साहित्यपोस्ट-नपढी सुखै छैन...

हङकङमा किरात राई भाषा महोत्सव

हङकङमा किरात राई भाषा महोत्सव

हङकङमा भाषाको अवस्था

हङकङमा अफिसियल भाषाका रूपमा चाइनिज र अङ्ग्रेजी भनिएको छ । चाइनिजको क्यान्टोनिज र मन्डारिन यी भाषाहरूमध्ये क्यान्टोनिज स्थानीय र अनिवार्य भाषाको रूपमा हङकङमा प्रयोग गरिन्छ । त्यसैले नेपालबाट हङकङ जानुभएका नेपालीहरूले पनि क्यान्टोनिज भाषा अनिवार्य जान्नुपर्दछ । हङकङमा त्यहाँको   स्थानीय भाषालाई मात्र प्रोत्साहन गरिँदैन, जातीय अल्पसङ्ख्यक (ethnic minaraty) नागरिक वा कामदारसँग सम्बन्धित उनीहरूका भाषालाई पनि प्राथमिकता दिई अनुवाद गरेर प्रयोग गरिन्छ । जस्तो कि संवेदनशील क्षेत्रमा काम गर्नुपर्‍यो भने सुरक्षाको खातिर कामदारको आफ्नो मातृभाषा कुन हो, त्यसलाई गुगल अनुवाद गरी सार्वजानिक रूपमा राख्ने व्यवस्था त्यहाँको निकायले गरेको हुन्छ ।

बहुभाषी किरात राई महाजाति

किरात राई एक महाजाति र बहुभाषी समुदाय हो । यो महाजातिभित्र २५ भन्दा बढी फरक भाषाहरू बोलिन्छन् ।

भौतिक रूपमा हङकङवासी नेपाली बहुभाषी किरात राई समुदायको तन र मन भने नेपालमै छ । अझ यसो भनौं, नेपालमा उहाँहरूका दिनचर्या विगतमा जे जस्तो बितिरहेको भए तापनि मातृभाषा र संस्कार-संस्कृतिप्रतिको मोह भने हङकङमा पुगेपछि झन बढेर गएको अनुभूत हुन्छ । त्यसैले उहाँहरूले सकेसम्म सामूहिक रूपमा राईहरूका सामाजिक संस्था 'किरात राई यायोक्खा हङकङ' (किराया) र आ-आफ्ना भाषिक संस्थामार्फत यी कुराका सेवा, सहयोग र प्रवर्धन गरिरहनुभएको छ ।

अहिले मातृभाषाको प्रयोगमा कमी आइरहेको बेला उहाँहरूले आफ्ना मातृभाषा जानून् वा नजानून्, साकेन्वा सिलि नाच्न जानून् वा नजानून् ! हङकङमा भाषिक वा सांस्कृतिक कार्यक्रम हुँदै छ भनेपछि कार्यरत कार्यालयमा छुट्टी लिएरै भए पनि उहाँहरूले सहभागिता जनाइहाल्नुहुन्छ । यो किराती संस्कार पनि हो । यस्तो सहभागिताले निरन्तर काम गराइको थकानबाट मुक्ति मिल्छ भने अर्कोतिर आफ्ना आफन्त, चिनारु र साथीभाइसँग भेट्ने अवसर पनि जुर्छ । खानपान, रमाइलो र नेपालबारेको अनौपचारिक गफ त हुने नै भइहाल्यो । अर्कोतर्फ, त्यो माहौलले वर्षौदेखि नेपाल जान नपाएको बेला 'म आफू नेपालमै छु' कि भन्ने आभाष पनि दिलाउँछ ।

kirat-rai-bhasha-mahotsav
kirat-rai-bhasha-mahotsav

किरात राई भाषा महोत्सव २०२६

निरन्तर छ दिन काम । हप्ताको आइतबार छुट्टी । त्यो छुट्टीको समय पनि सामाजिक काममै बित्छ । हङकङमा किरात राई समुदायको दिनचर्या यसै गरी अगाडि बढिरहेको छ ।

यस्तै मेसोमा किरात राई यायोक्खा हङकङले इतिहासमै पहिलोपटक 'किरात राई भाषा महोत्सव २०२६' को आयोजना गरेको छ । जुन २१ मा सुप्तुलुङखिम हङकङस्थित सम्पन्न यो महोत्सवले आफ्नो भाषा जान्नेले प्रस्तुति गर्न पाउनुभएको थियो भने नजान्नेले अरुले बोलेको सुनेर सिक्ने मौका पाउनुभएको थियो ।

किराया हङकङको अध्यक्ष गजेन्द्र हाङखिम राईको अनुसार सो महोत्सवमा विभिन्न ६ वटा भाषिक संस्थाहरूले आ-आफ्ना भाषिक प्रस्तुतिहरू दिनुभएको थियो । हङकङ केन्द्रित किरात राई बान्तावा खिम, किरात राई चाम्लिङ खाम्बातिम, थुलुङ (राई) सामा, किरात राई सोदेल कोयी/कोयू किम, किरात साम्पाङ राई जुम्लेखा र किरात पुमा राई तुप्खाबाङ्खलाबाट संस्थागत प्रतिनिधित्व गर्दै आफ्ना भाषिक प्रस्तुतिहरू पस्काउनुभएको थियो ।

बान्तावा खिमका अध्यक्ष धिराज बान्तावा राईले बान्तावाबाटै आफ्नो सम्भाषण सुरु गरी नेपालीमा टुङ्ग्याउनुभएको थियो । आगामी वर्ष हुने दोस्रो किरात राई भाषा महोत्सवमा सतप्रतिसत बान्तावामै प्रस्तुति दिने गरी भाषा सिक्ने प्रतिवद्दता पनि उहाँले सो अवसरमा जनाउनुभएको थियो । खाम्बातिमका अध्यक्ष भूपाल चाम्लिङ र जुम्लेखाका महासचिव मणिराज साम्पाङले रिठो नबिराई आ-आफ्ना भाषामै प्रस्तुति दिनुभएको थियो । थुलुङका अध्यक्ष दिनेश थुलुङ, कोयूका अध्यक्ष प्रकाश कोयू, तुप्खाबाङ्खलाका अध्यक्ष पेङ किरातले मिसाहा भातझैं अलि-अलि आफ्ना मातृभाषा र नेपालीमा प्रस्तुतिहरू दिनुभएको थियो । अझ, पेङले त हप्ता दिन अघि नै 'किरात राई भाषा महोत्सवमा आउनुहोला । म पुमा भाषामा कथा सुनाउने छु' भनी सामाजिक सञ्जालमार्फत् सञ्चार गरिसक्नुभएको थियो । भलै समय अभावले सो कथा भने सुनाउन पाउनुभएन ।

किरात राई प्रज्ञा-प्रतिष्ठानको कुलपति शशीमदन राईले महोत्सवको उद्वेश्यसहित सबैलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षताबाट बोल्दै किराया हङकङका अध्यक्ष गजेन्द्र हाङखिम राईले पहिलोपटक आयोजना गरिएको भाषा महोत्सवबारे थप प्रकाश पार्ने काम गर्नुभएको थियो । उहाँले सबैलाई धन्यवाद ज्ञापन र यो कार्यक्रमलाई वर्षेनी गर्दै लैजाने प्रतिवद्दता पनि जनाउनुभएको थियो ।

समग्रमा प्रथम 'किरात राई भाषा महोत्सव'ले किरात राई समुदायमा आ-आफ्ना मातृभाषाप्रतिको मोह र अपनत्व महसुस गराउन सफल भएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रम किराया हङकङका महासचिव राजेन्द्र राईले सञ्चालन गर्नुभएको थियो ।

कोयूबाट बान्तावा कवितावाचन

किरात राई समुदायको सुन्दर पक्ष के पनि हो भने उहाँहरूले आफ्नो मात्र हैन, अरूको मातृभाषामा बोल्न र लेख्न सक्नुहुन्छ । कसै-कसैले आफ्नो भाषा नजानेर अर्को भाषाबाट जन्मजात बोलीचाली शुरू गर्नुहुन्छ । आफ्नी आमाको भाषा वा भूगोलको कारण यस्तो हुन सक्छ ।

पाँचथर रवि पुर्ख्यौली घर भई हाल हङकङमा कार्यरत प्रताप कोयू राई आफू कोयू हुनु भएकोले वंशको हिसाबले कोयू राई भाषामा प्रयोग गर्नुहुन्छ भन्ने सामान्य बुझाइ हो । तापनि उहाँको मातृभाषा बान्तावा भएकोले सो प्रथम किरात राई भाषा महोत्सवमा उहाँले बान्तावा कवितावाचन गरी साहित्यिक माहौल सिर्जना गर्नुभएको थियो । संयोगले रचनावाचनमा उहाँ एकल हुनुहुन्थ्यो । कवितावाचनकै सिलसिलामा उहाँले सन् २००७ मा किराया हङकङको एक कार्यक्रममा यस्तै भाषिक रचना सुनाउन खोज्दा नपाउनुभएको गुनासो पनि गर्नुभयो । 'सन् २००७ देखिको मेरो सपना आज १९ वर्षपछि बल्ल पूरा भएको छ,' भावुक हुँदै उहाँले कवितावाचन अगाडि थप्नुभयो ।

उहाँद्वारा वाचित बान्तावा कविता-

निनाम्मा

–प्रताप कोयू

सुम्निमानिन पारुहाङ सिन्मालि
दिवापानिन दिमा मित्याङ्सा
सुप्तुलुङ्दा युङ्कावाचि
आन म़नाचिओ साऩङ्दा
माङ मुमा सेवा ।

हेच्छाकुपा–
तायामा खियामाओ निछा
ताया लोक्सा साया चोङ्सा
छेन्बि छे लोक्मालि ।

साकेन्वादा
लाक्छाम मुसा
सिलिमोपा सिलिमाङ्मा
खेङ्याङ्सा सिलि कुम्मालि ।

निनाम्मानिन हेन्खामा दोप्सा
चाक्वामाङ्निन ह़क सेन्याङ्सा
नुलोक लाम खाङ्सा यावाचिनिन
दोङ्दावा दोङ्वाङा ।

बुन्छ़तनिन लिम्चिङ्बुङ वारिन्कि
फेकुफेङ्मा छेन्वाचि
विहिरिनिन मानिकेन
साङ्याङ्सा सिलि लाक लुन्ने ।
. . .

हङकङमा सामूहिक चूलाघर

नेपाली किरात राईहरू संसारको जुन ठाउँमा जानुहुन्छ, त्यहाँ आफ्नो संस्कार-संस्कृति र भाषालाई पनि लिएरै जानुहुन्छ । किरात राई महाजाति संस्कार-संस्कृतिमा विश्वास गर्छन् । उहाँहरूको आस्थाको केन्द्र नै तीन चूला (सुप्तलुङ) हो । उहाँहरूको जन्मदेखि मृत्युसम्म त्यै चूलामा पूजा र आराधना हुन्छ । त्यसैले चूला उहाँहरूको आस्थाको केन्द्र र प्रतिक पनि हो । प्रकृतिपूजक किरात राईहरूको प्रत्येक घरमा चूला स्थापना गरिएको हुन्छ ।

किरात राई यायोक्खा हङकङको अगुवाइमा त्यहाँ सामूहिक चूलाघर स्थापना गरिएको छ । किरात राई यायोक्खा हङकङको भातृसंस्थाको रूपमा किरात राई प्रज्ञा-प्रतिष्ठानको स्थापना गरिएको छ, जुन संस्थाले 'थिङ्क ट्याङ्क'को रूपमा काम गर्छ । सो संस्थाका कुलपति शशीमदन राई भन्नुहुन्छ- 'हङकङजस्तो आधुनिक, महँगो र व्यस्त सहरमा व्यक्तिगत चूला राख्न सकिने कुरो छैन, त्यसैले हामीले सामूहिक चूलोको अवधारणा बनाई यसको स्थापना गरेका हौं ।' सम्भवतः संसारभरमा हङकङको सामूहिक चूलाघर नै पहिलो पनि हो । यो चूला स्थापना गर्न त्यहाँको सरकार वा कुनै विदेशी दाताको सहयोग छैन । हङकङमा कार्यरत किरात राई समुदायबाटै २.६ मिलियन हङकङ डलर (नेपाली ४ करोड भन्दा बढी) रकम दानको रूपमा सङ्कलन गरी एउटा सांस्कृतिक भवन किन्नुभएको छ । सो घरभित्र चूला स्थापना गरिएको छ ।  हङकङस्थित सानविन किलिचुङमा रहेको सो सांस्कृतिक भवनलाई 'सुप्तुलुङखिम' नामाकरण गरिएको छ । चूला रहेको घरमा नेपालको हात्तीवन, बूढानीलकण्ठ, साल्पापोखरीजस्तो किरात राईसँग जोडिएका ऐतिहासिक र सांस्कृतिक स्थलका माटोलाई पनि लगेर राखिएको छ ।

सो भवनमा किरातीहरूका सांस्कृतिक चाडहरू जस्तै उँभौली साकेन्वा, उँधौली साकेन्वा र अन्य चाडहरू यले सम्वत (माघे संक्रान्ति), साउने संक्रान्ति आदि सामूहिक रूपमा मान्ने गर्नुहुन्छ । त्यसबाहेक चूलाघरमा जन्म, विवाह, मृत्यजस्ता संस्कारगत प्रक्रियाहरू पूरा गर्ने गरिन्छ । त्यसको लागि किराया हङकङले कुबिमि (धामी)को व्यवस्था गरिदिएको छ । नेपाल वा अन्य देशबाट हङकङ जानुहुने प्रवुद्व किरात राईलाई चूला दर्शन गराउने परम्परा पनि रहेको छ ।

बिसौनी

नेपाल किरात राईहरूको मूलघर हो । यहाँ किरात राई भाषा सम्मेलन हुन सकेको छैन । हङकङजस्तो व्यस्त जीवनमा त्यस्तो कार्यक्रम आयोजना गर्नु नै महत्वपूर्ण कुरो हो । यस्ता सम्मेलनले किरात राईबिचका आफ्ना मातृभाषाहरूलाई सुनाउने र सुन्ने मौका मिल्छ । त्यो भन्दा ठूलो कुरो यसले आपसी भाइचारा र समुदायलाई जोड्ने काम गर्दछ ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

पदम राई

लेखकको बारेमा

पदम राई

थप रचनाहरू पढ्नुहोस् →

पदम राई बान्तावा भाषामा प्रकाशित 'बुङ्वाखा'को सम्पादक हुनुहुन्छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.