पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेको हुन्छ। सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रुचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन गर्न साहित्यपोस्टले यो स्तम्भलाई निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ ।यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न पाँच वटा पुस्तक प्राप्त भएका छन् ।
====================
१. मूलघर : जी.के. शर्मा भट्टराई
लेखक जी.के. शर्मा भट्टराईको उपन्यास हो ‘मूलघर’ । रोजीरोटीको लागी भारत छोडि विभिन्न मूलुक पुगेको भारतिय नागरिकहरु आफ्नो थाकथलो सम्झिएर पुन देश फर्किएर देशकै लागी काम गर्ने प्रतिवद्धता गरेको कथा छ मूलघर भित्र ।
”उपन्यास पढ्दै जाँदा उपन्यासकारले विश्व मानचित्र पढ़ाए मैं ‘ओइम्याकोन’ भन्ने मस्को शहरबाट उत्तरी ध्रुवदेखि अझ अधि जाँदा भेटिने एउटा अचम्मको रसियाको गाउँ जहाँ लगभग ५०० जना मानिस बस्छन् भन्ने बताइन्छ ।” पुस्तकमा पूर्ण योञ्जन लेख्नुहुन्छ, ”त्यहाँको तापमान – ७० सेल्सियस बताइन्छ भने त्यहाँका मानिसहरूले जङ्गली घोड़ाको मासु मात्र खाएर बाँच्ने गर्दछन् । हरियो झारपात केही नभएर केवल हिउँ नै हिउँको चड्डान मात्र देखिने ठाउँमा पनि मानिसहरू अनेक प्रकारले बाँच्न सक्नु, विश्व मानवलाई जिउने प्रेरणाको स्त्रोत हो । संसारमा बाँच्न चाहनेहरू जहाँ इच्छा त्यहाँ उपाय भने झैँ हुँदा हुन् भन्ने सन्दर्भ यहाँ उद्धृत गरिएको पाइन्छ । सार्कडिनो सधैं झैँ थामस नदीको बगरमा माछा समाल पुग्छ तर नदीमा अचानक आएको छालले माछाहरू लछेप्रै बाहिर फालिएका भेटे । सार्कडिनोले वरिपरि नजर दौड़ाए कहीं कतै कोही देखिएन । उ जस्तै माछा समात्नेहरू नदीको अर्को किनारतिर व्यस्त थिए । बिना परिश्रम बगरभरि मरेका माछाहरू देखेर उनी खुशी भए । घरमा रोगी पत्नी र छोरी एल्ड्रिनालाई समेत भरपेट खुवाउन सक्ने माछा मरेकोमा उनले ईश्वरलाई धन्यवाद दिए । मरेको माछा बटुलेर आनन्द अनुभव गर्दै घर पुगे । तर केही दिन नबित्दै बिना अनुमति थामस नदीमा माछा मारेर लगेको भन्ने अभियोगमा तिनलाई पाँच वर्षको कठोर कारावास हुन्छ । त्यही कारावासको अवधिमा उनकी बिमारी पत्नी एलिजालाई औषधी दिने मान्छे नभएर बेसहारा भई मृत्यु हुन्छ । छोरी एल्ड्रिनाका केही साथीहरू बाहेक बाबु जस्तो माया गर्ने कोही हुँदैन । विपत्तिमा सार्कडिनोलाई संसारनै शून्य सरह हुन्छ ।”
पुस्तकलाई सिक्किम अकादमीले प्रकाशन गरेको छ । दुई सय ४४ पृष्ठमा फैलिएको पुस्तकको भा रु पाँच सय र ने रु सात सय रुपियाँ रहेको छ ।
===================
२. नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भुमिका : नरेन्द्रराज प्रसाई, इन्दिरा प्रसाई
नइ एकेडेमीको संयोजकत्वमा नेपाल, भारतको नेपाली भाषि प्राध्यापकहरुको लेख, समालोचनाको सङ्ग्रह हो ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भुमिका’ । सङ्ग्रहमा नेपाल र भारतको २६ जना प्राध्यापकहरुको साहित्यसँग सम्बन्धित लेखहरू समावेश गरिएको छ ।
पुस्तकको सम्पादकीयमा लेखिएको छ । नेपाली भाषासाहित्यको पठनपाठनको विगत इतिहासतर्फ फर्केर हेर्दा यस परम्पराले एक शताब्दी लामो समयावधि पार गरिसकेको छ । १९७५ सालमा त्रिचन्द्र कलेजको स्थापनासँगै उच्च शिक्षामा नेपाली भाषासाहित्यको पठनपाठनको प्राथमिक शृङ्खला सुरु भएको थियो भने त्यसको पुगनपुग चार दशकपछि स्वदेशमै त्रिभुवन विश्वविद्यालयको स्थापनासँगै नेपालको राष्ट्रभाषा नेपाली भाषा र साहित्यको स्नातकोत्तरस्तरीय पठनपाठनको परम्परा प्रारम्भ भएको थियो । नेपाली भाषासाहित्यको पठनपाठनको सबल परम्पराको थालनी गर्नमा कवि राजा श्री ५ महेन्द्रको राष्ट्रवादी दृष्टिकोण एवम् भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडघाल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, भवानी भिक्षु, विश्वेश्वरप्रसाद कोइराला, सूधपा, महानन्द सापकोटा, माधव घिमिरे, सत्यमोहन जोशी, जनकविकेशरी धर्मराज थापा, गोपालप्रसाद रिमाल, ईश्वर बराल, मोहन कोइराला, इन्द्रबहादुर राई, ईश्वरवल्लभ, गोविन्द मल्ल गोठाले, विजय मल्ल, बालकृष्ण पोखरेल, तारानाथ शर्मा, शङ्कर लामिछाने, पारिजात, बानीरा गिरी, हरिभक्त कटुवाललगायतका अनेकौं प्रातः स्मरणीय स्रष्टाहरूका सृजनात्मक योगदानबाट निर्मित समृद्ध सृजनात्मक परम्परा र तिनका उपलब्धिको अध्ययन अनुसन्धानको शृङ्खला निर्माण र विस्तार हुँदै आएको हो । यसरी नेपालभित्र र नेपालबाहिरका नेपाली जाति र नेपाली भाषालाई हृदयदेखि माया गर्ने स्वनामधन्य अनेक स्रष्टाहरूको भाषासाहित्यप्रतिको अविचलित निष्ठा र सद्भावकै कारण नेपाली भाषासाहित्य पठनपाठन र अनुसन्धानका निम्ति प्राज्ञिक आराधनाको महत्त्वपूर्ण विषय बन्दै आएको हो । त्रिभुवन विश्वविद्यालयको स्थापनाकालदेखि आजका दिनसम्म आइपुग्दा नेपाली भाषासाहित्यको पठनपाठनको समृद्ध परम्पराको निर्माण त भयो तर त्यसको इतिहास के कस्तो छ र विशेषतः नेपाल तथा भारतमा नेपाली भाषासाहित्यको पठनपाठन र अनुसन्धानका गतिविधि के कस्ता छन् भन्ने विषयमा हालसम्म त्रिभुवन विश्वविद्यालय वा नेपाल प्रज्ञाप्रतिष्ठानबाट समेत खोजीनिती गर्ने प्राथमिक प्रयास पनि हुन सकेको थिएन । यस स्थितिमा नइ एकेडेमीको अग्रसरतामा नेपाल र भारतका विश्वविद्यालयहरूमा नेपाली विषयको पठनपाठनमा संलग्न प्राध्यापकहरूको सम्मेलन आयोजनाका साथै सम्मेलनमा सहभागीहरूसमक्ष प्रस्तुत गर्ने उद्देश्यले ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ नामक प्रस्तुत ग्रन्थ तयार पारिएको हो।”
पुस्तकलाई नइ एकेडेमीले प्रकाशन गरेको छ । आठ सय ७२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य दुई हजार रुपियाँ रहेको छ ।
=======================
३. अक्षरैअक्षरमा : कणाद महर्षि
कवि कणाद महर्षिको कविता सङ्ग्रह हो ‘अक्षरैअक्षरमा’ । सङ्ग्रहभित्र मानवीयता, समाज, राष्ट्र, प्रकृति, माया प्रेमलाई नजिक बनाएको अक्षरहरु भेटिन्छन् ।
हूलमा अमृत
हूलमा मान्छे
समुद्रमा तरङ्ग
पागल किन रु
उन्मत्त छ
विचारले उत्तेजित छ
संयमले भने ऊ
तर असन्तुलित छ
हुरीसँग हुर्रिदै छ
वर्षासँग बबन्डर मच्चाउन थाल्यो
असिनाका डल्लाले
शिरमा थोप्लायोप्ली पार्याे
दुख्यो, दुखेन
आफैले भोगेपछि मात्र
थाहा पाउने कुरा पर्यो
असिना त पानीको गुच्चा न हो !
पग्लियो, निथ्रियो
तर पसिना भने कहिल्यै सुकेन
क्रम यसरी क्रमशः सङ्क्रमित हुँदै छ
यथावत् !
तर ऊ नियमित निष्क्रिय छैन
फूललाई सुँघ्छ
तर फूल अस्वस्थ छ, सुगन्ध आए पो !
शीतलाई सुमसुम्याउँछ
तव शीत बिटुलो भइसक्यो, शीतलता पाए पो !
अपसगुनको कुठाउँमा हुत्याइएपछि
आगो दन्किएको हेर्न मन पराउँछ,
न्यानो पाइन्थ्यो कि !
मनलाई नि ?
मनलाई भने मनसँगै
चङ्गाजस्तै चुँडिए पनि
अधीनहीन आकाशमा चराजस्तै उडाइदिन्छ
र ऊ सोच्छ
आखिर मन न हो !
तेरो पनि मन, मेरो पनि मन
जहाँ खस्नुपर्ने हो त्यहीं खसोस्
जहाँ जे फुटाउनुपर्ने हो – फुटाओस्
जहाँ जे लुटाउनुपर्ने हो- लुटाओस्
जहाँ जे जुटाउनुपर्ने हो- जुटाओस्
कौशलमय
समाजको निर्माण
साझा अमृत ।
पुस्तकलाई साझा प्रकाशनले बजारमा ल्याएको छ । ६५ ओटा कविता सङ्ग्रहित पुस्तकको मूल्य तीन सय दश रुपियाँ रहेको छ ।

