काठमाडौं । कवि हेमन्त शिशिरको कविता सङ्ग्रह ‘बन्द कोठाको झ्याल’ लाई यस वर्षको यशस्वी पुस्तक पुरस्कार प्रदान गरिएको छ ।
यशस्वी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित तथा ‘काठमाडौं कलिङ्ग साहित्य महोत्सव’को चौथो संस्करणका अवसरमा शनिबार पुल्चोकस्थित होटल हिमालयमा आयोजित समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो ।
प्रतिष्ठानका अनुसार ‘बन्द कोठाको झ्याल’ काव्य विधातर्फ उत्कृष्ट कृतिका रूपमा छनोट भएको हो । पुरस्कार वितरण समारोहमा विभिन्न विधाका पाँच कृतिलाई सम्मान गरिएको थियो । काव्यतर्फ हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’, आख्यानतर्फ जयराम तिमिल्सिनाको ‘धीमहि’, गैरआख्यानतर्फ भवानी खत्रीवडाको ‘प्रणाम सगरमाथा’, अनुसन्धानतर्फ दीपेन्द्रराज तिमिल्सिनाको ‘गुमनाम एक इतिहास बिसे नगर्ची’ तथा अंग्रेजी अनुवादतर्फ सबिता गौतम दाहालको ‘Pyramids of Lexical Ripples’ पुरस्कृत भएका छन् ।
‘बन्द कोठाको झ्याल’ पछिल्लो समय नेपाली साहित्यमा चर्चित कृतिका रूपमा स्थापित हुँदै गएको छ । यसअघि उक्त कृतिले २०८१ सालको ‘विश्वज्योति पाण्डुलिपि पुरस्कार’ प्राप्त गरेको थियो भने सोही वर्ष ‘नवरत्न साहित्य सम्मान’ समेत हासिल गरेको थियो ।
समकालीन समाज, मानवीय संवेदना, एकान्त, प्रेम र जीवनका विविध आयामलाई कवितामार्फत प्रस्तुत गरिएको उक्त कृति विशेषगरी युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको छ । प्रकाशनपछि विभिन्न साहित्यिक वृत्तमा यसमाथि बहस, समीक्षा र विमर्शसमेत हुँदै आएका छन् ।
यशस्वी पुस्तक पुरस्कार प्राप्त गरेसँगै ‘बन्द कोठाको झ्याल’ ले छोटो अवधिमै तीन महत्वपूर्ण साहित्यिक सम्मान आफ्नो नाममा दर्ता गराएको छ ।

