भारतीय नेपाली साहित्यको क्षेत्रमा एक चर्चित नाम हो शमशेर अलि ! कथा लेखनमा लामो समयदेखि सक्रिय यिनका ‘बिउ भाले’, ’सोल्दा ती गोर्खा मोल्तो ब्योनी’, ’हुट्टी ट्याउँ’, ’अफ्रिन’, ’मामा’, ‘अबुई’, ’द लास्ट डान्स’, ’खँदुवा बन्दुक’ कथासंग्रहहरू बजारमा आइसकेका छन् । साथै कालेबुङ नेपाली अध्ययन समितिद्वारा पूर्ण राई स्मृति पुरस्कार -२०१५ लैनसिंह बाङदेल पुरस्कार २०२१, शिवकुमार राई पुरस्कार २०२६ आदि सम्मानद्वारा कथाकार विभूषित भइसकेका छन् ।
प्रस्तुत छ यिनै चर्चित कथाकारसँग संवाददाता राकेश क्रान्तिकारीले गर्नुभएको कुराकानी :
स्व. शिवकुमार राई स्मृति पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई सर ! पुरस्कार घोषणा हुँदा कत्तिको हर्षित हुनुभयो ?
– अचम्म लाग्यो । शिव कुमार राई पुरस्कार नसोचेको कुरो पाइयो । कुनै लबी विहीन पुरस्कार पाउन भनेको खुशीको कुरा हो । साहित्य अकादमीले पुरस्कारको निम्ति सित्थैमा तीन कपी पुस्तक माग्थे । मैले कहिल्यै पठाइनँ । शिवकुमार राई पुरस्कार अचानक घोषणाले म चकित भएँ । लबी बिना पनि पाइँदो रहेछ पुरस्कार ।
पुरस्कारले लेखकलाई के दिँदो रहेछ ?
– निकै राम्रो पैसा दिँदो रहेछ अनि अझै केही लेखिरहने ऊर्जा दिँदो रहेछ ।
तपाईं कथा लेखनमा सक्रिय हुनुहुन्छ, कथाले पाठकलाई आनन्द त दिन्छ तर कथा लेख्नेलाई चैं के प्राप्त हुँदोरहेछ ?
– कथा लेख्नमा म आत्मसन्तुष्टि पाउँछु । पाठकको रुचि अनुसार कथा पस्कनु आफ्नो विशेषता सम्झन्छु ।
भारतभित्रका पाठकहरूमाझ तपाईं प्रचलित हुनुहुन्छ, सिमाना पारीका (नेपाल) पाठकहरूले तपाईंको कथाहरूको स्वाद कहिले चाख्ने ?
– सिमानापारि पनि धेरैले मेरो कथा पढेर सह्राना गरे । भविष्यमा मेरा कथाहरू सिमाना पार पनि पुग्लान् ।
एउटा आम मान्छे र एउटा साहित्यकार बीचको फरक के हुँदो रहेछ ?
– एउटा आम पाठकले सोचेको कुरालाई सर्जकले सृजना गर्नु नै विशेषता हो । पाठकले सोचेको कुरोलाई रोचक बनाएर साहित्यकारले लेख्न सक्छ । विशेषता त्यही हो ।
तपाईंका संग्रहहरू पछिल्लो केही समय निरन्तर आइरहेका छन्, कतै हतार गरे जस्तो लाग्दैन ?
– आफूसित सीमित समय भएकोले केही हतारहरू भए होलान् । दोस्रो कुरो मेरो उपचारको क्रमले कोलकतामा छु । लेख्न सिवाई अरू कुनै काम छैन मसित । यहाँ डिस्टर्ब गर्ने कुनै मानिसहरू नभएकोले, जति दिन बाँच्छु म लेखिराख्छु आफूले भोगेको र देखेका कथाहरू ।
कालेबुङलाई कति मिस गर्नुहुन्छ ?
– आफू जन्मेर हुर्केको जग्गा मेरा मुटुका प्रत्येक धड्कनहरूले मिस गरिरहन्छ । कालेबुङ यस्तो जग्गा हो जहाँ हजारौं कथाहरू हावामा बहिरहेको छ ।
जीवन के रहेछ सर ?
– दुःख र सुखको सम्मिश्रण हो जीवन ! जीवन एउटा सपना पनि हो । सपनाबाट जुन दिन बिउँझन्छौं हामी संसारबाट बिदा लिइसकेको हुनेछौं । जीवन नाटक पनि हो । अभिनय गर्दागर्दै पर्दा खस्छ ।
अहिले उपन्यासको ट्रेन्ड चलिरहेको छ, तपाईं लेख्नुहुन्न ?
– उपन्यास लेख्ने कोशिश नगरेको होइन । लेख्दै गरेको थिएँ । आधामै थाँती थियो डिलिट भएछ । मलाई मन परेको विषयवस्तु नै छोटा कथाहरू हुन् । भन्छन् नि छोटा कथाहरू घोडदौड हुन् जो शुरूवातदेखि अन्तसम्मै पाठकलाई बाँधेर राख्छ ।
दिनचर्या कसरी बितिरहेछ सर ?
– दिनचर्या एक अस्पतालदेखि अर्को अस्पतालसम्म दौडिएर बितिरहेछ फुर्सदका बेलाहरूमा कलमसित दौडिरहेछु । वास्तविक मृत्यु कुरिरहेछु ।
नयाँ के पढिरहनु भएको छ ?
– भनेजस्तो पुस्तक नपाएकोले वर्तमानमा दुई चार हल्का फुल्का साथीहरूले दिएका पुस्तकहरू पढिरहेछु ।

