साहित्यपोस्ट डट कम

जीवन केवल बाँच्नु होइन, सामना गर्नु पनि हो

जीवन केवल बाँच्नु होइन, सामना गर्नु पनि हो

गत हप्ता जनवरी महिनाको तेस्रो साता थियो र त्यो मेरो छुट्टी परेको दिन ! चिसो सिरेटो र हिउँले शरीरलाई काँप्न बाध्य बनाएको थियो । न्यानोपनको खोजीमा म नजिकैको एउटा कफीसपभित्र पसेँ । कफी अर्डर गरेँ, फोन निकालें र इमेल चेक गर्न थालेँ ।

इमेलको इनबक्स अनपेक्षित इमेलहरूले भरिएको रहेछ । रेस्टुरेन्ट, लुगा स्टोर, ट्राभल कम्पनीहरू लगायत सबैको आशय एउटै थियो – “तिम्रो जन्मदिन आउँदै छ, भारी छुट पाउँछौ, हामीसँग आऊ र मनाऊ !”

पढ्दा हाँसो उठ्यो । मेरो जन्मदिनसँग यिनीहरूको यस्तो आत्मीयता किन ? तर बुझ्न गाह्रो थिएन । यो उपभोक्तावादी संसार हो, जहाँ मानिसका भावनासमेत व्यापारको अवसर बन्छन् ।

फोन राखेपछि मैले आफ्नै जीवनका पानाहरू पल्टाउन थालेँ । जन्मदिनको अर्थ के हो ? मेरो जीवनका कति वर्ष त जन्मदिनको नामै नसुनी बिते । अझ भनूँ म जन्मेको ठ्याक्कै तिथिमिति नै पनि मलाई थाहा छैन । हाम्रो परिवारमा यस्ता कुरा सम्झिने वा मनाउने चलन नै थिएन । तर त्यही समाजमा राजा र रानीका जन्मोत्सव भने महिनौँसम्म भव्य रूपमा मनाइन्थे । हामी साना मान्छेका जन्मदिन कसले सम्झिन्थ्यो र ?

तर समयसँगै जीवनले जन्मदिनबारे अर्को पाठ सिकायो । पहिलो पटक जब कसैले “आज तिम्रो जन्मदिन हो !” भन्दै हातमा उपहार दिएको थियो र मन एकछिन अलमलिएको पनि थियो । त्यो क्षण मैले महसूस गरेँ, मेरो पनि जीवनको कुनै अर्थ रहेछ ! त्यसपछि मलाई आफ्नो जन्मदिन विशेष लाग्न थाल्यो । हर वर्ष अलि चाँडै आइदियोस् जस्तो लाग्न थाल्यो ।

तर त्यो धेरै समय टिकेन । समयले मलाई फेरि सिकायो प्रेमले जीवनलाई अर्थ त दिने रहेछ तर कहिलेकाहीँ त्यही प्रेम नै गहिरो पीडाको कारण बन्ने रहेछ । जीवनमा केही पाउँदा र दिँदा हामीलाई लाग्छ प्रेमले साँच्चीकै अर्थ दिएको छ । तर त्यही प्रेमले हाम्रो कमजोरी, हृदयको खालीपन र समयसँगको दूरी पनि सम्झाइदिन्छ । त्यसैले प्रेम केवल अनुभूति होइन रहेछ यो त चेतनाको एउटा रूप रहेछ, जसले हामीलाई हाम्रो मन, हाम्रो सीमा र हाम्रो मूल्यसँग सामना गराउँछ । कहिलेकाहीँ जीवनको मिठास महसूस गराउँछ त कहिलेकाहीँ चोट र अन्धकारले भरिन्छ तर यहीं अनुभवले हामीलाई पूर्ण र सचेत बनाउने रहेछ ।

मेरा लागि जन्मदिन प्रायः उमेर गन्ने बहाना वा केकमाथि बालिएको मैनबत्ती निभाएर अर्को वर्षतिर सर्ने एक औपचारिक क्षण मात्रै होइन । मेरो लागि जन्मदिन त्योभन्दा फरक छ । यो दिन म आफ्नै भित्री संसारसँग संवाद गर्छु, आफ्नै यात्रालाई फर्केर हेर्छु र ‘आफू को हुँ’ भन्ने प्रश्नसँग इमानदार हुन्छु ।

हरेक वर्ष म आफैंलाई सोध्छु, के म साँच्चै बाँचिरहेकी छु, कि केवल समय काटिरहेकी छु ? आज म यति स्वीकार गर्न सक्छु कि जीवनका खुशीका क्षणहरूले मात्र होइन, हरेक चोट, ढलेर उठेको हरेक पल र रोएका आँसुले नै मलाई गहिरो बनाएका छन् । अधुरोपन कमजोरी होइन । अधुरोपन भनेको फेरि उठ्ने साहस हो, फेरि आफैंलाई विश्वास गर्ने क्षमता हो, फेरि अघि बढ्ने हिम्मत हो ।

फर्केर हेर्दा मेरो जीवन तीन भूगोलमा फैलिएको रहेछ । पहिलो म जन्मेको भूगोल, नेपालको पूर्वी गाउँ ! त्यहाँ बिहान समय घडीले होइन, गाईगोरुको घाँटीमा बाँधिएको घण्टीको आवाजले चल्थ्यो । कुहिरोले गाउँलाई चुपचाप ढाक्थ्यो, र मानिसहरूको सादगीले दिनको दिशा तय गर्थ्यो । त्यहीँ मैले सन्तोषको मूल्य, प्रेमको न्यानोपन र आत्मीयताको मौन भाषा सिकेँ । धैर्यता, सहिष्णुता र मानवता यी मेरा पहिलो पाठ थिए । त्यो मेरो जीवनको आधारशिला थियो ।

गाउँ छोडेको धेरै भइसक्यो, तर त्यो गाउँ मबाट कहिल्यै छुटेन । गोरेटो बाटा र साँघुरा गल्लीहरू आज पनि मनभित्र पिचरोडझैँ फैलिएका छन् । खाली खुट्टाले हिँडेका उकाली–ओराली, झरनाबाट झर्ने पानीको कलकल आवाज, आँगनभरि फुलेका फूल, गाईगोठमा जन्मिएका बाछाबाछीसँग बिताएका पलहरू यी सबै अब स्मृति मात्र होइनन् । यी मेरा वर्तमानसँग पनि गाँसिएका छन्, मेरो आत्माभित्र स्थायी रूपमा बसोबास गरिरहेका छन् ।

दोस्रो काठमाडौँ‍ ! काठमाडौँले मलाई सपना देख्न सिकायो, तर ती सपना बोकेर बाँच्न कति गाह्रो हुन्छ भन्ने पनि मैले यहीं बुझें । मेरा भावना र मेरा अधिकारलाई सजिलै मान्यता पनि दिन सकेन । शिक्षा, काम, धूलो–धुँवा र गाडीको हर्नले मेरो सोचलाई नयाँ आकार दिए । यहाँ मैले सिकेँ—जीवन केवल बाँच्नु होइन, निरन्तर सामना गर्नुपर्ने प्रक्रिया रहेछ । यहाँ भीड छ, तर एक्लोपन झन् घना छ ।

गाउँको गरीबी आँखाले देखिन्छ, तर शहरको गरीबी आत्मामा चुपचाप बस्छ – अझ बढी खतरनाक र पीडादायी भएर ।

यही शहरमा मैले पत्रकारिता गर्न सिकें । अरूका कथा सुन्दै, लेख्दै आधा शताब्दी बित्यो । आफ्नै कथा भने सधैं ‘भोलि’ का लागि थन्क्याइरहेँ । तर त्यो भोलि कहिल्यै आएन । आज पनि मेरो कथा अपुरो छ, संघर्ष जारी छ । शायद संघर्ष सकिएपछि मात्र लेख्न मिल्छ भन्ने भ्रममै म धेरै वर्ष बाँचिरहेँ र बाँच्दै छु पनि ।

नेपाली महिलाहरूले भोग्दै आएका असमानता, विस्थापन र अदृश्य पीडाहरूले मलाई पत्रकारितातर्फ धकेले । मैले रिपोर्टिङ गरेँ र शब्दमा रूपान्तरण गरेँ । तर लेखिरहँदा पनि आफ्नै जीवनलाई दर्शकझैँ टाढै राखिरहेँ ।

नेपालमा जनयुद्ध र वैदेशिक रोजगारी, साथै कारावास, बेपत्ता, लत (मदिरा, जुवा, लागुऔषध) र मृत्यु (रोग, दुर्घटना, आत्महत्या) ले आजको समाजमा बाबुआमा नभएका अनगिन्ती जीवन जन्माइदिएका छन् । युद्धले कसैको बाबु खोस्यो, कसैको आमा, कसैको दुवै । वैदेशिक रोजगारीले बाबुआमालाई जिउँदो राख्यो, तर बाल्यकालबाट हरायो । कतिपय बच्चाहरू कागजमा टुहुरा भए, कतिपय जीवनमै बाबुआमा जिउँदै हुँदा पनि ।

त्यति बेला मेरो बाल्यकालमा बाबुआमा नहुनु अपवाद जस्तै थियो । प्रश्न र फुसफुसाहटले मलाई सानैदेखि घेरे । बाबुआमा बिना हुर्किएँ तर प्रेमविहीन कहिल्यै थिइनँ । म मामाहरूको माया, संरक्षण र जिम्मेवारीको काखमा हुर्किएँ । जहाँ नाम थिएन, तर मान्छेहरूको रातभर जाग्राम बस्ने चिन्ता थियो । कानूनी नाता थिएन, तर जीवनभरको जिम्मेवारी थियो ।

समाजले भनिरह्यो, बाबुआमा बिना जीवन अधुरो हुन्छ । तर जीवन पूरा चाहिं कसरी हुन्छ ? मेरो कथा पनि यहीँबाट शुरू हुन्छ कागजले दिएको पीडाबाट होइन, आफ्नै अनुभव, अधिकार र पहिचानबाट उभिएकी एक महिलाको कथाबाट ! तर समस्या बाबुआमा नहुनु होइन रहेछ । समस्या त समाजले बनाएको साँघुरो ढाँचा रहेछ, जसले प्रेमलाई प्रमाण खोजेर नाप्छ र सम्बन्धलाई कागजमा बाँध्छ ।

अभिभावकत्व डिएनएको कुरा मात्र होइन रहेछ । अभिभावकत्व उपस्थितिको निरन्तरता रहेछ जहाँ रुँदा काख दिने, डराउँदा हात समाउने, संसारसँग ढाल बन्ने उपस्थिति रहेछ ।

म भन्छु – अब परिवारको परिभाषा पुनर्लेखन गर्ने समय आइसकेको छ । किनकि परिवार नाम होइन, उपस्थिति हो । र उपस्थिति नै प्रेमको सबैभन्दा ठूलो प्रमाण हो ।

गाउँ र शहरपछि मेरो जीवनको तेस्रो गन्तव्य शुरू भयो न्यूयोर्क ! भाषा फेरियो, देश फेरियो, संरचना भत्किए । फेरि जन्मिनुपर्ने अवस्था आयो । आकाश छुने भवन र मानिसको भीडले एकैचोटि डर र जिज्ञासा दुवै जगायो । मेट्रोमा उभिँदा, कफीको कप समातेर अरूका अनुहारहरू हेर्दा, म आफ्नै अस्तित्वको प्रतिध्वनि खोज्थेँ ।

न्यूयोर्कका सडक, मेट्रो, कफी पसल र अफिसहरू मेरा शिक्षक बने । विकसित देशमा सेवा प्रदान गर्नु केवल रोजगारी होइन रहेछ । त्यो संवेदनशीलता, सहानुभूति र जिम्मेवारीको निरन्तर अभ्यास पनि रहेछ भनेर मैले सिकेँ । सशक्त हुनु भनेको केवल दक्ष देखिनु होइन रहेछ, सशक्त हुनु भनेको त अरूको पीडा बुझ्ने साहस राख्नु चाहिं रहेछ ।

त्यही कफी सपमा बसेर मैले फेरि बुझेँ कि जन्मदिन मनाउने वा नमनाउनेभन्दा ठूलो कुरा जीवन बाँच्ने तरिका रहेछ । खुशी ठूला उपलब्धिमा होइन, साना साना क्षणहरूमा लुकेको हुने रहेछ । मैले हालसम्म कुनै ठूला उपलब्धि हासिल गर्न सकेको छैन पनि, तर बिहान अबेरसम्म सिरकभित्र निस्फिक्री निदाउन पाउनु, कसैलाई निस्वार्थ सहयोग गर्न सक्नु, मन मिल्ने मानिसहरूसँग आफ्ना कुरा बाँड्न पाउनु, चाहेको ठाउँमा नक्सा र योजना बिना घुम्न जानु यी नै मेरा साना तर साँचो उपलब्धिहरू रहेछन् । चिसो मौसममा तातो कफीको पहिलो सिपले पनि मेरो जीवनमा मिठास थपेको छ, साँझ क्यान्डिलको मधुरो उज्यालोमा वाइनको गिलास समातेर एक्लै सोचविचार गर्नु, बिहान पाउरोटी कफीमा डुबुल्की मारेको देख्दा मुस्कुराउनु, कुनै किताबले मन छोइदिनु, भीडभाडबीच पनि आफूलाई हराउन नपाउनु, थाकेको दिनको अन्त्यमा आफ्नै अन्तरआवाजसँग शान्ति सम्झौता गर्न सक्नु, यी सबै क्षणहरूले मेरो अस्तित्वलाई अर्थ दिइरहेका छन् । कहिलेकाहीँ कसैले मेरो मौनता बुझिदिनु, कहिलेकाहीँ आफैंलाई दोष नदिई माफ गर्न सक्नु पनि मेरो जीवनको हिस्सा हो । शायद यही हो मेरो जीवनको परिभाषा पनि ठूला उत्सव बिना पनि अर्थपूर्ण, ठूला उपलब्धि बिना पनि यी साना र मौन क्षणहरूकै कारण पूर्ण र सजीव भएको जीवन ।

आखिर समय त बित्छ नै, चाहे दुःखी भएर बसौँ वा सचेत भएर बाँचौँ । जीवन त जस्तो सोच राख्छौँ, त्यस्तै बन्छ, किनकि दिमागमा रोपिएको विचार नै भविष्यको आधारशिला हो । झन्डै आधा शताब्दीको जीवनपछि मैले यति बुझेकी छु जीवन केवल बाँच्नु मात्र होइन । जसले जे भन्छ, चुप लागेर सहनु पनि जीवन होइन । जीवन भनेको सामना गर्नु हो अन्यायसँग, असमान संरचनासँग र लामो समयदेखि जरा गाडेर बसेको मौनतासँग ।

आज म आफैंलाई जन्मदिनको शुभकामना दिन्छु । म बाँचिरहेकोमा, लेखिरहेकोमा र अझै पनि अडिग उभिइरहेकोमा आफूलाई धन्यवाद दिन्छु । जन्मदिन, उमेरमा अर्को अंक थपिने दिन मात्र होइन यो जीवनलाई गहिरो गरी बुझ्ने, आत्मविश्लेषण गर्ने र अझ सचेत भएर अघि बढ्ने अवसर पनि हो ।

जीवन कुनै एक घटना मात्र होइन यो चेतना हो । र यही चेतनाको बल नै सशक्तीकरण हो । मेरो यात्रा जारी छ… मेरो कथा पनि…। किनकि म आज यो ठोकुवा गर्न सकेकी छु कि जीवन केवल बाँच्नु होइन, जीवन भनेको सामना गर्नु हो ।

साझा गर्नुहोस्:
तारा भट्टराई

लेखकको बारेमा

तारा भट्टराई

अमेरिका बस्दै आएकी तारा भट्टराई विशेषतः गैरआख्यान विधामा कलम चलाउँछिन् । अमेरिकी जर्नल 'ग्लोबल प्रेस इन्स्टिच्युट', नेपालको सम्पादक भएर काम गरिसकेकी भट्टराई साहित्यपोस्टमा नियमित स्तम्भकार हुन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.