कुरा आजभन्दा २७/२८ वर्षअघिको हो । त्योबेला मेरा दुईवटा गीति एल्बम निस्केका थिए । अहिलेजस्तो च्याउसरी मिडिया, रेडियो, एफएम थिएनन् । देशकै स्थापित पूरानो संचार माध्यममध्ये रेडियो नेपाल नै थियो । रेडियो नेपालबाट कुनै गीतकारको गीत बज्नु भनेको कम खुशीको कुरा थिएन । त्यहीमाथि म त झन् नयाँ गीतकार परें । मभित्र कतिको उत्सुकता थियो होला ? जो कोहीले सहजै अनुमान लाउन सक्छ ।
हो, म त्यही बेलाको एकदिनको कुरा गर्दैछु । कुन दिन हो ? ठ्याक्कै समय र बार त मेरो सम्झनाबाट हराइसकेको छ । म र इन्दिरा राना (भूतपूर्व उपसभामुख), हाल रास्वपाकी निर्वाचित सांसदसँग रेडियो नेपाल जाने सल्लाह गरेँ । अर्थात् मैले इन्दिरालाई त्यहाँ जान साथ मागेँ । इन्दिराले पनि मेरो आग्रह सहजै स्वीकार गरिन् र हामी गयौं । त्यो समय इन्दिराको उमेर यस्तै २४ /२५ वर्षको हुनुपर्छ । दमकबाट भर्खरै आईकम सकेर शायद अध्ययन र संघर्षको सिलसिलामा काठमाडौं पसेकी इन्दिरा निडर, स्पष्ट, हक्की र हिम्मतवाली स्वभावकी ऊ, केही गर्न पनि पछि नहट्ने स्वभावकी थिइन् । उसको पनि त्यो संघर्षको समय । काठमाडौं अपरिचित ऊसँग । ऊ पनि अपरिचित काठमाडौंसँग ।
हामी हिँडेरै लगनखेलबाट सिंहदरबार पुग्यौं । त्यो समय देशमा त्यति अशान्ति थिएन । साधरण नारा, जुलुसहरू हुन्थे तर साम्य भइहाल्थे । त्यसैले सिंहदरबारमा छिर्न अहिलेजस्तो कसरत गर्न पर्दैथ्यो । हामी सहजै सिंहदरबारभित्र छिरेर रेडियो नेपालको गेटतिर लाग्यौं । मैले दुईवटा मेरा एल्बम बोकेकी थिएँ । साथमा झोलामा डायरी र कलम पनि थिए ।
हामी रेडियो नेपालको गेटमा छिर्न मात्र के लागेका थियौं, पालेले धम्कीपूर्ण आदेश हाँक्दै पस्न मनाही गरे । म त के बोल्नु र ? बोल्ने र आँटी त इन्दिरा नै थिइन् । “किन हामीलाई भित्र पस्न दिनुहुन्न ? हामी रेडियोमा काम लिएर आएको ।” भनेर इन्दिराले पालेलाई भनिन् । पालेले अझ चर्को स्वरमा भने, “तपाईंहरूको आइडी देखाउनुहोस् । यहाँभित्र पस्न त पास चाहिन्छ । आइडी देखाउनुपर्छ । त्यसै कहाँ छिर्न पाइन्छ ? नत्र हाकिमलाई कल गर्नुहोस् ।”
इन्दिराले पनि चर्कै स्वरमा भनिन्, “हामी साधरण मान्छे । हाम्रो परिचय बनिसकेकै छैन । भविष्यमा पक्कै बन्नेछ । अनि हामीलाई को सम्झेको ? के हामी भ्रष्ट र चोर जस्तो लाग्यो ? हामी पनि देशका सोझा जनता हौं । हाम्रो पनि सरकारको सम्पत्तिमा उत्तिकै हक लाग्छ । हामीलाई पस्न दिनुहोस् ।”
यतिभन्दा पनि उक्त पाले हठ भएर उभिइरह्यो । अनि मैले भनेँ, “हामीलाई पस्न दिनुहोस् न ! हाम्रो एकछिन संगीत शाखामा मात्र काम छ ।” तर ती पालेले नसुनेझैं गरे । पालेको अंहकारले सीमा नाघेपछि इन्दिराले मेरो झोलाबाट मेरा क्यासेटहरू र डायरी निकालेर उसको अनुहारअगाडि फिँजाएर देखाउँदै भनिन्,”यी यो क्यासेटको फोटो प्रभा आचार्यको हो चिन्नु भो नि ? मेरी आन्टी गीतकार, साहित्यकार हुनुहुन्छ । उहाँका कति कथा, गीतीकथाहरू यहाँबाट प्रशारण हुन्छन् । तपाईंले मान्छे चिन्नुपर्छ ।”
“खै ! निधारमा लेखिएको हुँदैन । कसरी चिन्नु ? ल जानुहोस् । अनि तपाईंको परिचय नि ?”, पालेले फेरि इन्दिरालाई प्रश्न तेर्स्याए । इन्दिरालाई पालेको प्रश्नले कन्पारो तात्यो र भनिन्, “अहिले म साधरण कलेज पढ्ने संघर्षशील केटी मात्र । पछि यही ठाउँमा आफ्नो हैसियत बनाएर आउने कोसिस गर्नेछु । त्यतिबेला तपाईंहरूले नै सलाम ठोक्ने स्थिति आउला । अहिले हामीलाई छिर्न दिनुहोस् ।”, इन्दिराले मेरो हात च्याप्प समाएर -“आउनुहोस् आन्टी कसरी हामीले पस्न पाउँदैनौं ?”
हामीलाई त्यहाँ रोकेर बहस गरुन्जेल बिना आइडी कतिजना छिरे, तर ती पालेले अरूलाई वास्ता नगरी हामीलाई मात्र पस्न नदिने जिद्दी गर्दा इन्दिराले आफ्नो अधिकार जबर्जस्ती प्रयोग गर्नुपर्यो । अहिले सम्झिन्छु – इन्दिराको त्यो संघर्ष, समर्पण, हिम्मत पहिला त त्यस्तो थियो । अनि म सम्झिन्छु, उपसभामुखमा आसिन हुँदा त्यही सिंहदरबार गेटमा पुरै सरकारी गाडीमा अंग रक्षकसहित सर्र… पसेको । अस्ति भर्खर चुनाव जितेपश्चात् सांसदका रूपमा सिंहदरबार परिसरमा निर्भिकताका साथ कार्यालयमा बिना हिच्किचाहट बेपर्वाह पसेको । साँच्चै यी महिलाले ती पालेलाई भनेको वचन पूरा गरेरै देखाइन् ।
गाउँबाट एक अभावग्रस्त जिन्दगी भोग्दै भए पनि भविष्यमा म केही गर्छु, हुन्छु भनेर काठमाडौं बसाइका करीब ३०/३२ वर्षमा कति आरोह, अवरोह पार गर्दै, लगातार अध्ययन गरेर आज यहाँसम्म आइपुग्नु इन्दिराको एक तपस्या हो । न त त्यो बेला तरुणावस्थामा पनि राम्रो लाउन र मीठो खान रहर जाग्यो । न सुकिलोमुकिलो भएर हिँड्ने जाँगर चल्यो । उनी स्पष्ट, हक्की र निडर स्वभाव भएकीले नै शायद आजको दिनसम्म विचलित नभई यहाँसम्म आइपुगेकी हुन् उनी, भन्नमा म अप्ठ्यारो मान्दिनँ । कारण म उसको विगतदेखिकै प्रत्यक्षदर्शी हुँ र आज त्यही सिंहदरबारभित्र कहिले उपसभामुख भएर कहिले सांसद बनेर हिँडेको देख्दा म हाम्रो त्यो दिनको घटना सम्झिन पुग्छु । आह्लादित हुन्छु ।
लाग्छ, मान्छेले जहिल्यै पनि आफ्नो उद्देश्यलाई पूरा गरेर गन्तव्यसम्म पुग्नलाई इन्दिराजस्तै लगनशील, मिहेनती, समर्पित र साहसी हुनुपर्दो रहेछ । उनी अरूका लागि के हुन् ? थाहा छैन, तर मेरा लागि एक साहसी र समर्पित नारी हुन् जसले आफ्नो उद्देश्य र गन्तव्यलाई पूरा गरेरै छाडिन् ।
मलाई थाहा छैन इन्दिरालाई मेरो यो लेखले कस्तो असर पर्छ, न त मैले जानकारी नै दिएर लेखेकी हुँ, तर विगत सम्झिएर उनको वचन र प्रतिबद्धता पूरा भएको देख्दा म यति लेख्न बाध्य भएँ । काठमाडौंमा हामीले धेरै रात पनि सँगै बितायौं । त्यो समय उनी म्हेपीमा साहित्यकार पारिजात दिदीको समीपमा बस्थिन् । म लगनखेल दिदीकोमा कहिलेकहीँ गएर बस्थें । म काठमाडौं पुग्दा उनी मलाई भेट्न आउँथिन् ।
एक साँझ उनी मलाई भेट्न आइन्, उसैगरी । त्यो रात लगनखेलमा मसँगै बसिन् । हामीले रातभरि साहित्यिक, पारिवारिक, व्यवहारिक कुरा गरेरै रात छर्लंग पार्यौं । त्यो रातमा इन्दिराले भनेको अर्को कुरा कहिल्यै बिर्सिंन्नँ । “आन्टी मलाई साहित्यकारहरू साह्रै मन पर्छ । तपाईं पनि पारिजात दिदी जस्तै लाग्छ र मन पर्छ ।” भनेर भन्दा मैले जवाफमा भनें, “म पारिजात दिदी जस्तो हुन कहिले सकुँला र ?” अनि पारिजात दिदीलाई भेट्ने इच्छा मैले गर्दा इन्दिराले, “म भेटाउँछु तर उहाँ अहिले अस्पतालमा हुनुहुन्छ” भनिन् । भोलिपल्ट नै हामी अस्पताल गयौं । तर कुन अस्पताल थियो ? मैले अहिले बिर्सिएँ । मैले दिदीको दर्शन त पाएँ तर उहाँ सिकिस्त बिरामी हुनुहुन्थ्यो । उहाँ मान्छे चिन्न समेत नसक्ने स्थितिमा पुगिसक्नुभएको रहेछ । तर पनि मैले इन्दिरालाई धन्यवाद दिएँ । जसले अन्तिम सासमा पनि पारिजात दिदीलाई भेट्ने इच्छा पूरा गरिदिइन् । यस्तै यस्तै इन्दिरासँगका अनुभवहरू धेरै छन् ।
===
उनीसँगको संगतमा नै मैले नक्खु जेल पनि हेर्ने मौका पाएँ । त्यसबेला इन्दिरा त्यहाँका कैदीबन्दीहरूको सहायताका लागि जाने गर्थिन् । त्यो समय पनि इन्दिरा कतिसम्म निर्भय थिइन्, प्रहरी प्रशासनसँग जनताहरू थर्कमान हुन्थे । त्यो समय पनि इन्दिराले प्रहरीहरूकै अगाडि कैदीहरूलाई, “यिनीहरूले तपाईंहरूलाई कस्तो व्यवहार गर्छन् ? मलाई भन्नुहोला ।” भन्ने गर्थिन् । हामी प्रायः नक्खु जेल गैइरहन्थ्यौं ।
नक्खु जेलका कैदी महिलाका सन्तानहरू (मसिना बालबालिका) आफूसँग लगेर राख्थिन् । स्याहार चाकर गर्थिन् । ती मसिना केटाकेटीका दिसापिसाब, र्याल, सिँगान आफैँ सफा गर्थिन् । एक पटक म म्हेपिस्थित उनको डेरामा पुग्दा लगभग आठ दशजना बालबालिकाहरू थिए उनीसँग । आफ्नै छोरी पनि ७ / ८ वर्षकी थिइन् । त्यसपश्चात् हामी विदेशतिर लाग्यौं । लगभग २५ वर्ष नै भेटघाट हाम्रो भएन ।
अहिलेसम्म त उनीसँग हुर्किएका ती बालबालिकाहरू पढेर, बढेर ठुल्ठुला भएर कोही प्रहरी अफिसरमा, कोही खेलकुदमा अब्बल, कोही मेडिकल पढ्दै । सबैको जीवनोस्तर नै बद्लिएछ । म ती बालबालिकाहरू देखेर आश्चर्यचकित भएँ ।
त्यस्तै काठमाडौंमा स्कुल, निरीह बालबच्चा बस्ने गृह सबैको बन्दोबस्त भएको देखें । हुन त यी सब हुनु त आर्थिक भारलाई सहयोग गर्ने विदेशीहरू नै होलान् । तर विदेशको निगाहमा स्वदेशका असहाय बालबालिकाको उद्धार हुनु पनि ठुलै प्राप्ती मान्नु पर्छ । त्यस्तै, झापामा पनि खुदुनाबारी र चारआली नजिकै आफ्नै बास स्थानमा कैदी बन्दीका छोरा/छोरी लगायत आमाबाबुसँग छुटिएका धेरै बालबालिकाहरू इन्दिराले ओत दिएर राख्ने बन्दोबस्तसहित स्कुल खोलेर (जूनकिरी स्कुल) खोलेर सरकारलाई बुझाएकी रहिछन् ।
अनुसन्धान गर्नकै लागि त होइन, इन्दिरासँग भेट्घाटको क्रममा सरसर्ती डुलेर देखेको मात्र । पुरै जानकारी लिन त इन्दिराको चुनावी व्यस्तताको कारणले सकिएन । तर हामीलाई यसो वरिपरि घुमाउने युवक जो इन्दिराले सानैमा ल्याएर राखेकी बताउँथे । ऊचाहिँ अहिले १२ मा पढ्दैछु भन्थ्यो ।
त्यहाँका केटाकेटीलाई इन्दिरा आफ्नै जन्म दिने आमा जस्तै लाग्दो रहेछ भन्ने बुझियो । सबैले “आमा”को सम्बोधनले बोलाएको सुन्दा मन नै बिभोर बन्यो । यसरी इन्दिरालाई मैले नजिकबाट चिन्ने मौका पाएकी हुँ । २५ वर्षपछि भेट्दा उनी राजनीतिमा आएर पनि उपसभामुख जस्तो गरिमामय पदमा पुगिसकेकी रहिछिन् । जब कि मैले पहिला भेट्दा उनी साधरण संघर्षशील र कोमल हृदयकी युवती मात्र थिइन् ।
लगभग ७ /८ महिना अगाडि झापा आउँदा दमकमा हामीलाई भेट्न आफैँ घरमा आइछिन् इन्दिरा । जतिबेला उनी उपसभामुख पदमा नै आसिन थिइन् । जस्तो पहिलाको बानी, व्यवहार अझै पनि उस्तै । झलक्क हेर्दा कसले त्यत्रो पद, प्रतिष्ठा भएकी महिला भन्ने ? साधा लुगा, चप्पलमा । अत्ति साधरण जीवन बाँच्न रुचाउने इन्दिरा, जतिसुकै ठूलो पद प्रतिष्ठामा पुगे पनि उनको अभिमान नबढेको देख्दा म छक्क परें ।
मिजासिलो र सहयोगी स्वभाव अनि सबैलाई माया गर्ने बानीले पनि उनलाई जोकोहीले रुचाउँछन् । तर कडा बोली पनि उनको अर्को विशेषता भने हो । जे हो त्यही हो । फूलबुट्टा भरेर बोल्ने आदत नभएकी इन्दिरालाई जो कोहीले भेट्नासाथ त कडा स्वभावकी हुन् कि ? भन्ने आशंका पनि गर्न सक्छन् तर बोलीमा कडा स्वभाव भए पनि मन कोमल हुनु उनको अर्को पक्ष हो ।
मैले लामो अन्तरालसम्म उनलाई नभेटे पनि पहिला जस्तो व्यवहार र विचार थियो, अहिले पनि उस्तै छ। बस् उनको प्रयास, समर्पण र दयालु स्वभाव अनि संघर्षशील बानीले उनको जीवनस्तर भने उच्च भएकै हो तर पनि बाँच्ने शैली पुरानै । जतिबेला उनी अभाव र संघर्षको दोसाँधमा थिइन् उस्तै सधैं उस्तै ।
अन्त्यमा, मैले इन्दिरालाई प्रशंसाको पात्र बनाएकी होइन, न कि म झुटा प्रशंसा गरेर नअघाउने मान्छे नै हुँ । बस्, इन्दिराको शाश्वत संघर्षमय जीवनको सफलतालाई एक नारीको प्रेरणाको रूपमा लिएकी हुँ । जसमा मैले जानेको सत्यतथ्य यही थियो र हो । उनको यही शालीनता र धैर्यताले गर्दा अहिले पनि चुनावमा अत्यधिक मतले विजयी भइन् । उनको उद्देश्य असहाय बालबालिका र पीडित महिलाहरूप्रतिको उदारभाव गर्नु हो । उसो त इन्दिराले राजनीति अंगाल्नुभन्दा अगाडिदेखि नै यही कार्य सम्हाल्दै यस्तैमा आफ्नो जीवन अर्पण गरेकी हुन् ।
यो मेरो इन्दिराको समर्पण र संघर्षप्रतिको मात्र भाव हो । आफ्नो आँखाले देखेको र बुझेकोसम्म मात्र लेखेकी हुँ । जुन कुराले मलाई घच्घचाइरह्यो । स्मरण बनेर सधैँ मनमस्तिष्कमा खेलिरह्यो र मैले आज पोख्ने हिम्मत गरेँ । हुन त यी मेरा शब्दहरूमा उनीप्रतिका कति महत्त्वपूर्ण कुराहरू छुटेका छन् । म फेरिको भेटमा अझ जानकारी लिएर लेख्ने नै छु । अहिले यही प्रार्थना गर्दछु, उनको राजनीतिभित्रको प्रवेशको उद्देश्य पूरा होस् । गर्नुपर्ने धेरै कुरा गरिसकेझैँ लाग्छ, बाँकिरहेका उनका लक्ष्य पूरा होउन् । असहाय बालबालिकाको अझ उद्धार निरन्तर चलिरहोस्, यही शुभेच्छा ।

