काठमाडौं । कवि हरिप्रसाद चौलागाईँको कवितासङ्ग्रह ‘देश बाँचे म बाँच्दछु’ आइतबार काठमाडौंमा आयोजित एक समारोहबीच लोकार्पण गरिएको छ ।
सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा प्रा. डा. रामप्रसाद ज्ञवाली, प्रा. डा. लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ ‘रोदन’, ठाकुर शर्मा भण्डारी, कवि हरिप्रसाद चौलागाईँ र रामसुन्दर देउजालगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएकाे थियाे।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. रामप्रसाद ज्ञवालीले कविता मूलतः भावनाको अभिव्यक्ति भएको उल्लेख गर्दै विचार, सङ्कल्प र साधनाले त्यसलाई परिपक्व बनाउने धारणा व्यक्त गर्नुभयो । उहाँले कवितामा लयको माधुर्य, शब्दको सौन्दर्य, भावको गहिराइ र संप्रेषणीयता अनिवार्य पक्ष भएको बताउँदै कविसँग समाजलाई फरक दृष्टिले हेर्ने ‘तेस्रो आँखा’ हुने टिप्पणी गर्नुभयो । साथै उहाँले कवि चौलागाईँलाई निरन्तर साहित्य साधनामा लागिरहन शुभकामना व्यक्त गर्नुभयो ।
प्रा. डा. लक्ष्मणप्रसाद गौतमले चौलागाईँको व्यक्तित्व र सिर्जनाबीच सामञ्जस्य रहेको उल्लेख गर्दै उहाँका कवितामा नेपाली कवितामा कम प्रयोग हुने केही छन्दहरूको प्रयोग भएको बताउनुभयो । सरल भाषाशैलीका बीच गहिरो भाव अभिव्यक्त गर्न कवि सफल भएको उहाँको धारणा थियो ।
कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै समालोचक ठाकुर शर्मा भण्डारीले कविताहरूमा विविध विषयवस्तु समेटिएको, संवेदनशील भावनालाई हृदयस्पर्शी ढङ्गले प्रस्तुत गरिएको र समाजका सङ्गति–विसङ्गतिलाई सकारात्मक दृष्टिकोणका साथ अभिव्यक्त गरिएको बताउनुभयो । पदयोग र वियोगका केही पक्षमा थप परिमार्जन आवश्यक देखिए पनि छन्द प्रयोग प्रभावकारी रहेको उहाँको भनाइ थियो ।
श्रीओम श्रेष्ठ ‘रोदन’ले उमेरले सिर्जनशीलतालाई रोक्न नसक्ने उदाहरणका रूपमा कवि चौलागाईँलाई प्रस्तुत गर्दै उहाँका कविता कविकै स्वभावझैँ सरल, शालीन र आत्मीय रहेको उल्लेख गर्नुभयो ।
कवि हरिप्रसाद चौलागाईँले कार्यक्रममा उपस्थित अतिथि, समीक्षक तथा सहभागीहरूप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा डा. सीता सुवेदी, रूपा रिसाल र दीपक चौलागाईँले सङ्ग्रहबाट कविता वाचन गर्नुभएकाे थियाे भने गायक रामहरि न्यौपानेले सांगीतिक प्रस्तुति दिनुभएकाे थियाे ।
रामसुन्दर देउजाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रदीप सापकोटाले गर्नुभएको थियो भने स्वागत मन्तव्य पूर्णबहादुर श्रेष्ठ ‘हृदयङ्कृत’ले राख्नुभएको थियो । कार्यक्रमको मिडिया साझेदार इखबर नेट रहेको थियो ।

