साहित्यपोस्ट डट कम

जयराज आचार्यलाई दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार

जयराज आचार्यलाई दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार

काठमाडौं । दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रले वर्ष २०८२ का लागि ‘दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार’ प्रा.डा. जयराज आचार्यलाई प्रदान गरेको छ । अन्तरराष्ट्रिय सम्बन्ध, परराष्ट्र तथा कूटनीति साथै नेपाली, अंग्रेजी र संस्कृत वाङ्मयमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।

काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सुरेशराज शर्माले नगद ५० हजार रुपैयाँसहित पुरस्कार प्रदान गर्नुभएकाे थियाे । सो अवसरमा आचार्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने उहाँकी धर्मपत्नी उषा आचार्यलाई पनि विशेष सम्मान गरिएको थियो ।

पुरस्कार ग्रहणपछि आचार्यले स्मृतिकेन्द्रद्वारा सम्मानित व्यक्तित्वहरूको जीवनी ‘ज्ञानविन्दु’ पत्रिकामा विशेषाङ्कका रूपमा प्रकाशन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयाे । प्रमुख अतिथि शर्माले संस्थाले योग्य व्यक्तित्व छनोट गर्ने परम्परालाई निरन्तरता दिएकोमा खुशी व्यक्त गर्नुभयाे ।

यसअघि १७ जना स्रष्टा उक्त पुरस्कारबाट सम्मानित भइसक्नुभएकाे छ । साथै आचार्य विषयक परिचर्चा कार्यक्रम जुममार्फत अन्तरराष्ट्रिय सहभागितासहित सम्पन्न भएको थियो । कार्यक्रममा हरिहर अर्याल, राजेन्द्रप्रसाद अर्याल, पदम विश्वकर्मा, सर्वज्ञ वाग्ले र गंगाधर आचार्यलगायत स्रष्टाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभापतित्व ईश्वरचन्द्र बानियाले गर्नुभएकाे थियाे भने सञ्चालन कपिलचन्द्र खनालले गर्नुभएकाे थियाे । वि.सं. १९६३ मा गोरखामा जन्मिनुभएकाे स्वर्गीय दण्डपाणि अर्ज्याल इतिहास, ज्योतिष र संस्कृतिका अध्येता तथा शिक्षासेवीका रूपमा परिचित व्यक्तित्व हुनुहुन्थ्याे ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.