साहित्यपोस्ट डट कम

इसाक असिमोभको आलेखमा आधारित: रकेट

इसाक असिमोभको आलेखमा आधारित: रकेट

कन्ल्सटान्टिन ई. सियोल्कोब्स्की

सन् १६८७ मा सर आइज्याक न्युटनले एउटा किताब लेखेका थिए । त्यसमा उनले गुरुत्वाकर्षणले कसरी काम गर्छ भनी व्याख्या गरेका थिए । साथै उनले गतिका तीन सिद्धान्तसमेत बताएका थिए । तीमध्ये तेस्रो सिद्धान्त हो : एउटा दिशामा हुने कुनै पनि क्रियाको विपरीत दिशामा उत्तिकै र बराबरी प्रतिक्रिया हुन्छ । (टु एभ्री एक्सन, देयर इज इक्वल एन्ड अपोजिट रिएक्सन ।)

मानौं, तपाईं एउटा चिल्लो तर ठूलो अल्मुनियमको नाउमा बस्नुभएको छ । यो नाउ एउटा चिप्लो हिउँमा राखिएको छ । नाउमा तपाईंसँग निकै धेरै मात्रामा भारी धातुका गुच्चा छन् । तपाईंले एउटा गुच्चा उठाउनुभयो र एकातिर फ्याँक्नुभयो । यो क्रिया भयो ।

जसै तपाईंले गुच्छा फ्याँक्नुहुन्छ, नाउ हिउँको चिप्लो सतहमा चिप्लन सुरु गर्छ । गुच्छा फ्याँकेको विपरीत दिशामा यो चिप्लन थाल्छ । यो चाहिँ फ्याँक्नुको प्रतिक्रिया भयो । नाउ त्यति तीव्र गतिमा दौडँदैन किनभने नाउमा भारी गुच्छा छन् र त्यसको भारले तीव्र गतिमा जाँदैन । नाउको वजन x गति उति नै हुन्छ, जति गुच्छाको वजन x गति, अर्थात् क्रिया र प्रतिक्रिया बराबर हुन्छ ।

अब पहिले फ्याँकेकै दिशामा भारी गुच्छाहरू फ्याँक्न थाल्नुभयो भने नाउलाई अझ धक्का लाग्छ र पहिलेको तुलनामा अझ बढी गतिमा नाउ चल्न थाल्छ ।

यस्तो अवस्थामा तपाईंले गुच्छालाई निरन्तर एकपछि अर्को त्यही दिशामा फ्याँकिरहनुभयो भने नाउको गति अझ बढ्छ र तीव्र गतिमा चिप्लन थाल्छ । यस प्रकार नाउको गतिलाई अझ बढाउन सकिन्छ । तपाईंसँग धेरै गुच्चा र शक्ति छ भने अनि हिउँको जमिन निकै ठूलो र चिप्लने ठाउँ अझै बढी छ भने तपाईंले नाउलाई ११.२ किलोमिटर प्रतिसेकेन्डका दरले गतिमा लैजान सक्नुहुन्छ । (अघि भनेको पलायन गतिका बारेमा सम्झनुभयो ? पृथ्वीको गुरुत्व बलको गुरुत्वाकर्षणलाई पार गर्नका लागि कम्तीमा पनि ११.२ किलोमिटर प्रतिसेकेन्ड चाहिन्छ ।) यस्तोमा गति थोरथोरै गर्दा अघि बढ्छ र तपाईंको शरीरलाई चोट पनि लाग्दैन ।

यसका लागि हावाको कुनै आवश्यकता पर्दैन । यति तीव्र । गतिमा हिँडेको वस्तुलाई बाटामा हावा नभए पनि नाउ तीव्र गतिमा हिँड्छ । नाउ अन्तरिक्षमा छ भने झन् गज्जब भयो किनभने अन्तरिक्षमा त शून्यता मात्र हुन्छ । यस्तो अवस्थामा क्रिया-प्रतिक्रिया अझै बढी राम्रोसँग हुन्छ । त्यहाँ त पृथ्वीमा भन्दा बढी क्रिया-प्रतिक्रिया हुन्छ ।

सन् १८९१ मा एक जना जर्मन आविष्कारक हर्मन गेन्सविन्डले यस्तो अन्तरिक्षयानका बारेमा सुझाए, जसले पछाडिबाट तोपको गोलालाई जस्तो धक्का दिएर अघि बढ्छ । यस यानमा गति क्रमशः बढ्थ्यो ।

त्यसैले यानमा बसेका कसैलाई पनि केही हानि पुग्दैनथ्यो । हरेक गोला पड्किनासाथ थोरै झट्का वा धक्का लागेजस्तो मात्र हुन्थ्यो ।

यसरी तोपका गोलाहरू फ्याँक्ने जुन कुरा जुल्स भर्नले उनको उपन्यासमा सुझाएका थिए, त्योभन्दा यो अलि बढी राम्रो विचार थियो । हर्मन गेन्सविन्डको सुझाव र जुल्स भर्नको सुझावमा के फरक भयो र ? तर पृथ्वीबाट यान बाहिरी अन्तरिक्षमा पठाउनु एउटा बेग्लै विषय हो । गेन्सविन्डको तरिका यानलाई बाहिर पठाउनु व्यावहारिक थिएन ।

मानौं, एउटा यान पृथ्वीको सतहमा छ र त्यसलाई अन्तरिक्षमा पठाउनुपर्यो भने यानलाई चलाउने बित्तिकै पृथ्वीको गुरुत्व बलले तान्न थाल्छ । यस्तोमा तीव्र गतिमा गोला छाड्नुपर्ने हुन्छ र यति तीव्र गतिमा छाड्नुपर्छ कि यस किसिमका लागि तोपको व्यवस्था गर्न निकै गाह्रो पर्छ ।

मानौं यसको साटो हामीले अरू नै कुनै तरिका निकाल्यौं र कुनै चिज एक दिशामा लगातार लामो समयसम्म फ्याँक्यौं । यसरी यान उल्टो दिशामा सुस्त र स्थिर गतिमा अघि बढिरहन्छ ।

वास्तवमा यस किसिमले निरन्तर रूपमा यानलाई अघि बढाउने तरिका गेन्सविन्डको समयमा थाहा थियो, जुल्स भर्नको समयमा पनि थाहा थियो । कतिसम्म भने कैयौं शताब्दीअघिदेखिका यसमा लागिपरेका विद्वानहरूलाई पनि थाहा थियो । सही तरिका हो- रकेटको प्रयोग गर्नु ।

मानौं, तपाईंसँग एउटा कार्डबोर्ड (गत्ता) को नली छ । यो एकातर्फ बन्द छ । यसमा तपाईले बारुद भर्नु भयो । अर्को खुल्लातिरको भागलाई हलुकासँग बन्द ग सपछि यसमा एउटा डोरी राख्नुभयो ।

डोरीको एक भागमा बारुद छ र अर्को बाहिर खुल्ला ठाउँमा राखिएको छ । यस डोरीमा अब तपाईंले सलाई कोरेर आगो लगाउनु छ । यस नलीको एउटा लामो पातलो पाइप (छडी) पनि जोड्नुभएको छ । यस छडीले सिधा अघि बढ्नमा सहयोग गर्छ । यो एउटा रकेट हो । हामी प्रायः हरेक तिहारमा पड्काउने पटाकामध्ये एउटा यस्तै रकेट पनि हुन्छ ।

अब डोरीमा आगो लगाउनुहोस् । जसै यसमा आगो लाग्छ, आगो बारुदमा पुग्छ र यो तीव्र गतिमा बल्न थाल्छ । यसमा भारी मात्रामा ग्याँसहरू बन्न थाल्छन् । यदि कार्डबोर्डको नली कस्सिएको छ र बन्द छ भने ग्याँस कार्डबोर्डभरि फैलिन्छ र पड्किएर त्यस रकेटलाई ध्वस्त पारिदिन्छ, तर एउटा बन्द छ र तल केही खुल्ला छ भने ग्याँस भरिन नपाउँदै खुल्ला ठाउँबाट ठूलो आवाजका साथ बाहिरिन्छ र रकेट उड्न थाल्छ । खुल्ला ठाउँमा ग्याँस निस्केका कारणले रकेट उड्न सकेको हो । जतिजति ग्याँसको धार बाहिर आइरहन्छ, रकेट उतिउति तीव्र गतिमा अघि बढ्छ । अनि जसै चरम गतिमा पुग्छ, त्यतिञ्जेल बारुद सकिने गरी बलिसकेको हुन्छ । पछि रकेट सुस्त गति हुँदै जमिनमा झर्छ ।

यस किसिमको आविष्कार चिनियाँहरूले गरेका थिए । १२ औं शताब्दीमा चिनियाँ रकेट र अन्य विविध किसिमका पटाकाहरू ठूलो आवाजका साथ पड्किन्थे र उज्यालो पार्न र रमाउनका लागि प्रयोग हुन्थयो । उनीहरूले पछि शत्रुहरूलाई डर देखाउन यस्तै रकेटको प्रयोग गर्न थाले ।

बाह्रौं शताब्दीमा नै बारुद र रकेटको ज्ञान युरोपसम्म पुग्यो । युरोपेली देशले बारुदलाई तोपहरूमा प्रयोग गर्न थाले । रकेटको प्रयोग भने रमाइलोका लागि मात्र हुने गर्थ्यो ।

सन् १७८० मा अङ्ग्रेजहरू भारतका विभिन्न ठाउँमा युद्धरत थिए । युद्धरत स्थलमा अङ्ग्रेजतर्फका एक जना अधिकारी विलियम कङ्ग्रेभले तोप विभाग सम्हाल्थे । उनले के देखे भने अङ्ग्रेजविरूद्ध भारतीयहरूले गज्जबको सोचलाई क्रियान्वित गरेका थिए । भारतीयहरूले अङ्ग्रेजलाई ढुङ्गा प्रहार गरिरहेका थिए र ढुङ्गालाई टाढाटाढासम्म पुऱ्याउनका लागि रकेट प्रयोग गरिरहेका थिए । उनलाई रकेटमा ढुङ्गा राखेर विपक्षीलाई हान्ने यो तरिका खुब जच्यो । हुन पनि विलियम कङ्ग्रेभले सम्हालिरहेको तोपभन्दा यस्ता रकेट धेरै टाढासम्म पुग्थे ।

यसपछि विलियम कङ्ग्रेभले भारतीयकै शैली चोरेर सुधारिएको रकेट बनाए र १८ औं शताब्दीको सुरुवातमा नै जल र थल सेनाले आफ्ना दुस्मनविरुद्ध यसलाई प्रयोग गर्न थाले । तर यस किसिमको रकेट धेरै लामो समयसम्म प्रयोग भएन किनभने तोप अझै बढी राम्रो र तीव्र गतिको हुँदै गयो । रकेटभन्दा धेरै भारी तोपका गोलाहरू तीव्र गतिमा फ्याँक्न थालियो र टाढा फ्याँक्न सकिने हुन थाल्यो ।

त्यसो त प्रयोगका हिसाबले रकेटको उपयोग नभएको भने होइन । दोस्रो विश्वयुद्धमा सन् १९४० ताका रकेटको प्रयोग पुनः हुन थाल्यो । सैनिकहरू बजुका नामक नलीहरू बोकेर हिँड्थे । अनि आवश्यक पर्दा ट्याङ्कमाथि यस्तै रकेट प्रयोग गरिन्थे ।

यस युद्धको रोचक पक्ष के थियो भने त्यस बेला हवाईजहाज रकेटकै सिद्धान्त प्रयोग गरेर बनाइएका थिए । जहाजको पछाडि ग्याँसको एउटा ठूलो धार (जेट) का रूपमा आउँथ्यो । यस धारले जहाज अझै तीव्र गतिमा हिँड्थ्यो । यस्ता जेट वायुयान (जेट एयरक्राफ्ट) कति काम लाग्यो भने सन् १९५२ पछि त शान्तिपूर्ण कार्यका लागि प्रयोग हुन थाल्यो । हिजोआज संसारभरि नै मानिसहरू जेट प्लेन (जेट विमान) मा यात्रा गर्छन् । (तपाईंले कहिल्यै ख्याल गर्नुभएको छ ? यिनले आकाशमा एउटा सेतो लामो धार छाडेका हुन्छन् नि !)

यस किसिमको गतिका बारेमा सन् १६५० मै पहिलोपटक सुझाइएको थियो । न्युटनले क्रिया-प्रतिक्रियाको सिद्धान्त बनाउनुभन्दा पनि ४० वर्षपहिले । जुन व्यक्तिले यस किसिमको प्रणाली सुझाएका थिए, उनको नाम थियो साइरानो डि बरजरेक । उनी फ्रान्सेली विज्ञानकथा लेखक थिए ।

उनले एउटा किताब लेखेका थिए, भोयेज टु द मुन (चन्द्रमासम्मको यात्रा) । यस पुस्तकमा लेखकले चन्द्रमासम्म पुग्नका लागि सात बेग्लाबेग्लै तरिकाका बारेमा सुझाएका थिए । तीमध्ये ६ वटा तरिका चाहिँ वास्तविकतामा सम्भव थिएनन्, तर सातौं उपाय भने निकै काम लाग्दो थियो । उनले सातौं तरिका जुन बताएका थिए, त्यो रकेटका बारेमा थियो । (साइरानोको निकै लामो नाक थियो र जसले पनि नाकको बारेमा ठट्टा गर्थ्यो, उसमाथि साइरानो जाइलाग्थे । उनका बारेमा एउटा प्रसिद्ध नाटक पनि छ । त्यसैले मानिसहरूलाई उनको नाक र नाकका कारणले हुने झगडाका बारेमा बढी चिन्छन् । बरु उनी एउटा प्रख्यात विज्ञानकथा लेखक हुन् भन्ने चाहिँ धेरैले बिर्सन्छन् ।)

भोयेज टु द मुनपछिका करिब २५० वर्ष बित्यो । रकेटका माध्यमले अन्तरिक्षमा जाने कुरा नउठुञ्जेलसम्म यसबारे कतै चर्चा भएन । रकेटका बारेमा चर्चा चलाउने व्यक्ति थिए, रूसका वैज्ञानिक कन्सटान्टिन ई. सियोल्कोब्स्की । सन् १८५७ मा जन्मिएका सियोल्कोन्स्की नौ वर्षकै उमेरमा बहिरो भएका थिए । उनको कानमा थोरै खराबी भएको थियो, तर अस्पतालजस्तो कुरा त्यो बेला सहज थिएन र उनी बहिरो बन्न पुगे । त्यो बेला रूसमा उनीजस्ता बहिराका लागि शिक्षादीक्षाको कुनै अवसर थिएन ।

तर उनले आफैँ पढ्न सिके । खासगरी किताब पढ्ने उनलाई ठूलो सोख थियो । कैयौं कुरा उनले किताब पढेर सिके, तर कैयौँ मौलिक विचार पनि उनले दिन थाले ।

सन् १८९५ मा उनले अन्तरिक्षयानका बारेमा लेख्न थाले । साइरानोले झैँ उनले पनि के सोचे भने अन्तरिक्षयान रकेटमार्फत् जान सकिन्छ । सियोल्कोन्स्कीले रकेटमा बारुद हाल्ने कुरा कहिल्यै सुझाएनन् । बरु त्यसको साटो तरल इन्धन हालेर यात्रा गर्न सकिने सुझाए । जस्तो कि उनले रकेटमा पेरोफिनको । तेल हाल्न सकिने सुझाएका थिए । यस्तो तरल इन्धन बारुदको तुलनामा सहजै नियन्त्रित गर्न सकिन्थ्या यसलाई आवश्यकताअनुसार चाँडो या सुस्त गतिमा बाल्न सकिन्थ्यो । आवश्कताअनुसार बढी वा कम तेलभट्टीमा पठाउन सकिन्थ्यो ।

हिजोआज हामी जस्तासुकै यानमा वा बाहनमा तरल इन्धन नै प्रयोग गर्छौं । रोचक कुरा के छ भने पेट्रोल तथा डिजेलजस्ता इन्धन बाल्नका लागि अक्सिजन हुनु आवश्यक हुन्छ । यस्ता चिज पृथ्वीमा सरल हुन्छ किनभने हाम्रावरिपरि अक्सिजन नै अक्सिजन पाइन्छ ।

तर जब हामी अन्तरिक्षजस्तो शून्य ठाउँमा पुग्छौं, त्यहाँ चारैतिर हावा हुँदैन न त अक्सिजन नै पाइन्छ । यसका लागि रकेटमा आफ्ना लागि अक्सिजन जोहो गरेर राख्नुपर्ने हुन्छ । अक्सिजनलाई चिस्याएर, तरलमा परिवर्तन गरेर । किनभने रकेटमा धेरै ठाउँ हुँदैन र तरल अक्सिजन वायु अक्सिजनभन्दा बढी अट्छ ।

सियोल्कोब्स्कीलाई यी कुरा राम्रोसँग थाहा थियो । त्यसैले सन् १९०३ मा उनले रकेटका बारेमा बिस्तारपूर्वक लेखे । उनले । तरल इन्धन, तरल अक्सिजन मात्र होइन अन्तरिक्षमा कस्ता पोशाक लगाउने, अन्तरिक्ष बस्ती कस्तो हुन्छ जस्ता कुरा पनि बिस्तारपूर्वक लेखे । पछि उनले एउटा वैज्ञानिक उपन्यास लेखेआउटसाइड द अर्थ ( पृथ्वीभन्दा बाहिर) । रकेट चलाउनका लागि अनेक उपायका बारेमा उनले लेखेका थिए । उनले कहिल्यै पनि रकेट बनाउने प्रयास गरेनन् । सन् १९३५ मा उनको निधन हुँदा पूरै रूस स्तब्ध बन्यो । उनलाई सोभियत सङ्घमा ठूलो इज्ज्त थियो, तर देशबाहिर भने उनलाई चिन्ने निकै कम थिए ।

(अच्युत कोइरालाको पुस्तक ‘अन्तरिक्षको खोज’)

साझा गर्नुहोस्:
अच्युत कोइराला

लेखकको बारेमा

अच्युत कोइराला

पेशाले पत्रकार अच्युत कोइराला अनुवादक पनि हुन् । उनी मूलतः विदेशी चर्चित व्यक्तिका जीवनी पढ्न र लेख्न रूचाउँछन् । उनका २ दर्जन अनुदित पुस्तक प्रकाशित छन् । हाल उनी नागरिक दैनिकमा जिल्ला ब्युरो प्रमुखका रूपमा कार्यरत छन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.