साहित्यपोस्ट डट कम

‘हेमन्ती संवेदनाका घाउमा कथा लेख्छिन्’- प्रिया; ‘प्रियाको पूरै कुरा नसुनी रिसाउने बानी छ’- हेमन्ती

‘हेमन्ती संवेदनाका घाउमा कथा लेख्छिन्’- प्रिया; ‘प्रियाको पूरै कुरा नसुनी रिसाउने बानी छ’- हेमन्ती

नेपाली साहित्यमा क्रियाशील दुई व्यक्तित्वले आफ्ना अन्तरङ्गलाई कसरी चिन्नु हुन्छ भन्ने पाठकका जिज्ञाशा मेट्न साहित्यपोस्टले ‘ऊ र म’ स्तम्भ प्रकाशन गर्ने सिलसिलामा यस पटक सुदुरपश्चिम क्षेत्रलाई कर्म थलो बनाएर धनगढीमा क्रियाशील नेपाली मुक्तक, गजल, कविता विधाका सशक्त दुई चम्किला नारी नक्षत्र श्रेष्ठ प्रिया पत्थर र हेमन्ती जोशीलाई प्रस्तुत गरेका छौँ । यो स्तम्भमा आफ्ना सखी/साथीका बारेमा राखिने खुलस्त विचारले पाठकलाई न्याय दिनेछ । कति खुलस्त र कस्तो न्यायाधीश हुने सर्जककै जिम्मा ! लुकाउनै पर्ने सन्दर्भ पनि हुन सक्छन्, प्राकृतिक मानिसका । तर सर्जकहरू आमप्राकृतिक मानिस मात्र नभएर विशिष्ट स्रष्टा/द्रष्टा, जो सत्यको नजिक पुग्नुपर्ने हुन्छ र त लुकाउने, छिपाउने उहाँहरूकै स्वविवेक ! प्रस्तुत छ, साहित्यपोस्टका सल्लाहकार सम्पादक त्रिभुवनचन्द्र वाग्लेको साथमा नेपाली साहित्यमा सैपाल उचाइ स्थापना गर्नुभएका अन्तरङ्गद्वय श्रेष्ठ प्रिया पत्थर र हेमन्ती जोशीको ऊ र म ।

===

हेमन्ती संवेदनाका घाउमा कथा लेख्छिन् : श्रेष्ठ प्रिया पत्थर

हेमन्ती जोशीलाई व्यक्तिगतरूपमा कसरी चिन्नुहुन्छ ?

व्यक्तिगत रूपमा भन्नुपर्दा उहाँ मेरो असल मित्र पनि हो । साँच्चै भन्नुपर्दा मैले उहाँलाई २०६३ सालदेखि प्रत्यक्ष रूपमा चिनेको हुँ । धनगढीमा हुने साहित्यिक कार्यक्रमहरूमा उहाँसित परिचय भएको हो । उहाँले विगत तीन दशकदेखि नेपाली साहित्यमा कलम चलाउँदै आइरहनुभएको छ ।

सर्जकका जोशी साहित्यको फाँटमा कहाँ हुनुहुन्छ ?

कथाकार, गजलकार, कवि र मुक्तकारको रूपमा परिचित हेमन्ती जोशी सुदूरपश्चिम क्षेत्रको मात्र नभई राष्ट्रिय स्तरको साहित्यिक क्षेत्रमा सुपरिचित नाम हो । उहाँलाई लेखनमा मनपर्ने विधा कथा भए पनि उहाँले गजल र मुक्तक विधालाई पनि उत्तिकै माया गर्नुहुन्छ । त्यसैले होला उहाँका कथा सङ्ग्रह ‘पत्रपत्र जिन्दगी’ र ‘प्रतिविम्ब’ प्रकाशित भइसकेपछि ‘मनहरू जित्न सकेँ’ गजल सङ्ग्रह र ‘बगरदेखि सगरसम्म’ मुक्तक सङ्ग्रह प्रकाशित गर्नुभयो । अब उहाँको कविता सङ्ग्रह ‘अक्षरको आकाश’ शीघ्र प्रकाशित हुने क्रममा छ । यसबाहेक उहाँले आफ्नो बायोग्राफी पनि लेखिरहनु भएको छ उहाँको व्यक्तित्व कथाकार/गजलकार/कवि/कथाकारका रूपमा स्थापित छ ।

उहाँलाई कथा, कविता, गजल कहाँ बढी सफल पाउनु हुन्छ ?

उहाँले कथा, कविता, गजल, मुक्तक चारै क्षेत्रमा हात चलाउनु भए पनि कथा विधातर्फ उहाँ सफल भएको मैले अनुभव गरेकी छु । धेरै पाठकले उहाँका कथाहरू रुचाएका मैले पाएको छु । आफ्नै समाजका वरिपरि छरिएर रहेका विषय तर नलेखिएका घटनालाई नै उहाँले कथा लेखनको विषयवस्तु बनाउनु हुन्छ । आफ्नो गाउँ परिवेशका कथाहरू, छोरीचेलीका व्यथाहरू, मानवीय संवेदनाका घाउहरू, वर्गीय असमानताका चोटहरूलाई उहाँले कथाका विषयवस्तु बनाउनु हुन्छ । ती विषयवस्तुले हृदयलाई स्पर्श गर्ने सामर्थ्य राख्छन् ।

उहाँका कथा/उपन्यास र अन्य रचना कस्ता छन् ?

उनको दुईवटा कथा सङ्ग्रह प्रकाशित छन् । ‘प्रतिविम्ब’ र ‘पत्रपत्र जिन्दगी’ । उनको कथामा मानवीय पीडा, मानवीय मूल्य र मान्यताको अवमूल्यन, मान्छेले भोग्नुपरेका दुःख र सङ्घर्ष, समाजमा दुःखी गरिबको दयनीय अवस्था र आत्मानुभूति व्यक्त गरिएको पाइन्छ । साथै चोटिला मुक्तक र रसिला गजल पनि उनका पहिचान हुन् ।

कुनै कथाले आकर्षित गरेको छ ?

उनको ‘प्रतिविम्ब’ कथा सङ्ग्रहभित्रको ‘पवित्र प्रेम’ मलाई मन पर्ने कथा हो ।

उहाँसँग झगडा वा मनमुटाव भएको छ ?

मित्रको रूपमा हामी झगडा पनि गर्ने गर्छौँ । मित्रवत् झगडा । विशेषतः झगडा गर्न निहुँ खोज्ने म नै हुन्छु । उहाँ ब्राह्मण परिवारको, म नेवार परिवारको मान्छे । खानपिनको मामलामा उहाँ शुद्ध शाकाहारी । म चाहिँ जातिको हिसाबले पनि मांसाहारी हुँ । उनलाई चोखो नीति धेरै चाहिन्छ । म चाहिँ ‘सब चल्ता है’ भन्छु । यस कुरामा उनको र मेरो धेरै विवाद चल्छ । म खरो स्वभावको छु, उनी नरम स्वभावकी । उनी भावुक छिन्, म यथार्थवादी छु । उनी मलाई ईश्वर, भक्ति र व्यवहारको कुरा सिकाउँछिन्, म उनलाई दुनियाँदारीको कुरा सिकाउँछु । तर हामी एकअर्काको रुचि र स्वभावलाई स्वीकार र सम्मान गर्छौँँ, त्यसैले हाम्रो छिट्टै मिलाप पनि हुन्छ । हाँस्दै झगडा गर्छौँ ।

उहाँको कुन बानी मन पर्छ ?

उनी सबैलाई माया र सम्मान गर्नुपर्छ भन्छिन् र गर्छिन् पनि । उनको यो बानी मलाई साह्रै मनपर्छ । बाहिर जे छिन् भित्र पनि त्यही हुन् । उनले कसैसित नमीठो बोलेको मलाई थाहा छैन ।

सर्जक जोशीको कुन बानी मन पर्दैन ?

उनको एउटा बानी मलाई मन पर्दैन, त्यो हो बिर्सने बानी । विशेष गरेर घरबाट बाहिर हिँड्दा बाटोमा पुगेपछि आफ्नो मोबाइल, चस्मा घरमै बिर्सेर आएको कुराले मलाई रिस पनि उठ्छ । कति पटक त बीच बाटोबाट फर्केर घरमा गएर ल्याएको मैले देखेको छु । अर्को आफूले राखेको सामान आफैँले खोजेर नपाउनु उनको कमजोरी हो । रुपियाँ पैसा र मूल्यवान वस्तु पनि घरमा जतासुकै राख्ने बानी मलाई राम्रो लाग्दैन ।

सँगै दारू खानु भएको छ ?

दारू त हामी दुबै जना खाँदैनौँ ।

चियाको पैसा झिक्न गाह्रो मान्नु हुन्छ ?

कहिलेकाहीँ हामी रेष्टुरेन्टतिर पनि छिर्छौं । आ–आफ्नो रुचि अनुसारका खाजा खान्छौं । पैसा तिर्ने बेलामा हामी बीचमा म नै तिर्छुु भनेर हानथाप पो हुन्छ । कहिले उनी तिर्छिन् कहिले म तिर्छु ।

घर परिवारसँग सम्पर्क छ ?

हामी बीचमा पारिवारिक सम्बन्ध पनि सुमधुर छ । उहाँका आफन्तहरू र मेरा आफन्तहरूका बीचमा निकै घनिष्ठ र आत्मीय सम्बन्ध छ । आऊआऊ, चिनापरिचय छ ।

उहाँसँगको रोचक घटना ?

एकपटक हामी नेपालगञ्जबाट फर्कँदै थियौँ । कोहलपुर बसपार्कमा हामी केही फलफूल किन्न बाहिर निस्कियौँ । कुरामा हामी यति मग्न थियौँ कि, हामी आफ्नो बस बिर्सेर अर्को बसमा चढ्न पुगेका थियौँ, पछि कन्डक्टरले हामीलाई देखेछन् र तपाईंहरूको बस त्यो होइन, यो हो भनेर आफ्नो बसमा बोलाएका थिए । अनि हामी आफ्नो बेहोसीमा मरीमरी हाँसेका थियौँ । कतिपय बेला हामी गफमा यसरी डुब्छौँ कि, बाहिरी दुनियाँ बिर्सन्छौँ ।

उहाँको साथी शैली कस्तो लाग्छ ?

साथीको रूपमा उनी इमान्दार मान्छे हुन् । उनी जे बोल्छिन् त्यो व्यवहारिक रूपमा पनि पूरा गर्छिन् । हामी बजारमा खरिददारी गर्दा पनि साथसाथै गर्ने गर्छौँ । हाम्रा कतिपय सामान त एकनासका हुने गर्छन् ।

उहाँको बदमासी भनिदिनुहोस् न ।

उनले मसित त के कसैसित पनि बदमासी गरेको या बदनियत राखेको मलाई थाहा छैन । सबैको भलो चाहने मान्छे हुन् उनी । त्यसैले त म जस्तो पत्थरलाई पनि पगालेर उनी पत्थरको साथी भएकी छिन् ।

मीठा केही संस्मरण ?

हाम्रो बीचमा धेरै मीठा संस्मरण छन् । हामी साहित्यिक कार्यक्रममा जाँदा पनि प्रायः साथसाथै जाने गर्छौँ । तीमध्ये बैतडी जाँदा होस् या दार्चुला, सिक्किम जाँदा होस् या वीरगञ्ज, हेटौंडा जाँदा होस् या नेपालगञ्ज, कोहलपुर जाँदा होस् या महेन्द्रनगर जाँदा होस्, हामी साथसाथै गएका छौँ । यात्राहरूमा हामीले साथसाथै आनन्द उठाएका छौँ । ती सबै अनुभवहरू भनेर साध्य छैन, लेखेर साध्य छैन ।

====

प्रियाको पूरै कुरा नसुनी रिसाउने बानी छ – हेमन्ती जोशी

श्रेष्ठ प्रिया पत्थरलाई व्यक्तिगत रूपमा कसरी चिन्नुहुन्छ ?

उहाँ व्यक्तिगत रूपमा सरल, स्पष्ट मानिस हुनुहन्छ । आम नारीजस्तै उहाँ पनि घरपरिवार, चुलोचम्को, बजार, सम्पन्नता, विपन्नता, समुदाय र समाजसँग परिचित हुनुहुन्छ । शायद यसैबाट उहाँलाई लेखनको विषय मिल्छन् ।

सर्जक उहाँको कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

साहित्यका विभिन्न विधामा कलम चलाउने सर्जक श्रेष्ठ प्रिया पत्थर सुदूरपश्चिम मात्र होइन नेपालकै एक चर्चित साहित्यकार हुन् साथै नेपालकै प्रथम नारी गजलकृतिकार हुन् भनेर चिन्छु म । सुदूरपश्चिममा बसेर नव सर्जकहरूलाई साहित्यिक अभिभावकत्व प्रदान गरिरहेकी वरिष्ठ साहित्यकार हुन् श्रेष्ठ प्रिया पत्थर ।

कथा र उपन्यासमा कहाँ उहाँ बढी सफल हुनुहुन्छ ?

त्यो जमानामा जतिखेर धेरैजसो महिलाहरू साहित्य लेख्नु त के स्कुलको पहुँचभन्दा पनि टाढा थिए त्यतिखेर उनले छवटा उपन्यास लेखेर आख्यान जगतमा आफूलाई स्थापित गरेकी थिइन् । सबै उपन्यास चर्चित नै छन् । साथै उनका कथा पनि उत्तिकै सशक्त छन् ।

उहाँका रचना कस्ता छन् ?

उनका सबैजसो साहित्यिक कृतिहरू मैले पढ्ने अवसर पाएकी छु । उनको लेखाइमा समसामयिक सन्दर्भका साथै समाजका विकृति, विसङ्तिलाई उजागर गरेको पाइन्छ । कथाहरूले समाजका चित्र प्रस्तुत गर्दछन् । उपन्यासमा नारीस्वर, समाज रूपान्तरणका आग्रह सुन्न पाइन्छ । मुक्तकमा खरोपन छ भने गजलमा माधुर्य,सौन्दर्य, प्रेमभावको रङ देख्न सकिन्छ । सबै रचना पठनीय छन् सबै विधाका कृतिहरूले पाठकका मन छुन्छन् ।

कुनै कथाले आकर्षित गरेको छ ?

‘एउटा अर्कै बाटो’ कथा सङ्ग्रहमा रहेको स्वप्नभङ्ग कथाले म धेरै आकर्षित भएकी थिएँ, सुन्दर बुनोटका साथै अब के हुन्छ होला भन्ने कौतूहलता जगाइरहने कथा हो स्वप्नभङ्ग ।

अन्य रचनाहरू कस्ता छन् ?

प्रायः सबै उत्कृष्ट छन् । गजल र मुक्तक निकै सुन्दर र सशक्त लाग्छन् ।

उहाँसँग झगडा वा मनमुटाव भएको छ ?

हुन्छ नि, कहिलेकाहीँ कुनै कुरामा विमति त हुन्छ तर मनमुटाव भएको चाहिँ छैन । एकछिन आ–आफ्ना कुरा गर्छौँ अन्त्यमा दुबैले एकले अर्काको कुरा मान्छौँ । हामी दुबैलाई झगडा गर्ने फुर्सद पनि छैन ।

सँगै दारु खानु भएको छ ?

दारु त हामी दुबै खाँदैनौँ । सँगै चिया नास्ता गर्छौँ कहिलेकाहीँ ।

सर्जक श्रेष्ठ चियाको पैसा झिक्न गाह्रो मान्नु हुन्छ ?

यस्तो कुरामा हामी गाह्रो मान्दैनौँ । म तिर्छु, म तिर्छु भन्ने होड चल्छ बरु । कहिले कसले तिर्छौँ, कहिले अर्कोले, त्यसको पनि हिसाब हुँदैन । जसलाई अनुकूल हुन्छ उसैले तिर्ने हो । त्यसमा पनि बजार गएर चियानास्ता गर्ने बानी पनि कम छ ।

उहाँको कुन बानी मन पर्छ ?

जोसुकै होस् परेको बेलामा हरेक किसिमले सहयोग गर्ने उनको बानी मनपर्छ । जस्तो बोली उस्तै व्यवहार छ । केही कडाजस्तो पनि लाग्छ उनलाई तर मनको सफा छन् उनी ।

सर्जक श्रेष्ठ प्रिया पत्थरको कुन बानी मन पर्दैन ?

कहिलेकाहीँ पूरै कुरा नसुनी झडङ्ग रिसाउने बानी छ । कहिले अनि ससानो कुरामा निहुँ खोज्ने उनको बानी मन पर्दैन ।

सर्जक श्रेष्ठ प्रिया पत्थरको घर परिवारसँग सम्पर्क छ ?

हाम्रो पारिवारिक सम्बन्ध पनि एकदम निकट भएकै कारणले हामी असल मित्र छौँ । दुबैतिर चिनापरिचय, आऊजाऊ छ ।

उहाँसँगको रोचक घटना ?

एक पटकको घटना सम्झनामा रहिरहन्छ, त्यो के भने एक दिन स्कुटर नलिएरै हामी अटोमा कुनै काम विशेषले बाहिर निस्कियौँ । ठाउँ ठाउँमा जानुपर्ने थियो । त्यस दिन मसँग छुट्टा पैसा थिएन तसर्थ तिर्नुपर्ने ठाउँमा म हजारको नोट देखाउनलाई मात्रै देखाउँथे अनि प्रियाले नै तिर्नुपर्थ्यो । दिनभरिमा कैयौँ पटक यस्तै भयो । मलाई भित्रभित्र अप्ठ्यारो लाग्थ्यो तर उहाँले उतिखेर त केही भन्ने कुरा भएन । त्यस्तो परेको अवस्थामा ‘आज पनि तिमीसँग त छुट्टा पैसा छैन होला’ भनेर सुनाउनु हुन्छ । उहाँको कुरा सुनेपछि म त्यो दिनको सम्झनाले हाँस्छु उहाँ पनि हाँस्नुहुन्छ ।

उहाँको साथी शैली कस्तो लाग्छ ?

उहाँ साथी बनाउन लायक र असल मान्छे हुनुहुन्छ । उहाँ अरुको कुरा काट्ने, ठूलो पल्टनु पर्ने मानिस होइन । सादासिधा हुनुहुन्छ । जे देख्यो त्यही बोल्ने मनको सफा भएले उहाँसँग साथी बन्न सहज छ । अर्कोतिर, उहाँले सुदूरपश्चिम क्षेत्रका अनुज पुस्तालाई प्ररेणा र प्रोत्साहन दिने गरी विभिन्न साहित्यिक कार्यक्रम तथा अभियान चलाउनुु हुन्छ । पाका पुरानादेखि नयाँ पुस्तासँग समान किसिमले मिल्न सक्ने उहाँको बानी छ ।

उहाँको कम्तिमा एउटा बदमासी भनिदिनुहोस् न, भए धेरै नै पनि !

मनमा कुरा राख्न नसक्ने उनको एउटा बानी मलाई मन पर्दैन । एक पटकको घटना सम्झिन्छु, साहित्यिक कार्यक्रमका लागि धेरै ठूलो समूहमा हामी काठमाडौँ आएका थियौँ । मेरो सधैँ नुहाउने बानी छ । हामी बसेको होटलको पानी असाध्यै फोहर धमिलो, धमिलो देखेर मैले नुहाउनलाई छ बोतल मिनरल वाटर किनेर नुहाएँ । यो कुरा मित्र प्रिया र मलाई बाहेक अरुलाई थाहा थिएन । अर्को दिन सबै बसेको बेला यो कुरा अझै बढाई चढाई सबैको अगाडि उनले भनिदिँदा मलाई धेरै रिस उठेको थियो । केहीबेर म बोलिनँ पनि । यो त एउटा घटना मात्र हो तर मनमा कुरा राख्नै नसक्ने उनको बानी चाहिँ आज पनि छ । उनलाई यस्ता घटनामा रमाइलो गर्ने बानी पनि छ ।

मीठा संस्मरणहरू छन् कि ?

लामो छोटो दूरीका कैयौँ साहित्यिक अथवा घरायसी यात्राहरूमा हामी साथसाथ हिँडेका छौँ । मीठा परिकारहरू बनाएका बेला बाँडेर खान्छौँ । एक अर्काको घरमा आउने जाने गरिरहन्छौँ । आ–आफ्नो बारीमा फलेका फलफूलहरू सधैँ बाँडेर खान्छौँ । यसरी सम्झिन लायक कैयौँ संस्मरण छन् ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.