको शिक्षामा व्यापार हो । कथामा देखाएजस्तै सफल पढेको वरदायिनी स्कुल र शिक्षा शिविर स्कुललाई पनि व्यावसायिक थलोको रूपमा लिन सकिन्छ । यस पुस्तकको दृष्टान्तले नेपालको यथार्थलाई पनि सङ्केत गर्छ । अहिले देशमा धेरै विद्यालय तथा क्याम्पस खोलिएका छन् जो शिक्षा प्रवर्धन गरी अन्धकारलाई ज्योतिमय बनाउने वा कण्टकाकीर्ण स्थितिलाई शस्यश्यामला पर्यावरणमा रूपान्तरण गर्ने उद्देश्यले नभई व्यापार गरी व्यक्तिगत स्वार्थमा रम्ने ध्येयमा स्थापित छन् । कथाका ती दुई विद्यालयले देशका धेरै व्यावसायिक थलो र नामका चाहिँ विद्यालय वा क्याम्पस भनिने तथाकथित कलेजलाई व्यङ्ग्य गरेको छ । त्यस्ता कलेजहरूले विद्यार्थीको सर्वाङ्गीण विकास, विद्यार्थीको समालोचनात्मक सिप एवम् नैसर्गिक सामाजिक भाषाको संविद्को बीजाधान नभई घोकन्ते प्रवृत्तिको विकास ज्यादा गरेको पाइन्छ ।
मैले आफैँ पनि धेरै अनुभव गरेको कुरा हो । कुनै कलेजहरू यस्ता छन् जो गुणस्तरको परिभाषा समेत जान्दैनन् र आफ्ना कलेजको कृत्रिम घोकन्ते शिक्षालाई गुणस्तरसित समान रूप देखाउने हास्यास्पद प्रयास गर्छन् । विद्यार्थीलाई पाठ्यक्रमका विषय मात्र घोकाएर वा तीव्र दबाब दिएर विद्यार्थीको मानसिक, सामाजिक तथा समालोचनात्मक शक्तिलाई नष्ट पार्दै अनि बोर्ड परीक्षामा धेरैले बोर्ड टप गरे भनेर सामाजिक सञ्जालमा नाचेर आडम्बर देखाउँछन् । केचनाको चेतनासित तुलना गर्दा पनि अशोभनीय ठहरिने यस्ता व्यावसायिक थलोका प्रशासनको सुमधुर बयान जति गरे पनि अपूर्ण नै हो आखिर ।
किताबको मध्यभाग र त्यसपछिका अंशमा प्रेमशिविर स्कुलको चर्चा गरिएको छ जहाँ पढ्न सफलको ठुलो अभीप्सा हुन्थ्यो । त्यही इच्छा पूरा गर्नलाई सफलले शिविर स्कुलको होस्टेलबाट भाग्नुपरेको हुन्छ । किताबमा प्रेम सर भन्ने एक दार्शनिक पात्र छन् । पेसाले उनी शिक्षक थिए तर उनी घोकन्ते शैक्षिक पद्धतिको विपक्षी थिए । उनका कविता, गीत, पुस्तक सफलले पढेको थियो र उनीबाटै धेरै प्रेरणा पनि लिएको थियो । सफलको बौद्धिक विकासमा प्रेम सरको योगदान अतुलनीय छ । प्रेम सर र सफलको धारणा पनि सामञ्जस्यमूलक थियो । त्यसैले पनि सफललाई प्रेम सरद्वारा स्थापित प्रेमशिविर स्कुलमा पढ्न मन लागेको हो ।
सफल शिक्षाशिविर स्कुलको कुरूप शिक्षा पद्धतिबाट लखतरान भएर प्रेमशिविर स्कुलमा जाने निधो गरेर ऊ होस्टेलबाट भागेको छ । त्यो वेला उनले धेरै दुःख, कष्टको जीवन बिताउनुपरेकाे छ । अन्त्यमा ऊ जसोतसो प्रेमशिविर स्कुल आइपुग्छ र उसले सोचेकोभन्दा सुरम्य अनुभूति गर्छ । सोचेको उसले रत्न थियो तर नवरत्न प्राप्त हुन्छ । प्रेमशिविर स्कुलमा उसले चाहेजस्तो वातावरण पाउँछ । त्यहाँ पाठ्यक्रमसँग सम्बन्धित ज्ञान मात्र हैन, जीवनसँग सम्बन्धित ज्ञान पनि सिकाइन्छ । किताबमा भनिएको पनि छ र नैसर्गिक कुरा पनि हो । विद्यार्थीले विज्ञान विषयमा १०० मा ९९ ल्यायो तर घरको बिजुलीको सामान्य समस्या पनि मिलाउन सकेन भने त्यो शिक्षाको के अर्थ ?
यस्तै स्थिति अहिले हाम्रो देशमा व्याप्त छ । विद्यार्थीले सामाजिक अध्ययन विषयमा १०० मा १०० ल्याउँछन् तर सामान्य सामाजिक भाषा बुझ्दैनन् वा सञ्चार गर्न आउँदैन भने त्यो पूर्णाङ्कको के काम ? गणितमा त्रिकोणमितिका ठुल्ठुला हिसाब गर्नेले सामान्य एक घरको उचाइ, उन्नतांश कोण र एक बिन्दुबाट दूरी दिएको भरमा गर्न नसके त्यसको शिक्षाको सार्थकता कहाँ पूर्ण भयो ? यदि विद्यार्थीले व्यावहारिक र प्रायोगिक रूपमा कुनै विषय बुझेकै छैन भने उसले जस्तोसुकै राम्रो अङ्क ल्याए पनि ऊ अपूर्ण नै हुन्छ ।
कति विद्यार्थीले विज्ञान र गणित महत्त्वपूर्ण विषय हुन् भन्ने जानेका हुन्छन् तर त्यसैको प्रयोगद्वारा यथार्थपरक समस्या समाधान गर्न सक्दैनन् । कति विद्यार्थी यस्ता पनि हुन्छन् जसले पद्धतिको कुरूपपनका कारण विज्ञान र गणित विषय निरर्थक ठान्छन् तर वास्तवमा प्रकृतिको सहज अध्ययन गर्ने शास्त्र नै विज्ञान र गणित हो । यो कुराको बोध पद्धति र प्रणालीको सार्थकताद्वारा हुने कुरा हो ।
उपन्यासको प्रेमशिविर स्कूलजस्तै व्यावहारिक तथा प्रायोगिक शिक्षा देशभर दिनु नै उपन्यासकार तिमल्सिनाको आशय हो । यस पुस्तकमा उनले यही विषयको बृहत् चर्चा गरेका छन् । यस पुस्तक शिक्षा क्षेत्रमा कार्यरत सबैजनाले एकपटक अध्ययन गर्नैपर्ने पुस्तक हो । वास्तवमा भन्नुपर्दा पुस्तक सामान्य छ भन्दा गलत र आलोचनात्मक पनि लाग्ला तर मलाई लागेको कुरा भनेको यस पुस्तकमा साहित्यिक रूपमा भिज्ने वाक्यांशहरू त्यत्ति छैनन् किनभने पुस्तक सामान्य र दार्शनिक छ तर हेक्का के पनि राख्नुपर्छ भन्दा यस्तो जटिल एवम् दुर्बोध्य पद्धतिको कथात्मक हिसाबले पाठकलाई बोध गराउनु आख्यानकार तिमिल्सिनाको मुख्य विशेषता हो ।
उपन्यासमा कथा कहाँबाट शुरु भएको छ र नसोचेको मोडमा गएर अवतरित भएको छ । यसलाई समालोचकीय दृष्टिले हेर्ने हो भने आद्योपान्तमा आदि र अन्त्यको तालमेलको सन्दर्भमा कथात्मक संयोजन र प्रस्तुति निकै राम्रो छ तर पाठकका केही जिज्ञासा भने अलि अपूर्ण नै छ । सफल प्रेमशिविर स्कुल गइसकेपछि उनका बुवाआमाको अवस्था के कस्तो थियो ? उनले ८ कक्षाको आधारभूत तह परीक्षाको नतिजा कसरी व्यवस्थापन गरेर ९ मा भर्ना भए ? मोनिका र सफलको अन्त्यमा भेट भएको केही भलाकुसारी पुस्तकमा समेटिए र अझ प्रणालीगत हर्षका साथै पात्रमा पनि हर्षको क्षण केही देखिएकाे भए पाठक अझ बढी तृप्त हुने थिए । उनका अब आउने पुस्तकहरूमा कथावस्तुअनुरूप तत्तत् कुराहरू समेटिने आशा गर्दछु ।
निष्कर्षमा भन्नुपर्दा पुस्तकले देशको दर्पणकाे काम गरेको छ । पुस्तकले देशको विद्यमान शिक्षा पद्धतिलाई व्यङ्ग्य गर्दै परिष्कृत पद्धतिको यथाशीघ्र अवलोकन गर्ने अपेक्षा बोकेको छ । यस जीवन परिवर्तन गर्ने पुस्तक सुम्पिदिनुभएकोमा लेखकप्रति असीम आभार ।

