साहित्यपोस्ट डट कम

जनता साहित्यिक मञ्चद्वारा बर्दिवासमा अन्तर्क्रिया

जनता साहित्यिक मञ्चद्वारा बर्दिवासमा अन्तर्क्रिया

महोत्तरी । जनता साहित्यिक मञ्च गौरीडाँडा, बर्दिवासले साहित्यिक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

असार २३ गते मंगलबार आयोजित कार्यक्रम मञ्चका संरक्षक तथा जनता माध्यमिक विद्यालय गौरीडाँडाका प्रधानाध्यापक रामसकल महतोको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा शिक्षाविद्, समाजशास्त्री तथा साहित्यअनुरागी प्राध्यापक विमल फुयाँल प्रमुख अतिथि रहनुभएको थियो ।

प्रमुख अतिथि फुयाँलको सुझावअनुसार कार्यक्रमलाई दुई चरणमा सञ्चालन गरिएको थियो । पहिलो चरणमा मञ्चमा आबद्ध विद्यार्थीहरूले आफ्नो परिचय दिँदै साहित्यतर्फ लाग्न प्रेरित गर्ने कारणबारे धारणा राखेका थिए । उनीहरूले जनता माध्यमिक विद्यालय गौरीडाँडामा क्रियाशील जनता साहित्यिक मञ्चका गतिविधि, विद्यालय प्रशासन तथा शिक्षकबाट प्राप्त सुझाव र सहयोगले साहित्यप्रति रुचि बढाएको बताएका थिए ।

दोस्रो चरणमा विद्यार्थीलाई समूहमा विभाजन गरी साहित्यिक मञ्चलाई आगामी दिनमा कसरी प्रभावकारी ढङ्गले अघि बढाउने, मञ्चका पदाधिकारी, शिक्षक तथा विद्यालय प्रशासनको भूमिका कस्तो हुनुपर्ने भन्ने विषयमा छलफल गराइएको थियो । समूहगत छलफलपछि सहभागीले आआफ्ना धारणा प्रस्तुत गरेका थिए ।

सहभागी विद्यार्थीहरूले साहित्यलाई मनका भावना, विचार, दुःख र खुशी व्यक्त गर्ने माध्यमका रूपमा लिएको बताएका थिए । साहित्यले समाजमा देखिएका समस्यामाथि बहस सिर्जना गर्नुका साथै समाधानका उपाय खोज्न पनि सहयोग पुर्‍याउने उनीहरूको धारणा थियो ।

कार्यक्रममा विद्यार्थीहरूले आफूलाई मन परेका कविका कविता पनि वाचन गरेका थिए ।

कार्यक्रममा रोजिना घिमिरे, समीक्षा भण्डारी, जेनिशा लामा, प्रमेश महतो, प्रिन्स सिंह, विदुषी अर्याल, निक्की यादव, सन्ध्या रोका, स्नेहा माली भण्डारी, राधा महतो, प्रियतम यादव, मधु सिंह, स्मृति भण्डारी, भाविका परियार, स्मृति अधिकारी र प्रणव गौतमको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि फुयाँलले विद्यालयस्तरमै साहित्यिक मञ्च स्थापना गरी विद्यार्थीमा साहित्यप्रति रुचि जगाउने कार्य अनुसरणीय र प्रशंसनीय रहेको बताउनुभयो । उहाँले विद्यार्थीलाई साहित्यिक सिर्जना र अध्ययनमा निरन्तर सक्रिय रहन आग्रह गर्नुभयो ।

विशिष्ट अतिथि तथा आजीवन सिकाइ मण्डलकी सदस्य पुनम कुइकेलले विद्यार्थीका विचार महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मञ्चका गतिविधिलाई थप सक्रिय रूपमा अघि बढाउन शुभकामना दिनुभयो ।

कार्यक्रमका सहजीकर्ता शिक्षक रामचन्द्र पौडेलले विद्यार्थीमा साहित्यको बीजारोपण गर्दै विद्यालयलाई साहित्यिक फूलबारी बनाउने उद्देश्यले मञ्चले गतिविधि सञ्चालन गरिरहेको बताउनुभयो ।

कार्यक्रमको समापनमा सभाध्यक्ष महतोले साहित्यिक अन्तर्क्रियामार्फत विद्यार्थीलाई साहित्यप्रति प्रेरित गरेकोमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिप्रति आभार व्यक्त गर्नुभयो । विद्यालय प्रशासनले मञ्चलाई आवश्यक सरसल्लाह, भौतिक तथा नैतिक सहयोग निरन्तर उपलब्ध गराउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.