साहित्यपोस्ट डट कम

‘हयुस्पर इन द इनर सेल्फ’ सुचिनका घतलाग्दा कामहरू

‘हयुस्पर इन द इनर सेल्फ’ सुचिनका घतलाग्दा कामहरू

भरखरै गत २७ डिसेम्बरका दिन आर्टुडियो पाटन विंगमा सानो तर आकर्षक कार्यक्रम भयो । झमक्क साँझ थियो । आँगनमै सानो हुलमाझ हामी सबैले औपचारिक रूपमा कला बारे केही भन्यौँ, सुन्यौँ तत्पश्चात ग्यालरीभित्र छिरेर कलाहरूलाई अवलोकन गर्‍यौँ । हामीले अर्थात मैले, ग्यालरीका सञ्चालक, क्युरेटर कैलाशले अनि कलाकार स्वयंले पनि आ–आफ्ना पक्षबारे बोल्ने काम गरेका थियौँ । मूलतः चित्रहरू चाहिँ नवयुवा कलाकार सुचिन श्रेष्ठको थियो ।

यो उनैको ‘ह्युस्पर अफ द इनर सेल्फ ’ नामक पहिलो एकल कला प्रदर्शनी पनि थियो । आफैँसँगको कानाखुसी आफैँमा रमाइलो सन्दर्भ त थियो नै । तथापि देखिँदा भने सबैले सुन्ने गरी चर्को तर मौन आवाज गुञ्जिरहेको भने जसकसैले पनि महसूस गर्न भने सक्थे । यो उनको एकल कला प्रदर्शनी आगामी १० जनवरीसम्म चल्नेछ । कार्यक्रममा खासै तामझाम केही पनि थिएन । अनि ठूलो हुलहाल पनि नहुँदा त्यो शान्त वातावरणमा सबैले सुचिनका चित्रहरू, स्केच, ड्रइङ, उनैका चित्र भएको स–साना स्केच प्याड आदि सबैले अवलोकन गरें । अलिकता व्यावसायिक रूपमा अर्थात किन्न चाहनेले घरमा टाँग्न रहर गर्नेको लागि अलग व्यवस्था गरिएको थियो । प्रदर्शित कलाका स–साना पीसहरूलाई प्रिन्ट गरेर चिटिक्क पारेर पनि प्रदर्शनमा राखिएका थिए । हेर्दा कला नै, तर सस्तो अनि सानो चिटिक्क जहाँ पनि राख्न मिल्ने खालको हुँदा पनि यो कलाकार बाँच्ने मेलोमेसो पनि गजबकै देखिन्थ्यो ।

श्रेष्ठको यो एकल कला प्रदर्शनीमा खारिएका चित्रहरू देखिन आयो । खारिएको देखिनुमा उनको शिल्प दक्षता, परिकल्पना, संयोजन, प्रस्तुति देखि पात्रहरूको चयन आदि इत्यादि थुप्रै कुराले भूमिका खेलेको थियो । कोमल रङहरू माथि हातका औँलाहरू आफैँ पल्टी–कोल्टी गरिरहँदा भावकलाई यसैमा मात्र केन्द्रित हुन आग्रह पनि भइरहेको देखिन्थ्यो । भारतमा आधुनिक कलाको शुभारम्भका कलाकार अर्थात आधुनिकता भित्र्याउने प्रोग्रेसिभ ग्रुपका महत्त्वपूर्ण कलाकार सूजाले पनि एकताका यस्तै–यस्तै चित्र बनाउँथे । सन् पचासको दशकतिर शरीरको एउटा मात्र अङ्गलाई प्राथमिकता राखेर यस्तै–यस्तै कलालाई संयोजन गर्ने गर्दथे । अझ यता पछिल्लो दिनमा यस्ता–यस्तै कलागत अप्रोच अलि बढेर पनि गएको छ । भावकलाई चित्रपटको एउटा केन्द्रमा केन्द्रिकरण गर्ने यस्तै–यस्तै तरिकाहरू त नेपालमै पनि धेरै कलाकारले गर्ने गरेका छन् । यो तरिका त्यस्तो नयाँ होइन तर यसैमा पनि सुचिनले चाहिँ एक कदम अगाडि बढेर प्रयोगात्मक काम गरेका छन् । यस अर्थमा उनलाई अलग रूपमा मान्नै पर्ने हुन्छ ।

चित्रहरू थोरै अनौठो संरचनामा थिए । चित्रपटमा ठूला चाक्लो भाग समातेका सपाट रङहरू देखिन्थे । तापनि यो परिपक्व चित्रको रूपमा देखिन्थ्यो । लामो ठाउँ ओगटेका यी रङहरूलाई स–साना धर्काहरूले सीमा कोर्दै जाँदा एउटा धमिलो रूप जन्मन्थ्यो । रेखाहरूले कुद्न नभ्याएका ठाउँहरूमा एउटा धब्बामै पनि अमूर्त रूप बस्दथ्यो । यसो हुँदा पनि मूर्त–अमूर्तताले लुकामारी खेल्दै गर्दा एउटा अविच्छिन्न कलागत संरचना देखिन्थ्यो । जुन स्वभावतः स्वादिलो अनि गुणिलो महसूस हुन्थ्यो ।

सुचिनले कलामा पाइलो राखेको धेरै पनि भएको छैन । तापनि अत्याधुनिक कलाको क्षेत्रमा उनी खरो उत्रिएका छन् । सन्दर्भ पनि कसरी मिल्यो भने आर्टुडियोले सन् २०२३ मा रेसिडेन्सीको लागि उनलाई बोलायो । उनी आए । सहभागी भए । अनि उनले पनि यसलाई मौका ठानी अनवरत रूपमा यहाँ आएर मन लगाएर काम गरे । गर्दै गए, गर्दै गए । अन्ततः उनको मिहिनेतको फल देखिन आयो । कामहरू साँच्चिकै राम्रा र अब्बल थिए । विशेष गरेर ह्युमन फिगरमा खेल्दै गर्दा अनायास देखा परेका उनका अन्तरमनका भावहरू सबैजसो भावकले भित्रैबाट ग्रहण पनि गरे । मौन बोल्ने औँलाहरू मूलतः उनका कलाको मूल पात्र बन्यो । यसबाहेकका शरीरका अन्य अवयवहरूलाई पनि एउटा–एउटा भाकामा केही नकेही भनिरहन अह्राइरहे । यसो हुँदा पनि उनी भने मौन रहे पनि उनका कलाहरू भने बोलिरहेको हुन्थ्यो । यही शारीरिक पोस्चरहरू नै अद्भूत हुँदा पनि उनी अलग देखापरेका हुन् ।

अब त उनी आर्टुडियोकै एउटा हिस्सा जस्तो बनिसकेका रहेछन् । अझ यसैबीच आर्टुडियोले नीला आसमान रेसिडेन्सी कार्यक्रम पाकिस्तानमा सहभागी हुन समेत उनलाई जुराइदिएको रहेछ । त्यहाँ उनले अझ धेरै कुराहरू देखे । अनुभव गरे । सहभागी भई नौलो अनौठो धेरै कुरा आफैँले पनि गरिरहे । अन्ततः यो भरखरको अन्तर्राष्ट्रिय एक्सपोजरले उनको कलालाई अझ निखारेको रहेछ । अनि यसले गर्दा पनि उनका कलाहरूले अझ तिखारिन मौका पाएको रहेछ ।

अर्थात, रङ र रेखाहरूले गति लिँदै गर्दा उनका कला स्वयंमा जीवन्त हुन, देखिनु पनि उनको आफ्नैपन हो । त्यसो त नरम मनमोहक रङहरू भावकलाई आफूतर्फ तान्ने शक्तिशाली अस्त्र पनि हुने गर्दछ । यसो हुँदा पनि उनको सोच र इच्छा बीचको वार्ता सहवार्ताले एउटा ढङ्गको यथार्थ द्वन्द्वलाई जन्म दिएको देखिन्छ । मनभित्रको द्वन्द्वलाई प्रकटिकरण गर्न, आफैँले आफ्नो हातलाई बल दिँदै टेको दिएको सन्दर्भलाई पनि उनले आफ्नो क्यानभासमा गजबले उठाएका छन् । मनभित्रको झैँ–झगडालाई पनि मायालु पाराले उठाउनु पनि उनको आफ्नैपन रहेको देखिन्छ । आफू आफैँ हड्डी–छाला हुँदा गर्दै आफैँले आफैँलाई सम्हालेका परिदृश्य पनि उनका क्यानभासमा देखिन्छन् । यो अनौठो परिकल्पना अनि प्रस्तुतिले गर्दा पनि धेरैले उनका कलालाई मन पराएका हुन् ।

तत्पश्चात् रङका गहिराइलाई छिछोल्दै उठेका मनभित्रका मनोदशालाई धुमिल पाराले प्रस्फुटन हुँदा–गराउँदा अझ रमाइलो परिदृश्य देखिँदो रहेछ । अनि हल्का पातलो पारदर्शी रङको बहावमा औँलाहरू नाचिबस्नु, अनि भाव–विचारहरू बोकेर तलमाथि कुदिरहनु पनि उनको कलाको अर्को रोचक पक्ष हुन जाँदो रहेछ । यी आदि इत्यादि मूलतः उनको सबल कलाकारीता त हुँदै हो । सँगसँगै उनको यो नितान्त आफ्नै प्रकारको विशेषता पनि हो ।

मनभित्रको पुलिन्दा खोलिँदै गर्दा अलिकता हिचकिचावट, आफ्नै मनभित्रको अन्तरद्वन्द्व, भावना, तनाव आदि इत्यादि थुप्रै कुरा निस्किँदै गर्दा पनि रमाइलो नै देखिँदो रहेछ । धेरै कुरा अझै गर्भमै छन् जस्तो तापनि इशाराले गरेको अभिव्यक्ति पनि रमाइलो देखिँदो रहेछ ।

यसर्थ पनि उनी भन्ने गर्दछन्— मेरा शरीरले जे गर्छ । वा उनको जुन भूमिका हो । त्यो देखिनु मात्र मेरो कला होइन । बरु मेरा मनोवैज्ञानिक भावनाहरू यसबाट निस्कनु मेरो मूल लक्ष्य हो ।

अझ भन्नै पर्दा मौन–अभिव्यञ्जना उनको खास विशेषता हो । उनका मौन अमूर्त आकृतिहरू केही बोल्दैनन् । तापनि हातका औँलाहरू सबल पात्रको रूपमा सल्बलाई बस्दा चाहिँ अन्तरमनका अनेकानेक गुम्सिएका भावनाहरू छताछुल्ल भएर क्यानभासभरि पोखिन्छन् । अनि धुमिल हुँदै–हुँदै थोरै देखा परेका भाव–अभिव्यञ्जनाले एउटा कौतुहल जन्माउँछ । अनि भावकहरू यसभित्र के–के जाति खोजी पस्न दौडँदै गर्दा रमाइलो परिदृश्य देखिन्छ ।

थप कुरामा चाहिँ केही भनिँदा–भनिँदै गहिरो हुस्सूमा केही हराएजस्तो, अनि अकस्मात पुनः उदाएजस्तो हुँदा पनि कलाहरू थोरै अलौकिक देखिन्थ्यो । औँलाहरू तङ्ग्रिएर छटपटिँदै गर्दा मौन स्वरहरू छचल्केर बाहिर आएजस्तो अनेकानेक दृश्यहरू पनि देखिन्थ्यो । अर्कोतिर चित्रपटमा ठूलो खाली भाग देखिँदै गर्दा शून्यताको आभास हुँदैनथ्यो । किनकि परबाट हातका औँलाहरू चलमलाइबस्दा यही खाली स्पेस पनि एउटा अर्थ भएर देखा पर्दथ्यो । उनका चित्र उभिएर ठडै हेर्दै गर्दा जसकसैलाई पनि यस्तै अनुभव हुन्थ्यो । यसबाहेक लस्ट इन द वे, याङ्गर, विथ यू, कनेक्सन, डिजायरिङ, इन बिट्विन, ट्याङ्गल्ड इन मोसन, हेयर टुवर्ड्स वान्ट अन क्यानभास आदि उनका यस्तै–यस्तै चित्रहरू पनि छन् । जसले यस्ता–यस्तै भाव र विचारहरूलाई प्रस्तुत गरिरहेको देखिन्छ ।

उनका अर्का खाले चित्रहरूमा चाहिँ कतै लामो जिब्रो निकालेको, कतै मुखलाई आफैँले निचोरेर चिउँडो र दाँतको बीचको मौन संवाद देखिन्थ्यो । अनि कतै गालामा बेसरी थिचिदिँदा दाँत दुखेको जस्तो भएर, कष्ट र दुखाइलाई प्रकट भएजस्तो देखिन्थ्यो । आदि इत्यादिका अनेक प्रकारका संयोजन हुँदा पनि यी चित्रहरू अलि अलग देखापरेका देखिन्थे । फोर्सफुल सिरिजका यी कामहरू वास्तवमै अनौठा देखिन्थे ।

यी स–साना चित्रहरू थिए तापनि यही चित्र नै बिक्री भएको पनि बढी देखिन्थ्यो । साँचो भन्नुपर्दा चाहिँ यस्ता–यस्तै संरचनाले गर्दा नै उनका चित्रहरूले अलगै आकर्षण दिएको देखिन्थ्यो । भावकहरू यसलाई रमाइलो मानी अवलोकन गरिरहेको देखिन्थ्यो ।

उनका चित्रहरू हेर्दै जाँदा अभिव्यञ्जनाभन्दा अलि पर, भाव–अभिव्यक्तिभन्दा अझ पर कताकता हराउनु, हराएको जस्तो लाग्दथ्यो । अनि उनका कलाहरू स्वतः केही भन्दै गरेजस्तो देखिनुले पनि यसले मनभित्रको भावलाई सहजै ओकल्दै बाहिर ल्याइदिन्छ, जस्तो महसूस हुन्थ्यो । यो एउटा गजबको खूबी उनले बोकेका रहेछन् । उनका चित्रहरू शान्त, सफा–सुग्गर पनि देखिन्थे । अनि उनका रङ–रेखाहरू एउटा किसिमका कथाहरू भनिरहेको जस्तो पनि देखिन्थ्यो । भन्दाखेरी उनको कलामा कुनै भाष्य छैन, हुँदैन भन्दाभन्दै पनि उनका हरेकजसो मोटिफहरूले केही नकेही भनिरहनुले चाहिँ उनी होइन, उनका कला बढी भोकल नै छन् भन्नुपर्ने हुन्छ ।

उनी यता आर्टुडियो रेसिडेन्सीमा बस्दै गर्दा वा यहाँ काम गर्दै गर्दा चाहिँ सम्भवतः यसबखत अवलोकन गर्न आउनेदेखि आर्टुडियोबाटै पनि उनको कला बन्नुअघि वा कला बन्दै गर्दा पनि धेरै छलफल र मन्थन भएको हुनुपर्छ । जसको कारणले हरेक दृष्टिकोणबाट उनको कलाले एउटा गतिलो लय समातेको देखिन्छ । भाव अनि मनभित्रका कुराहरूलाई सटिक विम्बहरूले बोकेर क्यानभासमा ल्याइ पुर्‍याउँदा यो अझ आकर्षक ढङ्गले देखा परेको छ । मधुरो, खाइलाग्दो रङहरू देखिन्छन् । तापनि यसैमाथि भावनात्मक रेखाहरू कुदी बस्दा चाहिँ त्यसै पनि के–के जाति भनिरहेको हो कि भन्ने भान हेरीबस्नेलाई त्यसै पनि लागिहाल्छ । अझ अलि घोत्लिएर हेर्दा त अझ थुप्रै कुराहरू देखिन्छन् । भावकले यी क्यानभासहरूमा सल्बलाइरहेको आकृतिसँग कुरा गरी बसिरहेको देख्नु पनि सम्भवतः यसको सबल पक्ष नै हो ।

सन्दर्भ यहाँ कलाकारको मात्र पनि देखिन्न । यो कलामय वातावरणले पनि ठूलो भूमिका खेलेको देखिन्छ । आर्टुडियोले चाहिँ गतका सालहरूदेखि प्रतिभा भएका युवा अझ नवयुवा कलाकारहरूलाई स्पेस प्रदान गर्दै आइरहेको छ । यस्तो स्पेसको महत्व चाहिँ एउटा ओपन आर्ट स्टुडियो जस्तो हुन्छ । जहाँ कलाकारले बनाउँदै आएका हरेक क्रियाकलापहरूलाई कलाविज्ञ, कलाकार अनि आम भावकले पनि अवलोकन गर्न पाइरहन्छ । अनि कलाकार स्वयं पनि सम्भवतः बढी नै सचेत हुने गर्दछन् । कोठाभित्र एक्लै कसैलाई नदेखाई कुनामा लुकेर कला बनाउनु र यसरी सबैले देख्ने गरी कलामा नितान्त मग्न भएर कला कोर्नु सम्भवतः अलग–अलग पनि हो । यसले प्रतिफल पनि राम्रै देखिन्छ । भएको चाहिँ यही नै हो ।

बोल्नमा अलि झिझक मान्ने यी युवा कलाकारले बोल्ने जिम्मा चाहिँ आफ्ना हातका औँलाहरूलाई दिएका रहेछन् । ठूलो सपाट, आकर्षक रङले भरिएका उनका क्यानभासमा मात्र ठूला र चाक्ला औँलाहरू चलमलाइरहेका देखिन्छन् । हेर्दै जाँदा ती औँलाहरूले संवाद गरिरहेको देखिन्छन् । कतै कोहीसँग कुरा गरिरहेको जस्तो एउटा हातका औँलाहरू अर्को हातका औँलासँग लुकामारी खेलेजस्तो भाषामा अनेक कुरा कानाखुसी गरेजस्तो पनि देखिन्छ । कुन्नि के हो । धेरै कुराहरू भन्न खोज्दा–खोज्दै बाहिर आउन सकेका, नसकेका अनेक लवजहरू आइरहन्छन् । मौन यस्ता आवाजहरू अड्कल काटेर भावकले बुझ्नुपर्ने हुन्छ । भन्नाखेरी यसो भने पनि हुन्छ— सुनिँदैन तर ठुलै कोलाहल गुञ्जिरहेको हुन्छ । यो एउटा अनौठो विशेषता उनको कलाले बोकेको हुँदा पनि भावकको लागि यी चित्रहरू चाखलाग्दा देखिन गएको हो ।

मूलतः सुचिन श्रेष्ठ फिगरेटिभ एब्स्ट्राक्ट आर्टिस्ट हुन् । फिगर अर्थात मानवीय शरीरमा राम्रोसँग अध्ययन, अभ्यास गरिसकेपछि यसका सबैजसो तत्वहरूलाई राम्ररी समाउने गरिन्छ । तत्पश्चात कुन तत्वलाई प्राथमिकता राख्ने, कता चाहिँ धुमिलमा छोडिदिने गर्दा हेर्दा ढङ्ग–बेढङ्गका जस्ता देखिए पनि कला एउटा लयमा देखिन्छ अनि रङ–रेखाहरू हार्मोनीमा देखिन्छन् । सुचिनका कलाहरू हेर्दा यस्तै लाग्छ । उनी रेखाहरू रङका सतहमाथि फुल कन्फिडेन्सका साथ कुदाउँछन् । यसैबाट भाव–अभिव्यक्ति दिने कुरामा गौर गर्दछन् । यसो हुँदा पनि उनका चित्रहरू अव्वल देखा परेका हुन् । फेन्ट इको अफ डाउन नामक चित्र यसैको गतिलो उदाहरण हो । जहाँ औँलाहरू मात्र पनि होइन शरीरको पोस्चर पनि यस्तो ढङ्गले ढल्काएको देखिन्छ, मुख छैन, नाक आँखा पनि छैन तापनि यी अङ्गहरूले भन्ने जम्मै कुरा भनिरहेका देखिन्छ । यसैले त उनका कलामा अमूर्तता अनि यथार्थता दुवै घुसेको अनुभव गर्न सकिन्छ ।

यसरी कतै यथार्थ अनि कतै अमूर्तताले समाइबस्दा पनि यसमा भाव–अभिव्यञ्जनाका नानाथरीहरू समावेश भइरहन्छन् अनि सजिलोका लागि यस्ता कलालाई फिगरेटिभ एब्स्ट्राक्सन भन्ने चलन छ । आकारहरू पनि छन् अनि आकार हराएर अन्तरमनको भावलाई भावक आफैँले अर्थ लगाइबस्न स्पेसहरू पनि अलग्याइएको हुन्छ । यस्तै–यस्तै वातावरण र अवस्थाहरूलाई सिर्जना गरिरहनु नै सुचिनको मुख्य लक्ष्य पनि देखिन्छ ।

अर्थात अन्तरमनका भाव अनि दुखेसोलाई मौन भाषामा प्रवाह गर्न खोज्नु उनको कलागत स्वभाव हो । दृढ, स्थिर हुँदाहुँदै पनि मानवीय अवयवहरू चलमलाउनु खोज्नु, यो शून्यता चाहिँ होइन भन्ने प्रत्याभूति पनि हो । यसमाथि कोमल सपाट सतहमा शक्तिशाली रेखाहरू एउटा अर्थका साथ कुदी बस्नु फेरि उनको अर्को थप विशेषता हो । जहाँबाट उनका आफ्नै मनभित्रका कुण्ठा, चाहनाहरू असहज पाराले चित्रपटमा झर्ने क्रम हुन्छ । असजिलो पाराले झरेका उनका शरीरलाई, हातलाई टेको दिई बस्दा एउटा स्वादिलो भाष्यलाई जन्म दिन्छ । हातहरूबीचको मनोविश्लेषणात्मक खेल भइरहँदा दर्शकको लागि भने यो रोमाञ्चक दृश्य बनिदिन्छ । यही नै उनको चोटिलो प्रस्तुति पनि हो ।

साझा गर्नुहोस्:
मुकेश मल्ल

लेखकको बारेमा

मुकेश मल्ल

नेपालका वरिष्ठ चित्रकारका रूपमा चिनिनु हुने मुकेश मल्ल कला प्राध्यापन पनि गर्नु हुन्छ । कलासम्बन्धी उहाँका एक दर्जन पुस्तकहरू प्रकाशित छन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.