पोखरा। कवि एवं भाषाविद् मुकुन्दशरण उपाध्यायलाई ‘हेमराज पहारी स्मृति पुरस्कार–२०८२’ प्रदान गरिने भएको छ।
भाषा–साहित्यका सेवक स्वर्गीय हेमराज पहारीको नाममा स्थापित ‘हेमराज पहारी स्मृति प्रतिष्ठान’को हालै सम्पन्न बैठकले उपाध्यायलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कारका लागि योग्य प्रतिभा छनोट गर्न माधव वियोगीको संयोजकत्वमा हरिदेवी कोइराला र कृष्ण पौडेल सदस्य रहेको समितिले गरेको सिफारिसलाई प्रतिष्ठानले अनुमोदन गरेको अध्यक्ष रीता पहारीले जानकारी दिनुभयाे ।
संयोजक वियोगीका अनुसार उपाध्यायले विगत लामाे समयदेखि नेपाली कविताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएकाे छ । नेपाली भाषाको मौलिक पहिचान तथा स्पष्ट मानकीकरणका लागि अभियानमार्फत उहाँले पुर्याएको योगदानका आधारमा उहाँलाई पुरस्कारका लागि सिफारिस गरिएको हो।
प्रत्येक वर्ष राष्ट्रियस्तरमा व्यक्ति तथा संस्थालाई प्रदान गरिने उक्त पुरस्कार यसअघि सत्य मोहन जोशी, सरुभक्त, अलिमियाँ (मरणोपरान्त) लगायत व्यक्तित्व तथा विभिन्न साहित्यिक संस्थाले प्राप्त गरिसक्नुभएकाे छ ।
उपाध्यायका वरदान, प्राकृत पोखरा, धर्ती र आकाश, महाभारत सूक्तिसुधा लगायत दर्जनभन्दा बढी कृति प्रकाशित छन्।
नगद एक लाख रुपैयाँ राशिको उक्त पुरस्कार आगामी फागुन १६ गते पोखरामा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

