साहित्यपोस्ट-नपढी सुखै छैन...

हामीलाई प्राप्त साताका किताब– साउन ०८, २०८३

हामीलाई प्राप्त साताका किताब– साउन ०८, २०८३

पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेको हुन्छ। सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रुचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन गर्न साहित्यपोस्टले यो स्तम्भलाई निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न चार पुस्तक प्राप्त भएका छन् ।

====

१. प्रच्छाया — धिरेन अनुपम

‘प्रच्छाया’ कर्णालीका सर्जक धिरेन अनुपमको गजल सङ्ग्रह हो । अनुभूति, भाव र विचारको सम्यक संयोजनसहित उभ्याएको यस सङ्ग्रहमा शास्त्रीय रुढता भन्दा लय र विचारको संयोजनलाई बढी बल दिइएको पाइन्छ । कर्णालीको माटोबाट उठेर राष्ट्रिय रूपमै पनि गजलकार र अभियन्ताका रूपमा परिचित गजलकार अनुपमले यस सङ्ग्रहमा प्रेम र प्रणयलाई मूल विषय बनाएका छन्, यद्यपि यदाकदा राजनीति, सामाजिक विङ्गति तथा खस्कँदो मानवीय मूल्यप्रतिको व्यङ्ग्यप्रहार पनि उनका गजलमा यथेष्ठ भेटिन्छ । प्रायः गजल जीवनवादी छन्, र आशावादिताबाटै अनुप्राणित छन् । कतिपय गजलमा दर्शनको उचाइ पनि अनुभूत गर्न सकन्छि ।

पुस्तकलाई माया प्रकाशनले बजारमा ल्याएको हो । ७६ पृष्ठमा फैलिएको यस पुस्तकमा ६३ वटा गजल र केही भूमिका समेटिएका छन् । पुस्तकको मूल्य भने रु ३५०— राखिएको छ ।

२. आशीर्वाद — आर सुरेन्द्र

‘आशीर्वाद’ पाल्पाका सर्जक आर सुरेन्द्रद्वारा लेखिएका यात्रा र जीवनका विविध अनुभूति र विचारसँग सम्बन्धित निबन्धहरूको सङ्ग्रह हो । बनारस, सारनाथ, प्रयागराज, अयोध्या, लुम्बिनी, काठमाडौँ, पोखरा, मुस्ताङ, कागबेनी आदि क्षेत्रका यात्रामा आधारित यस कृतिमा एक आम नागरिकको राष्ट्रभक्ति र राष्ट्रप्रतिको दायित्व तथा जीवनमा धर्म र अध्यात्मको महत्त्वलाई सरल भाषामा बुझाउने प्रयास गरिएको छ । थुपै्र प्रसङ्ग, कथा र उपकथासहित बुनिएको यस सङ्ग्रहमा दर्शन र विचारको बोझिलो उपस्थिति छैन । अपितु, निबन्ध प्रेरक छन्, र सकारात्मक सोचका संवाहक जस्ता लाग्छन् । कतिपय निबन्धमा जीवन र अध्यात्मको योग पाइन्छ भने अन्य निबन्धमा सनातन हिन्दू दर्शनका मानविन्दुहरूमाथिको गहन विवेचना पाइन्छ । आमा, देश, शान्ति, आत्मशुद्धि तथा सार्थक जीवनप्रतिको आस्था यस सङ्ग्रहका अन्य उल्लेखनीय विषयवस्तु हुन् ।

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । चार भागमा बाँडिएको तथा २०८ पृष्ठमा फैलिएको यस पुस्तकको मूल्य ४२५/— तोकिएको छ ।

३. सम्झना बिर्सना – राजेन्द्र श्रेष्ठ

‘सम्झना बिर्सना’ स्रष्टा राजेन्द्र श्रेष्ठद्वारा लिखित कविताहरूको सँगालो हो । काठमाडौँका स्रष्टा श्रेष्ठको यस सङ्ग्रहमा विविध विषयका सत्तरी कविता समेटिएका छन् । कवितामा मूलतः प्रेम, वियोग, मानवीय अस्तित्व, प्रकृति तथा मृत्युबोधलाई विषय बनाइएको छ । कतिपय कवितामा भने समसामयिक विकृति तथा विसङ्गतिमाथि कोमल तर अर्थपूर्ण व्यङ्ग्यको प्रहार पनि गरिएको छ । विम्ब र प्रतीकहरूको यथेष्ठ प्रयोग गरिएका यी कवितामा विविध लयात्मक संरचनाको प्रयोग पनि पाइन्छ । कविता सरल छन्, सुललित छन्, र सूक्तिहरूले ठाउँठाउँमा सजिएका छन् ।

पुस्तकलाई तरेली साहित्य प्रतिष्ठान, साँखु, काठमाडौँले बजारमा ल्याएको हो । ९६ पृष्ठमा फैलिएको यस पुस्तकको मूल्य भने रु २५०/— राखिएको छ ।

४. भीमप्रसाद काफ्ले — घामका उपासक: सूर्यप्रसाद लाकोजू

समालोचक भीमप्रसाद काफ्लेद्वारा लिखित पुस्तक ‘घामका उपासक ः सूर्यप्रसाद लाकोजू’ काभ्रेका साहित्यकार सूर्यप्रसाद लाकोजूको जीवन, लेखन र समाजसेवामा आधारित समालोचनात्मक पुस्तक हो । यसमा स्रष्टा लाकोजूको साहित्यिक यात्रालाई साङ्गोपाङ्गो ढङ्गले समेटिएको छ भने उनका रचनाहरूभित्र छिरेर तिनको गुण र दोषको पनि सम्यक समीक्षण गरिएको छ । यो पुस्तक मूलतः लाकोजूको कवितासङ्ग्रह ‘मेरो घाम’ को विवेचनामा आधारित छ, र यसमा कविको सामाजिक तथा मानवीय आग्रहलाई विशेष प्रश्रय दिइएको छ । बद्लिँदो नेपाली समाज र समयका अवरोधहरूमाथि कवि लाकोजूको प्रहारलाई उनको एक विशेष काव्यिक क्षमताका रूपमा चित्रण गरिएको छ ।

पुस्तकलाई अक्षरमार्ग प्रकाशनले बजारमा ल्याएको हो । १८६ पृष्ठमा फैलिएको यस पुस्तको मूल्य रु ५००/— राखिएको छ ।

===

सम्पादकको छनोट : खुसीका पलहरू — चन्द्रकान्त आयार्च

खुसीका पलहरू सर्जक चन्द्रकान्च आचार्यको संस्मरण हो । शिक्षा र पेसाले इन्जिनियर लेखक आचार्यले यस संस्मरणमा आफू स्वदेश र विदेशमा अध्यायन र कामको सिलसिलामा जाँदा, रहँदा र बस्दा सँगालेको दुर्लभ संस्मरणहरू यस पुस्तकमा समेटिएका छन् । विगतमा उपन्यास, यात्रा संस्मरण, काव्य, कथा तथा निबन्ध लेखनमा पनि संलग्न रहेका आचार्य एक कुशल अनुवादक पनि हुन् । ‘खुसीका पलहरू’ मा मूलतः उनले रुसको मस्कोमा बिताएका विद्यार्थी जीवनका दिनहरूको स्मरण गरिएका छन् । इन्जिनियरिङ पढ्दाका अनुभव, प्रेम र विद्यार्थी राजनीतिका रोचक संस्मरण, रुस प्रस्थान र अध्ययन, नेपाल आगमन, जागिर र विवाहका प्रसङ्ग, बेलायत यात्रा र ओक्स्फोर्ड विश्वविद्यालयको अध्ययन, तथा त्यसपछि नेपालमा बिताएका वर्ष र जागिरे जीवनका अनुभव यस पुस्तकमा समेटिएका छन् । पुराना र नयाँ प्रसङ्गहरूको सम्यक संयोजन गरिएको यो पुस्तक नयाँ र पुराना दुवै पुस्ताका पाठकहरूका लागि रोचक हुन सक्छ ।

पुस्तकलाई निर्मला आचार्यले प्रकाशित गरेकी हुन् । २७२ पृष्ठमा फैलिएको यस पुस्तकको मूल्य रु ४५०/— तोकिएको छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.