साहित्यपोस्ट डट कम

जानकी गुरुङको नेपाल चिनाउन आह्वान

जानकी गुरुङको नेपाल चिनाउन आह्वान

जानकी गुरुङको ‘चिनाऔं नेपाललाई संसारमा’ हात पर्नासाथ तोया गुरुङलाई सम्झेँ र सम्मान गरेँ मनमनै । पृथ्वीनारायण शाहका सेनामा जुटेका अनेक योद्धावीरहरूमा गुरुङ जातिको उच्च अस्तित्व बुझेको छु । बाजे र अग्रज पुस्ताका बखान बादेखि डा. हर्कबहादुर, सूर्यमान,काजीमान सिंह (चितवन,दिव्यनगर) डा. जुद्धबहादुर र समकालीनमा डेलमान जस्ता अनेक गुरुङहरूको व्यक्तित्व मेरा निम्ति आदरणीय रह्यो ।

आज प्रोफेसर जगमान गुरुङको विद्वत्ता र दर्शनले बहुसंख्यक साक्षर, शिक्षित राष्ट्रभक्त र वीरहरू उनको ज्ञान र दृष्टिकोणबाट प्रभावित छन् । गुरुङ समुदायमा अनेक महयसी नारीहरू छन्, तिनको सेवा र योगले नेपाली समाज उऋण रहन सक्तैन । अनुभव छँदै छ । सेना र वैदेशिक सेनाको प्रसंग फेरि कतै आउला ।

जानकी गुरुङको कविताको सन्दर्भले यी स्वनामधन्य या यशस्वी पुरुषहरूप्रति सम्मान जनाउने मौका पाएकोमा जानकी बालालाई पनि धन्यवाद भन्छु ।

‘चिनाऔं नेपाललाई संसारमा’ यो शीर्षकले मलाई बौलाउने मौका दियो भनेर म प्रसन्न भएँ । सरल पठनमा यो यस्तो कविता हो जसले जाति, माटो, इतिहास र संस्कृतिमाथि गौरव गर्दछ । विदेशको भूमिमा पुगेर पनि हातेमालो गर्ने आफ्नो मुलुकको श्रेष्ठतालाई थाम्दै–चिनाउँदै रहने, सङ्कल्प र सन्देश बाँड्ने दुर्लभ रचना हो । त्यसैले कविता भाववोधका दृष्टिले उच्च छ ।

बैगुनीलाई प्रेम, दया र अपनत्व दिएर आफ्नो बनाउन सकिन्छ । माटोका रसायनले जोडेर भन्ने भावले नै कविताको उचाइ देखाउँदैन र ? कवयित्री जानकी बालामा पूर्ण विश्वास छ प्यारा दुर्जनलाई अनुकूल बनाउन सकिन्छ जो आफ्नो मुलक र जातिप्रति तुच्छभाव राख्छन् । यसले काव्यकारको मनोभावको उच्चतालाई प्रष्ट गर्दछ ।

कविताले कवयित्रीका निश्छल अभिव्यक्ति, उदार चिन्तन, सहअस्तित्व र एकताको सन्देश फैलाउँछ । वास्तवमा विदेशका भूमिमा रहेका सबैलाई यी शब्दहरूले सचेत पनि गराउँछन् र प्रेरणा पनि दिन्छन् । कानूनले लागे लागोस्, उद्धरण गर्नैपर्ने भो–

पराइको आँगनमा बसेर धारेहात लगाउनेलाई

स्वाभिमानको लिलाम गर्नेहरूलाई,

घृणाले हैन, तिरस्कारले हैन

प्रेम र संसर्गले, दया र आशीर्वाचनले

अपनत्व र माटोसँग जोडिदिनु पर्दछ हामीले

एनआरएनको ( NRN –हरि ) आदर्श र भावले ।

NRN गैर आवासीय नेपालीहरुको संस्था हो यो । यसले चाहँदा नौला, सामयिक र उचित काम गरेर देखाउन सक्छ । कवयित्री जानकी बाला यदि यो संस्थाकी सक्रिय सदस्य हुन् भने पदाधिकारीलाई आँखा र चिन्तन पनि दिउन् । के गर्न बाँकी छ त्यो देखून् । गएका एक–दुई भेलाहरूमा NRN का पदाधिकारीको मल–नृत्यले हामी विदेशमा बस्नेलाई लाज लगायो र नेपालमा बस्नेलाई उदेक बनायो । हामीले ठान्यौँ यो आधुनिक झाँक्री नृत्य यस्तै होला – समय र सन्दर्भ सुहाउँदो होला ।

जानकी बालाले यस्ता घटनाबारे थाह नगरेकी होइनन् । त्यसैले सद्भाव र एकताका लागि बडो कलात्मक शैलीले प्रस्ताव गर्छिन् –

र पो

बेल्जियम ल्होसारमय हुँदा सिड्नीमा ताली बज्छ

टोकियोमा बजेको पञ्चैबाजाले मस्कोलाई तरङ्गित तुल्याउँछ

युकेमा जमेको दोहोरीले युएस पुलकित हुन्छ

अनि मिडिल इष्टको चीत्कारले संसारलाई रुवाइदिन्छ

मलेसियाको आर्तनादले सबैलाई आक्रोश जगाउँछ (जगाइदिन्छ ?)

अर्थात् प्रवास सँगै रुन्छ, सँगै हाँस्छ । …

वास्तवमा मुहान सङ्लो छैन, यसैका लागि एकता, सहकार्य र शक्ति चाहिएको हो भन्ने सन्देशले यो कविता संग्रहका अरु कलमभन्दा पृथक् छ । त्यसैले विशेष छ ।

सात अनुच्छेदमा फैलिएको यो रचना आफ्नो जाति, संस्कृति, इतिहास र एकताका लागि पोषक बनेको छ र यसैका लागि जागरुक गर्दछ । काव्यकारको आयु र योग्यता बारे उत्खनन गर्नु छैन, किन्तु काव्य रचनाले सर्जकको बौद्धिक स्तर, उच्च दृष्टिकोण, युगीन चिन्तन, सहअस्तित्व र राष्ट्रबोधको तहलाई उजागर गर्दछ । यो खालको सन्देश अरुमा अलिक कमै भेटिन्छ बरु व्यक्तिगत व्यथामा केन्द्रित रचनाको बाहुल्य देखा पर्छ । त्यसैले मन पनि, दृष्टि पनि, उद्देश्य पनि प्राप्ति पनि फरक फरक र सानु–ठूलो हुन्छ कि मुलुक बाहिर बस्नेहरूको । कसरी सम्झौँ ?

कति सजिलो छ भनाइ – जहाँ पुगेको छ नेपाली उसँगै स्वाभिमान उभिएको हुनुपर्छ, शिरसँगै सगरमाथा ठडिएको हुनुपर्छ । कर्म (व्यवसाय) र मित्रतामा जोडिनुपर्छ, बोली वचनमा शान्ति प्रतिध्वनित हुनुपर्छ र यिनैसँग NRN को आदर्श बाँचेको हुनुपर्छ । यो सन्देश हो– कविताको । यसलाई अन्यथा मानिंदैन । NRN का कार्यक्रमका दृश्य, चित्र र सञ्चारका कुरा बिर्सिदिए चिलाउने रोग र बिलाउने नशा लाग्दै लाग्दैन । अविधाले गाँजेकासँग संगत नगरे कविताको सन्देश अमल गर्न सकिन्छ । भन्नैपर्छ उच्च विचार र जातीय अस्तित्वमा सचेत देखिने, जानकी बालाको कलममा वर्तमान युग बोल्छ, नेपालीको आत्मा बोल्छ ।

उनको सिर्जना नीतिपरक छ । उज्यालो र आदर्श पथको खोजी छ । गन्तव्यमा नेपाली जातिको उच्चताको उद्घोषण छ र त्यसको निर्वाहको कामना छ ।

भाषा राम्रो छ । पत्रकार र नेताको संवाद र पर्चा शैलीको छायाँ छ । शिक्षकको आदर्श पाठको वाचन छ, किन्तु भाषामा नयाँपन, शब्दमा उच्छलन र लयमा वंकिम नृत्यले प्रवेश पाएको भए सौन्दर्य थपिँदो हो ! मौका गुम्यो कि, किनभने – प्रतिभा छ, चेतना छ, विधिको आराधना पुगेन कि ? कुरा राम्रा छन्, अभिव्यक्ति सरल छ, विषय सटीक छ, किन्तु सौन्दर्यरहित तारुण्यको कल्पना गर्न मिल्छ र ? नून, अमिलो र पीरो विना अचारको अस्तित्व बन्ला र ! काव्यका सूक्ष्म, मनोज्ञ अलङ्करण–प्रसाधनको खाँचो युगानुकूल मानिएन कि ? शोरुममा सजाएकी सुन्दरी राम्री लाग्छे– पुतली, दाँज्न मिल्दैन, त्यसमा जीवन भइदिँदैन । तर पक्का छ कविताले विपठन माग्छ भने त्यसले अद्भुत ध्वनि (व्यंग्य) छर्छ । यति चाहिँ पक्का हो ।

नेपाललाई चिनाउने अभियानमा जानकी बालाको राष्ट्रबोधी चेतनाको सम्मान छ । श्री ५ पृथ्वीनारायण शाहदेखि राजा वीरेन्द्रसम्मको यात्रामा नेपालले आफ्नो परिचय जस्तो दियो त्यो अपर्याप्त थियो खास थिएन, त्यसैले चिनिएकै थिएन । शायद चिनिने त्यस्तो उल्लेख्य काम भएकै थिएन, अब चिनाउनु पर्छ, भन्ने हो भने ती बुँदाहरुको उल्लेख किन नगर्ने ? वि.सं २०५२ पछि जति काम नेपालको भूगोलमा भए के त्यतिबाटै नेपालले उन्नत चिन्हारी दिएन र ? त्यतिले नपुगेर अझै थप्नु पर्ने छ र ? कि त्यो चिन्हारी कुरुप भयो, अब अर्को दिने हो ? राष्ट्रको सम्मानजनक पहिचानलाई छोप्नु या बिर्सनु सम्भव छ ? कुन कुन कर्मले हामी चिनियौं दुईचार दृश्य टिपौं कि, अनुमति छ ? धेरै तहबाट चिनिन्छ नेपाल, अब चिनाउनु पर्दैन कि ? जस्तो–

माओवादीको ट्याग लगाएर गान्धीवादी सेनाले आफ्नै मुलुकमा पसेर जनता मारे, वेपत्ता पारे– ३६ हजारको ज्यान रहेन । कति सम्पत्ति लुटे कति कब्जा गरे । यस घटनाले पनि नेपाल चिनिएकै हो ।

दरबारभित्र राजा, रानी र तिनका परिवार अनेक आफन्तलाई मारे । यो घटना पनि चर्चित नै रह्यो ।

नयाँ राजालाई संसद जीवित गर्न अनुरोध गरे । राजाले सुने । जनप्रतिनिधिको भावनालाई कदर गरे उनले तर त्यसै संसदले राजालाई अपदस्थ गरायो । यसले नेपालको चिनारी थपेकै हो । राजमुकुट र राजदण्ड जनप्रतिनिधिलाई जिम्मा लगाए जनताको नासो भनेर ! अनि दिएको ठाउँमा बसे, यसले पनि नेपालको परिचय बढेन र ?

कागज मिलाएर राष्ट्रको सम्पत्ति हरण गरे, ठगी पनि गरे । मुद्धा नलाग्ने पनि बनाए । यो कर्मले पनि नेपाल नचिनिएको होला र ? एउटा राष्ट्रपतिले रोकि बदर गरेको नागारिकतासँग सम्बन्धित फायल अर्काले सदर गरेको कर्मले पनि नेपालकै ख्याती बढाएन र ? के यो मुलुक २०५२ अघि भूगोल, इतिहास, संस्कृति र स्वतन्त्राले चिनिन्नथ्यो ?

सिमाना सार्ने र प्राकृतिक सम्पदा मास्ने–बेच्ने कर्मले नेपाल नचिनिएको होला र ? लाउडादेखि–पोखरा–भैरहवा विमानस्थल निर्माणमा गरिएको वित्तीय घोटालाले मुलुकको प्रसिद्धि घटेको कसरी ठान्नु ? त्यसैले अर्को, देशको नागरिकलाई आफ्नो तुल्याएर र आफ्नो देशकोलाई शरणार्थी तुल्याएर धन कमाउने उद्योग गरियो र मुलुकलाई बदनाम गरियो भन्नु वनावटी कुरा हो । आरोप मात्र हो – रवि लामिछानेलाई लगाएको आरोप ? के भन्छ – संचार जगत ? होला पनि नभए कानूनका ठेली न्याय दिने भवन हुँदा हुँदै यस्तो कलंक र बदनाम हुन्थ्यो र ? अनि मुलुक गन्हाउँथ्यो किन ?

त्यसैले भन्नै पर्छ – दलीय शक्तिले राज्य संचालन गर्न थालेपछि मुलुकको चिन्हारी अन्तर्राष्ट्रिय स्तरमा सम्मानजनक ढंगले उठेको हो । त्यसैले सुनलाई सुन भन्न, आगोलाई आगो भन्न वा सूर्यलाई सूर्य भन्न कुनै प्रचार वा विज्ञापन चाहिँदैन भने २०५२ पछि नेपालको ख्याति विश्वस्तरमा उठेकै ठान्नुपर्छ । यसका निमित्त दलराज वा दलपतिलाई सहस्र धन्यवाद दिनैपर्छ र भन्नैपर्छ नेपाललाई अब कसैले चिनाइरहनु पर्दैन ।

अब यहाँ काव्यकार जानकी बालासँग भन्नुपर्ने यति नै हो– या उनी मात्रै सकारात्मक सोचाइ राख्छिन्, दोष दर्शनको पथमा उनी छैनन् । या उनी सरकारले गरेका प्रत्येक अमङ्गल कर्मलाई समर्थन गर्छिन् या भन्नु पर्छ उनी चेतना शून्य हुन् या बिरालोवृत्ति गर्छिन् – लुकाउँछिन् । कि भन्नुपर्छ– कसैको भनाइलाई काव्यरूप दिएकी हुन् । यदि व्यंग्य हो भने यो राम्रो कविता हो – थोरै विधि पुगेन । भोलि अझ राम्रो लेखिन सक्छ । म उनको प्रतिभा र आत्मबलको तारीफ गर्छु । सुन्दर आँखा नभएकीलाई सुलोचना भनेर उडाएको त होइन ? यत्रो भाषिक क्षमता र अभिव्यक्ति सामर्थ्य हुँदा हुँदै देशको बदनाम गर्नेहरुप्रति एउटा पनि आलोचनात्मक वाक्य नआउनुको अर्थ के ? कतै काव्यकार जानकी बाला संस्कारशून्य, अराजनीतिक तत्वले गरेको अराजक गतिविधिको समर्थनमा त जुटेकी हैनन ? शङ्का नगर्ने किन ? कतै NRN को प्रतिनिधि वक्ताको भावले ब्युँझेको त हैन उनको काव्यकारिता ? अपराध छोपिएला र सँधै ? इतिहासले नदेख्ला ?

सारमा भनौं भन्नुपर्ने र गर्नुपर्ने कुरो यही हो- देशको गौरव गान गर्नैपर्छ, हरेकले गर्छ । त्यो धर्म पनि हो । किन्तु गाईलाई गाई देख्ने र सुँगुरलाई सुँगुर देख्न सक्ने दृष्टि विकसित भयो भने सुँगुरमा पाइने गुण–धर्म पनि छोप्न मिल्दैन । ती अवश्य उल्लेख्य हुने छन् ।

पठनमा कविता राम्रो छ । प्रशस्त ताली पाउँछ श्रोताबाट । पुरस्कृत पनि होला । गुनासो दोहोर्याएर भनौं – या त अपराध छोपियो, या देखिएन काँचलाई मणि ठानिएकै हो । किन्तु अबको इतिहास साहित्यका पृष्ठहरुलाई अदेख गरेर लेख्न सकिँदैन । यो पक्ष अत्यन्त बलियो छ । राजनीतिक व्यूहबाट कलमधर डराउँदैन भन्ने विश्वास मेरो पनि छ ।

बारम्बार गुरुङ लेखिन, बाला लेखें । अप्रिय लागे क्षमा चाहन्छु, फिर्ता लिन्छु । कलम चल्दै रहोस् शुभकामना ।

सन्दर्भ क्रमशः छ, नेपाल प्र.प्र.र गैर आवासीय नेपाली संघको २०७२ को प्रकाशन – नेपाली डायस्पोराका कविता ।

= = =

चिनाऔं नेपाललाई संसारमा

– जानकी गुरुङ

मेरो प्यारो आँगनीलाई

बाध्यताको पाइलाले छाडेको त्यो दिन

सम्झँदै अनि सपनीलाई पछ्‌याउँदै

आइ पुगेकी छु, नौलो संसारमा,

सङ्घर्षको साथले मात्र आज

देशप्रेमको अमिट भावनाले आज

नेपाली पहिचान र अस्मिताको अभियानमा

बाँचि रहेकी छु ए

क एनआरएन भएर ।

आमाको कोख, छिमेकको सहारा

तिमीले टेकेको धरती र हुर्के बढेको आँगन

रीतिथिति संस्कार, नेपाली मनहरू जोड्दै

तिमी पनि त रमाइ रहेछौ

अनि बनाएका पनि छौ नेपाली समाज

हामी सबैको उही त हो नि परिवेश

किनकि तिमी पनि त एनआरएन हौ ।

सपनालाई पूरा गर्न, सन्ततिको उज्यालो पहिल्याउन

कहाँ मात्र पुगेका छैनौं, के कसुर बाँकी राखेका छौं र ?

यत्न जारी छ, अवसर र चुनौतीका पहाडहरू छिचोल्दै

मातृभूमिको कसम खाएर कति मिहिनेत गरेका छौं

कसैलाई भनि रहन पर्छ र ?

सामाजिक धरातल एउटै हो सबैको

किन कि हामी सबै एनआरएन नै त हौं ।

उता जहाँ छु म त्यहाँ,

जन्मेको माटोको सुवास छर्न तल्लीन छु

मलाई विश्वास छ,

तिमी पनि त शान्तिको गीत गाइ रहेछौ त्यहाँ

सगरमाथा, बुद्ध, भृकुटी र जनकको सन्देश फैलाउन

उनीहरू पनि जोरबलले जुटेका छन् रे यत्रतत्र

जो जहाँ छन् मरी मेटेर लागेकै हुनु पर्छ

इमान जमानमा पनि श‌ङ्का गरि रहनु पर्छ र ?

किनकि सबैको मन त नेपाली नै हो ।

तैपनि भन्नै पर्छ, सम्झाउनै पर्छ एकाधलाई

जो भुल्छन् आफ्नो माटो र संस्कृति अनि देशप्रेमलाई

जन्मभूमि छाडेको प्रहारलाई अनि कर्तव्य र अभावको शिक्षालाई

पराइको आँगनमा बसेर धारेहात लाउनेलाई

स्वाभिमानको लिलाम गर्नेहरूलाई

तिनलाई घृणाले हैन, तिरस्कारले हैन

प्रेम र संसर्गले, दया र आशिरवचनले

अपनत्व र माटोसँगको साइनो जोडि दिनु पर्दछ हामीले

एनआरएनको आदर्श र भावले ।

र पो

बेल्जियम ल्होसारमय हुँदा सिड्नीमा ताली बज्दछ

टोकियोमा बजेको पन्चैबाजाले मस्कोलाई तर‌ङ्गित तुल्याउँछ

युकेमा जमेको दोहोरीले युएस पुलकित हुन्छ

अनि मिडिल इस्टकी चेलीको चीत्कारले संसारलाई रुवाइ दिन्छ

मलेसियाको आर्तनादले सबैलाई आक्रोश जगाउँछ

अर्थात् प्रवाससँगै रुन्छ, सँगै हाँस्छ

र सँगैसँगै सङ्कल्प पनि गर्छ

मुहान सड्लो बनाउन, समृद्धिको ढोका उघार्न

एनआरएनको मूलमन्त्र जप्दै ।

हाम्रो पाइताला उभिएको छ जहाँ

त्यहाँ नेपालको स्वाभिमान उभिनु पर्दछ सधैं

हाम्रो शिर ठडिएको छ जहाँ

त्यहाँ सगरमाथा ठडिनु पर्दछ सधैं

हाम्रा हातहरू सल्बलाएका छन् जहाँ

त्यहाँ नेपालसितको मित्रता जोडिनु पर्दछ सधैं

हाम्रा आवाजहरू गुन्जन्छन् जहाँ

त्यहाँ शान्तिको वाणी प्रतिध्वनित हुनु पर्दछ सधैं

एनआरएनका आदर्शहरू बाँचि रहनु पर्दछ सधैं सधैं ।

चितवन

हाल : बेल्जियम

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.