एउटा सुमधुर दिनमा ‘ईश्वरका फूलहरू’ कवितासंग्रह अप्रत्याशित रूपमा टुप्लुक्क मेरो मेलबक्समा आइपुग्यो । कुनै संकेतबिना आएको त्यो उपहार पाउँदा हृदयमा विशेष मिठास घुल्यो । उत्सुक पाठकका लागि नयाँ किताब हातमा पाउनु आफैँमा अद्भुत खुशी हो ।
अंग्रेजीमा भनिन्छ— “ए लाइफ विदाउट सरप्राइज वुड बी टेरिब्ली डल ।”
शायद कवि राजु सिटौलाले मलाई यस्तै मधुरो सरप्राइज दिन चाहनुभएको हो कि !
यसै अवसरमा कवि सिटौलाको ‘ईश्वरका फूलहरू’ पढ्ने सौभाग्य मिल्यो । सिटौला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) मा नौलो नाम होइन । हाल अनेसासका महासचिवका रूपमा महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । उहाँलाई म करीब चार वर्षदेखि चिन्दै आएको छु । २०२३ मा भएको च्याप्टर/महिला सम्मेलनमा प्रत्यक्ष भेट हुँदा उहाँको सरल स्वभावले मेरो मन जितेको थियो । एउटा रमाइलो सम्झना यहाँ जोड्न चाहन्छु । हामी १४ जना छोरीले लेखेको कथासंग्रह ‘छोरीले जन्माएका आमाहरू’को वितरण भइरहेकै बेला केही नबोलीकन एकै शब्दमा किताब किनिदिनुभएको थियो । त्यो क्षण म जस्तो नवलेखकका लागि अविस्मरणीय खुशी थियो ।
केही दिनअघि मेसेन्जरमा ‘दिदी मेलिङ एड्रेस पठाइदिनुस्’ भन्ने सन्देश आयो । मैले ठानेँ केन्द्रको काम होला । तर ईश्वरका फूलहरू भन्ने मोटो खाम थियो । ‘यस्तो सुन्दर, आध्यात्मिक नामको भित्र के होला ?’ भन्ने जिज्ञासाले तुरुन्तै खोल्न उत्सुक भएँ ।
संग्रहभित्र रहेका ३६ थान कविता पढ्न धेरै समय लागेन । सरल शैलीमा लेखिएका यी कविताहरू पढ्दा मनको आकाशमा मडारिएका भावनाका घना बादल वर्षाजस्तै बर्सिन्छन् । कविले पुस्तकको भूमिका नै अत्यन्तै प्रभावकारी शब्दबाट शुरू गर्नुभएको छ ।
उहाँ भन्नुहुन्छ, “कोलोराडोमा २००९ को भीषण हिमपातसँगै आफ्नो कविता यात्रा पुनः सुरु भएको थियो ।“ मलाई लाग्यो २००९ देखि आजसम्म मडारिएका भावनाका बादलहरू नै ईश्वरका फूलहरू बनेर सुन्दर वर्षाजस्तो बर्सिएका छन् ।
सरल शैलीमा सलल बगेका, अल्लि फरक शैलीका यी कविताहरू खण्डकाव्य नै लाग्छन् । विशेष गरी प्रत्येक कविताको अन्तिम हरफ पाठकको अझै बढी मन तान्छ । विषयवस्तु विविध छन् । जीवन, दर्शन, प्रेम, सम्बन्ध, परिवार, देश, भुइँमान्छे, राजनीति, दुःख–सुख सबैलाई कविले आफ्ना कवितामा समेट्नुभएको छ ।
म कुनै गहिरो समालोचक वा पेशागत समीक्षक होइन । म विशुद्ध रूपमा एक पाठक मात्र हुँ । पाठकको दृष्टिकोणबाट कविताहरूले मलाई कत्तिको छोए भन्ने अनुभूति छोटो टिपोटका रूपमा अभिव्यक्त गर्ने प्रयास मात्र गरेको हुँ ।
मलाई गहिरो प्रभाव पारेका केही कविताहरू उल्लेख गर्न चाहन्छु
– ईश्वरका फूलहरू : यस कवितामा कविले प्रकृतिलाई ईश्वरका फूल भनेर अभिव्यक्त गर्नुभएको छ । प्रकृतिका सृजनाहरू बुझ्नका लागि इश्वरीय दृष्टिकोण चाहिन्छ भन्ने सन्देश यसले दिन्छ । यही शीर्षककै गहिरो भावनाले सम्पूर्ण संग्रहको नाम बनेको रहेछ ।
– हराउनेहरू: दिनदिनै देश छोडेर हिँड्ने नेपालीहरूको वेदना यसमा छ । “सबै कुरा हराउँदै छन्” भन्ने भाव यसमा स्पष्ट झल्किन्छ । कवि स्वयंले देश छोड्नु परेको पीडा पनि पोख्नुभएको छ ।
– छोरी र पातहरू : कविले आफ्नी छोरीलाई कोलोराडोका परिवर्तित पातहरूसँग गाँसेर लेख्नुभएको यो कविता मार्मिक छ । हावामा हल्लिएका पातहरूमा कविले छोरीसँगको खेलकुद, लुकामारी र आत्मीयता देख्नुभएको छ । अन्तमा छोरी विना रूखलाई पातविहीन चिसो कल्पना गर्नै नसक्ने भावले मन छोयो ।
– किसान : बादलमा हरियो बालीनाली देख्ने किसानको आशा यस कवितामा झल्किन्छ । जीवनमा धेरै कुरा अभाव भए पनि किसानका लागि पानीको महत्त्व नै सर्वोपरी हुन्छ भन्ने भाव यसमा गहिरो छ ।
– मानिसका सम्बन्धहरू: मानिस–मानिस बीच, मानिस–प्रकृति बीचका सम्बन्धबारे लेखिएको यो कविता निकै रोचक लाग्छ । कहिलेकाहीँ यी सम्बन्ध अटुट हुन्छन्, कहिलेकाहीँ सजिलै चुँडिन्छन् भन्ने यथार्थ कविले प्रष्ट पार्नुभएको छ ।
– ऐना र मुकुन्डो : ऐनाले मानिसको केवल बाहिरी रूप देखाउने तर असली रूप नदेखाउने विडम्बना यस कवितामा प्रस्ट हुन्छ ।
– रक्तदान जीवनदान हो । चेतनामूलक यस कविताले रगतदानलाई जीवनदानसँग तुलना गरेको छ । अन्य दानका रूपहरू भन्दा रगतदानले प्रत्यक्ष जीवन बचाउन सक्ने सन्देश दिन्छ ।
– कोपिला र डुङ्गा : छोरा रायनलाई समर्पित यो कविता अत्यन्तै भावुक छ । फरक क्षमता भएका बालबालिकाहरूलाई ईश्वरका फूल भन्दै व्यक्त गरिएको छ । अभिभावक सधैं साथ हुन नसक्ने र अन्तमा तिनीहरूको जीवन डुङ्गालाई कसले तार्ने भन्ने चिन्ता कविले व्यक्त गर्नुभएको छ ।
– ‘हिउँदको चिसो सम्झना‘, ‘हिमपात‘, ‘तिमी र म’ कवितामा कविले चिसो मौसमलाई प्रेमको न्यानोपनले पार गरिरहेको देखाउनुभएको छ ।
– स्वाद : छोटो तर गहिरो अर्थ बोकेको यस कवितामा सम्बन्धको तुलना फाटेको चिया वा अचारमा चीनी मिसाएको अ स्वादसँग गरिएको छ ।
– चौतारी : कविले चौतारीलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसँग जोड्नुभएको जस्तो लाग्यो । यस कवितामा साहित्यमा रुचि हुने र देशप्रति गुम्सिएको प्रेमलाई यस समाजमा भय बिना बोल्न र उजागर गर्न सकिने कुरा बताउनु भएको पाएँ । समाजले दिने आपसी सहयोग, सुन्नेबुझ्ने वातावरण, र आफ्नोपन प्रकट भएको छ ।
कुल मिलाएर, कविताहरू सरल अभिव्यक्तिमा भए तापनि गहिरा भावनाले ओतप्रोत छन्, जसले सहजै पाठकको मन छुन्छन् । सर्र हेर्दा कविता अलिकता छुट्टै खण्डकाव्य जस्तो लाग्दो रहेछ ।
‘ईश्वरका फूलहरू’ संग्रह, राजु सिटौलाले आफ्ना छोरा रायन र उनी जस्तै फरक क्षमता भएका बालबालिकालाई समर्पण गर्नुभएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा प्रकाशित यस संग्रहमा पाँच जना विशिष्ट साहित्यकारहरूको शुभकामना र भूमिका पनि समावेश छन् । उहाँहरूको लेखनीले कवितालाई बुझ्न थप गहिराइ दिन्छ ।
यति सुन्दर कवितासंग्रहको लागि हार्दिक धन्यवाद साथै कवि राजुलाई उज्ज्वल साहित्यिक यात्राका लागि शुभकामना !

