साहित्यपोस्ट डट कम

हाम्री आमा

हाम्री आमा

९६ वर्ष पुगिसक्नु भएको छ हाम्री आमा । आमा भन्नुहुन्छ -यतिका वर्ष बाँच्दा त सात पुस्तासम्म पो देख्न सकिँदो रहेछ । हुन पनि त्यस्तै रहेछ । आमाले आफूभन्दा दुई पुस्ता माथिकि सासु बज्यै देख्नुभयो र जेठाजु पट्टिको पुस्तामा ४ पुस्ता तलको खनाति स्कूल जाने भैसकेको छ । यी थरिथरिका पुस्ताले लगाएका गुनिउ चोलो देखि घाँगर, सुरुवाल, सारी हुँदै हिजोआजको सिल्क ट्राउजर सम्मका पहिरन-पुस्ता आमाले देख्नु भएको छ ।

आमाले ७-८ वर्ष पुगेपछि गुनिउ चोलो लाउन थाल्नुभएछ, उबेलाको चलनअनुसार छोरी अलि ठूली भएको संकेत दिने कर्म विधि पनि थियो त्यो, छोराको व्रतबन्ध जस्तै । “मैले घरमा बत्ती कात्न सिकेको बेलादेखि आजका दिनसम्म सधैँ बत्ती कातिनै रहेको छु । अरु केही नगरे पनि साँझ बिहान बत्ती बाल्ने गर्नु, पानी चढाउनु ”, बेला बखतमा भेट्न गएको बेलामा आमा मलाई भन्ने गर्नुहुन्छ । ममा धार्मिक पूजा परम्पराको स्वाभाविक संस्कार बन्न पाएन भन्ने आमालाई थाहा छ ।

हुन त सानो छँदा व्रतबन्ध गरेपछि मभन्दा माथिका दुई दाइहरू काठमाडौँतिर पढ्न हिँडिसकेकाले बिहानको पान्चायन पूजा र साँझको आरती मेरो भागमा आएको थियो, तर केही वर्षमा नै घर छोड्ने पालो मेरो पनि आयो र त्यसपछि नयाँ पुस्ताको हावामा हुर्केकाले ममा साँच्चै नै त्यो संस्कार बिस्तारै पातलो भएर गएको थियो । बत्ती कात्ने कुरा आएपछि आमाले के का लागि र कहिले कस्तो बत्ती चाहिन्छ भन्न थाल्नुभयो । बत्ती यति सुते उति सुते हुन्छ भन्नेसम्म मलाई थाहा भएको हो तर कति सुते कुन समयमा कुन देवीदेवताको पूजामा चाहिने हो, यो मैले कहिल्यै याद गरेको कुरा भने थिएन । गणेश, लक्ष्मी, विष्णु, नारायण, शिव आदि कुन देवीदेवताको पूजा हो त्यसैअनुसार पाँच, सात, नौदेखि बाह्र, अठार, एक्काइस सुतेसम्मका बत्ती दिने चलन रहेछ । वर्षभर विभिन्न समयमा अनेक चाडबाड र पूजा पर्व छन्, त्यसै अनुसार देवीदेवताको आराधना विधि पनि छ । र तिनका लागि बाल्ने बत्तीको पनि आफ्नै विधिविधान छ । त्यो विधिविधान आमालाई हेक्का छ । आजकल बत्ती कात्दा पनि हातले त्यति भर दिँदैन भन्नुहुन्छ । अहिले आएर जिन्दगीभर दिनदिनै गरेको बत्ती कात्ने कामबाट पनि बिस्तारै छुट्टी लिँदै हुनुहुन्छ ।

आमालाई हामी छोराछोरीले सधैं आमाकै रूपमा देख्यौँ, लाग्छ अहिले आमा ९५ वर्ष पुग्दा जस्तो देख्छौँ उस्तै देख्थ्यौ उति बेला हामी सानो छँदा पनि । अहिले सम्झँदा अनौठो पनि लाग्छ र आमाको रूप कल्पना गर्न मन लाग्छ जुन समयमा उहाँ जम्मा ११ वर्षको सानी नानी हुनुहुन्थ्यो र जग्गेमा कसैले दुलही बनाएर थपक्क बसालिदिएका थिए र शायद रुँदै डोलीको घुम्टोमुनि लेट्नुभएको थियो—जन्म घर छोडेर एउटा बिरानो संसारमा भित्रिनलाई । अनि यौवनको त्यो भरिपूर्ण रूप पनि आजको यी आँखालाई देख्न मन लाग्छ जुन बेला उहाँ आमा भएर हामीलाई दुध चुसाउनु हुन्थ्यो ।

सानै उमेरमा बिहा गरिदिने उति बेलाको चलन । तर विवाह पछि दुई वर्ष माइतीमा नै हुर्किनुभएको आमा, घर-माइती जाने आउने गर्न पर्थ्यो । भीरपाखा, वनजङ्गल र खोलानालाको परिवेश छिचोल्दै लुखुर लुखुर कसैको साथ लागेर । ‘बसी बसी भरौं भने घैला भन्दा सानी’ भने जस्तो त्यो बेला घरकाले कसरी काम लगाए, के ठट्टा गरे, बालिकाको कलिलो मन कति नियास्रो भयो, कति रमायो, हामी अहिले कल्पनासम्म पनि गर्न सक्तैनौँ ।

आमा अलिकति गर्न सक्ने उमेरको बुहारी भएपछि प्राय: गर्ने काम एकैनासका हुन्थे—झिसमिसेमा उठेर दैलो-कसेर सकी लिपपोत गर्ने, ढिकीमा धान कुट्ने, जाँतोमा मकै पिन्ने, अनि न्वाइ-ध्वाइ गर्न पँधेरामा गयो, गाग्रीमा पानी ल्यायो, भात खायो र भाँडा माझ्यो । यो बिहानको मेलो थियो । खानाको धन्नामन्ना सकेपछि मेलामा जाने हो । खेतबारीको मेलो नभए दाउरा खोज्न जाने काम सधैँका लागि तयार थियो । दाउरा खोज्न जाँदा र मेलापात जाँदा भएसम्म उमेर पनि मिल्ने माथिघर जेठीयाँसँग मिलेर जाने गर्नुहुँदो रहेछ हाम्री आमा ।

बालक शरीर हुर्कंदै अलि दरिलो भरिलो भएपछि घर गरेर खानै पर्यो । जेठाजु जेठानीको उमेरमा आमाको २० वर्ष जस्तो फरक । घरमा सबै जहान सदस्य गर्दा १२-१३ जना । खाना खाने बेलामा आमाको पालो सबैभन्दा पछाडि हुँदा भागमा कसौंडीको पिंधको माउरो लागेको भात । तर भन्नुहुन्छ—मलाई गारो लाग्थेन, नमीठो पनि लाग्दैनथ्यो ।

आमाको स्वभाव देख्दा हामीलाई अचम्म लाग्छ । हामी छोराछोरी कसैलाई पनि आमाले आफ्ना कष्ट र तीता दिनहरूको कथा त्यसरी सुनाउनुभएन । तर हामी अलि ठूला भएपछि जान्न थाल्यौं आमा १७ वर्ष हुँदा बुबाले सानी आमा पो ल्याउनुभएछ । र अर्को वर्ष ती सानी आमाबाट छोरो पनि भयो । त्यो बेला ‘बाँझी’ भन्ने भनाइ कति खेप्नु भयो होला हाम्री आमाले । ‘सौता पाइस त तैँले’ भनेर कतिले जानेर पेच लाए होलान् । कतिले नजानी नजानी भने होलान् । ती कान्छी आमालाई हामीले भने देख्न पाएनौं । आमाले उनको नराम्रो कुरा हामी ६ जना छोरा छोरी कसैलाई केही भन्नुभएको छैन, बरु छिटी थिइन्, फाटफुट आफ्नो काममा लागि रहन्थिन् भनेर राम्रै छवि दिनुहुन्छ ।

आमाको पहिलो सन्तान जन्म भएको त्यसको ५ वर्ष पछि थियो । तर कलिलो दुधे बालक छँदै खेर गयो । आफ्नै आमापट्टिबाट लिँदा हाम्रा ठूला दाजु थिए ती । पहिलो गर्भ त्यस्तो हुँदा कसरी सहन गर्नुभयो होला ! भरिलो आशा माथिको वज्रपात थियो त्यो । घर माथिकी बुढी मुमाले भनेको सम्झन्छु—गल्लीका ढुंगाका गारोमा हातको आड लिँदै ढलमलाउँदै यहाँ आएर पिँढीमा ढलेकी थिई तेरी आमा, त्यो बालखा बितेको केही दिनपछि । वर्ष बित्दै जाँदा आमाको कोखमा पालैसँग हाम्रा ९ भाइ-बहिनीले घर बनाए । ती ९ मा २ जना त दुधे बालक छँदै बिते, एक भाइ जाँदा ऊ १२ वर्ष लागेको थियो । उसलाई स्कुलमै धनुष्टंकारले एकैचोटी समातेछ र त्यतैबाट सिधै अस्पताल लैजाने क्रममा टाढाको बाटो भाइ बिचैमा बुबाको दुइ हातमा लेटेर बित्यो । भाइलाई आमाले त देख्न पनि पाउनुभएन, सबै के हो के हो सपनाजस्तो मात्र भयो होला ।

एउटी बहिनीलाई अन्तिम अवस्था भएकोले होला तुलसी मठमा सुताएर राखेको त्यो दृश्य म बालक भए पनि मेरा स्मृति पटलमा बसेका छन् । त्यही बेला आमा भने पँधेरो जाँदै गाग्री भर्दै पानी खेपिरहनुभएको थियो । मलाई त्यतिखेर लागेको थियो छोरीको साइत राम्रो होस् भनेर आमाले आँशु झार्दै मुटुमा गाँठो परेर त्यो गरिरहनुभएको छ । हुन त म के भएको हो नजानेर हेरेर मात्र बसेको थिएँ, बहिनीको जाने बेला आएको थियो वा गइ सकेकी थिई, मलाई थाहा थिएन । घरका गाग्री भरिसकेपछि आँगनमा आएर आमा ढल्नुभयो । आमा यसरी पटक पटक ढल्नु भएको छ । तर हामीले सबै देखेका छैनौँ ।

हाम्रो घरमा बुबाको स्वभाव र आमाको स्वभाव ठ्याक्कै आगो र पानीको जस्तो थियो । हामी केटाकेटीले केही बिरायौं वा घरमा भनेको जस्तो केही भएन भने बुबाको रिसमा उठेको आवाजले घर थर्कन्थ्यो । अघि पछि पनि उहाँको आवाज स्वाभावैले ठूलो आउँथ्यो । बुबाले हामीलाई चार हात खुट्टा बाँध्नुभएन कि सिस्नुपानी लगाउनुभएन, सबै गर्नुभयो । उहाँको डाँको र गालीले अलि ठूलो भएपछि पनि हामीलाई रुनु न हाँस्नु बनाउँथ्यो । आमाले सानो स्वरमा जवाफ दिनुहुन्थ्यो कुनै बेला, हामी त सधैं थर्कमान । दिनभर खेलेर साँझ घर फर्कँदा बुबा घरको पिँढीमा हुनुहुन्छ कि भन्ने डर हुन्थ्यो, बुबा नहुँदा हाम्रो खुट्टाको चाल फुर्तिलै हुन्थ्यो भने, हुँदा अर्कै । यसको ठीक उल्टो, आमा घरमा नहुँदा हामी केटाकेटीलाई कस्तो नियास्रो लाग्थ्यो, घर घर जस्तै लाग्दैनथ्यो ।

आमा गालीका एक शब्द पनि नजान्ने, कसैलाई आरोप लगाएर हिँड्ने त टाढाको कुरा । आफ्ना केटाकेटीलाई ठीक ठाँउमा राख्न भनी हप्काउने वा प्याट्ट पिट्ने, जुन धेरै बाबु आमाले स्वाभाविक रूपमा गर्छन्, त्यो पनि आमाले कहिल्यै गरेको देखेनौँ । सम्झिँदा आश्चर्य नै लाग्छ, त्यसरी पनि कसैले केटाकेटी हुर्काउन सक्दा रहेछन् भनेर ।

हामी सबै सानो तर राम्रै बुझ्न सक्ने हुँदासम्म आमालाई ‘तिमी’ भनी बोल्ने गर्थ्यौं । घरमा कसैले आमालाई हजुर भन्नू पनि भनेनन् । बुबालाई भने हजुर भन्थ्यौं, अलि ठूलो भएपछि आफैँलाई थाहा भयो र आमालाई पनि हजुर भन्न थाल्यौं । हाम्रो आमाको मन भने तिमी भने पनि त्यस्तै हजुर भने पनि त्यस्तै ।

हामी सानो छँदासम्म हाम्रो घरमा कुनै बेला काम गर्ने मान्छे बस्थे त कुनै बेला हुन्थेनन् । तर आमा गाइ वस्तुको स्याहार सुसारमा सधैँजस्तो लागेको पाउथ्यौं । दाउरा, घाँस, कुंडोपानी, गोठ भकारोदेखि घरको चुलो चौकाको काम एकातिर थियो भने, कुनैपनि समयमा ३-४ वटा लाला-बाला आमाको वरिपरी । त्यसमाथि समय समयमा मेलापात पनि । यी कामको चाप विशेष गरी बुबा ३-४ महिना मधेस गएर बस्ने हिउँदको समयमा हुने गर्थ्यो । तर सानै भए पनि गाउँघरमा हामी घर गृहस्थको खेताला पनि त थियौं । अलिकति ठूलो भएपछि र एसएलसी नगर्दासम्म गाईवस्तुको एउटा जिम्मा पालैसँग हामी केटाकेटीका आ-आफ्ना भागमा सर्दै आउँथ्यो । फेरि अलिकति ठूलोले आफूभन्दा साना भाइबहिनी हेर्नु त गाउँघरको रीत नै थियो । आमालाई यो त राहत नै थियो । तर अहिले फर्की हेर्दा लाग्छ, यो सबै भार आमाले यौवनावस्थामा बढी व्यहोर्नु पर्यो ।

हामी आमाका धेरै धेरै कुरामा अझै पनि अन्जान छौं । आमाले पनि आफ्ना पीडाहरू मन भित्रै राख्नुभयो, हामीलाई आफ्नो दुखेसो त्यति पोख्ने काम गर्नुभएन । तर अहिले सम्झँदा लाग्छ आमालाई समयले राम्रै चोट पुर्याएको थियो । हामी सानैछँदा उहाँलाई काम्ने व्यथाले समातेको थियो । मलाई सेते जोगी आइ थाल ठटाएको याद छ । अरु ‘जान्ने’हरू आइ चामलका गेडा गनेको सम्झना पनि छ । गाउँघरमा उहिल्यैदेखि घर व्यवहारको उल्झनले आमाहरूमा यो व्यथा निस्कन्थ्यो । हामीले नै वल्लार-पल्लार यस्तो देखेरै आयौं । तर गाउँ समाजमा अहिले पनि एकथरी रुढीग्रस्त र मेख मार्न खोज्नेले फलानो ‘बिध्या’ सिक्न खोजेकी नसकेर कामिछ भन्ने पनि हुन्छन्, उल्टो आरोप लगाउँछन् ।

हिमालको काखमा जन्मिएर त्यहीँको माटो खेलाएर झन्डै ५ बिसे हिउँद बिताउनुभएको आमालाई आफ्नो घरबार, खेतबारीको बलियो मोह रहेछ । काठमाडौँमा घडेरी किन्न छोराहरूले आफ्नो भागमा परेका गाउँ-खेतका जग्गा पालैसँग बेचेको देख्दा मन खिन्न भई जग्गा किन्ने प्रति औंल्याउँदै आमा अझै पनि भन्नुहुन्छ- “त्यो हर्केले हामीलाई लखेटेकै हो । आँगेटारीको जग्गा सुटुक्क कुरा मिलाएर लगेछ, मेरो चित्त दुख्याछ । खेत राखेको भए आफ्नो भन्ने ठाउँ हुन्थ्यो, जति आउँछ त्यति खाए भैगो । अब घरबारी त कसैलाई दिन हुँदैन भनेर मैले कराएकै हो ।”

आफ्नो दु:खसुखको साक्षी भएको त्यो गाउँको माटोले आखिरमा आमालाई धान्न सकेन । घर बसेर हेर्ने छोराछोरी कोही भएनन्, ३ विसा हिउँद खाएको उमेरले पहाडमा बसी घरखेत गाउँबेसी गर्न नसक्ने हुँदा आमाबुबाको मधेस झर्ने निधो भयो ४ दशक अघि । बाह्र छोरा तेह्र नाती….भने जस्तै जति धेरै छोराछोरी भए पनि सबै घरमा आमाबुबालाई छोडेर आफ्नै धन्दामा लागे, कोही कतै कोही कतै गरि परदेश समेत लागे । आमाले भने आफूले जीवनभर दु:खसुख गरेको घरबारी छोडेर मधेस जान बाध्य हुनुपर्दा पीडाका आँशु खसाल्नुभयो । त्यो घर छोडेर हिँड्ने घडीमा भेट्न आएका ती सबै आफ्नाका अघि त हाम्रा अघि कठोर देखिने बुबाका आँखा पनि असहाय र टलपल थियो । त्यतिबेलासम्म हाम्रो गाउँघरमा कोही टाढा गए पनि परिवारका कोही त घरमा हुने गर्थे, घरै शून्य पारेर बसाईं सर्ने त्यस्तो हुँदैनथ्यो । धेरै काल सम्मको गाउँको परिवेशमा यसरी युग विभाजनको रेखा कोरिँदै थियो, जसको चेतना भने युवा उमेरको भए पनि हामीलाई थिएन । ४ दशकपछि अहिले गाउँ एक चौथाईमात्र बाँकी छ । अर्को तीन चौथाईमा कोही शहर, कोही मधेश, कोही विदेश । परिवर्तनले संघार मात्र हैन गाउँ नै काटिसक्यो ।

मधेस । बुबा त धेरै अघिदेखि मधेस जाने आउने गर्नुहुन्थ्यो, तर आमालाई भने एउटा बिलकुल नयाँ ठाउँ, नयाँ हावापानी, नयाँ समाज । घरमा न छोरा न छोरी, न बुहारी, न कोही नाति नातिना । मात्र दुईजना बुढाबुढी । छन त दायाँबायाँ छिमेकी नभएका होइनन्, तर आमाका बितेका दिनहरू ती छिमेकी कसैले देखेका भने थिएनन् । एक तमासका दिनहरू आए । आज भोलि गर्दै आमालाई फेरि डिप्रेसनले समात्यो, तर भाग्यवश त्यसको उपचार भयो । सन्चो हुनुभयो । पछिल्ला दशकमा भने आमाले आफ्नो आँखा अघि नातिनातिना खेलेको हुर्केको देख्न पाउनुभयो । यो आमाको मन बहलाउने शान्त गर्ने ठूलो औषधि थियो ।

९५ वर्षको यो उमेरमा जिउका पत्र र नाडी नसा सुक्दै गएदेखि आफ्नो भर्भराउँदो बेला सम्झेर होला कहिलेकाहीँ आमा खिन्न हुनुभए जस्तो पनि लाग्छ । हाडछाला मात्र हुँदै गएको आफ्नो नाडी समात्दै “यी यस्तो भैसक्यो जीउ, धेरै बाँचेर पनि के गर्ने ?” भन्नुहुन्छ । तर आमाको स्मृति भने ताजा छ । आजसम्म आमा भनी बोलाउन पाएका हामी भाग्यमानी हौँ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.