आइसल्यान्ड यात्राको पाँचौँ दिन हामी बिहानै दक्षिणी तट (South Coast) तर्फ प्रस्थान गर्यौँ । सहरको सीमा नकाटुञ्जेल बाटो सहजै थियो, तर केही समयमै जब हामी उचाइतर्फ लाग्न थाल्यौँ, यात्राले अचानक चुनौतीपूर्ण मोड लियो । ‘रुट १’ हुँदै हेलिसहेइदी घाँटी (Hellisheiði Pass) पुग्दा चक्काहरू चिप्लिन थाले, विन्डशिल्डमा हिउँका कणहरू लगातार ठोक्किन थाले, र तीव्र हावाले गाडी नै हल्लाइरहेको थियो ।
बाहिरको दृश्य बिस्तारै सेतो कुहिरो र हिउँको पर्दाभित्र हराउँदै गइरहेको थियो ।
हामी केहीबेर अलमलमा पर्यौं ।
“अब अगाडि जान सकिँदैन होला, बरु फर्कौं कि ?” भन्ने सल्लाह पनि आयो ।
तर समस्या के थियो भने, त्यहाँबाट पछाडि फर्किनका लागि कुनै ‘एक्जिट’ वा निकास नै थिएन । अरू गाडीहरू भने हामीलाई उछिनेर निर्धक्क अघि बढिरहेका थिए—शायद उनीहरूले यस्ता बाटा धेरै पटक देखिसकेका होलान् ।
दश किलोमिटरको त्यो खण्ड निकै चुनौतीपूर्ण रह्यो । स्टेयरिङ समातेर अघि बढ्दा समय नै बिस्तारै तन्किँदै गएको जस्तो लाग्थ्यो । तर केही समयपछि हिउँ पातलो हुँदै गयो र हावाको वेग पनि कम हुन थाल्यो । गाडीका पाङ्ग्राले बिस्तारै आफ्नो आत्मविश्वास पुनः पाउन थाले ।
केही क्षणअघि मनभित्र जमेको डर पनि बाहिरको हिउँजस्तै बिस्तारै पग्लिन थाल्यो ।
“आइसल्यान्डको मौसम १० मिनेटमै बदलिन्छ” भन्ने लोकोक्ति अतिशयोक्ति होइन रहेछ भन्ने हामीले त्यहीँ महसूस गर्यौँ । अन्ततः हामीले निर्णय गर्यौँ—अब फर्कने होइन, गन्तव्यतिरै अघि बढ्ने ।
बाटोमा मेधावीले अचानक भनिन्, “स्कूल बस !”
सडकको दाहिनेपट्टि उभिएको त्यो पहेँलो बस उनले सानोमा चढेको स्कूल बससँग मिल्दोजुल्दो देखिन्थ्यो । हामीले त्यसबारे पहिले नै सुनेका थियौँ, त्यसैले गाडी केहीबेर रोकेर त्यहाँ पस्ने निर्णय गर्यौँ ।
बाहिरबाट साधारण देखिने त्यो बसभित्र छिरेपछि भने बिलकुलै फरक संसार खुल्यो । भित्री भागलाई काठका साना टेबुल, झ्यालछेउका कुर्सीहरू र हल्का पहेँलो बत्तीले सजाएर एउटा सानो क्याफेमा बदलिएको रहेछ । हामी झ्यालछेउको टेबुलमा बस्यौँ ।
केही बेरमै हातमा तातो कफीको कप आयो, त्यससँगै तात्तातो ‘मफिन’ । हेलिसहेइदी घाँटीको चुनौतीपूर्ण, हिउँले ढाकिएको बाटो पार गरेर आएका हामीलाई त्यो तातो कफीले मात्र होइन, त्यो सानो विश्रामले पनि अनौठो राहत दियो ।
छेउमै अर्को एउटा सानो कफी पसल पनि रहेछ । बाहिरबाट हेर्दा निकै साधारण देखिने त्यो पसल नजिक पुग्नेबित्तिकै फरक लाग्यो । भित्ताभरि संसारका विभिन्न कुनाबाट आएका यात्रुहरूका नाम, अक्षर र साना सन्देशहरू कोरिएका थिए । कतै ठूलो अक्षरमा देशको नाम, कतै सानो कुनामा दुई–तीन शब्दका सम्झनाहरू ।
मेधावीले पनि त्यो अनौठो परम्परामा आफ्नो एउटा सानो निसानी छोड्ने निर्णय गरिन् । उनले कलम समातेर भित्ताको एउटा खाली कुनामा हाम्रो नाम र मिति लेखिन् । हामीले त्यो सुदूर भूमिसँग एउटा गहिरो सम्बन्ध गाँस्यौँ ।
हाम्रो अर्को स्टप थियो प्रसिद्ध सेल्याल्यान्ड्सफोस (Seljalandsfoss) । आइसल्यान्ड घुम्दै जाँदा एउटा कुरा भने हामीले बिस्तारै बुझिसकेका थियौँ—कुनै स्थानको नामको अन्त्यमा ‘फोस’ आयो भने त्यसको अर्थ झरना रहेछ ।
गाडी अघि बढ्दै गर्दा टाढैबाट एउटा सेतो पानीको छाँगो देखिन थाल्यो । जब हामी झरनाको नजिक पुग्यौँ, त्यसको भव्यताले हामी केही क्षण निःशब्द भयौँ । माथिबाट तल झर्दा उठ्ने कुहिरोजस्तो फुस्रो बाफ हावामा फैलिएको थियो, जसले वरिपरिको वातावरणलाई अझै रहस्यमय बनाइदिएको थियो ।
त्यो झरनाको सबैभन्दा ठूलो आकर्षण भनेको यसको अनौठो बनोट हो—झरनाको पछाडिबाट नै घुमेर परिक्रमा गर्न मिल्ने । जब हामी ओसिलो बाटो हुँदै झरनाको भित्री भागतिर पस्यौँ, त्यहाँको संसार बिल्कुलै फरक थियो । माथिबाट खसिरहेको पानीको विशाल पर्दा र त्यसबाट उछिट्टिने मसिना कणहरूले गर्दा केही क्षणमै हामी पानीले लुथ्रुक्कै भिज्यौँ । जाडो महिना भए तापनि त्यो प्राकृतिक स्नानमा एउटा छुट्टै आनन्द थियो ।
त्यसपछि हाम्रो पाइला स्कुगाफोस (Skógafoss) तर्फ मोडियो । यो झरना सेल्याल्यान्ड्सफोस भन्दा अझ शक्तिशाली र गर्जनपूर्ण लाग्यो । टाढैबाटै यसको आवाज सुनिन्थ्यो, र नजिकिँदै जाँदा पहाडको टुप्पोबाट सेतो पर्दाझैँ खसिरहेको पानी अझै विशाल देखिन्थ्यो । फेदमा पुग्दा बाफले उडाएका पानीका मसिना कणहरूले केही क्षणमै हामीलाई फेरि हल्का भिजाइदिए ।
झरनाको ठीक अगाडि उभिएर माथितिर हेर्दा दृश्य अझै मोहक लाग्थ्यो । सूर्यका मधुर किरणहरू पानीका सूक्ष्म कणहरूमा ठोक्किएर हावामै एउटा सुन्दर इन्द्रेणी कोरिरहेका थिए । त्यो इन्द्रेणी कहिले स्पष्ट देखिन्थ्यो, कहिले पानीको बाफमा हराउँथ्यो । लाग्थ्यो—मानौँ त्यो इन्द्रेणीले हामीसँग लुकामारी खेलिरहेको हो ।
पानीका फोहोराको त्यो गर्जनभित्र पनि एउटा गहिरो शान्ति लुकेको थियो । आवाज ठूलो थियो, तर मनभित्र भने अचम्मको निस्तब्धता फैलिएको जस्तो लाग्थ्यो । लुगाहरू भिजे, चिसो हावाले गाला टोक्यो, तर ती साना असुविधाहरू त्यहीँ हराए—किनकि त्यस क्षणले दिएको मानसिक शान्ति र ऊर्जा शब्दमा वर्णन गर्न गाह्रो थियो ।
झरनाको त्यो सामीप्य, वरिपरि घुमिरहेका पर्यटकहरूको चहलपहल, र भुइँमा खस्ने पानीको निरन्तर संगीत—यी सबै मिलेर हाम्रो आइसल्यान्ड यात्रालाई एउटा स्वर्णिम स्मृतिमा रूपान्तरण गरिरहेका थिए । हावामा पानीका सूक्ष्म कणहरू तैरिरहेका थिए, मानिसहरू उत्साहका साथ फोटो खिचिरहेका थिए, र झरना आफ्नै लयमा निरन्तर गाइरहेको थियो ।
जब हामी पार्किङतर्फ फर्किंदै थियौँ, मैले एकपटक पछाडि फर्केर हेरेँ । ती झरनाहरू अझै उस्तै लयमा झरिरहेका थिए । केही पर्यटकहरू तलबाट मात्र होइन, चट्टानको माथिबाट पनि छहरा हेर्न उकालो चढिरहेका थिए ।
हाम्रो अर्को विसौनी थियो—रेयनिस्फ्यारा (Reynisfjara) । आइसल्यान्डका अनेकौँ अद्भुत ठाउँहरूमध्ये पनि यो समुद्री तट बिल्कुलै फरक, लगभग रहस्यमय लाग्ने ठाउँ हो । संसारका धेरै समुद्री तटहरूमा बालुवा सुनौलो वा सेतो हुन्छ, तर यहाँ दृश्य एकदमै भिन्न थियो—समुद्रको किनारभरि फैलिएको बालुवा कोइलाजस्तै गाढा कालो देखिन्थ्यो ।
तटको छेउमा ठिङ्ग उभिएका ती बसाल्ट कोलम (Basalt Columns) हरू देख्दा आँखा नै तिल्मिलाए । लाग्थ्यो, कुनै सिद्धहस्त मूर्तिकारले हजारौँ वर्ष लगाएर यी ढुङ्गाका खम्बाहरूलाई आकार दिएका हुन् । ती षट्कोणात्मक पत्थरका खम्बाहरू प्रकृतिको इन्जिनियरिङका उत्कृष्ट नमूना थिए ।
त्यहाँ पर्यटकहरूको यस्तो भिड थियो कि मानौँ कुनै चलचित्रको छायाङ्कन भइरहेको हो । कोही ती खम्बाहरूमा चढेर तस्वीर खिच्न व्यस्त थिए, भने कोही प्रकृतिको यो अद्भुत रचनालाई मुकदर्शक बनेर नियालिरहेका थिए ।
त्यहाँबाट पाँच मिनेटको दूरीमा भिक् (Vik) भन्ने बजार देखियो । डाँडाको टुप्पोमा रहेको सानो रातो छाना भएको चर्च टाढैबाट देखिन्थ्यो । लाग्थ्यो, त्यो चर्चले वर्षौंदेखि समुद्रको गर्जन र लाभाको इतिहासलाई नजिकबाट नियालिरहेको छ ।
आइसल्यान्डको प्रकृति जति स्पष्ट र विशाल छ, त्यहाँका मानिसहरूबाट पाइने निर्देशन भने कहिलेकाहीँ त्यति नै अल्मल्याउने खालका हुँदा रहेछन् । बाटोको त्यो कठिन मोडमा जब हामी अलि अन्योलमा परेका थियौँ, सहयोगको आशामा एकजना स्थानीयलाई सोध्यौँ । तर विडम्बना, उनले दिएको निर्देशन गलत निस्कियो, जसले गर्दा हामी केही बेर थप अलमलमा पर्यौं ।
अस्ति एअरपोर्टमा ओर्लिंदा पनि यस्तै अनुभव भएको थियो । त्यहाँ पनि कसैले स्पष्ट दिशा दिन सकेको थिएन । प्रकृतिको सुन्दरताले मन लोभ्याइरहँदा यस्ता सानातिना मानवीय कमजोरीहरूले यात्रालाई कहिलेकाहीँ चुनौतीपूर्ण तर झन् अविस्मरणीय बनाइदिँदा रहेछन् ।
दिन ढल्किन थालेपछि घर फर्कने योजना बन्यो । बाटोमा हामी ‘एड्भेन्चर ल्याण्ड’ (Adventure Land) भनिने ठाउँमा केही बेर रोकियौँ । त्यो ठाउँको दृश्य निकै अनौठो थियो । हाम्रो अगाडि बालुवा र गिटीले ढाकिएको एउटा विशाल फाँट फैलिएको थियो, जसको अन्त्य नै छैन जस्तो लाग्थ्यो ।
कोही विशेष प्रकारका बसहरूमा चढेर, त कोही पैदलै त्यो विशाल मरुभूमि जस्तो देखिने फाँटतर्फ अघि बढिरहेका थिए । लाग्थ्यो—त्यो बालुवाको साम्राज्यभित्र कुनै लुकेको रहस्य छ, जसलाई खोज्न ती यात्रुहरू उत्सुक छन् । हामी भने केही बेर त्यहाँको वातावरण नियालेर, अरूको उत्साह हेर्दै त्यहीँबाट फर्कियौँ ।
फर्किँदा पनि जाँदा जस्तै बाटोको दुवैपट्टि जताततै ज्वालामुखी पहाडहरू देखिन्थे । साना गाउँहरू पनि देखिन्थे । बाहिरबाट शान्त देखिने ती पहाडहरूभित्र भने पृथ्वीको आदिम ऊर्जा अझै उम्लिरहेको हुँदो रहेछ ।
बाटोको दुवैतर्फ भेडाका थुप्रै झुन्डहरू पनि देखिए । हरिया मैदान, पहाडका काख र खुला फाँटहरूमा उनीहरू निस्फिक्री चरिरहेका थिए । त्यसबेला थाहा भयो—करिब चार लाख जनसंख्या भएको आइसल्यान्डमा भेडाको संख्या भने आठ लाख रहेछ । त्यसैले आइसल्यान्डको ग्रामीण दृश्य भेडाबिना कल्पना गर्नै नसकिने रहेछ; मानौँ ती भेडाहरू नै यस देशको प्राकृतिक परिदृश्यका अविभाज्य अङ्ग हुन् ।
बाटोमा मेधावीले एउटा चट्टानतिर औँला देखाउँदै भनिन्, “यहाँका केही ढुङ्गाहरूको विशेष महत्त्व रहेछ ।” उनले पढेका कथाअनुसार चट्टान, पहाड र कन्दराहरूमा ‘लुकेका मानिसहरू’ (Huldufólk) अदृश्य प्राणीका रूपमा बस्छन् भन्ने विश्वास गरिन्छ । यी आख्यानहरू आजसम्म आइसल्यान्डको सांस्कृतिक चेतनामा गहिरो रूपमा जीवित छन् ।
धेरै मानिसहरूले ती लुकेका प्राणीहरूको अस्तित्वलाई स्पष्ट रूपमा स्वीकार नगरे पनि उनीहरूको सम्मान गर्छन् । विकास–निर्माणका क्रममा समेत त्यसको प्रभाव कहिलेकाहीँ देखिन्छ । उदाहरणका लागि कतैकतै सडक ढुङ्गालाई तर्काएर घुमाइएको छ । नक्सामा देखिने त्यो सानो वक्र र बाटोको छेउमा उभिएको पुरानो चट्टानले आज पनि ती अदृश्य बासिन्दाहरूको मौन उपस्थितिलाई झल्काइरहेको जस्तो लाग्छ ।
फर्कने क्रममा हामी पुनः त्यही हिउँले ढाकिएको बाटोमा आइपुग्यौँ, जसले जाँदाखेरि हामीलाई निकै तर्साएको थियो । मनमा अझै एउटा सानो डर थियो—कतै फेरि गाडी चिप्लने त होइन ? कतै बाटोमै अलपत्र परिने त होइन ? तर जाँदाको तुलनामा फर्कँदाको बाटो भने निकै सजिलो महसूस भयो ।
हामीले सुरक्षित रूपमा त्यो खण्ड पार गर्यौँ । तर केही समयपछि थाहा भयो—हामीले भर्खरै पार गरेको त्यही क्षेत्रमा भीषण हिमपात र चिप्लो बाटोका कारण करिब २५–३० वटा गाडीहरू घण्टौँसम्म रोकिएछन् । यदि हामी केही मिनेट मात्र ढिलो भएका भए, हामी पनि त्यही हिउँको थुप्रोमा थुनिन सक्थ्यौँ । भाग्यले साथ दियो र हामी बेलैमा घर आइपुग्यौँ ।
घरमा आएर चिया खाँदै गर्दा हामीमध्ये कसैले झ्याल खोलेको रहेछ । शायद अलिअलि चिसो र ताजा हावा लिन । अहिले हिउँदको मौसम थियो, तर यहाँ गर्मी महिनामा पनि लामखुट्टेको गुनगुन वा कमिलाको लस्कर भेटिँदैन रहेछ । कठोर हावापानी र विशिष्ट भूगोलका कारण संसारका थोरै भूभागमध्ये आइसल्यान्ड पनि एक हो, जहाँ यी साना कीटहरूले स्थायी बसोबास गर्न सकेका छैनन् ।
त्यो रात पनि हामी नर्दर्न लाइट्स हेर्न निस्कियौँ । नर्दर्न लाइट्स देख्नु हाम्रो त्यस आइसल्यान्ड यात्राको मुख्य उद्देश्य र सबैभन्दा ठूलो सपना थियो । तर अफसोस—त्यो रात पनि आकाशले आफ्नो रहस्य खोलेन, र हामी फेरि एकपटक रित्तो हात फर्कियौँ ।
फर्किंदा सहरको निस्पन्द रातमा गल्लीहरूमा निडर पाइला राख्ने मानिसहरू र निहत्था प्रहरीहरू देख्दा शान्ति र सुरक्षाको गहिरो अनुभूति भयो । त्यसैगरी, नेटोको सदस्यता भए तापनि आइसल्यान्डसँग आफ्नै स्थायी सेना छैन भन्ने कुरा सुन्दा पनि एउटा अनौठो शान्तिको अनुभूति भयो ।
* * *
यात्राको छैटौँ दिन भने हामीले प्रकृतिका विशाल दृश्यहरूबाट केहीबेर विश्राम लिएर सहरको जनजीवन र यसको कलात्मक पक्षलाई नजिकबाट नियाल्ने योजना बनायौँ । गाडीका पाङ्ग्राले आराम पाए, जुत्ताको काम आयो ।
त्यो दिन हामी घरबाट अलि ढिलो निस्कियौँ । लन्च खाने बेला भइसकेको हुनाले पैदलै ‘आइसल्यान्डिक स्ट्रिट फुड’ नामक प्रसिद्ध पसलतिर लाग्यौँ ।
बाटोमा हाम्रो पाइला प्रसिद्ध रेनबो स्ट्रिट मा पुग्यो । त्यो सडकमा इन्द्रेणीका सातै रङहरू यसरी फैलिएका थिए कि लाग्थ्यो—आकाशको इन्द्रेणी थाकेर धर्तीमा ओर्लिएर यहीँ सुस्ताइरहेको छ । सडकका दुवैतिर कलात्मक पसलहरू र कफीको सुगन्ध फैलाउने क्याफेहरू थिए । विभिन्न देशका पर्यटकहरूको चहलपहलले वातावरणलाई अझ जीवन्त बनाइरहेको थियो ।
रेस्टुरेन्ट पत्ता लगाउन गाह्रो भएन । जब हामी भित्र छिर्यौं, भित्तामा झुन्डिएका पुराना तस्वीरहरू र घरेलु सजावटले हामीलाई कुनै आधुनिक होटलमा होइन, बरु एउटा पुरानो आइसल्यान्डिक घरमा आइपुगेजस्तो अनुभूति दिलायो ।
हामीले त्यहाँको विशेष परिकार—‘ब्रेड बाउल’ (Bread Bowl) मा पस्किएको तातो सुप खायौँ । ठूलो गोलो पाउरोटीको भित्री भाग निकालेर त्यसलाई कचौराजस्तै बनाइएको थियो, र त्यसमा माछा (Traditional Icelandic Fish Stew) वा भेडाको मासुको सुप भरिएको थियो । म धेरैजसो साकाहारी भए पनि त्यो दिन भेडाको सुप रोजेँ । सुपले भिजेको पाउरोटीको भित्तालाई खुर्केर खाँदाको आनन्द बयान गरिसाध्य थिएन ।
त्यसमा सुप सित्तैमा थपिदिने (Free Refills) व्यवस्था पनि रहेछ । त्यहाँको आत्मीय सेवा र साधारण तर तृप्त पार्ने खानाले हाम्रो त्यो दिनको ‘सिटी वाक’ लाई अझ यादगार बनाइदियो ।
मेधावीले उनलाई र मलाई सानो–सानो टुक्रा माछा पनि लिएर आइन् । त्यो थियो ह्युकार्ल (Hákarl) भनेर चिनिने माछा । आइसल्यान्ड आएपछि यहाँको सबैभन्दा ‘विवादास्पद’ खाना (फर्मेन्टेड शार्क) नचाखी फर्कनु भनेको एउटा अधूरो अनुभव जस्तै मानिन्छ ।
सानो टुक्रा शार्कलाई टुथपिकले उठाएर खानुअघि मैले एक पटक लामो सास फेरेँ । मुखतिर लैजाने बित्तिकै अमोनियाको यति कडा गन्ध आयो कि एकैछिन त सासै रोकिएला जस्तो भयो । मुखमा राख्नेबित्तिकै त्यो गन्ध झन् तीव्र भयो । शार्कको स्वाद चाम्रो र नुनिलो लाग्यो ।
त्यो माछालाई महिनौँसम्म जमिनमुनि गाडेर र त्यसपछि धुवाँमा सुकाएर तयार पारिने रहेछ । त्यो केवल खाना मात्र थिएन; त्यो त आइसल्यान्डका पुर्खाहरूले कठिन परिस्थितिमा जीवित रहन सिकेको एउटा पुरानो कलाको अवशेष थियो ।
सुनेअनुसार काँचो शार्क खानु घातक हुन सक्छ भन्ने कुरा स्थानीय विश्वास मात्र होइन, वैज्ञानिक तथ्य पनि रहेछ । मेधावीले भनिन्,
“उनीहरूले त्यो अमूल्य पाठ कसरी र कस्तो मूल्य चुकाएर सिके होलान्?”
यो शार्कको कडा स्वाद मेटाउन स्थानीय ‘ब्रेनिविन’ (Brennivín) भनिने कडा रक्सी—जसलाई ‘Black Death’ पनि भनिन्छ—को एक शट अनिवार्य मानिन्छ, तर त्यो दिन हामीसँग त्यो सुविधा थिएन ।
* * *
हाम्रो अर्को स्टप थियो ब्यारिन्स पिन्सर (Bæjarins Beztu Pylsur) । संसारकै प्रसिद्ध ‘हट डग’ स्टलमध्ये एकमा नगई रेक्याभिकको यात्रा अधुरो मानिन्छ । भनिन्छ, यहाँ बिल क्लिन्टनदेखि ठूला सेलिब्रेटीहरूसम्मले लाइनमा बसेर हट डग खाएका छन् ।
हामी लाइनमा उभिरहेका थियौँ । त्यत्तिकैमा एकजना अधबैँसे महिला लाइन मिच्दै अगाडि बढिन् । हामीले एक–अर्काको अनुहार हेर्यौं, तर केही भनेनौँ ।
उनले आफ्नो हट डग लिइन् र कसैसँग आँखा जुधाउन नचाहेजस्तो गरी चुपचाप आफ्नो बाटो लागिन् । हाम्रो पालो आएपछि काउन्टरकी महिला कर्मचारीले भनिन्, “उनी होमलेस हुन्, आज तेस्रो पटक आएकी हुन् ।”
त्यो क्षणमा त्यो प्रसिद्ध हट डग स्टल केवल पर्यटकहरूको गन्तव्य मात्र होइन, सहरको एउटा सानो मानवीय कथाको साक्षी जस्तो पनि लाग्यो ।
* * *
त्यसपछि हामी रेक्याभिकको आधुनिक पहिचान र कलात्मक उचाइलाई बुझ्न हार्पा कन्सर्ट हल र कन्फरेन्स सेन्टर (Harpa Concert Hall) तर्फ लाग्यौँ ।
समुद्रको किनारमा अवस्थित सिसाको एउटा विशाल र चम्किलो संरचनाले हामीलाई स्वागत गर्यो । हार्पाको सबैभन्दा ठूलो विशेषता यसको बाहिरी बनावट हो—यो भवन हजारौँ बहुभुज आकारका सिसाका टुक्राहरूले बनेको छ । आइसल्यान्डका बसाल्ट चट्टान (Basalt Columns) को संरचनाबाट प्रेरित यो भवनले दिनको उज्यालोमा आकाश र समुद्रको रङलाई परावर्तन गर्छ ।
घामका किरणहरू ती सिसामा ठोक्किँदा भवन नै एउटा जीवित कलाकृति जस्तै चम्किरहेको देखिन्थ्यो ।
बाहिरको समुद्रको नीलोपन र भित्रको उज्यालोको लुकामारीले हार्पालाई एउटा पारदर्शी दरबार जस्तो बनाएको छ । त्यहाँ उभिँदा लाग्छ—मानौँ हामी कुनै विशाल हिउँको ढिक्का (Iceberg) भित्र छौँ, जहाँबाट संसार अझै कलात्मक देखिन्छ ।
हार्पा भवनको आधुनिक वास्तुकलाबाट बाहिर निस्किएपछि हामी समुद्रको किनारै–किनार टहल्न लाग्यौँ । उत्तरी एटलान्टिक महासागरको त्यो किनारा शान्त त थियो, तर त्यहाँ बहने हावा निकै चिसो र ठिङ्ग्रिने खालको थियो ।
केहीबेर हिँडेपछि हामी एउटा यस्तो बिन्दुमा पुग्यौँ, जहाँ रेक्याभिकको एउटा महत्त्वपूर्ण चिनो ठिङ्ग उभिएको थियो—सन भोयजर (Sólfar) ।
यो स्टिलले बनेको विशाल मूर्तिकला हो, जसले प्राचीन भाइकिङहरूको सपनाको डुङ्गालाई झल्काउँछ । समुद्रतिर फर्किएको त्यो चम्किलो ‘भाइकिङ डुङ्गा’ को पृष्ठभूमिमा आकाश र टाढाका हिउँचुचुराहरू निकै मोहक देखिन्थे । हामीले त्यहाँ पनि केही तस्बिरहरू खिच्यौँ ।
कठ्याङ्ग्रिदो जाडो र शक्तिशाली हावाको बीचमा त्यो धातुको डुङ्गाको छेउमा उभिँदा लाग्यो—हामी पनि त एउटा आधुनिक यात्राका भाइकिङ हौँ, जो नयाँ भूगोल र नयाँ अनुभवहरूको खोजीमा यहाँसम्म आइपुगेका छौँ ।
त्यहाँ केहीबेर रमाएपछि हाम्रा पाइला सहरका व्यस्त पसलहरूतिर मोडिए । यात्राको अन्त्यतिर गरिने ‘सपिङ’ केवल सामानको खरिद मात्र होइन; बरु त्यो देशको सुगन्ध र सम्झनालाई पोको पारेर घर लैजाने एउटा प्रयास पनि हो ।
‘लाउगावेगुर’ (Laugavegur) सडकका पसलहरूले जो कोहीलाई लोभ्याउँछन् । त्यहाँ आइसल्यान्डको पहिचान बोकेको ‘लोपापेसा’ (Lopapeysa) अर्थात् भेडाको ऊनबाट बनेका स्वेटरहरू जताततै देखिन्थे । ती स्वेटरका बुट्टाहरूमा यहाँको संस्कृति र जाडो काट्ने रैथाने शैली झल्किन्थ्यो ।
त्यो बाहेक ज्वालामुखीको कालो पत्थर (Lava Stone) बाट बनेका माला र हातमा लगाउने ब्रासलेटहरू पनि निकै आकर्षक थिए । हामीले पनि केही उपहार र सम्झनाका सामग्रीहरू किन्यौँ ।
झोलाहरू भरिँदै गए, तर मन भने अझै अघाएको थिएन ।
त्यही क्रममा हामी एउटा यस्तो पसलमा छिर्यौं, जहाँको माहोल व्यापारिक मात्र नभई निकै आत्मीय थियो । पसलमा हामीबाहेक अरू ग्राहक नभएकाले पसलेसँग केही बेर घतलाग्दो गफगाफ भयो ।
कुराकानीकै क्रममा उनले रेक्याभिकमै बस्ने एकजना नेपालीबारे सुनाइन् । ती नेपालीले आफ्नै घरबाट पस्मिनाका सलहरू र अन्य नेपाली सामानहरू बेच्ने गरेको थाहा पाउँदा संसारभर आफ्नो देशको सुगन्ध पुगेको महसुस भयो ।
हामी नाति जोरानका लागि एउटा टि-शर्ट हेर्दै थियौँ । पसलेले मलाई नियालेर सोधिन्— “के तपाईं नेपालको दक्षिणी भागबाट आउनुभएको हो ?”
शायद मैले लगाएको बाक्लो लुगा वा मेरो स्वरूपले उनलाई त्यस्तो अनुमान गर्न प्रेरित गर्यो होला । उनले आफ्नो जन्म त्यहीँ आइसल्यान्डमा भएको बताइन् । उनको नाम निकै मौलिक थियो—मैले पहिले कहिल्यै नसुनेको, र पछि सम्झन पनि नसकेको ।
आइसल्यान्डको नामकरण शैली संसारका अन्य धेरै देशभन्दा बिल्कुलै फरक र रोचक छ । यहाँ धेरैजसो मानिसहरूको ‘पारिवारिक थर’ (Surname) हुँदैन । यसको सट्टा उनीहरूले बुबाको नाममा आधारित (‘Patronymic’) वा कहिलेकाहीँ आमाको नाममा आधारित (‘Matronymic’) प्रणाली प्रयोग गर्छन् ।
यहाँ थर बनाउँदा बुबाको नाममा छोरा भए –son र छोरी भए –dóttir थपिन्छ ।
* * *
बेलुकाको खाना खान हामी ‘हिमालयन स्पाइस’ रेस्टुरेन्ट गयौँ । त्यो भोजन मेरो जीवनकै सबैभन्दा महँगो नेपाली खानामध्ये एक बन्यो ।
भलै पर्स अलि खाली भयो, तर आइसल्यान्ड जस्तो महँगो देशको मुटुमा बसेर आफ्नै देशको स्वाद चाख्नु र नेपाली समुदायको हालखबर बुझ्नुको एउटा छुट्टै अर्थ थियो । त्यो अनुभवले मलाई सिकाएको कुरा थियो—संस्कृति सधैँ मिठो मात्र हुँदैन; कहिलेकाहीँ यो निकै महँगो र स्मरणीय पनि हुन्छ ।
रेस्टुरेन्टका सञ्चालक र कर्मचारीहरू निकै भद्र र सहयोगी थिए । उनीहरूको न्यानो बोली र मुस्कानले त्यो ६० डलरको थालीको तितोपनलाई अलि कम गरिदियो ।
कुराकानीकै क्रममा उनीहरूले एउटा रोचक जानकारी दिए—रेक्याभिक सहरमा करिब १०० देखि २०० जना नेपालीहरू बसोबास गर्छन् ।
हात भरिएका झोला र थाकेका खुट्टा लिएर हामी घर फर्कियौँ ।
* * *
छैटौँ र अन्तिम रातसम्म पनि आकाशमा कुनै हलचल नदेखिँदा हाम्रो धैर्यताको बाँध बिस्तारै टुट्न थालेको थियो । हरेक रात हामी फोनका ‘अरोरा’ एपमा देखिने ग्राफ र रङहरूलाई कुनै ज्योतिषीले चिना हेरेझैँ ध्यान दिएर नियाल्थ्यौँ ।
प्रकृतिको यो विरोधाभास पनि कस्तो—पहिलो रात, जब हामीले वास्ता गरेनौँ, ऊ खुलेर नाच्यो; तर जब हामी उसलाई हेर्न व्यग्रताका साथ पर्खियौँ, उसलाई नृत्य गर्न मन लागेन ।
ती छ रातहरूले हामीलाई एउटा कुरा स्पष्ट बुझाए—
हामी जतिसुकै टाढाबाट आए पनि, र जतिसुकै आधुनिक प्रविधि हातमा लिएर तयार भए पनि, प्रकृतिले आफ्नो जादु तब मात्र देखाउँछ जब उसको आफ्नै मर्जी हुन्छ ।
* * *
अन्तिम दिन । आइसल्यान्डबाट बिदा हुने दिन आइपुग्यो । तर प्रकृतिले हामीलाई सजिलै जान दिने मुडमा थिएन ।
बिहानै आँखा खुल्दा बाहिर भीषण हिमपात सुरु भइसकेको थियो । सायद यो नै आइसल्यान्डको आफ्नै शैलीको ‘ह्वाइट कार्पेट’ बिदाइ थियो । आकाशबाट खसिरहेका ती सेता भुवाहरूले सारा सहरलाई एउटा रहस्यमयी र सुन्दर बर्कोले ढाकिदिएका थिए ।
मौसमले खासै साथ नदिए पनि एयरपोर्ट जानुअघि एयरपोर्ट नजिकै रहेको दुई महादेश बीचको पुल (Bridge Between Continents) छुटाउन हामीले चाहेनौँ । बाटोमा हिउँ भए पनि चिप्लो थिएन, न त उकालो–ओरालो नै कठिन थियो । केही समयमै हामी त्यहाँ पुग्यौँ ।
यो पुलले उत्तर अमेरिकी र युरेसियन टेक्टोनिक प्लेटहरूलाई जोड्छ । एउटा महादेशबाट अर्को महादेशमा पैदलै हिँड्नुको त्यो अनुभव भावनात्मक रूपमा निकै अर्थपूर्ण लाग्यो । प्रकृतिको अन्तिम स्पर्शझैँ हिमपातका बीचमा त्यो फलामे पुलमा उभिँदा हावाले उडाएको हिउँले हाम्रो अनुहार छोइरहेको थियो । लाग्थ्यो—आइसल्यान्डले आफ्नो चिसो तर न्यानो सम्झना हाम्रो मनमा अमेट गरी कोर्न खोज्दैछ ।
पुलको अवलोकनपछि हामीले आफ्नो भरपर्दो सहयात्री—भाडाको गाडी—फिर्ता गर्यौँ । छ दिनसम्म आइसल्यान्डका चिप्ला र घुमाउरा बाटोहरूमा हामीलाई सुरक्षित राखेकोमा त्यो गाडीप्रति पनि एउटा अनौठो कृतज्ञता भाव जाग्यो ।
अन्ततः, एयरपोर्टको झ्यालबाट बाहिर फैलिएको त्यो सेतो संसारलाई अन्तिम पटक हेर्दै हामी घर फर्कियौँ ।

