उदयपुर । पत्रकार तथा इतिहासकार कौशल चेम्जोङ द्वारा लिखित ‘नेपालको इतिहासमा उदयपुर (वि.सं. १९००–२००७ सम्म)’ कृतिको विमोचन गरिएको छ ।
त्रियुगा नगरपालिका को सभाहलमा २०८३ जेठ १ गते आयोजित कार्यक्रममा नगरप्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राई ले संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभएको हो ।
विमोचित कृतिमाथि शारदाप्रसाद भट्टराई, रविन्द्रराजा शाही, विमल कार्की तथा डा. कैलाशकुमार राई ले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कुमार कोइराला, राममणि पोखरेल र उपप्रमुख राईले मन्तव्य राख्नुभएको थियो ।
नगरप्रमुख बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सामाजिक शाखा प्रमुख राजकुमार खडकाले गर्नुभएको थियो ।
उदयपुर जिल्लाको इतिहास उत्खनन र दस्तावेजीकरणमा सक्रिय चेम्जोङको यो पाँचौँ कृति हो । यसअघि उहाँका ‘भूत’ (लघुकथा सङ्ग्रह, २०४८) र ‘जीवनका रङहरू’ (२०७०) लगायत कृतिहरू प्रकाशित भइसकेका छन् भने ‘उदयपुरको पर्यटन विकास: सम्भावना र चुनौती’ (२०६१), ‘उदयपुरको इतिहास (प्रागैतिहासिक कालदेखि वि.सं. १९०० सम्म)’ (२०७७) र ‘उदयपुरको साहित्य’ (२०८०) जस्ता अनुसन्धानमूलक कृतिहरू पनि चर्चित छन् ।

