काठमाडौं। इलाम विकास समाजद्वारा साहित्य, पत्रकारिता, कला, चलचित्र, संगीत र खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुभएकाे व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा चलचित्र निर्देशक एवं साहित्यकार लक्ष्मीनाथ शर्मा, पत्रकार धर्म गौतम, गायिका तथा कलाकार कविता आले, धावक बुद्धवीर लामा, चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, कलाकार राजु पिठाकोठे र संगीतकार सूर्य थुलुङ रहनुभएकाे छ ।
सोही कार्यक्रममा यसअघि २०८२ साउन १० गते आयोजित सम्मान कार्यक्रममा अनुपस्थित रहनु भएका सांसद सुहाङ नेम्बाङ र पूर्व डीआईजी पिताम्बर अधिकारीलाई पनि सम्मान गरिएको थियो।
उक्त सम्मान इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकाली, सांसद महेश बस्नेत, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, पूर्व सचिव खेमराज नेपाल, समालोचक प्रा. धरणीप्रसाद गौतम, इलाम नगरपालिकाकी उपमेयर विष्णु दाहाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरीलगायतले संयुक्त रूपमा प्रदान गर्नुभएकाे थियाे ।
कार्यक्रममा चर्चित गायक यम बराल, गणेश पराजुली, यशोदा पराजुली, बलराम समाल, डेनी निरौला, कविता आले, सुलोचना श्रेष्ठलगायत कलाकारहरूले सांगीतिक प्रस्तुति दिएर माहोललाई सांगीतिक बनाउनुभएकाे थियाे ।
कार्यक्रममा समाजका अध्यक्ष राधेश्याम लेकाली, सम्मानित व्यक्तित्व लक्ष्मीनाथ शर्मा, कविता आलेलगायतले आफ्ना मन्तव्य राख्दै इलामेली पहिचान, सिर्जना र एकताको महत्वमाथि प्रकाश पार्नुभयाे ।
योग दिवस पनि परेकाले समाजकी सदस्य तथा योग प्रशिक्षक नुनिता लुइँटेलले सहभागीहरूलाई योगाभ्यास गराउनुभएकाे थियाे, जसले कार्यक्रममा स्वास्थ्य र चेतनाको सन्देश थपेको थियो।
कार्यक्रमको सहजीकरण इलाम विकास समाजका सचिव अर्जुन भट्टराईले गर्नुभएकाे थियाे । कार्यक्रममा सहभागीहरूले इलामको पहिचान झल्काउने सेलरोटी, तरुल र चाकुको स्वाद ग्रहण गर्नुभएकाे थियाे ।
कार्यक्रमस्थलमा इलाममा उत्पादन भएका चिया, ललिपप, घ्यू र मह प्रदर्शनीका रूपमा राखिएको थियो। इलामकै उत्पादन नौनी घ्यू काठमाडौंमा प्रतिकेजी ७५० रुपैयाँमा उपलब्ध गराउँदै आएको इलाम अर्ग्यानिकका देवेन्द्र रिमालले इलामेली तथा इलामका उत्पादन मन पराउने उपभोक्तालाई काठमाडौंमै इलामकै मूल्यमा अर्ग्यानिक सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
गृह जिल्ला इलाम भई काठमाडौंमा बसोबास गर्दै आउनुभएकाे इलामेलीहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न उक्त कार्यक्रमले इलामेली पहिचान, सिर्जना र सामूहिकताको उत्सव मनाएको सहभागीहरूको प्रतिक्रिया थियो।

