हङकङ । डायस्पोरिक नेपाली साहित्यकी सर्जक जानु काम्बाङ लिम्बूको पहिलो उपन्यास ‘खाम्योग’ हङकङ साहित्यिक साझा शृङ्खलाको १५८औँ शृङ्खलामा लोकार्पण गरिएको छ ।
जोर्डनस्थित एभरेस्ट रेस्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा हङकङ साहित्यिक साझा शृङ्खलाकी संयोजक जुनू रानाको सभापतित्व तथा ताङ्साङ्थाबा काम्बाङ सयङ हङकङका अध्यक्ष राजकुमार काम्बाङको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेपालकी महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जेला तुम्बापो सुब्बा विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रमको सहजीकरण हङकङ साहित्यिक साझा शृङ्खलाका सहसंयोजक तथा कवि रोशन यक्सोले गर्नुभएको थियो ।
उपन्यासमाथि राजकुमार राई, भूपेन्द्र चेम्जोङ, बज्रकुमार राई र बालिका बान्तावाले टिप्पणी गर्दै कृतिले बेल्जियममा रहेका आप्रवासी नेपालीहरूको जीवन, स्वदेशप्रतिको भावनात्मक सम्बन्ध तथा लिम्बू समुदायको सांस्कृतिक, सामाजिक र ऐतिहासिक पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको धारणा राख्नुभयो । वक्ताहरूले उपन्यासले लिम्बुवानको मुद्दालाई पनि साहित्यिक ढङ्गले उठाएको उल्लेख गर्नुभयो ।
समारोहमा याउ चि मङ डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङ, एनआरएनए हङकङकी अध्यक्ष अनु राई, नेपाली महासङ्घ हङकङका अध्यक्ष नवीन सुहाङ, बेलायतबाट आउनुभएका साहित्यकार सुमलकुमार गुरुङ, किरात याक्थुम चुम्लुङ हङकङका अध्यक्ष शमशेर तुम्बाहाम्फेलगायत विभिन्न सामाजिक तथा साहित्यिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
यसअघि जानु काम्बाङ लिम्बूका ‘शिविरमा ईश्वर’ (कवितासङ्ग्रह), ‘नउघ्रेको जून’ (कथासङ्ग्रह), ‘फ्ल्याण्डर्स फिल्डमा तमोरको सुसेली’ (नियात्रासङ्ग्रह) प्रकाशित छन् । उहाँका ‘अनुभव’, ‘जानु’ र ‘आँसुको लय’ गीति एल्बमसमेत सार्वजनिक भइसकेका छन् ।
मूलबाटो प्रतिष्ठान नेपालद्वारा प्रकाशित ‘खाम्योग’ले डायस्पोरिक नेपाली साहित्यमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिएको छ ।

