साहित्यपोस्ट डट कम

इल्या भट्टराईको व्यक्तित्व र कृतित्वमाथि परिचर्चा सम्पन्न

इल्या भट्टराईको व्यक्तित्व र कृतित्वमाथि परिचर्चा सम्पन्न

काठमाडौँ । नियात्रा समाज नेपालको आयोजनामा नियात्राकार इल्या भट्टराईको व्यक्तित्व र कृतित्वमाथि विशेष परिचर्चा उहाँकै निवासमा सम्पन्न भएको छ ।

नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यकार तथा नियात्राकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । परिचर्चामा नियात्राकार तथा कथाकार चन्द्रप्रसाद भट्टराई, समालोचक डा. ज्ञानु अधिकारी, नियात्राविद् जय छाङ्छा, नियात्राकार पवन आलोक तथा गीता खत्रीले इल्या भट्टराईको व्यक्तित्व र कृतित्वका विविध पक्षबारे प्रकाश पार्नुभएकाे थियाे ।

उक्त कार्यक्रममा इल्या भट्टराईका पाँच नियात्रा कृतिमा पाइने विम्ब, तत्व, सौन्दर्य, भाषा, शैली तथा प्रस्तुतिका आयामहरूबारे वक्ताहरूले विषयगत रूपमा विश्लेषण गर्नुभएकाे थियाे । साथै पवन आलोक र गीता खत्रीले भट्टराईको साहित्यिक योगदानको विशेष चर्चा गर्नुभएकाे थियाे ।

सो अवसरमा नियात्राकार इल्या भट्टराईले आफ्नो दीर्घ लेखन अनुभव साझा गर्दै नियात्रा लेखनमा रैथाने शब्दको प्रयोग र सरल भाषाशैलीमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएकाे थियाे ।

कार्यक्रममा नियात्रा समाजका आजीवन सदस्यहरू तथा साहित्यकारहरू चन्द्रप्रसाद भट्टराई, जय छाङ्छा, कृष्ण प्रसाई, पवन आलोक, गीता खत्री, गोविन्द गिरी प्रेरणा, गीता रेग्मी, दीपक अर्याल, विष्णुप्रसाद शर्मा पराजुली, चन्द्रकान्त आचार्य, बिनोद नेपाल, विनोद खड्का, विजय ध्वज थापा लगायतका उपस्थिति रहेको थियो । साथै समालोचक लीला लुइटेल, डा. ज्ञानु अधिकारी, राजेश खनाल, तुलसीहरि कोइराला लगायत नियात्रा समाजका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन नियात्रा समाज नेपालकी महासचिव भवानी खतिवडाले गर्नुभएकाे थियाे ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.