साहित्यपोस्ट डट कम

जनमत प्रतिष्ठानद्वारा १० स्रष्टा सम्मानित

जनमत प्रतिष्ठानद्वारा १० स्रष्टा सम्मानित

बनेपा । जनमत वाङ्मय प्रतिष्ठान नेपालको ४२औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा १० जना विशिष्ट स्रष्टाहरूलाई विभिन्न राष्ट्रिय सम्मानद्वारा विभूषित गरिएको छ । बनेपास्थित अरनिको पार्टी प्यालेसमा आयोजित ‘दोस्रो चरणको स्रष्टा सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको हो ।

कार्यक्रममा अनुवादक समाज नेपालका अध्यक्ष डा. बलराम अधिकारीलाई ‘जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान’ प्रदान गरिएको छ । नेपाली साहित्यको अनुवाद र प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदरस्वरूप उहाँलाई उक्त सम्मान अर्पण गरिएको हो । यसअघि पनि उहाँ ‘अनुवाद प्रज्ञा पुरस्कार–२०८१’ बाट सम्मानित भइसक्नुभएकाे भएकाे छ ।

कार्यक्रमपश्चात् भएको अनौपचारिक कुराकानीमा डा. अधिकारीले अनुवादको बदलिँदो स्वरूपबारे चर्चा गर्दै आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को भूमिकालाई स्वीकार गर्दै पनि मानवीय संवेदनशीलता र सिर्जनशीलता अनुवादको मूल तत्व रहेको धारणा व्यक्त गर्नुभयो ।

समारोहमा राजनीतिज्ञ एवं लेखक मोहनविक्रम सिंहलाई ‘कमलराज–जनमत दर्शन साहित्य सम्मान’, प्रा. डा. चूडामणि बन्धुलाई ‘हृदयचन्द्र–जनमत साधक सम्मान’ तथा प्रा. डा. वीणा पौड्याललाई ‘जनमत–सिचि धर्म/संस्कृति सम्मान’ प्रदान गरिएको छ ।

यसैगरी डा. कविता लामालाई ‘विश्वशान्ति–जनमत प्रवासी लेखक सम्मान’, नन्दकृष्ण जोशीलाई ‘जनमत–जनक प्रधान सेवा सम्मान’ र प्रा. डा. सविना श्रेष्ठलाई ‘जनमत–दीपक कायस्थ स्वास्थ्य सम्मान’ प्रदान गरिएको छ ।

अन्य सम्मानित व्यक्तित्वहरूमा जगदीश ओझा (‘जनमत–ज्ञानरत्न/मङ्गलतारा राष्ट्रिय सम्मान’), राजभाई प्रधान (‘जनमत–पूर्णमाया/लुचि समाजसेवा सम्मान’) र डा. गोविन्द आचार्य (‘शान्तिकिरण–जनमत फरक क्षमता सम्मान’) रहनुभएकाे छ ।

प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको सभापतित्वमा सम्पन्न उक्त समारोहमा देशभरका साहित्यकार, पत्रकार तथा बौद्धिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो । विगत ४२ वर्षदेखि वाङ्मय सेवामा समर्पित प्रतिष्ठानले हरेक वर्ष विभिन्न विधाका स्रष्टाहरूलाई सम्मानित गर्दै आएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.