हामीले हवाईजहाज बनायौं, बेलुन पनि उडायौं र ती यति माथि उड्न थाले कि हाम्रो महत्वाकाङ्क्षा अझै चुलियो । सोच्न थाल्यौं हामी अझै माथि जान सक्छौंकि सक्तैनौं ? चन्द्रमामा पुग्न सक्छौं कि सक्तैनौं ?
बेलुन र साधारण वायुयान हावामा भर पर्छन् । बेलुन हावामा तैरिन्छ । उडिरहेको वायुयानलाई हावाले नै सन्तुलनमा राखिदिन्छ र तैरिन्छ । यसका अतिरिक्त हवाईजहाजलाई अक्सिजन ग्याँस पनि आवश्यक पर्छ । इन्धन बाल्नका लागि अक्सिजनको सहयोग लिइन्छ । जुन हाम्रो वातावरणमा नै हुने गर्छ । यी ग्याँस वायुयानमा भएका इन्धनसँग मिलाइन्छ र इन्जिन चल्ने गर्छ ।
प्राचीनकालका मानिसहरू के ठान्थे भने हाम्रो वातावरणमा भएकोजस्तो वातावरण अन्त्यहीन रूपमा होला । चन्द्रमा र अन्य ग्रहसम्म पनि यस्तै किसिमको हावाले भरिएको होला । शुरूशुरूमा चन्द्रमामा पुगेको, अन्तरिक्षमा ओहोरदोहोर गरेको साहित्य लेख्नेहरूले के कल्पना गरेका थिए भने समुद्रमा जसरी ओहोरदोहोर गर्न सकिन्छ, जसरी त्यहाँ हावालाई माध्यम बनाएर यताउति जान सकिन्छ, त्यसरी नै हावालाई नै माध्यम बनाएर अन्तरिक्षमा यताउति जान आउन सकिन्छ ।
तर जतिजति वैज्ञानिक अनुसन्धान र खोज अघि बढ्दै गयो, अन्तरिक्ष त शून्य रहेछ, त्यहाँ न हावाको उपस्थिति छ, न अन्य केही माध्यम भन्ने थाहा भयो । यसले हाम्रो अन्तरिक्षप्रतिको दृष्टिकोण नै परिवर्तन गरिदियो ।
सन् १६४३ मा इटालीका वैज्ञानिक इभान्जलिस्टा टरिसेलीले १२० सेन्टीमिटरको एउटा काँचको ट्युब लिए । यस ट्युबमा एकातिर बन्द गरियो र त्यसमा पारो (मर्करी) भरियो । उनले खुला ठाउँमा डट लगाइदिए । यसपछि भरिएको पारोबाट त्यो डट हटाइदिए ।
तपाईंलाई लाग्ला, दुलो फेला परेपछि पारो सबै झर्ला । तर त्यस्तो भएन । पारो केही सीमित मात्रामा झर्यो र बाँकी त्यहीँ अड्कियो । त्यस भाँडोमा हालिएको पारोमा सतहको पर्ने प्रभावका कारण ७६ सेन्टिमिटरमा ट्युबलाई सन्तुलनमा राखिरह्यो । टरिसेलीले पहिलो ब्यारोमिटर बनाएका थिए । यस ब्यारोमिटरले पहिलोपटक हावाको दबाबमा आउने उतारचढाव नाप्न सहज बनाएको थियो ।
पछिका खोजकर्ताले के बुझे भने हावा त पृथ्वीमा मात्रै रहेछ । पृथ्वीको पनि केही किलोमिटरको उचाइसम्म मात्र । पृथ्वीमा भएको वायुको चाप माथिभन्दा तल धेरै हुँदो रहेछ । जतिजति माथि गयो, त्यतित्यति हावाको चाप घट्दै र घनत्व कम हुँदै जाँदो रहेछ । वायुमण्डल त पृथ्वीभन्दा धेरैमाथि अर्थात् १६ किलोमिटर माथिसम्म फैलिएको हुन्छ ।
पृथ्वीको सतहभन्दा जति माथि गयो, उति नै हामीलाई त्यहाँको वायु काम लाग्दैन । पृथ्वीभन्दा १० किलोमिटर माथिको वायु श्वास लिन नसकिने हुन्छ । ५० किलोमिटर माथिको वायुले बेलुन या वायुयानलाई सहारा दिन सक्तैन । १६० किलोमिटरमा भएको वायु त यति कम प्रभावकारी हुन्छ कि त्यहाँ वायु छ कि छैन भन्ने नै थाहा हुँदैन ।
यस्तोमा हामीले चन्द्रमा जाने सोच्यौं भने १६० किमिमाथि शून्य छ । त्यहाँ कुनै वायुमण्डल छैन । कुनै माध्यम छैन त्यहाँसम्म जाने । पृथ्वीबाट चन्द्रमा १९५,००० किलोमिटर टाढा छ । अर्थात्, चन्द्रमा जाने बाटोभरि नै कुनै वायु छैन । एक किसिमको भ्याकुम अर्थात् खालीपनको अवस्था छ त्यहाँ ।
पूरै ब्रह्माण्डका सबैजसो ठाउँमा खालीपन छ, शून्यको अवस्था छ । केही ग्रहहरूमा वायुको उपस्थिति छ, तर केही ग्रहमा छैन । जस्तो कि उदाहरणका रूपमा चन्द्रमामा कुनै पनि किसिमको वायुको उपस्थिति छैन ।
जुन भ्याकुम हाम्रो वायुमण्डलमा फैलिएको छ, त्यसलाई हामी ‘बाहिरी अन्तरिक्ष’ भन्न सक्छौं । त्यसैले टरिसेलीले बाहिरी अन्तरिक्षको खोज गरेका थिए । उनी नै पहिलो व्यक्ति थिए, जसले वायु अन्त्यहीन रूपमा फैलिएको हुँदैन भनेर प्रमाणित गरिदिएका थिए । उनको जोड थियो, वायुमण्डल पृथ्वीको सतहमा मात्र पाइन्छ ।
यसको अर्थ के हो भने कुनै व्यक्ति पनि हावामा तैरिएर चन्द्रमाको यात्रा गर्न सक्तैन । हाँसहरूको समूहले एउटा ठूलो रथ तान्न सके भने पनि जुन ठाउँमा शून्यको अवस्था छ र वायुको उपस्थिति छैन, त्यहाँ तिनीहरूले रथ तान्न सक्तैनन् । त्यस शून्यको अवस्थामा तिनले श्वास पनि लिन सक्तैनन् । न त त्यस रथमा सवार मानिसले श्वास फेर्ने अवस्था रहन्थ्यो । मानौं, त्यस किसिमको भ्याकुम (शून्यता) मा कुनै बेलुन पनि तैरिन सक्तैनथ्यो, न त त्यो हलचल नै गर्न सक्थ्यो । त्यस्तै त्यहाँ कुनै वायुयान उड्न पनि सक्तैनथ्यो ।
जब मानिसहरूले बेलुन, डिरिजिबल, ग्लाइडर अथवा वायुयानमा उड्न सिके, त्यो बेला पृथ्वीको सतहभन्दा केही किलोमिटरभन्दा बढी माथि जान सक्तैनथे ।
यस्तो अवस्थामा चन्द्रमामा कसरी पुग्न सकिन्थ्यो र ? त्यस शून्यतामा हिँड्नका लागि कस्तो तरिका र उपाय लगाइयो त ?
चलाख मानिसहरूले पृथ्वीबाहिर जानका लागि उपाय सोचे । उनीहरूले पृथ्वीबाहिर कुनै सामग्री लैजानका लागि बेस्कन धक्का दिए । मानौं, हामीले कुनै बललाई मास्तिर फ्याँकियो भने के हुन्छ ? त्यो पक्कै माथि जान्छ । यो कसरी सम्भव भयो त ? किनभने त्यस बललाई हामीले जुन शक्तिका साथ फ्याँक्छौं, त्यही शक्तिका कारण बल माथि जाने हो । त्यो बल हावाका कारणले माथि गएको होइन, बरु उल्टै हावाका कारण उसको तीव्रतामा कमी आउँछ ।
हामी सबैले थाहा पाएकै कुरा हो, त्यो बल धेरै माथि जान सक्तैन । त्यसको माथि जाने क्रमलाई हावाले सुस्त बनाइदिन्छ । यस्तो अवस्थामा त्यसको माथितिर जाने गति कम, अति कम हुँदै गति नै सकिन्छ । एक क्षणका लागि बल हावामा स्थिर रूपमा अड्किन्छ र पुनः तलतिर झर्न थाल्छ ।
यसैलाई गुरुत्व शक्ति भनिन्छ । गुरुत्व शक्तिले बलको माथि जाने क्रमलाई आफूतिर तानेर झारिदिन्छ । हामीले बललाई जति तीव्रताका साथ फ्याँक्छौं, शुरूमा उति नै तीव्र गतिमा बल माथि जान्छ । त्यति नै बढी समय त्यसको गति कम हुन समय लाग्छ ।
मानौं, तपाईंले कुनै एउटा बललाई ज्यादै बढी शक्ति लगाएर माथि फ्याँक्नुभयो भने के त्यो सधैं पृथ्वीमै फर्केर आउला त ?
पृथ्वीको आफूतिर तान्ने शक्ति माथि पनि उत्तिकै बढी छ भने त जतिसुकै बढी बल लगाएर फ्याँकिएको बल भए पनि त्यो पृथ्वीमै झर्ने थियो, तर भएभरको बल लगाएर फ्याँकियो भने चाहिँ ? जति जति माथि गयो, पृथ्वीको गुरुत्व शक्ति कम हुँदै जान्छ । अर्थात् कुनै पनि वस्तुलाई धर्तीतिर तान्ने शक्ति कम हुँदै जान्छ । उदाहरणका लागि, पृथ्वीभन्दा २,५०० किमिको उचाइमा यो तान्ने शक्ति आधा मात्र बाँकी रहन्छ ।
यस्तोमा, मानौँ हामीले कुनै बललाई तीव्र बल लगाएर फ्याँक्यौं भने त्यो बेलासम्म बलको गति आधाभन्दा कम भइसकेको हुन्छ । तर त्यो आधा बल हुनुअघि नै ३,५०० किलोमिटरमाथि पुगिसकेको अवस्थामा भलै बलको गति आधा बाँकी छ भने त्यस बललाई त पृथ्वीले आधा शक्तिले मात्र आफूतिर तानिरहेको हुन्छ । त्यसपछि पृथ्वीभन्दा जति बढी माथि गयो, पृथ्वीको तान्ने शक्ति उति खस्कँदै र क्षय हुँदै जान्छ र कमजोर अवस्थामा पुग्छ ।
यस्तो अवस्थामा बल सधैंका लागि माथिको माथि नै गइरहन्छ । हुन त त्यसको गति सुस्त हुन्छ, कमजोर भएको आकर्षण शक्तिले त्यसलाई रोक्न सक्तैन र यति तीव्रताका साथ फ्याँकिएको बल कहिल्यै फर्किएर पृथ्वीमा झर्ने छैन । पृथ्वीको गुरुत्वाकर्षणले समेत तान्न नसक्ने गतिलाई पलायन गति अर्थात् इस्केप भेलोसिटी भनिन्छ ।
पृथ्वीको पलायन गति ११.२ किलोमिटर प्रतिसेकेन्ड छ । कुनै पनि चीज यति बढी या यति मात्र गतिबाट माथि फ्याँकियो भने त्यो पृथ्वीमा फर्केर कहिल्यै आउने छैन । यो सधैं अघि बढेर गइरहन्छ । जबसम्म केही कुरामा यो अन्तरिक्षमा ठोक्किएर आउँदैन, निरन्तर अघि बढिरहन्छ । यदि यसलाई उचित र सही निशाना साँधेर पठाउने हो भने चन्द्रमामा नठोक्किउञ्जेलसम्म अघि बढिरहन्छ ।
उसो भए चन्द्रमासम्म पुग्ने एउटा बाटो नै के भयो भने कुनै पनि चीजलाई यति तीव्र गतिमा हुत्याउनु पर्यो कि बीच बाटोमा कुनै अवरोध नआओस्, न त पृथ्वीको गुरुत्व शक्तिले बाधा पुऱ्याओस् ।
अब कुरा आउँछ, कुनै मान्छेले त त्यति तीव्र गतिमा कुनै सामग्री फ्याँक्न पक्कै सक्तैन । त्यो पनि प्रतिसेकेन्ड ११.२ किलोमिटरको गतिमा जाने किसिमले मान्छेको फ्याँक्ने शक्ति नै हुँदैन । यस्तो अवस्थामा मानिसको मांसपेशीभन्दा शक्तिशाली अरू नै केही हुन सक्छ । जस्तो बारुद । तोपको गोलालाई तोपको मुखबाट मज्जाले धक्का दिएर मानिसभन्दा बढी शक्ति लगाएर पर हुत्याउन सकिन्छ । योभन्दा शक्तिशाली चाहिँ एउटा अन्तरिक्षयान हुन सक्छ । त्यसमा त मानिस पनि बस्न सक्छन् र त्यसलाई चन्द्रमातिर सोझ्याएर हुत्याइयो भने के चन्द्रमामा नपुग्लान् त ?
सन् १८६५ मा फ्रान्सेली विज्ञान कथाका लेखक जुल्स भर्नले एउटा उपन्यास लेखेका थिए, ‘फ्रम द अर्थ टु द मून’ । यसमा मानिसहरूको एउटा समूहलाई विशाल तोपले हुत्याएर चन्द्रमातर्फ फ्याँकिन्छ । आहा ! कस्तो गज्जबको सोच भन्ने तपाईंलाई लाग्ला, तर यसमा एउटा समस्या छ । त्यो समस्या पनि चानचुने समस्या होइन, गम्भीर समस्या ।
मानौं एउटा तोपको मुनि एउटा यान राखिएको छ । बारुद पड्कन्छ र यान तोपको मुखबाट कम्तीमा पनि ११.२ किमि प्रति सेकेन्डको गतिले बाहिर निस्कन्छ । यसको अर्थ तोपको नलीलाई पार गर्नका लागि यान कुल यति गतिमा अघि बढ्छ । कुनै स्थिरताको अवस्थाबाट गतिको अवस्थामा पुग्न जुन समय लाग्छ अर्थात् मिलिसेकेन्डमा ११.२ किलोमिटर दुरी पार गर्नुपर्छ, त्यसलाई गतिको बढोत्तरी वा त्वरण (एक्सलेरेसन) भनिन्छ ।
तर यसको पनि एउटा समस्या के छ भने तपाईं एउटा यस्तो यानमा बस्नुभएको छ, जसको गति निकै तीव्र गतिमा बढिरहेको छ भने यानले तपाईंलाई अघि लैजानका लागि तपाईंलाई पनि धक्का दिन्छ । तपाईंलाई यस्तो महसूस हुन्छ कि त्यसले तपाईंलाई पछाडि धकेलिरहेको छ । यस्तो अनुभव चाहिँ तपाईं कुनै गाडी वा कारमा बस्नुभएको बेला अचानक हुइँक्याइन्छ भने त्यो बेला हुन्छ ।
जति बढी एक्सलरेसन (त्वरण) हुन्छ, उति नै बढी तपाईं सिटतर्फ अथवा तल धकेलिनुहुन्छ । यदि यानलाई तोपबाट हुऱ्याइयो भने पलायनको गति केही क्षणमै हासिल गर्नका लागि जुन धक्का पर्छ, यस्तो अवस्थामा यानमा बसेका मानिस कुच्चिने वा मर्ने नै सम्भावना हुन्छ ।
उपन्यसामा जुल्स भर्नले के लेखेका थिए भने मान्छे मर्ने नै भए पनि त्यो गति हामीले प्राप्त गर्नु नै पर्छ । यस्तो अवस्थामा के गर्ने त ? बिस्तारै गति बढाउने, कसरी ? यस प्रश्नको उत्तर चाहिँ अङ्ग्रेज वैज्ञानिक सर आइज्याक न्युटनले दिएका थिए ।
(अच्युत कोइरालाको पुस्तक ‘अन्तरिक्षको खोज’)

