साहित्यपोस्ट डट कम

इन्दिरा प्रसाईको लघुकथा : गोटी

इन्दिरा प्रसाईको लघुकथा : गोटी

‘बुबा यो त अत्याचारै भएन र देश र जनताको हीतमा केही काम हुँदैन । पचास अरब रुपियाँ कोरोनाको समस्या समाधानका लागि जनताका नाउँमा खर्च गरेर सकियो भनियो । कहाँ खर्च भयो ? जनताका घरदैलोमा त सबैतिर हाहाकारै हाहाकार छ ! सबै जनतालाई त्यो रुपियैँ दामासाहिले बाँढी नै दिऊँ न त भन्दा पनि हरेकका भागमा पन्ध्हजार तीनसय तेत्तीस रुपियाँ भाग लाग्छ । आखिर किन हाम्रै पार्टीको सरकार हुँदा पनि हामीले चाहेजस्तो केही काम भइरहेको छैन ? मलाई त हिजोआज साथीभाइसँग भेटघाट गर्न पनि लाज लाग्न थालिसक्यो । यस्तै हो भने म त यो राजनीति साजनीति गर्दिन बुबा ।’ छोरा नेताले बाबु अध्यक्षसँग उत्तेजित हुँदै आक्रोशका साथ भनेको थियो ।

‘त्यस्तो कुरा नगर्न छोरा, नेपालको राजनीति बुझ्ने कोशिश गर । यहाँ देश र जनताको भलोका लागि हामीले काम गर्ने नै होइन् ।’ अध्यक्ष बाबु चाहिँले छोरोका अनुहारमा हेर्दै नरम स्वरमा भनेको थियो ।

‘मैले होस सम्हालेदेखि नै तपाईंले राजनीति गरिरहनु भएको देखेको छु । अनि त्यसो हो भने तपाईंले कसका लागि र किन राजनीति गर्नु भयो त ?’ रोको आक्रोश अझ चुलिएको थियो ।

‘बाबू, यो कुरा अर्कै छ, भन्नू पनि हुन्न, सुन्नु पनि हुन्न ।’ अध्यक्ष बाबुले शयन कक्षको चारैतिर सन्त्रस्त नजर डुलाएर आश्वस्त हुन खोज्दै साउतीकै स्वरमा भनेको थियो । ढोकासम्म पुगेको आफ्नो दृष्टि फर्काउँदै पिताले पुनः पुत्रकै अनुहारमा पुर्याएर अड्याएको थियो ।

‘मैले राजनीतिमै लाग्नुपर्छ भने मलाई यो सत्य जान्नबाट आज तपाईंले वञ्चित पार्नु हुँदैन, बुबा !’ छोरो नेताको दृढ र हठी आवाज कोठैभरि घन्किएको थियो ।

‘छोरा जिद्धि नगर्, राजनीति गर्दैनस् भने तँ पढेकै देशमा फर्केर जा र सुरक्षित बाँच बाबू !’ अध्यक्ष पिताको थप मधुर र गलित स्वर सुनिएको थियो ।

‘बुबा, राजनीति गरे पनि नगरे पनि म तपाईँको छोरो हुँ, त्यसैले पनि मैले यो सत्य आज सुन्नै पर्छ । भन्नुस् तपाईंले कसका लागि र किन यस्तो बेइमान राजनीतिका लागि ज्यानकै बाजी थाप्नु भयो त ?’ छोरो नेता अध्यक्ष पिताको नैतिक गर्दनै समात्ने गरी बलियो भएर बोलेको थियो । एकैछिन समय भारी भएर कोठाभरि फैलिएको थियो । बाबुछोरा बीच पनि त्यहाँ सन्त्रासपूर्ण सन्नाटा नै फैलिँदो थियो ।

‘हामीले पनि देश र जनताका लागि नै भनेर राजनीति प्रारम्भ गरेका हौँ । सोही लक्ष्य लिएर हिँड्दा हिँड्दै केके भयो केके ? हामी त आफैँले पनि थाहै नपाउने गरी अर्कै भइसकेछौँ । अब हामीले चाहेरै पनि केही नहुने भइसक्यो । अहिले हामी त गोटीमात्र भएका छौँ, छोरा !’

‘हामीलाई चाल्ने अर्कै छ बाबू !’ अध्यक्ष पिताको आद्र स्वर पुनः साउतीकै भाकामा तर विषाक्त धुवाँ झैँ कोठैभरि फैलिएको थियो । छोरो नेताका आँखामा वितृष्णाका आँसु डम्म भरिएका थिए । बाबुका अनुहारमा पुगेको उसको दृष्टि प्रिय पनि थिएन । पुत्रले आफ्नो अनुहारको भाव असाध्यै बिगारेर टाउको हल्लाउँदै अध्यक्ष पिताको मुहारमा एकैछिन् हेरिरह्यो । छोरा नेताका गालाबाट खुर्र दौडँदै भुईँतिर ओर्लेको एक ढिक्का आँसु अध्यक्ष पिताबाट पनि लुकेको थिएन । ‘अब यस राजनीतिबाट बाहिर निस्किन पनि सकिँदैन यसैमा बसेर रमाउन पनि सकिँदैन । त्यसैले तँलाई मैले उतै बस्, यता के आउँछस् भनेको पनि थिएँ । तर तैँले मानिनस् ।’ बाबुको गला पनि भरिएको थियो । •

भोलिपल्टको अखबारको पहिलो पानामा अध्यक्षको एकमात्र पुत्रको आत्महत्याको समाचार छापिएको थियो ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.