कल्पना फाउन्डेसन नेपालको आयोजनामा साहित्यकार कल्पना पौडेल जिज्ञासुको सातौँ कृति कवितासङ्ग्रह ‘अग्निस्पन्दन’ को विमोचन तथा ‘विवश आमा’ गीत सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ ।
फाउन्डेसनकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको अध्यक्षतामा तथा प्रा.डा. कृष्णप्रसाद धिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व प्रज्ञा–सचिव सनत रेग्मी, पूर्व प्रज्ञा सदस्य डा. हरिप्रसाद तिमिल्सिना, महानन्द ढकाललगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
‘अग्निस्पन्दन’ कविता सङ्ग्रहमा ५२ वटा कविताहरू समेटिएका छन् । सङ्ग्रहभित्रका अधिकांश कविताहरूमा नारीवाद र प्रगतिशील चेत मुखरित भएको छ । समाजमा रहेको अन्धविश्वास, रूढीवादी चिन्तन, अन्याय, अत्याचार, शोषण, दमन तथा नारी हिंसाविरुद्ध खरो आवाज उठाउनुका साथै विद्रोहमार्फत समस्याको समाधान खोजिएको छ । संग्रहलाई ऐरावती प्रकाशन, काठमाडौंले प्रकाशनमा ल्याएको हो
जिज्ञासुको शब्दरचना रहेको ‘विवश आमा’ गीतमा रियाज शिवाकोटीको सङ्गीत र गायिका बेनिसा पौडेलले स्वर दिनुभएको छ । राजीव शाह स्टुडियो र रियाज रेकर्डिङ सेन्टरले गीत उत्पादन गरी बजारमा ल्याएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. कृष्णप्रसाद धिमिरे तथा विशिष्ट अतिथिहरू सनत रेग्मी, डा. हरिप्रसाद तिमिल्सिना, महानन्द ढकाल, नरेन्द्रजङ पिटरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । मन्तव्यका क्रममा वक्ताहरूले बेरोजगारी र गरिबीका कारण साना सन्तानलाई घरमा छोडेर विदेशिन बाध्य भएका लाखौँ आमाहरूका भावनालाई शब्दमा समेट्न जिज्ञासु सफल भएको बताउनुभएको थियो ।
कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष ऋषिराम सापकोटाले स्वागत मन्तव्यसहित कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रम नेपालगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो ।

