साहित्यपोस्ट डट कम

झापाली गफ

झापाली गफ

भनिन्छ—नेपालमा गफ हाँक्ने प्रतिस्पर्धामा झापालीहरूलाई कसैले उछिन्न सक्दैन । अझ कतिपयले त उनीहरूलाई ‘जालसाजी’ र ‘ठगी’ को विशेषण समेत भिराइदिन्छन् । उता स्याङ्जालीहरूको नामैमा ‘जाली’ जोडिएकाले उनीहरू झापालीलाई कडा टक्कर त दिन्छन् तर अन्तिम मोडमा पुग्दा नपुग्दै सधैँ पछाडि नै छुट्छन् ।

त्यसो त अरू जिल्लाहरूको नाम चर्चामा नआएको पनि होइन । कतिपयले पाल्पाली र नुवाकोटेलाई पनि त्यही श्रेणीमा धकेल्न नखोजेका होइनन् तर लामो रस्साकस्सीपछि निष्कर्ष यही निकालियो—ती जिल्लाहरूले प्रयास त राम्रै गरेका हुन् तर अन्तिम चरणमा टिक्न सकेनन् । अन्ततः उपाधि भने सुरक्षित दूरीसहित झापाकै पोल्टामा देखियो । मानौँ, यो दौड जित्न झापाले दौडिनै पर्दैन—अरू प्रतिस्पर्धीहरू त आफैँ हतास भएर पछि पर्छन् ।

यो उपाधिमा झापालीहरूको वर्चस्व कहिलेदेखि शुरु भयो भन्ने ठ्याक्कै तिथिमिति पहिल्याउन नसकिएला । तैपनि, झापाले किन र कसरी यस्तो ‘खिताब’ पायो भन्ने जिज्ञासाले यो पङ्क्तिकारलाई केही समयदेखि निरन्तर टाउको कन्याउन बाध्य बनाइरहेको छ । जान्ने–बुझ्ने र दिग्गजहरूलाई नसोधेको पनि होइन तर कतैबाट पनि चित्तबुझ्दो जवाफ फेला पार्न सकिएन ।

झापाको विजय त्यसै आएको होइन भन्ने कुरा सर्वविदितै छ । केही समयअघि नेपालको एउटा प्रतिष्ठित राष्ट्रिय दैनिक पत्रिकामा खबर आयो—एक झापालीले भारतमा रेलको चक्कामा हावा हाल्ने काम लगाइदिन्छु भन्दै ठगी गरेछन् । अर्को खबरमा, अर्का झापालीले विदेश लान्छु भनेर ताप्लेजुङ पुर्‍याई गोठमा गाई हेर्न लगाएको कथा छापियो । यत्तिमै कुरा सकिएको थिएन; भर्खरै फेरि अर्को तात्तातो खबर आयो—एक झापालीले चौँतिस जनालाई जापानी भाषा सिकाउँछु भन्दै तामाङ भाषा सिकाएर फरार भएको खुलासा भयो ।

अहिलेको एआईको जमानामा कुन समाचार सत्य हो, कुन झुटा—छुट्याउनै मुस्किल भएको छ । तर यहाँ कुरा एआईको मात्र होइन । एआई आउनुभन्दा वर्षौँ पहिलेदेखि नै झापाली कथा र व्यथाहरू बजारमा बिक्दै आइरहेका थिए । एउटा निकै प्रचलित मान्यता अनुसार, झापालीलाई काठमाडौंमा कोठा भाडा पाउन कठिन छ—भाडा तिर्न नसकेर होइन, घरबेटीको छोरी उडाइदिन्छन् भन्ने डरले !

झापाका स्ट्यान्ड-अप कमेडियनहरू र सामाजिक सञ्जालका योद्धाहरू भन्छन्— “हामी झापामा आँपको रुखमा सुपारी फलाउँछौँ, घरघरमा सुनको हात्ती पाल्छौँ; झापालीलाई सर्पले टोके, विष लागेर सर्प नै मर्छ !” अरू झापालीहरू थप्छन्— “हाम्रा सडक यति चिल्ला हुन्छन् कि अलकत्रा नपुगे गोबरले लिपिदिन्छौँ ।”

सुनिन्छ, दुई जना झापाली रेस्टुरेन्टमा खान गएका थिए रे, तर खानाको पैसा उल्टै ‘वेटर’ ले तिरिदिएछन् ! त्यस्तै, एक जना झापाली टमाटर किन्न जाँदा पैसा नपुगेर मासु किनेर फर्केछन् । अब अरू उदाहरण थप्नुपर्छ जस्तो लाग्दैन ।

फेसबुक, इन्स्टाग्राम र टिकटकमा यस्ता कथाहरू प्रशस्तै भेटिन्छन् र ती जनप्रिय पनि छन् । उदाहरणका लागि, “झापाली गफ” नामको एउटा फेसबुक पेजमा बहत्तर हजारभन्दा बढी फलोअर्स छन् । यसले के देखाउँछ भने— यी गफहरू केवल सुनिने कुरा मात्र होइनन्, सामाजिक सञ्जालको एल्गोरिदमले समेत अनुमोदन गरेको मनोरञ्जनको एउटा बलियो विधा बनिसकेका छन् ।

यस्ता गफहरू हाँसोका लागि शुरु भए पनि अन्ततः पूर्वधारणा बन्छन् । अनि पूर्वधारणा बलियो भएपछि व्यक्ति होइन, सिङ्गो जिल्ला नै दोषी ठहरिन्छ । वर्षौँसम्म यो ‘खिताब’ जितिसकेपछि अब झापालीहरूले यसलाई अस्वीकार गर्ने झन्झट नै लिन छाडेका छन् । कसैले ‘जाली’ भन्यो ? मुस्कुराइदियो । ‘गफाडी’ भन्यो ? थप एउटा गफ हानिदियो । आखिर उपाधि त उपाधि नै हो—जितेपछि ताज लगाएर हिँड्नु नै बुद्धिमानी !

समस्या त्यतिबेला झन् चर्किन्छ, जब आफ्नै श्रीमतीले “झापाली गफ नदेऊ” भन्दै मेरो मुखमै बुझो लगाइदिन्छिन् । धेरै झापालीका लागि यो परिस्थिति ‘घर-घरकी कहानी’ हुन सक्छ ।

स्टेरियोटाइप अर्थात् पूर्वधारणाको अवधारणा नयाँ होइन; यो विश्वव्यापी रूपमा विद्यमान छ । स्टेरियोटाइप भन्नाले कुनै व्यक्ति, समुदाय, जाति, क्षेत्र, पेसा वा समूहलाई केही सीमित गुणका आधारमा ‘सबै उस्तै हुन्छन्’ भनेर बनाइने सामान्यीकृत धारणा हो । यस्ता धारणाहरू प्रायः अपूर्ण, अतिरञ्जित र कतिपय अवस्थामा अन्यायपूर्ण पनि हुन्छन् ।

सानोमा पञ्जाबीहरूबारेका जोकहरू सुनेको थिएँ । मैले सुनेका धेरैजसो पञ्जाबी जोकहरू उनीहरूलाई अलि बेवकूफ देखाउने खालका हुन्थे । प्रायः ती जोकहरू ट्रक ड्राइभरसँग जोडिएका हुन्थे ।

अमेरिकाको फ्लोरिडा राज्यलाई पनि करिब-करिब झापाकै दर्जामा राखिँदो रहेछ । भनिन्छ— हुरीबतास आएर घर उड्दा पनि फ्लोरिडावासीहरू पार्टी गरिरहेका हुन्छन् । त्यस्तै एक पटक एउटा महिलाको ब्यागमा लागूऔषध कसरी आयो भनेर पुलिसले सोध्दा, उनले ‘हावाले उडाएर ल्याइदिएको’ भन्ने जवाफ दिइछन् ।

झापाले नै किन त्यो ‘खिताब’ जित्यो त ? उत्तर सजिलो छैन । कसैले भने, झापामा विभिन्न ठाउँबाट आएका थरी-थरीका मान्छेहरू भएकाले त्यस्तो छवि बन्यो । तर त्यो तर्क पनि तर्कसङ्गत छैन किनकि दोस्रो हुने स्याङ्जामा झापामा जस्तो बाहिरबाट आउने मान्छेहरू धेरै छैनन् । उता चितवनमा देशभरिका मान्छे आएर बसेका छन् तर चितवन प्रतिस्पर्धामा टिक्न सकेको देखिँदैन ।

हावापानी वा माटोको प्रभाव भनूँ भने छिमेकी जिल्ला मोरङको वातावरण झापासँग मिल्दोजुल्दो छ । सिमानाको कुरा गर्ने हो भने दुवै जिल्लाहरू भारतसँग जोडिएका छन् ।

तर्कहरू एकपछि अर्को तेर्सिए । राजनीति र ‘झापा आन्दोलन’ को चर्चा गरियो । २०३० को दशकमा झापामा उठेको ‘झापा विद्रोह’ ले राष्ट्रिय राजनीतिमा ठूलो तरङ्ग ल्यायो । भूमिहीन, किसान र वामपन्थी चेतनाको सङ्गमले जन्मिएको त्यो आन्दोलन हिंसात्मक टकरावतर्फ मोडियो । त्यसपछि “झापा” भन्ने नामलाई नै कट्टर राजनीति, षड्यन्त्र र अस्थिरतासँग जोडेर हेरिन थालियो । राजनीतिक असहमतिको दोष भूगोलमै सारियो— व्यक्तिमा होइन, सिङ्गो जिल्लामै !

अर्कोथरिले यसलाई सीमावर्ती समाजको प्रभाव भने । झापा भारतको पश्चिम बङ्गालसँग सिमाना जोडिएको जिल्ला हो । सीमावर्ती समाजहरू स्वभावतः व्यापारमा सक्रिय हुन्छन्; भाषा, संस्कृति र बजारमा छिट्टै घुलमिल हुन्छन् र अवसर चिन्ने तथा छिटो निर्णय लिन सक्ने हुन्छन् । यही अनुकूलन क्षमतालाई धेरैले “चालाकी” को संज्ञा दिए । जहाँ पहाडी सरलतालाई ‘सच्चाइ’ मानियो, त्यहाँ तराईको यो व्यावहारिकताले शंका जन्मायो । यसरी सांस्कृतिक भिन्नतालाई नै नैतिक मूल्याङ्कनको आधार बनाइयो ।

सफलतालाई दोष दिनेहरू पनि भेटिए । झापाबाट राजनीतिज्ञ, व्यापारी, प्रशासनिक अधिकारी, शिक्षित मध्यम वर्ग ठूलो संख्यामा बाहिर निस्किए । जहाँ सफलता हुन्छ, त्यहाँ ईर्ष्या पनि हुन्छ भन्ने झापालीहरूको तर्क छ ।

समस्या के भयो भने— केही व्यक्तिको व्यवहारलाई पूरै समुदायको चरित्र बनाइयो । कुनै समुदायलाई बुझ्न समय, अध्ययन र संवेदना चाहिन्छ तर स्टेरियोटाइप सजिलो हुन्छ, छोटो हुन्छ, जिम्मेवारीबाट भाग्ने बाटो हुन्छ ।

अस्ति भर्खर मात्र एक जना पाल्पालीले “झापाली सोझा पनि हुँदा रहेछन्” भन्दै टिप्पणी गरे ।

यथार्थ के हो ? झापालीहरू सबै एउटै होइनन्— न असाध्यै खराब, न असाध्यै चलाख । झापा पनि नेपालकै एउटा समाज हो— त्यहाँ इमानदार किसान छन्, साधारण शिक्षक छन्, सङ्घर्षरत मजदुर छन्, र गलत मानिस पनि छन्; जसरी काठमाडौँमा, पोखरामा, रोल्पामा वा धनुषामा छन् ।

तसर्थ प्रश्न बदनामीको होइन, बुझाइको हो । हामीले व्यक्तिलाई चिन्न सिक्यौँ भने भूगोल दोषी हुँदैन, र भूगोललाई दोष दिन छाड्यौँ भने नेपाल अझ न्यायपूर्ण समाजतर्फ अघि बढ्छ ।

यति पढिसकेपछि, झापालीले गफ दियो भनेर चाहिँ नभन्नुहोला है !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.