काठमाडौं। काठमाडौंको हात्तिगौंडास्थित इम्पेरियल वर्ल्ड स्कुलले विद्यालय तहमा कला र साहित्यको संस्कार विकास गर्ने उद्देश्यसहित ‘काठमाडौँ कला तथा साहित्य महोत्सव’को तेस्रो संस्करण बिहीबारदेखि सुरु गरेको छ।
दुई दिनसम्म सञ्चालन हुने महोत्सवले विद्यार्थीलाई अक्षर र रङसँग मात्र होइन, सिर्जनात्मक सोच, बौद्धिक विमर्श र अभिव्यक्तिको सशक्त मञ्चसमेत प्रदान गरेको छ। महोत्सवको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको हो। कार्यक्रममा साहित्यकार तथा कवि तुलसी दिवस प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
उद्घाटन समारोहमा बोल्दै साहित्यकार तुलसी दिवसले कला र साहित्यले मानव जीवनलाई संवेदनशील, सृजनशील र संस्कारित बनाउने उल्लेख गर्दै नयाँ पुस्तालाई मौलिक सिर्जनासँग जोड्न यस्ता महोत्सवको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। उहाँले साहित्यिक सिर्जनशीलतालाई प्राथमिकता दिनु भनेको मानवीय मूल्य र चेतनाको सम्मान गर्नु हो भन्दै इम्पेरियल वर्ल्ड स्कुलले थालेको यस सिर्जनात्मक अभियानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।
त्यसैगरी, उपमेयर अनिता लामाले विद्यालयको प्रशंसा गर्दै पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीको सिर्जनात्मक क्षमता विकासमा गरिएको लगानीले भविष्यमा देशलाई सक्षम र जिम्मेवार जनशक्ति प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयकी प्रिन्सिपल जुनिता कार्कीले कला र साहित्यको संरक्षण, प्रवर्द्धन तथा विद्यार्थीहरूमा यसको महत्व उजागर गर्ने उद्देश्यले विगत तीन वर्षदेखि महोत्सव आयोजना गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार, विद्यार्थीलाई सिर्जनशील सोच र अभिव्यक्तिको अवसर प्रदान गर्नु नै महोत्सवको मुख्य लक्ष्य हो।
महोत्सवको विशेष आकर्षणका रूपमा इम्पेरियलका विद्यार्थीहरूद्वारा सिर्जित तीन साहित्यिक कृतिहरू— नेपाली कविता सङ्ग्रह ‘शब्द बगैँचा’, नेपाली कथा सङ्ग्रह ‘उडान कथा’ र अङ्ग्रेजी कथा सङ्ग्रह ‘माई पेन माई वर्ल्ड’—को औपचारिक विमोचन गरिएको थियो। यसले विद्यार्थीमा लेखन संस्कार र आत्मविश्वास अभिवृद्धि गरेको विद्यालयले जनाएको छ।
महोत्सवको पहिलो दिन साहित्य र कलाका विविध आयाम समेटिएका सातवटा सत्र तथा एक बृहत् प्यानल छलफल सम्पन्न भएकाे थियाे । ‘साहित्य : पुस्ताबाट पुस्तासम्म बोलिरहने जीवित स्वर’ शीर्षकको प्यानल छलफलले विशेष आकर्षण पाएको थियो। लेखक तथा पत्रकार वसन्त बस्नेतको सहजीकरणमा सम्पन्न उक्त छलफलमा नयनराज पाण्डे, केशव दाहाल, बिना थिङ तामाङ र कुमारी लामाले साहित्यले कसरी पुस्तान्तरण हुँदै समाजलाई जीवित राख्छ भन्ने विषयमा गहिरो विमर्श गर्नुभयो।
महोत्सवअन्तर्गत आयोजित विभिन्न सत्रहरूमा कविता तथा कथा वाचनसहित सिर्जनात्मक गतिविधिहरू सञ्चालन भएका थिए। साहित्यकार अभय श्रेष्ठले ‘काव्य साधना’ मार्फत कविताको गहिराइ प्रस्तुत गर्नुभयो भने नीलम कार्की नीहारिकाले ‘आवाजको जादु’ शीर्षकमा वाचन कलाको महत्वबारे प्रस्तुति दिनुभयो। त्यस्तै, जोय रोबिन्सनले कथा लेखन तथा वाचनसम्बन्धी अनुभव साझा गर्नुभयो भने डा. अशोक थापाले ‘पानामा लुकेको संसार’ शीर्षकमा साहित्यको गहिरो आयामबारे चर्चा गर्नुभयो।
पहिलो दिनकै कार्यक्रममा डा. शिव रिजाल, महेश पौड्याल, उषा आचार्य र साबित्रा पाण्डेले पनि आ–आफ्ना विषयमा सत्र सञ्चालन गर्नुभएको थियो।
महोत्सवको दोस्रो दिन शुक्रबार कला र साहित्यका विविध विधामा केन्द्रित १२ वटा अन्तरक्रियात्मक छलफल तथा सिर्जनात्मक सत्रहरू सञ्चालन हुने आयोजकले जनाएको छ।

