साहित्यपोस्ट डट कम

इलाममा दुई दिने ‘लिटरेचर फेस्टिभल’ सुरु हुँदै

इलाममा दुई दिने ‘लिटरेचर फेस्टिभल’ सुरु हुँदै

इलाम । ‘चियाको सहर’ इलाममा शुक्रबारदेखि दुई दिने ‘लिटरेचर फेस्टिभल’ आयोजना हुने भएको छ । इलाम नगर साहित्य–कला–संगीत प्रतिष्ठानको आयोजनामा हुने उत्सवमा राजनीति, भूराजनीति, शिक्षा, साहित्य, कला, पर्यटन, पर्यावरण र इतिहासजस्ता विषयमा गहन बहस–विमर्श गरिनेछ ।

हाङयुग–जुनिता फाउन्डेसन र इलाम साहित्य समाज सहआयोजक रहेको कार्यक्रममा नेपाल र भारतका सयभन्दा बढी स्रष्टा, संगीतकर्मी, पत्रकार तथा अभियन्ताहरू सहभागी हुने जनाइएको छ।

पहिलो दिनका प्रमुख सत्र

उत्सवको पहिलो दिन ‘कविता : विरासतदेखि रिल्ससम्म’ शीर्षकको छलफलमा विनोद विक्रम केसी, रमेशचन्द्र अधिकारी र समदर्शी काइँला सहभागी हुनुहुनेछ । सहजीकरण बालिका थपलियाले गर्नुहुनेछ । ‘मुन्धुम र पर्यावरण संकट’ विषयमा अर्जुनबाबु माबुहाङको एकल सम्भाषण रहनेछ भने ‘आख्यान उपाख्यान’ शीर्षकमा उमा सुवेदी, अमर न्यौपाने, श्याम सिंघक र केशव दाहालबीच छलफल हुनेछ, जसलाई शैलेन्द्र अधिकारीले सहजीकरण गर्नुहुनेछ ।

त्यस्तै ‘कवितादेखि कलिउडसम्म’ सत्रमा उपेन्द्र सुब्बा र सुनिता खालिङबीच संवाद हुनेछ । ‘पर्यटनको वैभव : समृद्धिको आधार’ शीर्षकमा सुशीला सापकोटा, निरोज कट्टेल र अमिर राईबीच छलफल हुनेछ । पहिलो दिन गजल साँझसहित समापन गरिनेछ ।

दोस्रो दिनका कार्यक्रम

दोस्रो दिन ‘शिक्षा विधेयकको सकस’ विषयमा योगेन्द्र श्रेष्ठ, पूर्ण गौतम र टंक गौतमबीच छलफल हुनेछ, जसलाई सटेन्द्र जवेगुले सहजीकरण गर्नुहुनेछ । ‘सीमावर्ती साहित्य’ सत्रमा विनिता क्षेत्री, कृष्ण बराल र ज्ञानेन्द्र यक्सो सहभागी हुनुहुनेछ भने ‘डिजिटल मासुभात र हामी पत्रकार’ शीर्षकमा वसन्त बस्नेतको एकल सम्भाषण रहनेछ । ‘कथाः हिमालवारि हिमालपारी’ शीर्षकमा सुधीर शर्मा र दीपक सापकोटाबीच भूराजनीतिमा केन्द्रित विमर्श हुनेछ । ‘जराको कुराः हाम्रो इतिहास चर्चा’ सत्रमा युद्ध वैद्य र मोहन मैनाली सहभागी हुनुहुनेछ, जसलाई सुजित मैनालीले सहजीकरण गर्नुहुनेछ ।

त्यस्तै, ‘इलाम डेभलपमेन्ट अन बिहाफ अफ ओरेन्ज एन्ड ग्रीन इकोनमी’ शीर्षकमा निष्कल राईको एकल सम्भाषण रहनेछ । उत्सवको समापन कविता कन्सर्ट तथा गायक पुष्पण प्रधानसहितको सांगीतिक प्रस्तुतीसँगै गरिने कार्यक्रम संयोजक प्रकाश थाम्सुहाङले जानकारी दिनुभएकाे छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.