साहित्यपोस्ट डट कम

आइसल्यान्ड: आगो, बरफ र पौराणिक रहस्यको देश

आइसल्यान्ड: आगो, बरफ र पौराणिक रहस्यको देश

सन् २०१० को एक रात, लन्डनको कोलाहल पछाडि छाडेर म एटलान्टिक महासागरमाथि बोइङ ७७७ मा नर्वेतर्फ उडिरहेको थिएँ ।

अचानक ककपिटबाट एउटा उत्साहले भरिएको आवाज गुञ्जियो—

“लेडिज एन्ड जेन्टलमेन, म क्याप्टेन बोल्दैछु । कृपया आफ्नो देब्रेतर्फको झ्यालबाहिर हेर्नुहोस्, नर्दर्न लाइट्स आकाशमा नाचिरहेका देखिन्छन् ।”

म लगायत अनेकौँ उत्सुक आँखाहरू देब्रेतर्फका झ्यालहरूतिर झुम्मिन पुग्यौँ । क्षितिजको कालो क्यानभासमा प्रकाशको रङहरूको जादुमय खेल चलिरहेको थियो । फोटो र भिडियोका रङ्गीन पर्दाहरूमा देखिएझैँ त्यो दृश्य अत्यन्तै चम्किलो वा गाढा थिएन, तर शून्यतामा खेलिरहेको त्यो रहस्यमय प्रकाशले मनमा अमिट छाप छोडिदियो । त्यही क्षण मनमा एउटा इच्छा उठ्यो—कुनै दिन धर्तीमै उभिएर ‘नर्दर्न लाइट्स’ लाई नजिकबाट हेर्ने ।

समयले फट्को मारिसकेको थियो । सन् २०२६ सुरु हुनासाथ फेब्रुअरी २१ मा छोरा आश्वतको जन्मदिन कहाँ मनाउने भन्नेबारे घरमा चर्चा चल्न थाल्यो । सूर्यको ११ वर्षे चक्र ‘सोलार म्याक्सिमम’ सन् २०२४/२५ मा आफ्नो उत्कर्ष पार गरेर ओरालो लाग्दै गरेको भए तापनि, यो वर्ष सुदूर उत्तरको आकाशमा रङहरूको जादुमय नृत्य देखिने सम्भावना अझै प्रबल रहेछ । त्यसैले हामीले ‘एक काज दुई पन्थ’ भन्दै आइसल्यान्ड जाने निर्णय गर्‍यौँ ।

हवाई टिकट र ‘एयरबिएनबी’ (Airbnb) को बुकिङ सुरक्षित गर्‍यौँ । जाने दिन पनि आइसकेको थियो ।

आजभोलि ‘बजेट ट्राभल’ को जमानाले यात्राको परिभाषा नै फेरिदिएको छ । आइसल्यान्ड एयरको काउन्टरमा पुगेपछि थाहा भयो—त्यो अन्तर्राष्ट्रिय उडानमा एउटा झोला चेक–इन गर्न खल्ती नै रित्त्याउनुपर्ने रहेछ । त्यही बेला केही महिना अघिको दुई घण्टे उडान सम्झेँ, जहाँ तिर्खा मेटाउन एक गिलास पानी माग्दा ‘क्रेडिट कार्ड’ घोट्नु परेको थियो ।

खैर, जे होस्—निलो आकाशमाथि उड्नासाथ भौतिक विषयहरू आफैँ ओझेल परे । मेरा आँखा र मन केवल आइसल्यान्डको रहस्यमय क्षितिजलाई पहिलोपटक देख्ने प्रतीक्षामा डुबिरहेका थिए ।

बोइङ ७७७ ले एकाबिहानै केफलाभिक (Keflavík) अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालिदियो । बाहिर निस्कनेबित्तिकै माइनस तीन डिग्री सेल्सियसको ठिहीले पहिलो अभिवादन गर्‍यो । तीन खाप लुगा लगाएको भए तापनि, बाहिर निस्कनेबित्तिकै आइसल्यान्डको त्यो चिसो सिरेटोले अनुहारमा सुई रोपेजस्तो लाग्यो ।

आइसल्यान्डसँगको हाम्रो साइनो यो पटक मात्र जोडिएको थिएन । सन् २०२० मार्च २३ मा सपरिवार जाने सबै तयारी पूरा भइसकेको थियो—टिकट हातमा, उत्साह चरममा । तर त्यही बेला कोभिड-१९ ले संसार ठप्प पार्‍यो, सिमानाहरू बन्द भए, र हाम्रो यात्रा घरकै चार भित्ताभित्र थन्कियो । टिकटको पैसा फिर्ता आयो, तर आइसल्यान्ड पुग्ने चाहना अधुरै रह्यो ।

छ वर्षपछि आइसल्यान्डमा पाइला टेक्दा कोभिडको याद आइरह्यो । सायद त्यसैले होला, यो पटकको यात्रा हाम्रा लागि केवल घुमफिर मात्र थिएन; यो कोभिडले खोसेको अवसरको पुनर्प्राप्ति र समयमाथिको सानो विजय पनि थियो ।

केफलाभिक विमानस्थलदेखि रेक्याभिकको ‘डाउनटाउन’ सम्मको ट्याक्सी भाडा अत्यधिक महँगो रहेछ । यसको खर्च नारिता विमानस्थलबाट टोकियो पुग्दा तिर्नुपर्ने भाडाभन्दा कम रहेन । बरु नारितामा द्रुतगतिको रेलसेवा छ; यहाँ त्यो सुविधा छैन ।

महँगो ट्याक्सी र आइसल्यान्डको भूगोललाई नजिकबाट नियाल्न आफ्नै साधन अनिवार्यजस्तै लाग्यो । हिउँदको मौसम भएकाले अलि महँगो परे पनि हामीले ‘फोर-ह्विल ड्राइभ’ गाडी रोज्यौँ । गाडीमा श्रीमती तेजस्वी, छोरा आश्वत, डेभन र म थियौँ । छोरी मेधावी थाइल्याण्डबाट दिउँसो तीन बजे आइपुग्ने भएकी थिइन्—त्यसैले हाम्रो यात्रामा उनको प्रतीक्षाको सानो रिक्तता थियो ।

गाडीका पाङ्ग्रा गुड्न थाले, तर बाहिरको दृश्य देख्दा हाम्रो मनमा रमाइलो विरोधाभास उब्जियो । नेपालीमा उखान छ नि—‘जुन गोरुको सिङ छैन, उसको नाम तिखे ।’ हो, आइसल्यान्डको नाम र यहाँको धरातल ठ्याक्कै त्यस्तै लाग्यो । जुन देशमा ‘आइस’ (हिउँ) देखिँदैन, त्यसको नाम ‘आइसल्यान्ड’! क्षितिजसम्म फैलिएका काला लाभाका चट्टान र फुस्रो धर्ती हेर्दा त्यो नामले कता-कता जिस्काइरहेको जस्तो भान हुन्थ्यो ।

आश्वतले अर्को रोचक तथ्य थपे । “ग्रिनल्याण्ड पनि त त्यस्तै हो नि, होइन र? जहाँ हरियालीको नामोनिसान छैन, चारैतिर हिउँ नै हिउँ छ, त्यसको नाम चाहिँ ‘ग्रिनल्याण्ड’!”

बिहानको साढे आठ मात्र बजेको थियो, तर हामीले बुक गरेको एअरबिएनबीमा ‘चेक-इन’ गर्ने समय दिउँसो २ बजे मात्र थियो । हाम्रो हातमा काट्नुपर्ने अझै धेरै घण्टाहरू बाँकी थिए । विदेशी भूमिमा, त्यसमाथि आइसल्यान्डको कठोर ठिहीमा भारी झोला र थकित शरीर लिएर समय बिताउनु चुनौती नै थियो । तर यो समस्याको निकै सुन्दर र ‘आइसल्यान्डिक’ उपाय रहेछ—एअरपोर्ट नजिकै रहेको ‘ब्लु लगुन’ (Blue Lagoon) । धेरै यात्रुहरू एअरपोर्टबाट सोझै ब्लु लगुनतर्फ लाग्दा रहेछन् ।

हामीले पनि त्यहीँ जाने योजना बनाएर दुई दिनअघि नै बिहान नौ बजेको टिकट किनेका थियौँ । आइसल्यान्डको व्यावसायिकताको रमाइलो पक्ष यहाँ देख्न पाइयो—दिनभरिको टिकट दर एउटै नभई हरेक घण्टाको फरक-फरक दर रहेछ । जति व्यस्त समय, मूल्यको गणित पनि त्यहीअनुसार बदलिने रहेछ ।

एअरपोर्टबाट करिब बीस मिनेटको दूरी पार गरेपछि हामी ब्लु लगुन पुग्यौँ । काला ज्वालामुखी चट्टानहरूबीच त्यो ठिहिर्याउने जाडोमा थुरथुर काप्दै, हातमा स्विमिङ कस्ट्युम बोकेर गोरेटो बाटो समात्दै हामी एउटा भवनभित्र छिर्यौँ ।

एक कर्मचारीले हाम्रो हातमा ब्याण्ड बाँधिदिइन् र एकछिन पर्खिनु भनिन् ।

भित्तामा टाँसिएका फोटोहरूले इतिहास फुसफुसाइरहेका थिए । विसर्जित तातो पानी, सिलिकाले थुनिएका चट्टान, र संयोगले बनेको दुधिलो सरोवर—ब्लु लगुनको जन्मकथाले नै भन्छ, आइसल्यान्डमा दुर्घटनाले पनि सौन्दर्य जन्माउन सक्छ ।

नेशनल जियोग्राफिकले सन् २०१२ मा ब्लु लगुनलाई विश्वका पच्चिस आश्चर्यहरूमध्ये एकमा सूचीकृत गरेपछि त झन् यहाँ पर्यटकहरूको ओइरो लाग्न थाल्यो ।

केही बेरमा हामी स्विमिङ कस्ट्युम लगाएर लगुनतर्फ लाग्यौँ । खुसीको कुरा, बाहिरको माइनस एक डिग्री सेल्सियसको ठिहिर्याउने चिसो खेप्नु परेन; भवनभित्रैबाट पानीमा पस्न सकिने उत्तम व्यवस्था रहेछ ।

बिस्तारै पातालको गहिराइबाट निस्किएको खनिजयुक्त तातो पानीमा छिर्दा शरीरका हरेक कोषले त्यो न्यानोपन सोसिरहेको जस्तो लाग्थ्यो । पानीको तापक्रम करिब ३९ डिग्री सेल्सियस छ भनेर लेखिएको थियो ।

गहिरो भागतिर लाग्दै गर्दा तातो बाफको बाक्लो पर्दाले घेरिहाल्यो । वरिपरि बाफको यस्तो साम्राज्य थियो कि केही हात परको मान्छेलाई ठम्याउन पनि मुस्किल पर्थ्यो । दुधिलो पानीका कारण मैले आफ्नै खुट्टा समेत देखिनँ ।

टाउकोमा चिसो सिरेटो ठोकिन्थ्यो भने घाँटीमुनिको भाग तातो कुण्डको न्यानोपनमा आनन्दित थियो । ‘रेड-आई’ (Red-eye) उडानका कारण शरीरमा जमेका सबै थकानहरू त्यो तातो स्पर्शले निमिट्यान्न

पारिदियो । त्यो तातो पानीमा डुबिरहँदा मलाई नेपालका विभिन्न स्थानमा रहेका तातोपानीका कुण्डहरूको याद आयो ।

वरिपरि उभिएका कालो ज्वालामुखी ढुङ्गाहरू समयका पुराना साक्षीजस्ता देखिए, र झुल्कँदै गरेको घामले त्यो अनुभवलाई पृथ्वीको काखमै लुकेको कुनै पौराणिक स्नानकुण्डको रूप दियो ।

ब्रिटिश, अमेरिकी, जापानी र चिनियाँ पर्यटकहरूको भिड थियो । ठाउँ–ठाउँमा स्टाफ तैनात थिए, जो मुस्कानसहित पर्यटकहरूको फोटो खिचिदिन्थे ।

हामीले एक कर्मचारीलाई फोटो खिचिदिन भन्यौँ ।

“कहाँबाट आउनुभएको?” उनले सोधे ।

“नेपालबाट,” भनेपछि उनले रेक्याभिकको ‘हिमालयन स्पाइस’ रेस्टुरेन्ट र त्यहाँको मीठो मोमोको कुरा गरे ।

“म बेलायती हुँ, त्यसैले मलाई मोमोको स्वाद राम्ररी थाहा छ,” उनले निकै गर्विलो स्वरमा भने ।

तातो पानीको त्यो आत्मीय स्पर्शमा करिब एक घण्टा तैरिएपछि हामी बिस्तारै ‘पुल बार’ (Pool Bar) तिर लाग्यौँ । टिकटमै एउटा पेय पदार्थ सित्तैमा उपलब्ध हुने रहेछ, त्यसैले हामीले पनि चिसो जुसको आनन्द लियौँ ।

तातो पानीको सुमधुर लहरमा तैरिरहेका हामीलाई प्रकृतिको एउटा भयावह यथार्थले झस्काइदियो । अचानक लाउडस्पिकरबाट गुञ्जिएको गम्भीर चेतावनीले हाम्रो रगत नै चिसो बनाइदियो—

“ज्वालामुखी विस्फोटन हुने सम्भावना छ, साइरन बज्नेबित्तिकै निर्धारित सुरक्षा क्षेत्रतिर जानुहोला ।”

जमिनमुनि लाभा उम्लिरहेको छ, र हामी त्यसैको माथि निस्फिक्री तैरिरहेका छौँ भन्ने जान्दा जिउ सिरिङ्ग भयो ।

“बाहिर निस्कौँ होला,” तेजस्वीले भनिन् ।

तर त्रासको त्यो भुमरी धेरै बेर टिकेन । एकै छिनमा त्यहाँका कर्मचारीबाट थाहा भयो कि आइसल्यान्डको यो जीवन्त धर्तीमा यस्ता सन्देशहरू आइरहनु सामान्य प्रक्रिया रहेछ ।

मन अलि शान्त भएपछि हामीले आफ्नो त्रासलाई बिस्तारै पखाल्न ‘स्टिम रुम’ तिर पाइला सार्यौँ । त्यहाँको तातो बाफले शरीर र मन दुवैलाई अलिकति राहत दियो ।

त्यसपछि हामी लगुनको बीचमै रहेको ‘मास्क बार’ (Mask Bar) मा गयौँ । त्यहाँ राखिएका ठूला-ठूला बाल्टिनहरूबाट ‘सिलिका मड’ (Silica Mud) भनिने सेतो र कालो माटोको लेदो निकालेर एक महिला कर्मचारीले हाम्रो हातहातमा हालीदिइन् । हामीले उत्सुकताका साथ त्यो लेदो आफ्नो अनुहारमा दल्यौँ ।

मुखभरि सेतो माटो दलेर हामी सबैजना कुनै प्राचीन जनजातिका सदस्यहरूजस्तै देखियौँ । हामीलाई निर्देशन दिइएको थियो, “कम्तीमा १० मिनेटसम्म यसलाई सुक्न दिनुहोला ।”

त्यो १० मिनेटपछि जब हामीले लगुनकै तातो पानीले अनुहार धोयौँ, तब महसुस भयो—अनुहारको छाला यति नरम, मुलायम र चिल्लो भएको थियो, मानौँ हामीले कुनै महँगो ब्युटी पार्लरमा उपचार गराएका हौँ । त्यो खनिजयुक्त माटोले छालाका सारा फोहोर पखालेर एउटा छुट्टै ताजगी दिएको थियो ।

घडीले दिउँसोको साढे एघार बजाइसकेको थियो । ठ्याक्कै त्यही बेला हाम्रो ‘एअरबिएनबी’ बाट एउटा सुखद खबर आयो—हाम्रो चाँडै चेक-इन गर्ने अनुरोधलाई स्वीकार गर्दै उनीहरूले १२ बजेपछि नै चेक-इन गर्न सकिने जानकारी दिए ।

हामी पानीबाट निस्कियौँ र सोझै रेक्याभिक सहरको मुटुमा रहेको हाम्रो अस्थायी बासस्थानतर्फ लाग्यौँ ।

बाटोका नामहरू अप्ठ्यारा थिए; आइसल्यान्डिक भाषा उच्चारण गर्न गाह्रो हुने रहेछ । छोराले भने, “मैले पढे अनुसार अंग्रेजी शब्दहरूलाई जस्ताको तस्तै अँगाल्नुको सट्टा, उनीहरू आफ्नै मौलिक जडबाट नयाँ शब्दहरूको सिर्जना गर्छन् ।”

पछि बुझ्दा थाहा भयो, त्यो ‘भाषिक शुद्धीकरण’ को कडा प्रक्रिया ८०० वर्षदेखि निरन्तर चलिरहेको रहेछ ।

जब हामी निर्धारित ठेगानामा पुगेर कोठाभित्र पस्न खोज्यौँ, हामीले एउटा निकै आत्मीय र परिचित नियम भेट्यौँ । हामीलाई दिइएको निर्देशनमा स्पष्ट लेखिएको थियो—‘कृपया घरभित्र पस्नुअघि जुत्ता बाहिरै खोल्नुहोला ।’

नेपालबाट हजारौँ माइल टाढा, यो टापु देशमा पनि ठ्याक्कै नेपालकै जस्तो चलन देख्दा मलाई अचम्म लाग्यो । सायद यहाँको हिउँ र हिलोबाट घरलाई सफा राख्न यो एउटा व्यावहारिक नियम बनेको होला, तर हाम्रा लागि भने यो एउटा ‘आफ्नै घरकै जस्तो’ आत्मीय स्पर्श बन्यो ।

कोठामा छिर्नेबित्तिकै खुट्टाले तातो भुइँ भेटे । पातालको गहिराइबाट आएको न्यानोपन सिधै नसा–नसा हुँदै शरीरभरि फैलियो । ज्वालामुखीको मुखमा रहेको यो देशले पृथ्वीको भित्री तापलाई यसरी उपयोग गरेको छ कि यहाँ घर तताउनु निकै सस्तो पर्दोरहेछ । ९९ प्रतिशत ऊर्जा जलविद्युत् र भू–तापीय स्रोतबाटै प्राप्त हुने यो देशका हरेक ताता पाइलाहरूले ‘हरियो’ भविष्यको पदचाप पछ्याइरहेझैँ लाग्थ्यो ।

केही बेर आराम गरेपछि दिउँसो ३ बजे मेधावीलाई लिन तेजस्वी र म विमानस्थलतर्फ लाग्यौँ । फर्किँदा कोठा चिन्न ग्राफिटीले रङ्गिएको एउटा घरले निकै सजिलो बनायो । हामी बसेको घरको छेवैमा थुप्रै ग्राफिटीले सजिएका घरहरू थिए, तर तीमध्ये हाम्रो छिमेकीको घरको कला अलि फरक र विशेष थियो ।

अचम्मको कुरा के भने, रेक्याभिकमा घरधनीहरूले नै कलाकारहरूलाई बोलाएर आफ्ना घरका भित्तामा चित्र बनाउन लगाउँदा रहेछन् । यदि उनीहरूले त्यसो नगरे, अरू कसैले अनधिकृत रूपमा ग्राफिटीको भाषामा आफ्नो कथा लेखिदिने डर हुँदो रहेछ । त्यसैले भित्तालाई ‘कुरुप’ हुन दिनुभन्दा कलात्मक बनाउनु नै उनीहरूले श्रेयस्कर ठान्दा रहेछन् ।

आइसल्यान्ड पुगेपछिको त्यो पहिलो रात हाम्रो शरीर र मस्तिष्क दुवैले विश्राम मागेका थिए । एअरबिएनबीको न्यानो ओछ्यान भेटेपछि हामी सबैजना भकल्याक–भुकलुक सुत्यौँ । नर्दर्न लाइट्स हेर्नका लागि राति १० बजेपछि सक्रिय हुनुपर्ने थाहा हुँदाहुँदै पनि भारी निद्राले हाम्रा आँखा खोल्नै सकिएन ।

* * *

दोस्रो बिहान मेधावी र म कफी पसलको कुनामा बसेका थियौँ । छेउको टेबुलका पर्यटकहरूको मोबाइलमा हरियो–बैजनी उत्तरी उज्यालो नाचिरहेको देखियो । थाहा भयो—त्यो दृश्य हामी निदाइरहेकै बेला हाम्रै आकाशमा देखिएको रहेछ । कफीको न्यानो स्वाद एक्कासि तितो भयो । ‘हातैमा आएको अवसर गुमाइयो’ भन्ने एउटा खिन्नताले छोप्यो । तर अझै ६ रात बाँकिनै छ भनेर चित्त बुझायौँ ।

त्यसपछिका हरेक रातका लागि तयार रहन हाम्रो एउटा नयाँ ‘मिसन’ सुरु भयो । हामीले फोनमा ‘Aurora’ एप डाउनलोड गर्‍यौँ, जसले नर्दर्न लाइट्स देखिने सम्भावना (KP Index) र आकाश खुला रहने (बादल नहुने) समयको सटीक जानकारी दिन्थ्यो । सहरको उज्यालोभन्दा टाढा, कुनै अँध्यारो ठाउँबाट मात्र यो दृश्य स्पष्ट देखिने हुनाले हामीले उपयुक्त स्थानहरूको खोजी गर्न थाल्यौँ ।

जे होस्, त्यो चिसो आइसल्यान्डिक बिहानीमा हामी रेक्याभिकको मुटुमा रहेको कफी पसल ‘ब्राउथ एन्ड को’ को अनुभव लिइरहेका थियौँ । बाहिरबाट हेर्दा रङ्गीचङ्गी ‘ग्राफिटी’ ले सजिएको त्यो सानो घरभित्र हामीले त्यहाँको प्रसिद्ध ‘सिनामोन रोल’ खायौँ, साथमा थियो तात्तातो कफी ।

दिउँसोको कार्यक्रम तय भइसकेको थियो । आइसल्यान्डको यात्रामा निस्किएपछि ‘गोल्डेन सर्कल’ को भ्रमण नगर्नु भनेको यो टापुको आत्मालाई नछुई फर्कनुजस्तै हो भन्ने कुरा बारम्बार सुनेका थियौँ । त्यो सर्कलमा तीनवटा मुख्य आकर्षण भए पनि समयको ख्याल गरेर हामीले एक ठाउँ मात्र जाने निर्णय गर्‍यौँ ।

जब हाम्रो कार रेक्याभिकको सहरी कोलाहललाई पछाडि छाडेर उत्तर–पूर्वतर्फ सोझियो, तब भूगोलका पाटाहरू बिस्तारै फेरिएको महसुस भयो । क्षितिजसम्म फैलिएका लाभाका फाँटहरू र ती ढुङ्गाहरूमा हरियो रङ्गको एउटा अनौठो लेउले साम्राज्य जमाएको थियो । त्यो दृश्यले एउटा आदिम सुनसानको आभास दिन्थ्यो ।

हाम्रो गाडी थिङभेलिर (Þingvellir) राष्ट्रिय निकुञ्जको पार्किङमा रोकियो । युनेस्को विश्व सम्पदा सूचीमा परेको यो ठाउँ केवल पर्यटकीय गन्तव्य होइन, पृथ्वीको भूगोल र मानव इतिहासको जीवित दस्तावेज हो ।

गाडीबाट ओर्लिएर केही बेर हिँड्नेबित्तिकै एउटा अनौठो र भव्य दृश्यले हाम्रो स्वागत गर्‍यो । विज्ञानका किताबहरूमा पढेका ‘टेक्टोनिक प्लेट’ हरूको नृत्यलाई आफ्नै आँखा अगाडि साक्षात् देख्न पाउनु एउटा विरलै प्राप्त हुने अवसर थियो ।

हामी यस्तो विन्दुमा थियौँ, जहाँ उत्तर अमेरिका र युरेसियाका दुई विशाल टेक्टोनिक प्लेटहरू एक-अर्कासँग बिस्तारै टाढिँदै गएका छन् । त्यो दृश्य देख्दा मलाई धेरै वर्षपहिले अफ्रिकाको केन्यामा देखेको ‘ग्रेट रिफ्ट भ्याली’ को झझल्को आयो ।

ती दुई महादेशका बीचमा रहेको विशाल खोंच वा चिरा (Rift Valley), जसलाई अलमान्नाग्जा (Almannagjá) भनिन्छ, मा हिँडिरहँदा एउटा अद्भुत अनुभूति भयो । एकातिर उत्तर अमेरिकी प्लेटको अग्लो भित्ता र अर्कोतिर युरेसियाको सिमाना—ती दुईको बीचको त्यो ‘नो म्यान्स ल्यान्ड’ मा उभिएर मैले महसुस गरेँ, हामी एउटै समयमा दुईवटा विशाल महादेशहरूलाई छोइरहेका छौँ ।

यो जमिन वर्षमा करिब दुई सेन्टिमिटरका दरले आफूलाई तन्काइरहेको छ । त्यहाँ उभिँदा मलाई एउटा गहिरो सत्यको अनुभूति भयो—ठूला र अर्थपूर्ण परिवर्तनहरू सधैँ बिस्तारै हुन्छन् । हामी मानिसहरू तत्काल परिणाम खोज्छौँ, तर धर्तीले सिकाउँछ कि सुस्त र निरन्तर गतिले नै महादेश र इतिहास निर्माण गर्छ ।

हामी अलमान्नाग्जा खोंचको बीचबाट अगाडि बढ्दै गर्दा तेजस्वी, मेधावी र डेभन झन् उत्साहित देखिन्थे । फोटो र भिडियो खिच्ने क्रम जारी थियो । टिकटक पनि बने ।

हाम्रो लागि त्यो ठाउँ भूगोलको एउटा व्यावहारिक कक्षा बन्यो । ठाउँ–ठाउँमा राखिएका सूचना पाटीहरूले हामीलाई पढाउँदै लगे ।

यी चट्टानहरूको बीचमा उभिँदा लाग्थ्यो—यही भूमि हो जहाँ करिब एक हजार वर्षअघि भाइकिङहरूको पहिलो डुङ्गा किनारमा लागेको थियो । उनीहरू यस्तो कठोर भूमिमा कसरी बाँचे होला भन्ने जिज्ञासा जाग्थ्यो ।

अलमान्नाग्जाको बनावट यस्तो रहेछ कि यहाँका अग्ला चट्टानी भित्ताहरूले आवाजलाई प्रतिध्वनित गर्छन् । यही प्राकृतिक ‘साउन्ड सिस्टम’ का कारण प्राचीन समयमा यहाँका मानिसहरूले यो ठाउँलाई सभास्थलका रूपमा रोजेका थिए । वक्ताले एउटा कुनामा उभिएर बोलेको कुरा ती चट्टानमा ठोकिएर टाढासम्म स्पष्ट सुनिन्थ्यो ।

बाटोको दाहिनेपट्टिको ढिस्कोमा एउटा विशाल झन्डा फरफराइरहेको थियो । त्यो त्यही भूमि हो, जहाँ सन् ९३० मा विश्वकै पहिलो संसद् ‘अल्थिङ्गी’ (Alþingi) को स्थापना भएको थियो । जतिबेला विश्वका धेरै ठाउँमा लोकतन्त्रको नामोनिसान थिएन, आइसल्यान्डका मानिसहरूले यी विशाल चट्टानहरूलाई साक्षी राखेर न्याय र शासनका कुरा गर्थे भन्ने सुन्दा अचम्म लाग्छ ।

सुरुमा नर्वे र पछि डेनमार्कको अधीनमा रहेको यो देशले लामो संघर्ष र प्राकृतिक विपत्तिको सामना गर्दै सन् १९४४ मा पूर्ण स्वतन्त्रता प्राप्त गरी गणतन्त्र घोषणा गरेको थियो ।

त्यहाँबाट हिँड्दै एउटा सानो झरना हेर्न गयौँ । चिसोको प्रभावले झरना पूर्णतया जमेको थियो । झट्ट हेर्दा लाग्थ्यो—प्रकृतिको कुनै महान् कलाकारले बग्दै गरेको सेतो पानीलाई एकै छिनमा समय रोकेर पत्थरमा बदलिदिएको छ । हिउँका ती स्थिर आकृतिहरू कुनै काँचको दरबारका स्तम्भहरूझैँ ठिङ्ग उभिएका थिए । तर अचम्मको कुरा के थियो भने, बाहिरबाट पूर्णतया सुनसान र स्थिर देखिए पनि त्यसको भित्रभित्रै भने पानी बगेको मधुर र सुमधुर आवाज सुनिइरहेको थियो ।

झरनाको त्यो सुनौलो र जादुमयी दृश्यलाई आँखामा सजाएर हामी बिस्तारै ओरालो बाटो झर्दै थियौँ । बाटो हिउँले गर्दा निकै चिप्लो थियो । हामी सबैजना सतर्क भएर पाइला चाल्दै थियौँ, तर ठ्याक्कै त्यही बेला तेजस्वीको खुट्टा चिप्लियो र उनी थचक्कै बसिन् । भाग्यवश उनलाई कतै चोटपटक लागेन, तर उनको त्यो ‘अनायासैको अवतरण’ देख्दा हामी सबैजना पेट मिचीमिची हाँस्न थाल्यौँ । तेजस्वी आफैँ पनि पछारिएकोमा हाँसिरहेकी थिइन् । एउटा गम्भीर र ऐतिहासिक स्थलको भ्रमणको अन्त्य यसरी एउटा रमाइलो पारिवारिक ठट्टामा परिणत भयो ।

आकाश बिस्तारै गाढा नीलो र धमिलो हुँदै गइरहेको थियो । हामीले फर्किने निर्णय गर्‍यौँ, किनकि आइसल्यान्डका सडकहरू चुनौतीपूर्ण पनि हुन सक्छन् । विशेष गरी हिउँदको समयमा अँध्यारो भएपछि बाटोमा देखिने ‘ब्ल्याक आइस’ र हावाको वेगले ड्राइभिङलाई जोखिमपूर्ण बनाउन सक्छ । भरसक अँध्यारो हुनुभन्दा अगाडि नै सुरक्षित स्थानमा पुगिसक्ने र अँध्यारोमा गाडी नचलाउने सल्लाह गर्‍यौँ ।

त्यो रात पनि १० बजेपछि हामी फोनको स्क्रिन र झ्यालबाहिरको अँध्यारो आकाशलाई पालैपालो हेरिरहन्थ्यौँ । ‘अरोरा’ को सक्रियता नै न्यून भयो । तैपनि हामी सहरको सिरानमा रहेको लाइटहाउस नजिक पुगेर धेरै बेर पर्खियौँ । त्यहाँ हामीजस्तै थुप्रै मान्छेहरू आशावादी आँखाहरू लिएर कुरिरहेका थिए । अन्ततः चिसोले गल्दै र हार मान्दै हामी आफ्नो बासस्थान फर्कियौँ ।

* * *

आइसल्यान्ड यात्राको तेस्रो दिन हाम्रा लागि विशेष थियो—छोरा आश्वतको जन्मदिन । उत्सवको दिन भएकाले हामीले धेरै दौडधुप नगर्ने र सहरको फुर्सदिलो वातावरणमै रमाउने निधो गर्‍यौँ । बिहान निद्राबाट बिउँझनेबित्तिकै आश्वतले एउटा मिठो इच्छा व्यक्त गरे, “पापा, अर्गानिक कोको ड्रिंक (Hot Cocoa) खान जाने?”

छोराको त्यो सानो तर आत्मीय इच्छा पूरा गर्न हामी दुई बाबु-छोरा ‘मामाज प्लेस’ (Mama’s Place) भन्ने सानो र चिटिक्क परेको क्याफेमा गयौँ ।

कोकोको त्यो गाढा र तातो घोल घाँटी हुँदै शरीरभित्र प्रवेश गर्दा एउटा छुट्टै ऊर्जा र न्यानोपन सञ्चार भयो । हामी त्यहीँको एउटा कुनामा बसेर धेरै बेरसम्म गफगाफमा हराइरह्यौँ । एउटा बुबाका लागि आफ्नो छोराको जन्मदिनको सुन्दर बिहानीमा त्यसरी शान्त भएर उसैको रोजाइको ठाउँमा गफिन पाउनु सायद यो यात्राकै सबैभन्दा मूल्यवान् उपहार थियो ।

घर फर्किसकेपछि डिनरमा भेट्ने भनेर आश्वत र डेभन घुम्न निस्के ।

तेजस्वी, मेधावी र म पनि घुम्न निस्कियौँ । सबैभन्दा पहिले हामी सहरको अर्को एउटा मुख्य आकर्षण—हलग्रिम्सकिर्किया (Hallgrímskirkja) चर्चतिर लाग्यौँ । सहरको जुनसुकै कुनाबाट पनि देखिने सबैभन्दा अग्लो त्यो विशाल सेतो संरचना एउटा भवन मात्र नभएर आइसल्यान्डको मौलिक पहिचानजस्तो लाग्थ्यो ।

सुरुमा भाइकिङ देवताहरूको पूजा गरिने यो देशमा सन् १००० तिर इसाई धर्मको प्रवेश भयो । १६औँ शताब्दीको ‘रिफर्मेसन’ पछि यहाँ लुथरन मतको प्रभाव बढ्यो, जुन अहिले पनि मुख्य धर्मका रूपमा रहेको छ । यद्यपि आधुनिक आइसल्यान्डका मानिसहरू धर्ममा त्यति कट्टर छैनन्; यहाँका धेरै मानिसहरू धर्मनिरपेक्ष छन् वा पुराना प्राकृतिक मान्यताहरूमा बढी विश्वास गर्छन् ।

त्यो चर्चको बनावट निकै अनौठो र अर्थपूर्ण थियो । बाहिरबाट हेर्दा यो कुनै रकेटजस्तो देखिए पनि वास्तवमा यसको डिजाइन आइसल्यान्डको प्राकृतिक स्वरूप—ज्वालामुखीको लाभा चिसिएर बनेका ‘बसाल्ट कोलम’ (Basalt Columns) हरूबाट प्रभावित रहेछ । चर्चको अगाडि उभिएर हेर्दा लाग्थ्यो—प्रकृतिका ती विशाल ढुङ्गाहरूलाई कसैले कलात्मक रूपमा आकाशतिर फर्काएर राखिदिएको छ ।

चर्चको ठीक अगाडि लिफ एरिक्सन (Leif Erikson) को शालिक थियो, जसलाई धेरैले कोलम्बसभन्दा ५०० वर्षअघि नै अमेरिका पुग्ने पहिलो भाइकिङ मान्छन् ।

त्यसपछि केही समय चर्चभित्रको त्यो शान्त वातावरणमा बितायौँ र टिकट काटेर टावरको सबैभन्दा माथिल्लो तलामा उक्लियौँ । अग्लो टावरबाट सहरलाई नियाल्दा देखिने रङ्गीचङ्गी घरका छतहरू, टाढाको नीलो समुद्र र हिउँले ढाकेका पहाडहरूको दृश्य अद्भुत थियो ।

आश्वतको जन्मदिनको साँझलाई अझ खास बनाउन हामीले रेक्याभिकको एउटा रेस्टुरेन्टमा गएर सुमधुर साँझ बितायौँ ।

रात ढल्किँदै गएपछि फेरि उही पुरानो प्रक्रिया सुरु भयो । सहरको लाइटहाउस नजिक पुगेर मध्यरातसम्म धैर्यपूर्वक पर्खिँदा पनि नर्दर्न लाइट्स देखिने कुनै सुरसार भएन । प्रकृतिको त्यो जादुमयी नृत्य हेर्ने तीव्र इच्छा मनमै गुम्साएर हामी फेरि एकपटक खाली हात फर्कियौँ ।

भोलिपल्ट आश्वत र डेभनलाई विमानस्थल छोड्नुअघि मेधावी ब्लु लगुन नगएको हुनाले उनलाई त्यहाँ छाडेर तेजस्वी र म विमानस्थलतर्फ लाग्यौँ ।

फर्केर मेधावीलाई लिएर हामी ‘लाभा भिलेज’ पुग्यौँ, जहाँ सन् २०२१ र २०२४ का ज्वालामुखी विस्फोटका निक्षेपहरू प्रत्यक्ष देखिन्थे । सन् २०२१ को लाभा अहिले काला चट्टानहरूमा परिणत भएर लेउ पलाउन थालिसकेको थियो । तर सन् २०२४ को ताजा लाभा कालो अँगारको थुप्रो जस्तो देखिन्थ्यो ।

लाभाले पुरेको पिच सडक देख्दा मलाई नेपालमा पहिरोले पुरेको बाटोको झझल्को आयो । त्यहाँ हजारौँ वर्ग किलोमिटर क्षेत्रफलसम्म कालो ढुङ्गाबाहेक केही देखिँदैनथ्यो ।

त्यो देख्दा आइसल्यान्डमा पृथ्वी अझै निर्माणकै चरणमा छ जस्तो लाग्यो ।

घर फर्केर खानपिन गरिसकेपछि हामी फेरि त्यही लाइटहाउस नजिक पुग्यौँ र आफ्ना आँखाहरू आशावादी भएर उत्तरतर्फ गाड्यौँ । रातको एक बजिसकेको थियो, तर आकाश अझै मौन नै थियो ।

यहाँ आएको चार रात बितिसक्दा पनि एउटा मधुरो झलकसम्म नदेखिँदा मेरो धैर्यको बाँध चिरिन थालेको थियो । के यो रङ्गीन सपना केवल सपनामै सीमित रहने हो, कि आइसल्यान्डको आकाशले मेरो लागि कुनै अप्रत्याशित अचम्म साँचेर राखेको छ ? यसको उत्तर अझै अँध्यारोमै लुकेको थियो ।

क्रमशः…

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.