सिलगढी (भारत) । खरसाङका साहित्यकार जस योञ्जन ‘प्यासी’को कृतित्वमाथि केन्द्रित सामूहिक मूल्याङ्कनग्रन्थ ‘एउटा खुल्ला किताब : कृति–कीर्तिवृत्तमा जस योञ्जन प्यासी’को लोकार्पण भारतको सिलगढीस्थित देवकोटा सङ्घमा सम्पन्न भएको छ ।
आख्यानकार विन्द्या सुब्बाको सभापतित्वमा आयोजित कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोले प्रमुख अतिथि रहने तय भए पनि अत्यावश्यक प्रशासनिक कार्यका कारण उपस्थित हुन नसकेको जनाइएको छ ।
कार्यक्रममा बिर्तामोडका चन्द्र भण्डारी, ज्ञानेन्द्र खतिवडा, डा. कृष्णराज घतानी, असमका उद्योगी कृष्ण भुजेल तथा जय क्याक्टसलगायतको उपस्थिति रहेको थियो ।
ग्रन्थका प्रकाशक सुरज गुरुङ, सम्पादक लक्ष्मण दाहाल, साहित्यकार जस योञ्जन ‘प्यासी’, चन्द्र भण्डारी तथा सभापति विन्द्या सुब्बाले ग्रन्थमाथि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सुधीर घले, नम्रता बल, कर्मा मोक्तान र रञ्जिता सुनारले जस योञ्जन ‘प्यासी’का चर्चित गीत प्रस्तुत गर्नुभएकाे थियाे।
आफ्नो मन्तव्यमा जस योञ्जन ‘प्यासी’ले जीवनभर नयाँ पुस्तालाई प्रेरित गर्ने र सद्कर्ममा विश्वास राख्दै आएको उल्लेख गर्दै असल कर्मको मूल्याङ्कन एक दिन अवश्य हुने विश्वास व्यक्त गर्नुभयो ।
चन्द्र भण्डारीले जस योञ्जन ‘प्यासी’लाई बहुप्रतिभाशाली स्रष्टाका रूपमा उल्लेख गर्दै उहाँको साहित्यिक योगदान नेपालमा पनि परिचित रहेको बताउनुभयो । सभापति विन्द्या सुब्बाले उहाँलाई गीतकार, समालोचक, उपन्यासकार र नाटककारका रूपमा नेपाली भाषी साहित्यमा विशिष्ट योगदान पुर्याएको व्यक्तित्वका रूपमा मूल्याङ्कन गर्नुभयो ।
कार्यक्रमको सञ्चालन कमल रेग्मीले गर्नुभएको थियो ।

