काठमाडौं । पूर्वराज्यमन्त्री तथा उद्योगपति हरिप्रसाद पाण्डेद्वारा लिखित पुस्तक ‘सम्पूर्ण नेपालीले प्रतिज्ञा गरौँ : समृद्धि प्राप्त नगरी मर्ने छैनौँ’ सार्वजनिक गरिएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, प्रतिनिधिसभा सदस्य लीमा अधिकारी आचार्य, पूर्वसांसद चन्द्र भण्डारी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री र लेखक पाण्डेले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको थियो ।
पुस्तकमा स्वदेशी वस्तु तथा सम्भावनाको उपयोग, मितव्ययी जीवनशैली र बढी प्रतिफल प्राप्त हुने क्षेत्रमा सक्रियता बढाएर देशलाई आत्मनिर्भर तथा समृद्ध बनाउन सकिने अवधारणा प्रस्तुत गरिएको छ ।
लेखक पाण्डेले समृद्धिको यात्राका लागि चार आधार अघि सार्नुभएको छ । उहाँका अनुसार पहिलो आधार जनता, जमिन र जलस्रोतको उपयोग हो । दोस्रो आधार प्राणी, प्रकाश र प्रविधि हुन् भने तेस्रो आधार व्यवसायको प्रयोग, विविधीकरण र विस्तार हो । चौथो आधारका रूपमा उहाँले पूर्वाधार व्यवस्थालाई उल्लेख गर्नुभएको छ ।
पुस्तकमा आर्थिक सम्पन्नताका लागि समूहगत व्यवसाय, उद्योगको वर्गीकरण, कृषि तथा जडीबुटीजन्य क्षेत्रको विकासमा जोड दिनुपर्ने धारणा राखिएको छ । पाण्डेले स्वदेशी उत्पादनको प्रयोग, कम खर्चमा जीवनयापन, बढी प्रतिफल दिने काममा संलग्नता र निजी क्षेत्रका व्यवसायमा श्रमबजार खुला गर्नुपर्ने सुझाव दिनुभएको छ ।
पुस्तकमार्फत उहाँले सामाजिक उत्तरदायित्वलाई पनि समृद्धिको महत्त्वपूर्ण पक्षका रूपमा प्रस्तुत गर्नुभएको छ । आफ्नो जन्मथलो, पुर्ख्यौली थलो तथा समाजप्रति गच्छेअनुसार सेवा गर्नुपर्ने उहाँको धारणा छ ।
यसै अवसरमा पाण्डेले तीन करोड ७९ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी छात्रवृत्ति घोषणा गर्नुभएको छ । उहाँले जन्मथलो पाल्पाका ८१ विद्यार्थीका लागि ४० लाख रुपैयाँ तथा कर्मथलो कास्कीका विद्यार्थीका लागि ३९ लाख रुपैयाँ छात्रवृत्ति उपलब्ध गराउने घोषणा गर्नुभएको हो । छात्रवृत्तिका लागि गरिब, जेहेन्दार र असहाय विद्यार्थीलाई प्राथमिकता दिइने तथा छनोट प्रतिस्पर्धाका आधारमा गरिने उहाँले बताउनुभएको छ ।
मातृ सेवा प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको वितरण जनता प्रसारण तथा प्रकाशन प्रालिले गर्नेछ । छ अध्यायमा विभाजित ६ सय २४ पृष्ठको पुस्तकको मूल्य ७ सय ९५ रुपैयाँ रहेको छ ।
पाण्डे २०५१ सालमा नेकपा एमालेका तर्फबाट उद्योग तथा जलस्रोत राज्यमन्त्री हुनुभएको थियो ।

