नेपाली कलाको इतिहासमा सन् साठीको उत्तरार्धमा आधुनिक कलाको बीजारोपण भयो । नितान्त पश्चिमी कलागत शैली र प्रवृत्तिले गहिरो गरी जरा गाड्दा यसको स्वरूप नितान्त अलग्ग देखियो । विश्व कला बजारमा फस्टाउँदै गएको कलाशैलीसँग यस्ता नेपाली कलाहरू यसरी मेल खाँदै गए । यो अलग्ग देखिएन । अनि नेपाली कलामा नेपालीपन हराउँदै गए जस्तो आभास भयो । विशेष गरेर कला अंकन पद्धति पश्चिमी हुँदा, पश्चिममा विकसित अनि स्थापित शैलीलाई जस्ताको तस्तै पछ्याउँदै जाँदा कलाका स्वरूपहरू पनि उताकै जस्तै बन्दै गयो । यस्तो अवस्थामा केही आधुनिक कलाकारहरू आफ्नोपनको खोजी गर्न अगाडि आए । अनि मौलिकताका साथ आफ्नोपनलाई पुनर्स्थापना गर्नतर्फ लागिपरे । यी कलाकारले कलाको विषयवस्तुमा आमूल परिवर्तन गरे । नेपाली परम्परालाई बलियो जगको रूपमा प्रयोग गर्दै नेपाली परम्परागत मिथकलाई आधुनिक कलामा फ्युजन गरे । जहाँबाट नेपाली आधुनिक कलामा नेपालीपनको आभास हुन थाल्यो ।
यी कलाकारहरू पनि बाहिरबाटै कलामा दीक्षित भएर आएका थिए । तापनि आफ्ना ठाउँ, परम्परा अनि संस्कृतिलाई भुलेनन् । विशेष गरेर लोकगाथा, आराध्य देव–देवीहरू पात्रको रूपमा प्रयोग गरे । यस्ता आफूभित्र यथेष्ट मात्रामा नेपालीत्व बोकी बसेका पाँच–छ जना यस्ता कलाकारहरू देखा परे, जसका कलाहरूले नेपाली आधुनिक कलामा नेपालीतत्त्वको यथेष्ट अनुभव गरायो । यी आधुनिक कलाकारहरूमा सर्वप्रथम उत्तम नेपाली, रामानन्द जोशी, शशीविक्रम शाह, मनुजबाबु मिश्र, वत्सगोपाल वैद्य, प्रमिला गिरी अनि इन्द्र प्रधान थिए । यो कलामा नयाँ नौलो आयाम थियो । यसरी आधुनिक कलामा मिथकलाई पछ्याउने यसपछिका आधुनिक कलाकार यतिविघ्न देखा परे, यहाँ उल्लेख गरेर साध्य नै छैन । अहिलेका अधिकांश युवा कलाकारहरू यो कलागत प्रवृत्तिलाई गहिरो गरी अँगाली अगाडि बढेको देखिन्छ ।
यी कलाकारहरूले मिथकीय प्रयोग मात्र गरेनन् । नेपाली देवी–देवतालाई निश्चित भूमिकामा प्रवेश गराए । तथापि सन् साठीको शुभारम्भको बेला यस्ता देवीदेवतालाई प्रयोग गर्ने अलिकता अलग्ग तरिका थियो । हेर्दा पनि अलग्ग देखिन्थे । हिजोआज पनि यस्ता देवदेवीलाई समसामयिक कलाका पात्रकै रूपमा प्रयोग गर्दछन् । यसको स्वरूप फेरि अलग्गै छ । त्यतिबेला कलागत स्वरूपमा अमूर्तता छाएको देखिन्थ्यो । अलिकता बंग्याएर, भाँचेर वा अलि धुमिल पारेर चित्र संयोजन गर्दथे । अहिलेचाहिँ आकारमूलक दुरुस्तमा चित्रको रचना गर्ने गर्दछन् । अनि यसैमा गहन विचारलाई प्रस्तुत गर्ने गर्दछन् । तथापि यी दुवैखाले कलामा यथेष्ट रूपमा आफ्नोपन भने देखियो । यसरी सन् साठीको उत्तरार्धमा देखा परेको यस्ता विम्बहरूको प्रयोग अनि आफ्नोपनको खोजी नै अहिले पनि आएर गहनतम स्रोत बनेको देखिन्छ । नेपाली आधुनिक कलाको यो नौलो मोड त थियो नै । यसकोसँगसँगै नेपाली परम्परा अनि आजको अवस्था, कलाकार स्वयंका विचारहरूलाई जनमानससमक्ष ल्याउने काम पनि गर्यो ।
यी सबै कलाकारहरू भारतका विभिन्न ठाउँमा कलामा दीक्षित भएका थिए । उत्तम नेपाली लखनउ, रामानन्द जोशी, शशी शाह, वत्सगोपाल वैद्य र इन्द्र प्रधान मुम्बई, मनुजबाबु मिश्र बंगलादेशको ढाकाबाट अनि प्रमिला गिरी कलकत्तामा कला अध्ययन गरेर आएका थिए । यी सबै कलाकारले कलाको प्राविधिक पक्षलाई मात्र अध्ययन गरेनन् । विश्व अनि भारतको कला इतिहासलाई पनि गहिरो गरी अध्ययन गरे । यी कला स्कूलहरू उन्नाइसौँ शताब्दीको मध्यतिर खुलेका थिए । त्यतिबेला यी स्कूलहरू बेलायतको इच्छा अनि अगुवाइमा खुलेका थिए । किनकि त्यसबेला भारतमा ब्रिटिस शासन थियो । अनि भारतलाई सांस्कृतिक तथा कलागत रूपमा पनि डोमिनेन्ट गर्न चाहन्थे । यसकारण पनि यसबेलाका कला स्कूलहरूमा पश्चिमी अंकन पद्धति, पश्चिमी कला दर्शन आदि नै सर्वोपरि रहेको देखिन्थ्यो । कलाको पाठ्यक्रम मात्र होइन, यसबेला बेलायतबाटै कलाका गुरुहरू आएर कला पढाउने पनि गरिन्थ्यो । यसबखतका कला स्कूलहरू मुम्बई, मद्रास, लाहोर (अहिले पाकिस्तान) अनि कलकत्तामा खुलेका थिए ।
भारत बेलायतका उपनिवेश भएकै बेला युरोपकै पाठ्यक्रममा आधारित भएर यी कला स्कूलहरू खोलिएकोले गर्दा पनि जम्मै कुराहरू यसैमा आधारित भएर पढाइ हुन्थ्यो । यही स्कूलहरूमध्ये सुरुमा नेपाली कलाकारहरू तेजबहादुर चित्रकार अनि चन्द्रमान सिंह मास्के सर्वप्रथम कलकत्तामा गएर यही स्कूलमा पश्चिमी कलाको अध्ययन गरेका हुन् । यसपछिका धेरै आधुनिक कलाकारहरू मुम्बईको जे.जे. स्कूल अफ आर्टमा पढ्न गएका छन् ।
भारतीय मौलिकताको सन्दर्भमा भारतीय कला इतिहासमा यसै प्रसंगमा एउटा गहिरो घटना घटित भएको देखिन्छ । महत्वपूर्ण घटनाको सन्दर्भमा चाहिँ कलकत्तामा रहेको कलकत्ता स्कूल अफ आर्टमा आफ्नोपन हराएको चिन्ता र चासो कलाकार, साहित्यकार अनि कला समीक्षकहरूले राखे । यसको विरोध मात्र गरेनन्, आधुनिक कलामा नौलोपनको अभ्यास पनि गरे । अनि यसलाई आधुनिक कलाकै एउटा अलग्ग धारमा विकास गरे । यो आन्दोलनलाई स्वदेशी आन्दोलन भन्ने गरिन्छ । गगनेन्द्रनाथ, जेमिनी राय, नन्दलाल बोस आदि कलाकारले भारतीय आधुनिक कलाको नयाँ आयाम खडा गरेका थिए । यी कलाकारले आफ्नै पुराना कला, मुगल चित्रकला, अजन्ता कला अनि अन्य लोककलाहरूलाई स्रोत बनाएका थिए । यो एउटा इतिहासले आज पनि भारतीय आधुनिक कलामा भारतीयपन भन्ने गजबको छाप छ ।
कला सिर्जनाको सन्दर्भमा
उत्तम नेपालीले पढाइ सकेर नेपाल फर्केपछि पहिलोपल्ट आफ्नो एकल कला प्रदर्शनी सन् १९६२ मा गरे । यसले नेपालको कला इतिहासमा सोलो कला प्रदर्शनी गर्ने एक प्रकारको लहर पनि चलेको देखियो । उनले सन् १९६९ मा भएको पाँचौँ एकल कला प्रदर्शनीमा “टुँडाल इन्स्पायर मी” नाम राखेका थिए । जसमा मन्दिरको छानो अड्याउने टुँडाल अनि यसमा कुँदिएका अनेकानेक आकृतिहरूलाई आजको सन्दर्भमा प्रयोग गरेका थिए । यसले नेपाली आधुनिक कलामा एउटा नितान्त अलग्ग धारको विकास गर्यो । यसबखतसम्म पश्चिमी पद्धति, कला दर्शन यथेष्ट रूपमा प्रचलनमा आइसकेको थियो ।
पश्चिमी कलाका विभिन्न शैलीमध्ये विशेष गरेर अमूर्त कला शैलीले यथेष्ट ठाउँ पाउँदा सौन्दर्यतामा वशीभूत भएका कलाहरू बढी मात्रामा देखिन्थे । यसबेला उत्तम नेपालीले टुँडालमा भएका रतिक्रियामा निमग्न भएका जोडीलाई प्रस्तुत गरेका थिए । मूलतः यी कलाहरूमा आधुनिक मिथकीय प्रयोग देखियो । कलामा शास्त्रीय मिथकको प्रयोग त यहाँ हामीकहाँ हजारौँ वर्षदेखि प्रचलनमा छ । तर आधुनिक कलाको सन्दर्भमा आधुनिक मिथकको प्रयोग भएको चाहिँ यतिबेला नै हो । यसले सर्वथा अलग्ग प्रकारको आयामलाई जन्मायो । परम्परागत सेक्सलाई पुनर्व्याख्या गरी आजको सन्दर्भमा जोड्दा यसले आफ्नो भावका साथसाथै धर्मसँग गाँसिएको लोकगाथालाई पुनर्व्याख्या गर्ने कामसमेत भएको देखियो । अनि वर्तमानसँग जोडेर कलाको नौलो आयामलाई स्थापित गर्ने काम पनि गरेको देखियो ।
यसैबेलाको एउटा चित्र छ, जहाँ तीनजना निर्वस्त्र महिलाहरू यौनभावका साथ अनौठो पोस्चरमा देखिन्छन् । चित्रपटको माथिल्लो भागमा देवीको रूप देखिन्छ । देव–देवीका साथ आजको मान्छेलाई अनौठा रूपमा समायोजन गर्नु यसको विशेषता हो । यस्तै अर्को चित्रमा बढेमाको त्रिशूल, चतुर्भुजभित्र रहेको गोलाकारमा कौतूहल बोकेको आँखा देखिन्छ । देव शिवका, उनैका आयुध त्रिशूलको पुनर्व्याख्याको सन्दर्भ हो यो । अर्को चित्रमा चित्रपटको एक भागमा सेक्समा निमग्न आकृतिहरू देखिन्छन् । अर्को भागमा देव ब्रह्मालाई चित्रित गरेका छन् । यस्तायस्तै चित्रहरूले परम्परागत रूपमा चित्रित गरिने देवदेवीहरूलाई आजको सन्दर्भमा प्रयोग गर्दा नौलोपनको आभास हुन्छ । यही नौलोपनमा नेपालीत्वको सुगन्धलाई महसुस गर्न सकिन्छ ।
यी र यस्तायस्तै लोकगाथाहरूलाई बोकेर परोक्ष रूपमा देखा परेका मोटिफहरूले नौलोपनको आभास मात्र दिँदैनन् । हाम्रो आफ्नोपनको आभास पनि दिलाउँछन् । यी देवदेवीहरूले आधुनिकतामा प्रवेश गरेको देखिनुअघि पनि उत्तम नेपालीले थोरै यथार्थ अनि काल्पनिक फर्ममा देव गणेशलाई बनाइसकेका छन् । यो चित्र चाहिँ उनको पहिलो कला प्रदर्शनीमै देखा परिसकेको थियो । मुसामाथि उभिएको साक्षात् देव गणेश देखिए तापनि यसको हाउभाउ अनि प्रस्तुति परम्परागत लाग्दैन । यो चित्र भने अलि परम्परागत रूपमा थियो तापनि यसलाई धार्मिक वा परम्परागत चाहिँ थिएन । अझ यसअघिका समूहगत कला प्रदर्शनीहरूमा पनि यस्तायस्तै चित्रहरू प्रदर्शनमा आएका थिए । मूलतः उनी धर्मप्रति आस्था–विश्वास राख्ने अनि संस्कार–संस्कृतिलाई आदरभावले मान्ने हुँदा पनि उनको मनभित्र यथेष्ट रूपमा भक्तिभाव थियो । पछि उनी पूर्ण अमूर्ततामा काम गर्न थालेका थिए तापनि यही अमूर्तताभित्र पनि लुकेको भेषमा यस्ता देवदेवी रहेको देखिन्छ ।
रामानन्द जोशी तान्त्रिक कलाका स्वरूपमा चित्रहरू बनाउँथे । पञ्चतत्त्व, जीवनको गाडी, श्रीगणेश आदि चित्रमा उनका मनका भावना तान्त्रिक स्वरूपमा हेर्न सकिन्छ । यी कलाहरू शास्त्रीय तान्त्रिक कला जस्तो लाग्दथ्यो । तर कलाकारको भाव, अभिव्यञ्जना समेत हुँदा यसलाई नवतान्त्रिक कला भन्न उपयुक्त हुन्छ । यसमा संरचना र प्रतीकात्मक विम्बहरूलाई संयोजन गरी चित्र बनाउँदा यसले यथेष्ट रूपमा नेपालीत्व बोकेको महसुस हुन्छ । उनले यस्ता नवतान्त्रिक कलाहरू सन् अस्सीतिर मात्र आफ्ना सोलो कला प्रदर्शनमा ल्याए पनि यस्ता चित्र उनी धेरै पहिलादेखि गर्दै आएका थिए । नेपाली संस्कृतिलाई संरक्षण गर्न उनी लेख्ने, बोल्ने र लड्ने समेत गर्दथे । यसर्थ उनीभित्र नेपालीत्व त्यसै पनि भरिएर आएको महसुस हुन्थ्यो । गाउँ–गाउँ घुम्नु, साधारण जनसमुदायको चित्र बनाउनु, नेपालीको गाउँघर, जीवनपद्धति आदिमा लागिपर्ने बानी हुँदा पनि जताततै हाम्रै संस्कार–संस्कृति अनि जीवनमा अथाह प्रेम भएको देखिन्छ ।
यसैबेलाका शशी शाह अर्का शक्तिशाली कलाकार हुन् । जसले देवदेवीलाई अर्कै ढंगमा प्रयोग गरे । समुद्रमन्थन, शेषशैयामा विष्णु, ब्रह्मा विष्णु र महेश, रामायण, घोडामाथि हतियारधारी बुद्ध, कल्की अवतार, दशावतार आदि उनका अनेकौँ यस्ता मिथकीय चित्रहरू छन् । जसलाई उनले स्वैरकाल्पनिक शैलीमा एक अलग्ग पाराले संयोजन गरेका छन् । नेपाली आधुनिक कलामा अतियथार्थवादी कलाका उनी प्रणेता पनि हुन् । उनले देवदेवीलाई नाटकीय ढंगमा प्रस्तुत गर्नु अनि मुखाकृतिलाई खस्रो रूपमा (चिल्लोचाप्लो नबनाउनुको सन्दर्भमा) बनाउनुले देवदेवीको रूपलाई कल्पना गरिएको परम्परागत सोच अनि मान्यतालाई पूर्ण रूपमा भत्काएको महसुस हुन्छ । विशेष गरेर लोकगाथाहरूलाई लिएर उनी चित्रको निर्माण गर्दछन् । यो कथालाई उनी आफ्नै विचारले अचम्मको परिस्थितिको निर्माण गर्दछन् । पात्रहरूको चयन पनि अनौठो प्रकारले परिकल्पना गर्दछन् । अनि यसलाई क्यानभासमा झार्दा यो परम्परागत लाग्दैन, तथापि यो हाम्रो आफ्नै कथा हो भन्ने हुन्छ । अपनत्वको बोध हुन्छ । यही नै उनको खुबी हो ।
यसपछि अर्को खरो रूपमा उत्रिने कलाकार मनुजबाबु मिश्र हुन् । उनले हरेक देवदेवीलाई ठूलाठूला मिसाइल बोकेर डरलाग्दो तरिकाले आफ्नो निजी विचारलाई प्रस्तुत गर्ने गर्दछन् । आजको सन्दर्भ, अवस्था अनि उनको यसैमाथिको विचारलाई यी यस्ता देवदेवीहरूलाई डरलाग्दो पात्रको रूपमा उभ्याउनु उनको खास विशेषता हो । प्रमिला गिरी चाहिँ देव भैरवलाई अमूर्त रूपमा क्यानभासमा झार्ने गर्दछन् । चित्रपटमा चित्रसहित बीचमा मूर्तिको भागलाई टाँसेर प्रस्तुत गर्नु उनको खास विशेषता हो । अमूर्त चित्रभित्र अमूर्त रूपमै बसेको भैरवले भावनात्मक रूपमा आध्यात्मिकताको बोध गराउनु, यसलाई भावकले अपनत्वको बोध गर्दछ । वत्स चाहिँ देव गणेशलाई तन्त्रको माध्यमबाट ज्यामितीय फर्ममा प्रस्तुत गर्ने गर्दछन् । गणेशका आयुधहरूलाई, पोस्चरलाई खास परम्परागत रंगहरूका साथ टुक्राटुक्रामा विभाजित गर्दछन् । अनि यसलाई प्रस्तुत गर्दा एउटा अमूर्तनको स्वाद पनि देखिन्छ । इन्द्र चाहिँ संस्कृतिमा आबद्ध भएर देवदेवीलाई संयोजन गर्ने गर्दछन् । यो उनको अलग्गै संयोजनले अर्कै ढंगको मिथकीय प्रभाव दिन्छ ।

