साहित्यपोस्ट डट कम

झिसासको पुस्तक विमोचन तथा झिल्का वाचन कार्यक्रम सम्पन्न

झिसासको पुस्तक विमोचन तथा झिल्का वाचन कार्यक्रम सम्पन्न

नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात प्रवचन कक्षमा झिल्का साहित्य समाज नेपालको आयोजनामा पुस्तक विमोचन तथा झिल्का वाचन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान सदस्य–सचिव डा. धनप्रसाद सुवेदी प्रमुख अतिथि रहनुभएको थियो भने झिल्का साहित्य समाज नेपालका अध्यक्ष तथा झिल्का प्रवर्तक वसन्त अनुभवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा झिल्का काव्य विधाका तीन कृतिहरू विमोचन गरिएका थिए । नेपाल, भारतलगायत विभिन्न देशमा रहेका ८३ जना झिल्काकारहरूको संयुक्त सङ्ग्रह ‘आवाज’, वसन्त अनुभवको एकल सङ्ग्रह ‘अनुभव’ र सुरेशकुमार पाण्डेको सङ्ग्रह ‘आँगन’ विमोचन गरिएको हो ।

विमोचित कृतिहरूमध्ये ‘अनुभव’को समीक्षा प्रमोद नेपालले, ‘आँगन’को समीक्षा अनुराग अरुणले तथा संयुक्त सङ्ग्रह ‘आवाज’को समीक्षा अरुण बहादुर खत्री ‘नदी’ले गर्नुभएको थियो ।

कार्यक्रममा कृति प्रकाशनका अवसरमा सुरेशकुमार पाण्डेलाई ‘झिल्का साहित्य समृद्धि सम्मान २०८३’ प्रदान गरिएको थियो । त्यस्तै, झिल्का कवितालाई पत्रिकामा प्रकाशनमार्फत योगदान पुर्‍याएबापत अग्रिम साप्ताहिक (तुलसीपुर, दाङ) र संसार न्यूज (ललितपुर) लाई ‘झिल्का साहित्य सञ्चार सम्मान २०८३’ प्रदान गरिएको थियो ।

संयुक्त सङ्ग्रह ‘आवाज’मा समाविष्ट सबै सर्जकहरूलाई ‘झिल्काश्री साहित्य सम्मान २०८३’ प्रदान गरिएको थियो ।

कार्यक्रमको प्रारम्भमा राष्ट्रियगानपछि दीप प्रज्वलन गरिएको थियो । ज्ञात–अज्ञात सहिदहरूको स्मरणमा एक मिनेट मौनधारण पनि गरिएको थियो ।

विशिष्ट अतिथिहरूमा कवि तथा साहित्यकार ललिता दोषी, घनश्याम पन्त, लता के.सी.लगायत रहनुभएको थियो भने विशेष अतिथिहरू तथा अन्य स्रष्टाहरूले झिल्का कविता वाचन गर्नुभएको थियो ।

दीपा गुरुङ समभावले सञ्चालन गर्नुभएको कार्यक्रम चार घण्टाभन्दा बढी समयसम्म चलेको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.