काठमाडौं । जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानले वार्षिक रूपमा प्रदान गर्दै आएको विभिन्न साहित्यिक पुरस्कार तथा सम्मान घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफामगरका अनुसार यस वर्षका लागि विभिन्न स्रष्टा तथा व्यक्तित्वहरू चयन गरिएको हो ।
यस वर्षको ‘जित–रेख मगर साहित्य पुरस्कार–२०८१’ सिन्धुली, दुधौली–१४ आहालटार निवासी उजिर राना मगरलाई प्रदान गरिने भएको छ । मगर भाषामा लेखिएका उहाँका कृतिहरू ‘माम्ह्याक्नी’, ‘ए..दाइ दिदीहरू’ र ‘मोईझाओ रोहआङ’ का लागि उहाँलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । पुरस्कारको राशि ६० हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ ।
त्यसैगरी ‘जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०८१’ समाजसेवी खगेन्द्र घर्ती मगरलाई प्रदान गरिनेछ । नेपाल मगर संघका संस्थापक सदस्यसमेत रहेकाे उहाँलाई ४० हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरिने जनाइएको छ ।
यसैगरी ‘जित–रेख मगर नवप्रतिभा साहित्य पुरस्कार–२०८१’ रोल्पा, थवाङ–२ निवासी राकेश बिएम ‘चिन्तन’लाई प्रदान गरिने भएको छ । उहाँका ‘नाङ्खार–याल’ र ‘अल्लाका सुल’ नाटकसंग्रहका लागि १५ हजार रुपैयाँसहित उक्त पुरस्कार प्रदान गरिनेछ ।
घोषित पुरस्कारहरू चैत २८ गते काठमाडौंमा आयोजना हुने एक कार्यक्रममा वितरण गरिनेछ । सोही अवसरमा निवर्तमान उपसभामुख इन्दिरा राना मगर र नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईलाई विशेष सम्मान गरिने अध्यक्ष लाफामगरले जानकारी दिनुभएकाे छ ।

