मोरङ । ‘नझरेका फूलहरू’ले आयोजना गर्दै आएको साउन विशेष साहित्यिक शृङ्खला ‘झरी र इन्द्रेणी’को दोस्रो शृङ्खला सम्पन्न भएको छ । कार्यक्रममा कवि सवि मेवाहाङले छन्द र गद्यका एक दर्जनभन्दा बढी कविता वाचन गर्नुभएको थियो ।
स्वरसम्राट नारायणगोपालको स्वर तथा सङ्गीत र दीपक जङ्गमको शब्द रहेको कालजयी गीत ‘साउनको झरी बनी तिमी आऊ न’लाई केन्द्रमा राखेर साउनभर सञ्चालन हुने शृङ्खलाअन्तर्गत शनिबार दोस्रो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको शुरूमा गायक कृष्णराजा श्रेष्ठले उक्त गीत प्रस्तुत गर्नुभएको थियो ।
डा. दीपक न्यौपानेको प्रमुख आतिथ्य तथा साहित्यकार जे.बी. थुलुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधि, साहित्यकार, कलाकार र साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा रमेश निरौला, राज यात्री लम्साल, नवराज नवशिला, नवीन क्षत्री, युवराज ठकुरीलगायत स्थानीय स्रष्टाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन ‘नझरेका फूलहरू’का परिकल्पनाकार तथा संस्थापक केपी घिमिरेले गर्नुभएको थियो । नवराज नवशिलाले प्रशंसापत्र वाचन गर्नुभएको थियो भने तिला लेकाली र रेखा सुवेदीले कवि सवि मेवाहाङलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
आयोजकका अनुसार ‘झरी र इन्द्रेणी’को तेस्रो शृङ्खला श्रावण १६ गते मोरङको खोर्सानेस्थित सृजना क्याफेमा आयोजना हुनेछ । उक्त कार्यक्रममा कवि गगन योक्पाङ्देनको विशेष काव्य प्रस्तुति रहने जनाइएको छ ।

