इलाम । फिक्कलमा दुई दिने ‘२१औँ बान्तावा साहित्य महोत्सव’ आयोजना हुने भएको छ । ‘बुङ्वाखा’ मासिकको आयोजनामा आगामी वैशाख २६ र २७ गते महोत्सव हुन लागेको हो ।
सूर्योदय नगरपालिकाको सहयोग, नेपाल प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्य तथा किरात राई यायोक्खा सूर्योदय नगर कमिटी इलामको सहआयोजनामा कार्यक्रम सम्पन्न गरिने जनाइएको छ ।
‘बुङ्वाखा’का सम्पादक पदम राईका अनुसार महोत्सवको पहिलो दिन उद्घाटन सत्रसँगै ‘बान्तावा कविता प्रतियोगिता’ र ‘भे तालेत (धनुषवाण) प्रतियोगिता’ आयोजना गरिनेछ ।
दोस्रो दिन भने स्थानीय चियाबगान भ्रमणसहित ‘बान्तावा मुन्दुम विमर्श’, महिलाहरू मात्र सहभागी हुने ‘दोङ दोङ्मा (बिनायो) सम्मेलन’, ‘विद्यालयमा मातृभाषा (बान्तावा) पठनपाठनको अवस्था’ विषयमा प्यानल छलफल तथा पुरस्कार वितरण कार्यक्रम रहनेछन् ।
जयकुमार राईका अनुसार महोत्सवमा किरात राई सांस्कृतिक ‘साकेन्वा सिलि’को विशेष प्रदर्शनसमेत गरिनेछ । महोत्सव व्यवस्थापन संयोजक चन्द्र सोङ्मेनले फिक्कललाई केवल पर्यटकीय गन्तव्य मात्र नभई बान्तावा भाषा, साहित्य र संस्कृतिको आदान–प्रदानको केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयाे ।
यसअघि वि.सं. २०६६ मा इलाम बजारमा पाँचौँ र २०७५ मा सन्दकपुर गाउँपालिका माइमझुवामा १४औँ बान्तावा महोत्सव आयोजना भइसकेको छ । फिक्कलमा हुने यस महोत्सवमा नेपाल तथा भारतका बान्तावा साहित्यकार र संस्कृतिकर्मीहरूको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ ।

