काठमाडौं। साहित्यकार तथा सर्जक निर्मलकुमार थापाद्वारा लिखित समकालीन विषयवस्तुमा आधारित कविता सङ्ग्रह ‘जेनजी काल’ राजधानीस्थित ताज प्यालेसमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ।
कृतिको सार्वजनिकरण कार्यक्रममा अतिथि तथा फिक्सन डिजाइनर कुमार नगरकोटीले सर्जक थापासँगको सम्बन्धलाई औपचारिकभन्दा पनि आत्मीय मित्रताको रूपमा चित्रण गर्नुभयो। उहाँले भन्नुभयो, “निर्मलजी मेरो साथी हो। उहाँसँग बिताएका सुन्दर साथहरूको सम्झना आज पनि ताजा छ। म उहाँलाई साथी भन्न रुचाउँछु, जसरी म ‘पुस्तक’ भन्दा ‘किताब’ भन्न रुचाउँछु।”
नगरकोटीले आफ्नै शैलीमा थापासँगको पहिलो भेट सम्झिँदै जेब्राक्रसमा भएको भेटबाट सुरु भएको मित्रता समयक्रममा गहिरिँदै गएको उल्लेख गर्नुभयो। “उहाँ अवतारझैँ मेरो जीवनमा झुल्कने र हराउने गर्नुहुन्छ, त्यो शैली मलाई मन पर्छ,” नगरकोटीले हाँस्यरससहित भन्नुभयो।
कार्यक्रमका अर्का वक्ता पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘जेनजी काल’ लाई हाम्रो समयको जीवन्त इतिहासका रूपमा चित्रण गर्नुभयो। “हामीले भर्खरै देशमा भोगेका सामाजिक र राजनीतिक परिदृश्यहरू यस कृतिमा सशक्त रूपमा अभिव्यक्त भएका छन्,” उहाँले भन्नुभयो। विशेष गरी प्रहरीसँग सम्बन्धित कविताले आफूलाई गहिरो प्रभाव पारेको उल्लेख गर्दै खनालले यो कृति सबैले मनन गरेर पढ्नुपर्ने पुस्तक भएको धारणा व्यक्त गर्नुभयो।
उहाँले बदलिँदो राजनीतिक अभ्यास र नयाँ शक्तिको उदयसँगै यो कृतिले जेनजी पुस्ताको आवाज बोलेको समेत बताउनुभयो। कार्यक्रममा युवा नेता अब्दुस मिया, बेलायतवासी साहित्यकार तथा समाजसेवी ध्रुव केसी, युवा उद्यमी सुदर्शन विक्रम कार्की र कवि प्रजिता दर्नालले थापाका कविता वाचन गर्दै कृतिप्रति शुभकामना व्यक्त गर्नुभएको थियो। साथै अनुप तिमिल्सिना समूहले ‘जेनजी काल’मा आधारित सङ्गीतिक प्रस्तुति प्रस्तुत गरेको थियो भने लोकप्रिय गायिका जुनु रिजालले सुमधुर गजल प्रस्तुत गरेर कार्यक्रमलाई थप आकर्षक बनाउनुभएकाे थियाे ।
२२ वटा कविता समेटिएको ‘जेनजी काल’ कविता सङ्ग्रह नेपाल सेन्टरले प्रकाशन गरेको हो। पुस्तकको मूल्य रु. ५०० तोकिएको छ। कृति आजैदेखि देशका प्रमुख पुस्तक पसलहरू तथा विश्वभर अनलाइन माध्यमबाट उपलब्ध हुने प्रकाशकले जनाएको छ।

